सहरबाट लखेटिँदै चमेरा


     नेचर न्युज    
     श्रावण १ गते २०८१ मा प्रकाशित


पोखराको छिनेडाँडाको बस्ती नजिकैका बाँस घारी, सिमलका रुखमा ठूलोबधुरा प्रजातिका चमेरा बाक्लै देखिन्थे । दिनभर बाँसघारी, रुखमा झुन्डिएर बस्ने साहकारी प्रजातिका चमेरा साँझपख आहारा (फलफूल) खोज्न उडान भर्थे । बिहानै फेरी त्यही आएर बस्थे । 

छिनेडाँडाको त्यस क्षेत्रमा दुई सय बढी संख्यामा चमेरा गणना गरिएको चमेराको अध्ययन गरिरहेका युवा सञ्जीव बानियाँ बताउँछन् । १० वर्ष अघि सम्म बाक्लै देखिने चमेरो अहिले भने त्यस क्षेत्रबाटै बसाइँ सराइ गरिसकेका छन् । चमेरा बस्ने रुख, बाँसघारी काटेर बस्ती बिस्तार भएपछि चमेरा अन्यत्र सर्न बाध्य भएको स्थानीय सन्तोष पोखरेल बताउँछन् । 

पोखराका विभिन्न स्थानका रुखहरूमा झुन्डिएर बस्ने चरा कहाँ हराए त ? पोखरा बजारमा बस्ती बढ्यो । चमेराका वासस्थान मात्र होइन साहाकारी चमेराका आहारा फलफूल पनि कमी हुँदै गयो । यसैले चमेरा अनुकूल वासस्थान खोज्दै पोखरा बजार छाडेको बानिया बताउँछन् ।  मांसाहारी प्रजातिका चमेरा भने पोखराको बाटुलेचौरको चमेरो गुफामा प्रशस्तै देखिने उनले बताए । 

२५ वर्ष अघि पोखराको बागवानी अनुसन्धान केन्द्र मालेपाटन, डुम्ब्रीबोट र कुलाकोडिलमा अम्बा र सुन्तलाको ठूलो बगैँचा थियो । सुन्तला र अम्बाका ती बगैँचा भएको ठाउँमा अहिले कहीँ तालीम केन्द्र त कहीँ सशस्त्रप्रही बल बसेको छ । फलफूलका बगैँचा मासिएपछि चमेराका आहारा पनि बजार क्षेत्रमा पाउने क्रम घट्यो ।  

पाेखराकाे अाकाशमा कावा खाँदै चमेरा । तस्बिर : कृष्णमणि बराल

चमेरो बस्ने रुख, बाँस घारी कटान भए । चमेराका घर रुखहरूको ठाउँमा मान्छेका घर बने । सहरमा जनंसख्या बडेसँगै चमेराका घर भत्काएर मान्छेका घर बने । यसरी सहरबाट चमेरा लखेटिँदै गएका छन् । 

ठूलोबधुरा प्रजातिको चरा रुखमा बस्छन् । फलफूल, फलफूलको रस खान्छन् । आहारा र वासस्थानको कमीले चरा सहरबाट लखेटिएका छन् । चमेरा दुई सय किलो मिटर सम्म आहारा खान जाने गरेको पाइएको छ । फलफूलको बगान जता तिर छ त्यता रातको समयमा जानेर बिहान सबेरै वासस्थानमा फर्कने गरेको पाइन्छ । पोखराको छिनेडाँडाका स्थानीयका अनुसार स्याउ फल्ने सिजनमा चमेरा बस्ने रुख र बाँसघारी मुनी धेरै नै स्याउका टुक्रा भेटिन्थे । साँझ पख उडेर जाने चमेरा बिहान सबेरै फर्केर बाँस र रुखमा बस्थे । मुस्ताङ सम्म पुगेर स्याउ ल्याउने गरेको हुन सक्ने स्थानीयको भनाइ छ । 

विश्वमा १४ सय ५० भन्दा बढी प्रजातिका चमेरा पाइन्छन् । नेपालमा पछिल्लो तथ्याङ्क अनुसार ५६ प्रजातिका चमेरा पाइने चमेरामा अनुसन्धान गरिरहेका युवा सञ्जीव बाँनीयाले बताए ।  पृथ्वीको खाद्यचक्र, पारिस्थितिक प्रणाली, वातावरण सन्तुलनकालागि चमेरो निकै महत्वपूर्ण प्राणी हो ।  चमेराले किराहरू खाएर बालीनाली जोगाउन सहयोग पु¥याउँछ । राति सक्रिय हुने चमेराले रातमा किरा खान्छ र बालीनालीलाई नोक्सान हुनबाट जोगाउँछ । बालीनाली र वनस्पतीकालागि मात्र होइन मानवकालागि हानिकारक विषालु किरा पनि चमराले खाइदिन्छ । यसैले चमेरा स्पेस कन्ट्रोल गर्ने प्राणीको रुपमा पनि चिनिन्छ । 

एक अध्ययन अनुसार एउटा चमेरोले एक रातमा २ हजार देखि ६ हजार सम्म किरा खाएर बाली संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दछ । चमेरोले बाली नाली संरक्षण मात्र गर्दैन लोप हुने अवस्थाका ट्रपिकल र सबट्रपिकल क्षेत्रका जंगल, वनस्पतिको संरक्षण पनि गर्दछ । चमेरोले फलफूल, जंगलमा पाइने विभिन्न वनस्पति, रुखका फल खाएर बिउँ छरेर संरक्षणमा सघाउने गर्दछ ।  

पाेखराकाे छिनेडाँडामा बासबसेका चमेरा । यस क्षेत्रका चमेराका बासस्थान फडानी भएपछि यहाँ बस्ने चमेरा अन्त्र लागेका छन् । तस्बिर : कृष्णमणि बराल

पर्यावरण संरक्षणमा मात्र होइन हाम्रो खाद्यान्न, फलफूलका बोटहरूको संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेल्दछ । संसारमा पाइने चमेरा मध्ये ७० प्रतिशत मांसाहारी र ३० प्रतिशत चमेरा साहाकारी रहेको बताइन्छ । मांसाहारी चमेराले कीरा, फट्याङ्ग्रा, माछा, भ्यागुता पनि खान्छ । फलाहारी चमेरो फलफूल खाएर जीवन निर्वाह गर्दछ । चमेरोको खुट्टा अति सानो हुन्छ । उसको शरीर, पखेटा र खुट्टाका कारण जमिनबाट उडान भर्न सक्दैन । त्यसैले चमेरो रुख, गुफा लगायतमा ठाउँमा टाउको तल पारेर बस्ने गर्दछ । यसरी बस्दा अाफुलाई हुने असुरक्षा पनि उसले सजिलै थाहा पाउँछ  र सुरक्षित उपाय खोज्दछ । आकारमा मांसाहारी चमेरोको तुलनामा फलाहारी चमेरो अलिक ठूलो हुन्छ । चमेराको वासस्थान विनाश हुँदै जाँदा र वातावरण अनुकूल नहुँदा चमेराहरूको बसाई बढी मात्रमा गुफामा बढ्न थालेको छ । चमेरोको मल प्राङ्गारिक मलका लागि उत्कृष्ट मानिन्छ । 

चमेरोले अन्धकारमा बाटो पहिल्याउनकालागि सुन्ने क्षमताको पनि प्रयोग गर्दछ । आँखा मात्र होइन राति उडान भर्दा सुन्ने तीक्ष्ण क्षमतालाई पनि उसले उपयोग गर्दछ । चमेरोले विभिन्न किसिमको अल्ट्रासोनिक वेभ्स निकाल्छ । यसले आफ्नो सिकार पत्ता लगाउन र सिकार गर्न सहयोगी हुन्छ । चमेरोले उड्दा निकाल्ने आवाज पनि हामीले सुन्न सक्दैनौ । यसैले चमेरोलाई रातिमा सिकार गर्न सहज हुन्छ । 

अध्यारोमा सिकार गर्दा चमेरोले उडेको समयमा अल्ट्रा सिग्नल पठाउँछ । यसले सिकार गर्न सहज हुन्छ । अगाडी कुनै बस्तु छ भने उक्त सिग्नल फर्केर आउँछ । यसरी उसले अगाडि कुनै अवरोध नभएको निर्धारण पनि गर्न सक्छ । चमेरोको पखेटाहरू मानिसको हात र पाखुरासँग मिल्दो हुन्छ । चमेरोहरू विभिन्न  रङ्गका हुन्छन् । बिशेषत यिनीहरू कालो र खैरो रङ्गका हुन्छन् । पहेलो चम्किलो, चाँदी, सुन्तला लगायतका विभिन्न रङ्गका चमेरा पनि हुन्छन् । 

पाेखराकाे अाकाशमा कावा खाँदे चमेराे । तस्बिर : कृष्णमणि बराल

चमेरो ४१ वर्ष सम्म बाँचेको रेकड रहेको पाइएको छ । चमेरा जातिमा विश्वकै सबैभन्दा ठुलो प्रजाति जायन्ट गोल्डेन क्राउन फ्लाइङ फक्स हो । अहिले सम्म फेला परेको विश्वकै सबैभन्दा सानो प्रजातिको चमेरो भने बम्बलबी ब्याट हो । वन जंगल जोगाउन, बिउविजन पराग सेचन फूलहरूको फर्टिलाइजेसन गर्न मद्दत गर्ने चमेरा जाडो मौसममा न्यानो स्थान खोज्दै बसाई सराई समेत गर्दछन् । एक दिनमा २ सय ५० माइल्स उड्ने अनुसन्धानबाट देखिएको छ । ७० माईल्स प्रति घण्टा उडान गर्न सक्ने चमेरो १० हजार फिट उचाइ सम्म उडान भर्न सक्ने बताइन्छ । 

पछिल्लो समयमा पोखरामा चमेराको वासस्थान जोखिममा पर्दै गएको छ । विशेष गरी रुखमा बस्ने चमेराको वासस्थान बजार क्षेत्रमा बस्ती विकास संगै जोखिममा पर्दै गएका हुन् । ८ वर्ष अघि सम्म वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययनरत विद्यार्थीकालागि अध्ययन र अनुसन्धानकालागि महत्त्वपूर्ण रहेको पोखराको छिनेडाँडाको चमेरोको वासस्थान अहिले त्यस क्षेत्रबाट अन्यत्र सरेका छन् ।