तनहुँ निवासी लालु गुरुङ र म २०७७ चैत ३० गतेका दिन नार–फू क्षेत्रतिर हिँडियो। भर्खरै परेको हिउँले चिसो बनाएको थियो। यो क्षेत्र मनाङ जिल्लाको नार्पाभूमि गाउँ पालिकामा पर्दछ। हामी खासगरी नाउर प्रजातिको (जुन हिउँ चितुवाको मुख्य आहर प्रजाति पनि हो) अध्ययनको सिलसिलामा गएका थियौं।
बाटोमा हिउँ चितुवाको दर्शन गर्न पाइन्छ कि भन्दै भुल्दै जाँदा गाउँ पुग्दा राति भइसकेको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) छोडेपछि लालु भाइ र म फू गाउँ जान लागेको पनि निरन्तर ४ वर्ष भइसकेकाे थियाे। सायद फू गाउँमा हिउँ चितुवाको उपस्थिति घना भएर हो वा हाम्रो २ दसक भन्दा बढी अनुभवका कारणले हो जहिले पनि फू गाउँमा गएको दोस्रो दिन (भोलिपल्ट) हिउँ चितुवाको दुलर्भ दर्शन हुने गर्दछ।
पहिलो दिन हिउँ चितुवाको दर्शन पाइएन । तैपनि हामीलाई आशा थियो भोलिको।
खाना खाने बेलामा होटल साहुनी (टसी खन्टो लामा, उनीसँग मेरो २० वर्ष अगाडिदेखि चिनजान् छ) सँग दुख सुखका कुराकानी पछि थाहा भयो फू गेट नजिकै गए राति हिउँ चितुवाले नाउर मारेको रहेछ। तर हामीले त बाटोमा आउँदा देखेनौ त भन्दा नि ? भनेर भन्दा नाउरको मासु त मान्छेले लगिसक्यो भन्ने जवाफ पाइयो। प्रतिवाद गर्ने कुरो भएन, त्यही पनि भोलि हेर्न जाने योजनासहित लालु भाइ र म ओछ्यान तताउन लागियो लगभग मध्यरातमा।
भोलिपल्ट साँझ ४ बजेतिर हिउँ चितुवाले नाउर मारेको ठाउँतिर लागियो। हामी नजिकै पुग्नु मात्र के थियो लालु भाइले संकेत गरिहाल्यो। क्यामरा फोकस गरी जुम तान्नलाई। क्यामरा फोकस गरियो तस्बिर ३ क्लिक गरियो, धन्य हामीलाई दर्शन दिएकोमा । तस्बिर प्रष्ट नभए पनि चिन्नको लागि काफी थियो।
हामीलाई थाहा थियो बल्लबल्ल दुख गरेर मारेको आहार खोज्न पक्का पनि आउँछ भनेर। नाउर मार्न त्यति सजिलो छैन हिउँ चितुवालाई। डा. सोम आलेले भनेको सम्झिन्छु, ‘नाउर बाँच्नको लागि ज्यानको बाजी लगाउँदछ किनकि नाउरको सानो गल्ती वा कमजोरी उसको मृत्युको कारण बन्छ । तर हिउँ चितुवाले नाउरले जस्तो ज्यानको बाजी लगाउँदैन । हिउँ चितुवाको लागि नाउरमात्र साँझ बिहानको खाना (लन्च र डिनर) हो।
केहि दिनपछि फू गाउँभन्दा माथिको खर्कमा हिउँ चितुवाले फेरि तर्सायो एकहोरो कराएर। हामीलाई ताज्जुब लाग्यो, बेमौसममा म्याउ म्याउ गरेपछि। पछि खोज्दै जाँदा पत्ता लगाइयो, नजिकै ३ देखि ४ वर्षको याक मारेको रहेछ, सायद हामीलाई चेतावनी दिनको लागि पो होलाकि बेमौसमको बाजा बजेको।
वैशाख ८ गते बिहानै उठेर नार जाने योजना मुताबिक साहुनीलाई चाँडो खाना बनाउने भनेर अनुरोध गरियो। किनकि फिल्डमा जानु परेमा जहिल्यै हेभी खाजा र प्याक लन्च हुने गर्दथ्यो। चिया पिइरहेको थियौं गाउँमा हल्ला सुनिन थाल्यो । होटेलको किचनबाट बाहिर निस्केर हेरें, सुनें। हल्ला–खल्ला छ गाउँभरि।
एकजना अधबैसे महिला रुँदै फू गाउँबाट ओखाल गोठतिर डोको बोकेर गएको देखें। साथसाथै अन्य मानिसहरु पनि उनैको पछाडि पछाडि। ओखाल भन्ने ठाउँमा (जुन ठाउँ गाउँबाट करिब १५ मिनेटमा पुगिन्छ) तेन्जिङ् करसाङ लामा दाइको गोठमा हिउँ चितुवा वैशाख ७ गते राति पसेर च्यांग्रा सोत्तर परेको खबर आइपुग्यो। म पनि क्यामरा बोकेर ओखालतिर हिँडे, खासगरि मारिएका च्यांग्राहरुको तस्बिर खिच्ने उद्देश्य लिएर। तर ओखाल गोठ नजिकै एक्कासी पछाडिबाट ठूलो आवज आयो एकजना अधबैसे पुरुषको, ‘ओ सर, यहाँ किन आएको हो ? तुरुन्त फर्किहाल्नुहोस’ भनेर।
विवाद गर्ने वातावरण थिएन त्यस बेला, म तुरुन्त गाउँतिर फर्किहालें। गाउँ नपुग्दै सिठी सुनें। मलाई इसाराले त्यहिँ रोकिन भनेका रहेछ्न तेन्जिङ् करसाङ दाइले। म रोकिए, तेन्जिङ करसाङ दाइ आएर भन्नुभयो, सर गाउँमै बसी राख्नुहोस म दिउँसो सबै मरेका च्यांग्राहरुको तस्बिर खिचेर तपाईंलाई दिन्छु। एक्यापमा बुझाइदिनुहोला ताकि मलाई राहत पाउन सजिलो होस।
तेन्जिङ कर्साङ दाइ बिछिप्त अवस्थामा देखिन्थे। उनको शरीरको हाउ भाउ र आँखाले बताइरहेको थियो उक्त अवस्था। तेन्जिङ कर्साङ दाइलाई मैले चिनेको पनि २० वर्ष नाघिसकेछ। जुनबेला उनी ४५ वर्षे हँसिला जवान थिए। २ दिन आगाडि मात्रै मैले उनीसँग भिडियो प्रश्नावली गरेको थिए खास गरिकन फक्सलाइटको बारेमा।
फक्सलाइट यस्तो उपकरण हो जुन दिउँसो घाममा चार्ज हुन्छ र रातिमा विभिन्न रङहरुको प्रकाश छर्दछ। हिउँ चितुवाजस्ता जनावारबाट हुनसक्ने आक्रमण वस्तु भाउमा नहोस भन्ने उद्देश्यले निर्माण गरिएको हो। त्यही उद्देश्य परिपूर्तिको लागि फू गाउँमा पनि उक्त फक्सलाइटहरु वितरण गरिएको रहेछ । तेन्जिङ दाइले पनि उक्त उपकरण उपयोग गरिरहनु भयको थियो। त्यस उपकरणले फाइदा भइरहेको भनेर मलाई धन्यवाद दिँदै हुनुहुन्थ्यो। तर उक्त घटनाले फक्सलाइटको विश्वसनीयतामाथि शंका उत्पन्न गरायो।
लालु भाइ र म खाना खाने तयारीमा थियौं। हस्याङफस्याङ गर्दै स्कुलका सरहरु र केही युवाहरु मलाई ओखाल गोठमा जानका लागि अनुरोध गर्न लागे। पहिला जान हुन्न भने अहिले फेरि किन बोलाए होलान् जस्तो लाग्यो। बल्ल पो मलाई थाहा भयो उक्त गोठमा हिउँ चितुवा थुनिएको रहेछ। उनीहरुको भनाइअनुसार मरेका च्यांग्र्राहरुको तस्बिर लिएर प्रमाणसहित सरकारलाई बुझाइदिने भन्ने आशय बुझें।
त्यति अबेरसम्म हिउँ चितुवा पनि गोठभित्रै होला भनेर मैले कल्पनासम्म गरेको थिइन। खाँदै गरेको गास छोडेर तुरुन्त लालु र म फेरि ओखाल गोठतर्फ लागियो। कल्पना गरेजस्तो थिएन घट्नास्थलमा। सानो गाउँ भए पनि भिड जम्मा भएको थियो।
हिउँ चितुवा छोड्नलाई बडो सकस भयो। गाउँलेहरुको माग पनि नाजायज थिएन। उनीहरु हिउँ चितुवालाई उद्दार गरेर अन्य ठाउमा लैजानुपर्ने (जस्तो कि काठमाडौं सदर चिडियाखाना) वा सो सम्भव नभए तुरुन्त राहतको व्यवस्था गर्नुपर्ने बताइरहेका थिए। वर्षौंदेखि त्यो गाउँमा गइराख्ने र हिउँ चितुवा/नाउरमा काम गर्ने भएकोले मसँग गुनासो गर्नु स्वाभाविक नै थियो।
उहाँहरुलाई म आधिकारिक व्यक्ति नभएको जानकारी गराएँ। तर एक्यापको कार्यालय प्रमुख राजकुमार गुरुङ र नार्पाभूमि गाउँ पालिकाको उपाध्यक्षलाई उक्त अवस्थाका बारेमा जानकारी भने गराएँ। हिउँ चितुवा समाउन धेरै स्रोत र समय खर्चिनु पर्ने हुन्छ। तर त्यो हाम्रो अगाडि नै थियो। घाँटीमा ट्रान्समिटर राख्न पाए कति राम्रो हुन्थ्यो भन्ने लाग्यो । अनुसन्धानको लागि यो उपयुक्त बेला थियो । त्यसका लागि सेटेलाइट जिपिएस कलरको लागि अनुरोध पनि गरें।
दिनभरिको होहल्ला र विवादले बेलुकीको ४ बजिसकेको थियो। सोही दिन हिउँ परेर मौसम अत्यन्त प्रतिकुल भइरहेको थियो। एक्याप मनाङको सहकार्यमा नेपाल प्रहरीका ३ जवानहरु घटनास्थलमा आइपुग्नु भयो। केही राहत महुसुस गरें। अब सायद हिउँ चितुवा बाँच्छ कि भनेर। म आफैंले पनि सुरक्षित महसुस गरें।
प्रहरी आए पनि आखिर समस्या ज्युँ का त्युँ रहिरह्यो। किनभने पोखरा अझ भनौं माथिबाट गाउँलेको माग र मेरो अनुरोध सम्बोधन भइरहेको थिएन। माथिबाट हिउँ चितुवालाई प्राकृतिक वासस्थानमा सकुशल छोड्ने मात्र भनिएको थियो। तर त्यो सम्भव भइरहेको थिएन हुलको अगाडि।
त्यो तनावपूर्ण समय सकिएको थिएन। रातिको १० बजिसकेको थियो। त्यस पछि गाउँलेसहित हामी सबै खाना खान गाउँ गइयो। खाना खाने बेलामा पनि छलफल जारी थियो। गाउँलेहरु बल्ल हिउँ चितुवालाई छोड्न राजी भए।
रातिको ११ बजे फेरि उक्त घटनास्थलतिर लागियो। अचम्म लाग्दो कुरो त के थियो भने एक घन्टाको अन्तरालमा उक्त हिउँ चितुवा गोठ भित्रबाट उम्केर भागिसकेछ। गाउँलेले मलाई हिउँ चितुवा उम्केको प्वाल देखाए जुन प्वालबाट हिउँ चितुवा सहजै निस्कन सक्थ्यो। गोठ वरिपरि हिउँ चितुवाको पैतालाका चिह्नहरु देखियो। किनकि दिनभरि परेको हिउँको कारण पदचाप चिन्नका लागि सहज भएको थियो। अब चाहीँ यकीन भयो हिउँ चितुवाले कुलेलाम ठोकेछ हाम्रो अनुपस्थितिमा।
तैपनि मनमा शंका पलायो। कतै हाम्रो अनुपस्थितिमा केही नराम्रो त भएन भनेर। यस्तै मनमा कुरा खेलिरहेको थियो, एक्कासि अर्को गोठबाट च्यांग्रा ‘पेएँ’ गरेरे कराएको आवाज आयो। हिउँ चितुवा भागेको गोठबाट २० मिटरको दुरिमा अवस्थित अर्को गोठबाट उक्त आवाज आएको थियो। हामीलाई शंका भयो कतै हिउँ चितुवा उक्त गोठमा त छिरेन भनेर। किनकि उक्त च्यांग्र्राको आवाज अलि अनौठो खालको थियो, लगभग कसैले आक्रमण गरेजस्तो।
उक्त गोठको ढोकाको प्वालबाट निरीक्षण गरेर हेर्यौ। नभन्दै गोठभित्र हिउँ चितुवा देखियो। सपनाजस्तो लाग्यो। यस्तो पनि हुन्छ र ? भर्खरै ४५ च्यांग्रामध्ये ४४ वटा च्यांग्राको लास छोडेर भाग्ने हिउँ चितुवा अर्को गोठमा छिरेर मध्यराति १२ बजे च्यांग्राहरु मार्दै थियो। गाउलेहरु थप आक्रोशित बने। दिनभरिको छलफलले सान्त भएर छोड्न राजी भएका गाउँलेहरु रिसाउनु स्वाभाविकनै थियो।
एकस्वरमा भनिरहेका थिए गाइवस्तु खाने बानी परिसक्यो यो हिउँ चितुवालाई। अब यो हाम्रो घरमा पनि पस्छ र मानिसलाई पनि आक्रमण गर्छ। ३ दिन अगाडि मात्रै फू गाउँकै हिपोप भन्ने च्यांग्रा गोठालोलाई हिउँ चितुवाले आक्रमण गरेको घटना सुनाइरहेका थिए।
फुर्बा छिरिङ् दाइले हिजोमात्र हिउँ चितुवाले उनकै अगाडि खर्कमा चराइरहेको अवस्थामा २ वटा च्यांग्रा मारेको बताए। हिजै दिउँसो तेन्जिङ करसाङ दाइको च्यांग्र्रालाई पनि आक्रमण गर्न खोजेको कुराहरु बताइरहे।
त्यो बेला हाम्रो पहिलो काम थियो च्यांग्र्रा र हिउँ चितुवालाई सकुसल उद्दार गर्नु । सोही अनुरुप स्थानीयहरुले कोङेसोले तान्दै बाचेका च्यांग्र्राहरु बिस्तारै उद्दार गरे । यसमा उनीहरु पारंगत भएको पुष्टि गर्दछ । तै पनि उक्त हिउँ चितुवाले ८ वटा च्यांग्रा मार्न भ्याइसकेको रहेछ । १० वटा च्यांग्र्राहरु पनि घाइते बनाएको थियो। मरेकादेखि बाहेक सबै च्यांग्र्राहरु उद्दार भयो तर हिउँ चितुवा भित्रै थियो।
अब हाम्रो मुख्य उद्देश्य भनेको हिउँ चितुवाको सकुशल उद्दार गर्नु पर्ने थियो। तर त्यसो हुनसकिरहेको थिएन। हाम्रो अनुनय विनय जारी थियो। दोस्रो घटनाको कारणले गर्दा गाउँलेहरु चरम उत्तेजित थिए। जे मन लाग्यो त्यही बोलिरहेका थिए। वादविवादकै क्रममा बिहानको साढे ३ बजिसकेको थियो।
त्यसै क्रममा गाउँलेले जुक्ति निकाले, हिउँ चितुवालाई २ सय लिटरको ड्रमभित्र हाल्ने र चामे पुर्याउने । मैले त्यसको ठाडै प्रतिकार गरेको हुँदा एकछिन झडपको स्थिति पनि आयो। करिब बिहानको ४ बजे गाउँलेहरु हामीसँग रिसाएर तिमिहरुको सम्पति हो जे गर्छौ गर भनी गाउँतिर गए। अब भने हिउँ चितुवा कुर्ने काम हामी ५ जनाको (लालु, म र ३ प्रहरी जवानहरु) थियो । कुर्दा कुर्दौ उज्यालो भयो, हिउँ अझ बाक्लिदै थियो । हामीले हिउँ चितुवा गाउँलेको अनुपस्थितिमा सकुशल उद्दार गर्न सक्थ्यैं । तर त्यसो गर्नु उपयुक्त थिएन, किनभने अन्तत्वगत्व हिउँ चितुवा संरक्षण गर्ने स्थानीय नै हुन् ।
वैशाख ९ गते दिनभर छलफल भयो। रस्साकस्सी गर्दै दिनको ४ बजिसकेको थियो। कुनै निचोड निस्किरहेको थिएन। माथिबाट कुनै आदेश आउने त झन कुरै भएन नत सेटेलाइट जिपिएस कलरको आशा। अन्तत मैले पनि धम्की दिएँ, अब तपाईहरुको जिम्मामा हिउँ चितुवालाई छोडेर हामी घरतिर गइन्छ। हिउँ चितुवालाई केही भयो भने तपाईंहरुलाई गाह्रो हुने त हो नि।
यस जुक्तिले भने काम गर्यो। गाउँलेहरु हिउँ चितुवा छोड्नलाई राजी भए, तर उचित राहत पाउने शर्तमा। उचित राहतको प्रक्रियाका लागि एक्याप चामेबाट कर्मचारी अघिल्लो दिन खबर पाउने बित्तिकै हिँडिसकेका थिए। जाचबुझको आधारमा एक्यापले राहत दिनेछ भनी मैले वाचा गरे पश्चात् उनीहरु शान्त बने। दिनको करिब ५ बजे उक्त हिउँ चितुवालाई सकुशल उद्दार गरी प्राकृतिक बासस्थानमा हामी (लालु, म र प्रहरी) लगायत सम्पूर्ण गाउँलेको उपस्थितिमा छोड्न सफल भइयो।
खुसीले दङदास परें। ३५ घन्टा सम्मको त्यो तनावको अन्त्य भएको थियो। लालुलाइ हेरें, उनी पनि खुसी थिए। झन् ऊर्जा पलायो कम्तीमा एउटा हिउँ चितुवा त बचाउन सफल भइयो जिन्दगीमा भनेर। गाउँलेहरु तस्बिर र भिडियो लिँदै थिए आ–आफ्नो मोबाइलबाट। थाहा छैन उनीहरु कति खुसी थिए।
तर मलाई थाहा छ तेन्जिङ् करसाङ दाइ र अर्को गोठको मालिक फुर्बा छिरिङ लामा दाइ दुखी थिए । उनीहरु असक्त पनि छन्। च्यांग्र्रा सिवाय अन्य सम्पति पनि नभएका उनीहरुको सर्वश्व त्यो हिउँ चितुवाले लुटेको थियो। मलिन अनुहार लगाएर १० औंला जोडेर बिन्ती जोर्दै राहतको याचना गर्दै गरेको दृश्य अहिले पनि मेरो आँखा वरिपरि घुमिरहन्छ। आशा छ उहाँहरुले समयमै उचित राहत पाउनु हुनेछ जसको कारणले गर्दा हिउँ चितुवा बचाउन सहयोग मिल्नेछ। अहिले सम्म पाइएको राहतबाट गाउँलेहरु खुसि नभएको प्रस्ट हुन्छl
अर्को एक प्रश्नले जहिले पनि सोच्न बाध्य बनाउँछ, हामी नभएको भए त्यो हिउँ चितुवाको के हुन्थ्यो होला ? वर्षौको प्रयासपछि पनि हिउँ चितुवा संरक्षणमा निकै चुनौतीहरु छन्। संरक्षण गर्ने नै हो भने हिउँ चितुवा सम्बन्धी थुप्रै प्रश्नहरु उठान गर्ने र तिनको समाधान पनि गर्नुपर्छ।
पछिल्ला अध्ययनहरुले मनाङ जिल्लाको फू उपत्यकामा प्रति १०० वर्ग किलोमिटरमा ६ हिउँ चितुवा रहेको देखाउँछ। हिउँ चितुवाको मुख्य आहारा नाउरको घनत्व पनि निकै छ (८.४ नाउर प्रति वर्ग किलोमिटर) जुन नेपालभरिमै बढी घनत्व हो। नाउरको घनत्व बढी भए पनि वस्तुभाउको क्षति पनि बढिरहेको छ । यसले हिउँ चितुवाको संख्या बढ्दै गएको संकेत गर्दछ।
भारतमा हालसालै गरिएको अध्ययन अनुसार हिउँ चितुवाको जंगली आहार जस्तै नाउर तथा झारलको संख्या बढेमा पक्का पनि हिउँ चितुवालाई फाइदा हुन्छ नै। साथै हिउँ चितुवाको सख्या पनि बढ्छ। यसको कारणले पशुधन क्षति हुने सम्भावना बढी रहन्छ भन्ने निचोडले पनि माथिको घटनालाई पुष्टि गर्दछ। किनभने हिउँ चितुवाहरुको आपसी प्रतिस्पर्धाले गर्दा कमजोर खासगरी ज्येष्ठ नागरिक, असक्त, बिरामी र वयस्क भइनसकेका (आमासँग छुट्टिने बेला करिब २ देखि ३ वर्षका) हिउँ चितुवाहरु बढी गाइवस्तुतिर आकर्षित हुन्छन्।
मेरो अनुभवले भन्छ, मुख्यरुपमा हिउँ चितुवाले सिकार गरेका आहारजन्य प्रजातिहरुको मासु मानिसहरुले आफ्नो प्रयोजनको लागि लुटेर वा चोरेर लग्नाले हिउँ चितुवा पशुजन्य प्रजाति तिर खासगरि गोठतिर आकर्षित हुने गर्दछ । त्यसकारण हिउँ चितुवा संरक्षणका साथै स्थानीयलाई फाइदा पुग्ने कार्यक्रमको अनिवार्यता छ। न कि हिउँ चितुवा र उसको अहारजन्य प्रजाति र वासस्थान संरक्षण मात्रै।
(कमल थापा हिउँ चितुवाको आहारा विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । उहाँ पाङ्जे फाउन्डेसनको ‘नेपाल प्रतिनिधि’ हुनुहुन्छ। उहाँ उच्च हिमाली वन्यजन्तुको अनुसन्धान र संरक्षणमा रुचि राख्नुहुन्छ)