बाघ दिवसमा बाघको गुनासो-‘मानिस मार्नु मेरो बानी होइन, बाध्यता भएकाले मेरो हितमा बोल्नु पर्दैन?’


     बेदबहादुर खड्का    
     श्रावण १४ गते २०७८ मा प्रकाशित


बाघको घरमा स्थानीयको अटेरपन

बाघको आक्रमणमा परी मानिसको मृत्यु हुनु कुनै नौलो घटना हुन छोडिसकेको छ । ०७७ श्रावणदेखि ०७८ श्रावणको पहिलो सातासम्म बर्दिया राष्ट्रिय निकुञ्जमा १३ जना मान्छे बाघले मारिसकेको छ। चितवन राष्ट्रिय निकुञ्जमा भने यसै अवधिमा २ जनाको मृत्यु भएको छ ।

यस्ता घट्नाले भुसको आगोजस्तै सल्किएर जनआक्रोश बढ्दै गएको पछिल्लो उदाहरण हो सौराहामा घटेको घटना । घटना २०७८ असार ७ गतेको हो । सौराहाको जनकौली सामुदायिक वनमा निउँरो टिप्न गएकामध्ये एक महिलाको बाघको आक्रमणमा परी मृत्यु भयो । बाघको आक्रमणमा परी मानिसले ज्यान गुमाउनु दुःखदायी घटना हो । यस्ता अप्रिय घटना हुनुमा केही बाध्यता गाउँलेका हुन सक्छन् भने बाघका पनि बाध्यताहरू हुन सक्छन् भन्ने कुरा बुझ्न  जरुरी छ।

जनसमुदायले उत्तेजित भई निमेषमै बाघ नियन्त्रण भएन भनेर चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालय भवन तोडफोड गर्नु अत्यन्तै दुःखदायी घटना हो । बाघले मानिसको ज्यान लिए पनि व्यवस्थापकीय प्रक्रियाहरू पूरा नगरी उद्धार गर्न मिल्दैन । यदि तत्कालै घटना घटाउने बाघलाई विना तयारी लाहुरे पाराले नियन्त्रण गर्न थालियो भने सम्भावित थप दुर्घटनाको जिम्मेवारी कसले लिन्छ ?

बाघ नियन्त्रणका प्रक्रियागत सबै कुरा सर्वसाधारणलाई थाहा नहुन सक्छ । सबै जनतालाई सूचना दिएर पनि साध्य लाग्दैन । तर बाघले दुर्घटना घटाएपछि भने निकुञ्जका कर्मचारीहरू निरन्तर पीडित पक्षसँग सम्पर्कमा रहिरहनु पर्दछ । खोरमा रहेको बाघलाई लट्ठ्याउन धेरै कुरा सोचबिचार गरेर गर्नुपर्छ भने जङ्गलको बाघलाई त लट्ठ्याएर नियन्त्रणमा लिने काम चानचुने होइन। 

बाघ नियन्त्रणका प्रक्रियागत सबै कुरा सर्वसाधारणलाई थाहा नहुन सक्छ । सबै जनतालाई सूचना दिएर पनि साध्य लाग्दैन । तर बाघले दुर्घटना घटाएपछि भने निकुञ्जका कर्मचारीहरू निरन्तर पीडित पक्षसँग सम्पर्कमा रहिरहनु पर्दछ । खोरमा रहेको बाघलाई लट्ठ्याउन धेरै कुरा सोचबिचार गरेर गर्नुपर्छ भने जङ्गलको बाघलाई त लट्ठ्याएर नियन्त्रणमा लिने काम चानचुने होइन। 

सबै जनसमुदायले निकुञ्जका यी कुराहरू र बाध्यतालाई पनि बुझिदिनु पर्छ । घटना घट्दैमा सबै बाघ नियन्त्रणमा लिने हो भने बाघ कहाँ लगेर के खुवाएर पाल्ने हो ? निकुञ्जका बाघ त्यसमा पनि उसकै घरबाट समात्दै जानु कति जायज हुन्छ ? के बाघले उसको आफ्नो  घरमा बस्न नपाउने हो ? यो सबैले बुझ्न जरूरी छ । त्यसका लागि सर्वसाधारणलाई बाघ पाइने ठाउँमा जान नपर्ने वातावरण सृजना गर्नेतर्फ सबैले ध्यान दिने हो भने बाघबाट हुन सक्ने दुर्घटनामा कमी भएर आउँछ।

चितवन राष्ट्रिय निकुञ्जको कुरा गर्ने हो भने मानिसहरूको आवासभित्रै गएर दुर्घटनाहरू भएको देखिएको छैन,अधिकांश घट्नाहरु राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र र यसका छेउछाउमा रहेका सामुदायिक वनहरूमा मात्र घटेका छन् जहाँ मानिस या त जान वर्जित छ या त सावधानी नअपनाई जानु हुँदैन ।

माथि फोटोमा देखाइएको बाघ सन् २०१८मा सौराहा आसपासमा क्यामराट्रयापमा   परेको स्वस्थ भाले बाघ हो । डा. बाबुराम लामिछाने र तीर्थ लामाको भनाईअनुसार उक्त बाघ २०१० देखि नै क्यामराट्रयापमा  पर्दै आएको थियो । २०२० मा सौराहास्थित पदमपुरमा प्राकृतिक खोरमा राखिएको अर्नालाई खोर भत्काई खाएको र यही २०७८ असार ७ गते सौराहा वासी महिलालाई मार्ने बाघ पनि यही हो । उक्त बाघ बूढो भई सबै दाँत झरेको अवस्था रहेको र अर्को बलियो बाघले पनि यसलाई घाइते पारेको कारणले यसले प्राकृतिक सिकार गर्न नसकी महिलालाई मारेको  हो । फोटो सौजन्यः डा. बाबुराम लामिछाने ।

स्थानीय जात जातिका समुदायलाई परम्परागत रूपमा भोगचलन गर्दै आएका वन पैदावरहरू जस्तै माछा,  जङ्गली सागसब्जी (निउँरो, सिस्नो, बयर,च्याउ, तामा, घाँस दाउरा, आदि) सङ्कलन गरी खान पाउनु पर्छ भनेर उकास्नेहरू पनि धेरै छन् । के ती व्यक्ति वा संस्थाहरूले ती वस्तुहरू सङ्कलन गर्न वनमा जाँदा बाघबाट ज्यान गुमाए भने जिम्मेवारी लिन्छन् ? अहँ जिम्मेवारी लिएको न त देखिन्छ न त बाघको बानी ब्यहोरा, जङ्गल जाँदा अपनाउनु पर्ने  सजगता आदि कुराहरूको चेतना नै फैलाएको पाइन्छ। केवल सोझासाझा जनतालाई जङ्गलको उपभोग गर्न उकास्न हुँदैन। स्थानीय समुदाय पनि उक्साहटमा लागेर के आफ्नै जिउज्यान खतरामा परिरहेको त छैन ? सजग हुनु पर्दछ । के स्थानीयहरूलार्ई निकुञ्जभित्र मर्न जाऊ भनेर प्रश्रय त गरिरहेका छैनौ ?

पक्राउ गरेर निकुञ्जले राज्यको कानुन पालना गरेको हो । झट्ट जनताको आँखाबाट हेर्दा पक्राउ गरेर दुःख दिएको देखिए पनि बाघ, गैँडा, हात्ती र भालुलगायतका वन्यजन्तु पाउने क्षेत्रमा जान निरुत्साहित गरी जनताको जिउधनको सुरक्षा निकुञ्जले गरेको हो। 

विना अनुमति निकुञ्जमा माछा, निउँरो, घाँस, दाउराजस्ता वनजन्य उत्पादनहरू सङ्कलन गर्न जाने स्थानीय गरिबहरूलाई पक्राउ गरी निकुञ्जले दुःख दियो भन्ने जमातहरू पनि कम छैनन् । पक्राउ गरेर निकुञ्जले राज्यको कानुन पालना गरेको हो । झट्ट जनताको आँखाबाट हेर्दा पक्राउ गरेर दुःख दिएको देखिए पनि बाघ, गैँडा, हात्ती र भालुलगायतका वन्यजन्तु पाउने क्षेत्रमा जान निरुत्साहित गरी जनताको जिउधनको सुरक्षा निकुञ्जले गरेको हो। 

केही गाउँलेहरूको समूह एकछाक खानलाई निहुरो टिप्न निकुञ्जमा छिरेका हुँदैनन् । ती त केवल व्यापार गर्ने उद्देश्यले निउँरो टिप्न छिर्ने गरेका छन् । निकुञ्ज छेउछाउको गाउँ-गाउँबाट यसरी सङ्कलित निहुरो तरकारी ठेकेदारले दैनिक खरिद गरी  लकडाउनको समयमा समेत काठमाडौ पठाउने गरेका छन् । निउँरो टिप्नेक्रममा नै ती महिला  बाघको आक्रमणमा परी मृत्यु हुन गएको हो भन्ने सौराहावासीमा चर्चा छ।

जङ्गलमा निहुरो टिप्न गएका बखतमा २०७८ असार ७ गते  सौराहावासी एक माहिलालाई मारेपश्चात् बाघलाई नियन्त्रणमा लिँदै निकुञ्जका प्राविधिकहरू । फोटो सौजन्य : तिर्थ लामा

बाघको शालीनतामा प्रहार 

घना वन जङ्गल बाघको घर थियो । तर वन जङ्गल क्षेत्र मानव समुदायले हड्पेर उसको वासस्थानलाई खुम्च्याई वा साँघर्‍याइ दिएका छन् । अतः मानवले पनि बाघको घरमा बसेको छु भन्न सक्नुपर्छ । हामी पनि पाहुना लागेको घरमा आप्नो फुर्तिफार्ति देखाउन मिल्दैन। त्यस्तै गरी बाघको घरमा बस्दा मिलेर बस्न सक्दा दुबैलाई फाइदा पुग्छ र बस्न सक्नु पर्छ । नबस्दाको परिणाम बाघले आक्रमण गरेको हो । बाघले मान्छे खायो भनेर प्रचार-प्रसार गरिन्छ । सबै दोषजति बाघलाई थोपरिन्छ।

भित्री कारण कसैबाट खोजीनीति पनि गरिँदैन । अन्तमा बाघ र मानिसको सहअस्तित्व व्यवस्थापनका लागि अल्पकालीन टालटुले रणनीति ल्याइन्छ । फलस्वरूप मानव-वन्यजन्तुको द्वन्द्व घट्नुको साटो वढ्दै गएको गोठालाहरूले महसुस गरेका छन् ।बाघले आफ्नै घरमा मानिसलाई आक्रमण गरेमा उसको विरुद्धमा पूरै समाज उर्लिन्छ । उर्लिनु जनताको पक्षबाट हेर्दा स्वाभाविक होला तर हाम्रो घरमा विना अनुमति कसैले प्रवेश गर्‍यो भने हामी के प्रतिक्रिया गर्छौँ ? हो बाघले पनि त्यही प्रतिक्रिया देखाएको हो, मेरो घरमा किन आइस भनेर ! 

बाघको पनि त्यस्तो बानी कहाँ छ र मानिसलाई देख्ने वित्तिकै सिधै आक्रमण गरी हाल्ने । बाघ एउटा शालीन वन्यजन्तु हो ।पहिला उसले गुर्रर्रर्र… गरेर सङ्केत गर्छ, म भएतिर नआइज, भाग भनेर ! भाग्ने समय दिन्छ।यदि बाघको यो सङ्केतलाई सुनेनौँ वा बेवास्ता गर्‍यौँ वा तर्केनौ भने मात्र बाघले झम्टिन्छ । यदि देख्ने बित्तिकै आक्रमण गर्ने भए निकुञ्जका कर्मचारी र पथ प्रदर्शकहरूलाई पहिला सिद्ध्याउँथ्यो होला। बाघ अनुगमनको बेला वन्यजन्तुका गोठालाहरू एक्लैदुक्लै निकुञ्जमा हिँडिरहेकै हुन्छन् र गोठालो बस्ने पोस्ट भवनहरूमा कुनै पनि सुरक्षाको घेरावार छैन । नाच्न जान्दैन, आँगन टेढो भने जस्तै हो यो ।

बाघको पनि त्यस्तो बानी कहाँ छ र मानिसलाई देख्ने वित्तिकै सिधै आक्रमण गरी हाल्ने । बाघ एउटा शालीन वन्यजन्तु हो ।पहिला उसले गुर्रर्रर्र… गरेर सङ्केत गर्छ, म भएतिर नआइज, भाग भनेर ! भाग्ने समय दिन्छ।यदि बाघको यो सङ्केतलाई सुनेनौँ वा बेवास्ता गर्‍यौँ वा तर्केनौ भने मात्र बाघले झम्टिन्छ ।

आफू  अनुशासनमा नबस्ने, प्रवेश निषेध गरेको क्षेत्रमा आफूखुसी पस्ने अनि बाघले प्रतिक्रिया देखाउँदा बाघको गल्ती देख्ने ? फगत वाघको मात्र गल्ती देख्नु तर मान्छे आफूले गरेको गल्ती नदेख्नु, देखाउने प्रयास पनि नगर्नु यो कस्तो विडम्बना हो?

घटना घटिसकेपछि एकोहरो पीडित मानिसको पक्षमा ठूला-ठूला आवाज फैलाइन्छ । तर बाघको पक्षमा कुनै आवाज निकालिँदैन। बाघको पक्षमा वोलिदिने, लडिदिने,कोही हुन्छ ? बाघको पक्षमा वोल्नेहरूको आवाज अल्पमतमा पर्छ । बाघले गर्जन्छ मात्रै कसैले सुन्दैन ।बाघको गर्जनतर्फ पनि मनन गरौँ न । हे मनुवा ! मेरो घरमा किन आइस ? ऐलानी जग्गामा किन घर वनाईस् ?, बाघको घर वन जङ्गल फाँडेर किन सुकुम्वासी बस्ती बसालिस ? तिमी मानवभन्दा पहिला यस धरतीमा मैले पाइला टेकेको त्यति खेरदेखि नै वन जङ्गल मेरो घर हो । तर तिमीहरूले जबरजस्ती मेरो घर हड्प्यौ । तैपनि तिमी बसेको घरमा गएर मैले अनुशासनहीन काम गरेको छैन। मलाई प्रकृतिले मृग, बँदेल, गौरी गाईलगायतका वन्यजन्तु सिकार गरेर खादै, बाँचेस् भनेर तिखा दाह्रा र नङ्ग्रा दिएर पठाएका हुन्।

मान्छे सिकार गर्नु मेरो मेन्युमा पर्दैन । तर मानिस तिम्रो मेन्युमा शाकाहारी भएर जीवन यापन गर्ने शारीरिक बनावट लिएर यस पृथ्वीमा पैदा भए पनि मेरो आहारा चित्तल, जरायो, लगुना, रतुवा र बँदेल समेत चोरी चोरी मारेर खाई मेरो खजाना रित्याई दिन्छौ र त्यही भएर कहिलेकहीँ मैले मान्छेको सिकार गर्न पुग्छु । यो मेरो रहर होइन, तिमीले सिर्जना गरिदिएको बाध्यताको उपज हो । हुन पनि हो अपवादबाहेक बाघले त्यस्तो अनुशासनहीन काम गर्दैन ! गर्ने त मानव नै हुन् ! पानीमुनि बस्ने अनि जलचरलाई सिध्र्‍याउन खोज्ने ?

सामुदायिक वनमा बाघको वासस्थान विस्तार

सामुदायिक वनमा बाघलाई जा भनेर पठाएको जस्तो गरेर कतिपय व्यक्तिहरूले सामुदायिक वनमा बाघ किन आयो भनेर निकुञ्जलाई प्रश्न तेर्स्याउँछन् ।सामुदायिक वन जनताको दैनिकी आवश्यकता पूर्ति गर्न मात्रै दिएको हो की वन्यजन्तुको समेत आवश्यकता पूरा गर्न दिएको हो भनेर किन प्रश्न तेर्साउन सक्दैनन् ? सामुदायिक वनहरूले पर्यापर्यटनमा वृद्धि गर्न वनभित्र ताल र घोलहरू र घाँसे मैदानजस्ता वन्यजन्तुका वासस्थानको पूर्वाधारहरू निर्माण वा सुधार गरेर पछि निकुञ्जका वन्यजन्तुहरू त्यतातिर आकर्षित भएकाले मानव-वन्यजन्तु द्वन्द्व समेत निम्तिएको छ । 

धेरैजसो सामुदायिक वनहरू निकुञ्ज नजिकै रहेका छन् र राम्ररी संरक्षण भएकाले निकुञ्जमा पाइने सबै खाले वन्यजन्तुहरू त्यहाँ पाईन्छन  । यो राम्रो पक्ष हो । निकुञ्ज भ्रमणमा आउने खास गरी नेपाली पर्यटक त निकुञ्ज भनेर सामुदायिक वनमा डुलेर मक्ख परेर फर्कन्छन्/जान्छन् । उनीहरूलाई आफू भ्रमण गरेको जङ्गल निकुञ्जभित्रको हो कि सामुदायिक वनभित्रको हो पत्तै हुँदैन । मान्छेले त सामुदायिक वन हो कि राष्ट्रिय निकुञ्ज हो भनेर छुट्ट्याउन सक्दैन भने बाघले कसरी चिन्न सक्छ र ? 

बाघका लागि के निकुञ्ज के सामुदायिक वन एकाम्य छ । सामुदायिक वनमा स्थानीय मानिसहरू सहजै प्रवेश गर्न सक्छन् । सामुदायिक वन भए पनि यो बाघलगायत अन्य वन्यजन्तुहरूको घर पनि हो भन्ने मानसिकतालाई अवमूल्य  गर्नाले मानिसहरू बाघको आक्रमणमा परिरहेका छन्, जसले राज्यको ध्यानाकर्षण गराइरहन्छ । हिजोआज मानवबाट सृजित बाढी पैह्रोले दैनिकजसो जनधनको क्षति भएको छ । तर खै त त्यहाँ विरोधका स्वरहरू चर्चामा आएको ? विना विज्ञको डोजरे विकासले विकास नभई विनाश निम्त्याएको छ । के तिनीहरूलाई कारबाही हुँदैन ? तर कारबाही गर्ने निकायले तैँ चुप मै चुप गरे पनि प्रकृतिले आफै कारबाही गरिरहेकी छिन ।

बाघ र पर्यावरण

पर्यावरण संरक्षणमा बाघको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा हामीलै चटक्कै बिर्सनु हुँदैन । यदि जङ्गलमा बाघ हृष्टपुष्ट देखियो भने हामी सहजै अनुमान लगाउन सक्छौँ कि त्यहाँ बाघलाई चाहिने तृणहारी प्रजातिहरू जस्तै जरायो, चित्तल, लगुना, रतुवा, बँदेल र गौरी गाईजस्ता वन्यजन्तु प्रशस्तै छन्। जरायो, चित्तल, लगुना र बँदेल आदि मोटाघाटा र बलिया छन् भने भन्न सकिन्छ कि उनीहरूका लागि घाँसपात मनग्य छ भनेर । घाँसपात हरिलो, रसिलो र पोसिलो छ भने त्यहाँ अनेकौँ फट्याङ्ग्रा र गँड्यौलाले वास पाएका रहेछन् भनेर सुझ्न सकिन्छ । सबै प्राणी जगत (जीवजन्तु र वनस्पति) तन्दुरुस्त रहेमा मानव जातिको भविष्य पनि पक्कै सुरक्षित रहने छ ।

कसैले मानोस् नमानोस् देशलाई चिनाउने धरोहरको रूपमा यिनै प्राकृतिक सम्पदा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षहरू नै अब बाँकी छन् । यिनै सम्पदामाथि गिद्धे नजर समेत पर्न थालिसकेको छ। राज्यले हिमाली राष्ट्रिय निकुञ्जभित्रका खोलानालामा हाइड्रोपावर सञ्चालन गर्न दिने र तराईतिरका निकुञ्ज/आरक्षका खोलानालाबाट ढुङ्गा, गिट्टी बालुवाको निकासी गर्ने चपेटाले सच्चा संरक्षणवादीलाई चिन्ताको विषय वनेको छ। झन् निकुञ्ज आरक्ष स्थापनाका संस्थापक श्री विश्वनाथ उप्रेतीलाई कति पीडावोध हुँदो हो ?

देश भित्रने ९० प्रतिशतभन्दा बढी विदेशी पर्यटकहरू राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रहरू डुलेर फर्किने गर्छन् । के विदेशी नेपालीको राम्रो अनुहार भएर हेर्न आएका हुन र ? पक्कै पनि होइन ।नेपालमा भएको संरक्षणको मज्जा लिन आएका हुन् ।

प्राकृतिक सम्पदाहरूबाट आनन्दको अनुभूति दिन बाघ गैँडालगायतका अन्य वन्यजन्तुको अग्रणी भूमिका रहेको छ । यसैका लागि र भावी पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्न निकुञ्ज आरक्षले प्रकृतिको संरक्षण गरेको हुन्छ  । यसैको सेरोफेरोमा मानवीय स्वास्थ्य जीवन अल्झेको हुन्छ । त्यसैले यी क्षेत्रहरूमा विना अनुमति कुनै पनि क्रियाकलापहरू गर्न पाइँदैन।  साग सिस्नो, निहुरो टिप्न र माछा मार्न जाँदा सालिन्दा स्थानीयहरूको वन्यजन्तुको आक्रमणले ज्यान लिएको छ । मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनका पदाधिकारी, समाजका अग्रज, राजनैतिक प्रभुत्व भएकाले स्थानीयलाई निकुञ्जमा नजाऊ भनेर निरुत्साहित गर्न सक्नुपर्छ । निकुञ्ज आरक्ष नभएका स्थानमा पनि स्थानीयले आफ्नो जीवन गुजारा चलाई रहेकै छन्, होइन र ?।

अन्तमा,

बाघलाई पनि सम्मानका आँखाले हेर्न सक्नु पर्छ । मानव भन्दा लाखौँ वर्ष अगाडि यस धरतीमा पाइला टेकेको जीवलाई बाँच्ने आधार दिए मात्र मानवको पनि जिउने आधार सूनिश्चत हुन्छ । निकुञ्जमा बाघ सुरक्षित छ । त्यही भएर नै हामी चितवनवासी पनि अन्य क्षेत्र भन्दा सुरक्षित भएर बसेका छौ । यही २०७८ असार १७ गते बुढी राप्ती(खगेरी खोला) र ढुंग्रे खोलामा आएको बाढीले सौराहावासीलाई झस्काएको छ । यी खोलाहरूको शिर अर्थात् चितवनको पहाडी भू-भाग(महाभारत)मा डोजरे विकासले वन जङ्गल विनाश र अत्यधिक ढुगा, गिट्टी बालुवाको दोहनले तल्लो तटमा बस्नेले सास्ती भोग्नु परेको मात्र नभई डोजरले नयाँ बाटो खनेको स्थानमा चेपाङका कैयौँ घर बस्ती पुरेको छ । 

त्यही दक्षिणतर्फ रहेको चुरे पहाड रहेको क्षेत्र जहाँ चितवन राष्ट्रिय निकुञ्ज पर्छ,जहाँ पनि अनेकौँ खोलानाला छन् खोइ त त्यहाँ पहाड नै भत्केको,खोलामा लेदो पानीको बाढी आएको ? यो सब निकुञ्जको संरक्षण क्रियाकलापले गर्दा नियन्त्रण भएको हो । यो कुरा सबैले बुझ्न जरुरी छ । अव सबैले आ-आफ्ना जनतालाई सुरक्षित तवरले बचाउने हो भने पूर्व पश्चिम फैलिएको चुरेलगायत महाभारतका पहाडलाई चितवन राष्ट्रिय निकुञ्ज जस्तै संरक्षण गरेर राख्न सक्यौ भने मात्र हामी यस भेगमा बस्ने मानवको भविष्य सुरक्षित हुन्छ । होइन भने मानवबाट सृजित अनेकौँ विपत्तिहरू भोग्दै जानु पर्ने कुरा समयले देखाउँदै जाला । अतः अन्तर्राष्ट्रिय बाघ दिवसले प्रकृति संरक्षणमा हामी सवैमा लगाव लागोस् यसमै हाम्रो कल्याण निहित छ ।

(लेखक बेदबहादुर खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन् । उनी गोहीको अध्ययन र संरक्षणमा चासो राख्छन्।)