पानी सबै सजीव प्राणीकालागि जीवन हो । पानी बिना सजीव प्राणीको कल्पना पनि गर्न सकिदैन् । यही महत्त्व बुझेका २२ से २४ राज्य काल र त्यस भन्दा अघिका पुर्खाहरूले पर्यावरण, कृषि र जैविक विविधताकाे समेत ध्यान दिएर पोखरी खनाएको पाइन्छ ।
पोखरी निर्माण मात्र होइन पोखरीको छेउमै वर, पिपल रोपेर चौतारी बनाएको हामीले देख्दै आएका छौं । प्रकृति पूजक विभिन्न धर्म संस्कृति मान्नेहरूले प्रकृति, वातावरण, जैविक विविधतालाई समेत ध्यानमा राखेर पोखरी, चौतारा निर्माण गरेको पाइन्छ । सनातन धर्म मान्नेहरूले यो अभ्यास बढी गरेको देखिन्छ । घरपालुवा जनावरकालागि पानीका स्रोतको रुपमा पोखरी बनाइएको थियो । यिनै पोखरी गर्मीमा आहाल बस्ने ठाउँ बन्थे ।
चराचुरुङ्गी पोखरीमा रमाउने पानी खाने स्रोत पनि पोखरी बन्थे । घरपालुवा जनावर मात्र होइन वन्यजन्तु, जैविक विविधताकालागि पनि महत्त्वपूर्ण पानीको स्रोतको रुपमा पोखरी रहेका थिए । वर्षा याममा धेरै पानी परेपछि पोखरीमा जम्मा भएको पानी सिंचाईकालागि प्रयोग गरिन्थे र गरिँदै आएको छ । यसरी पोखरीको महत्त्व बहुआयमिक रुपमा रहदै आएको छ । तर पछिल्लो समयमा भने यति महत्त्वपूर्ण पोखरी पुरिँदै गएका छन् । अतिक्रमणमा परेका छन् । चौतारा भत्काइएका छन् । अव्यवस्थित सडक बिस्तार, निर्माणका कारण पानीको मुलका स्रोतहरू सुक्दै गएका छन् । नदी, खोला, पोखरी, ताल प्रदूषणको चपेटामा पर्दै गएको सबैको अगाडी छर्लङ्गै छ ।
पानी बिना जीवनको परिकल्पना नै गर्न नसकिने बुझेको नेपाली पुर्खाले, नेपाली परम्परा, संस्कृति, धर्मका नाम दिएर पानीका स्रोत जोगाउन, संरक्षण गर्न, प्रदूषण मुक्त हुनबाट जोगाउन नदी, खोला, ताल, पोखरी पूजा गर्ने परम्परा नै बनाए । धर्म संग जोडे । फोहोर गरे पापलाग्छ भने । पानी संरक्षणकालागि यति धेरै महत्त्व दिए । तर पछिल्लो पुस्ताले यसलाई ख्यालै गरेनन् । परम्परा संस्कृति मान्ने नाममा बिरालो बाँधेर सराद्ध गर्ने नयाँ परम्पराको सुरुवात गरे । यसैले नेपालका पोखरी, चौतारा मासिँदै गए । नदी, खोला, ताल लगायत पानीका स्रोत प्रदूषणको चपेटामा पर्दै गए ।
देशभरका पोखरी, चौतारा मासिएको समाचार आइरहेको अवस्थामा पोखराकाे कास्कीकोटमा भने संरक्षणको काम भइरहेको छ । कृषी उत्पादनकालागि प्रमुख पानीको स्रोत रहेकोले पनि यहाँका पोखरी संरक्षणमा स्थानीय जुटेर पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा संरक्षणमा जुटेका छन् । यस कार्यको अनुकरण अन्य गाउँ, सहरका स्थानीयले पनि गर्नु आवश्यक देखिएको छ ।
संरक्षणको उदाहरण : कास्कीकोटमा २२ से २४ से काल देखिका संरक्षित पोखरी
नेपालका पहाडी क्षेत्रमा सिँचाइ सुविधाको अभावमा वर्षा याममा ठूलो पानी पर्दा त्यही भलपानी छोपेर धान रोप्नु पर्ने अवस्था छ । कहीँ भने वर्षा याममा फुटेको मूल, भलपानी सँगालेर पोखरी बनाउने र त्यही पानी सिंचाईकालागि प्रयोग हुने गरिँदै आएको छ । नियमित सिँचाइ सुविधाको अभावका कारण समस्या देखिएपछि त्यतीबेलाका पुर्खाहरूले बहुउपयोगकालागि पाेखरी खनाएको पाइन्छ । देशभर पोखरी, चौतारा अतिक्रमणमा परेको बेलामा कास्कीको कास्कीकोट भने पोखरी संरक्षणकालागि उदाहरणीय बनेको छ । कुलमन्डन शाहको अहिले पनि राजदरवार रहेको कास्कीको कास्कीकोट क्षेत्र त्यती बेला देखिका पोखरी पनि अहिले सम्म संरक्षण गरिएको स्थानीयले बताउँछन् । कास्कीको कास्कीकोटमा ३० रोपनी क्षेत्रफलमा फैलिएको कश्यपताल (ठूलीपोखरी) २२ से २४ से राज्य हुँदा देखिको रहेको स्थानीय समाजसेवी ठाकुर प्रसाद त्रिपाठी बताउँछन् ।
यसरी कास्कीको कास्कीकोटमा २२ से र २४ से राज्य समय देखि नै पोखरी बनाएर पानी सङ्कलन गर्ने र त्यही पानी सिंचाईकालागि प्रयोग भएको पाइएको हाे । पोखरा महानगरपालिका २४ कास्कीकोटका किसानले वर्षा याममा त्यस क्षेत्रमा रहेका ४ वटा पोखरीको पानी प्रयोग गरेर धान रोप्दै आएका छन् । परापूर्व काल देखि नै पोखरीमा जम्मा भएको पानीको भरमा धान खेती गरिँदै आएको स्थानीय माधवलाल शर्माले बताए । ठूलीपोखरी, मौला पोखरी, खड्गाउँ पोखरी र सानी पोखरी कास्कीकोटका सिंचाइँकालागि पानीका स्रोतहरू हुन् । यसरी कास्कीकोटमा पोखरीमा जम्मा भएको पानीको भरमा करिब २ हजार रोपनी क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
कास्कीकोटको सबैभन्दा ठूलो पोखरी ठूली पोखरी (कश्यप ताल) को पानीबाट १५ सय रोपनी भन्दा बढी क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको पोखार २४ का वडा सचिव समेत रहेका स्थानीय इन्द्रबहादुर जिसीले बताए । ठूलीपोखरीको पानीले साबिक ८ नम्बरको स्माली, घडेरी, भाटगाउँ, नेपाली टोल, खरिया पानी सम्म रोपाइँकालागि पानी उपलब्ध हुने गरेको छ । कास्कीकोटको मौला पोखरीको पानीबाट २ सय रोपनी क्षेत्रफल भन्दा बढीमा सिँचाइ हुने गरेको वडा सचिव जिसीले सुनाए । यस्तै गरी कास्कीकोटको अर्को खड्गाम पोखरीको पानीबाट त्यस क्षेत्रको सय रोपनी भन्दा धेरै क्षेत्रफलमा सिँचाइ हुँदै आएको स्थानीयले बताएका छन् । यी पानीका स्रोतहरू भने पछिल्लो समयमा सुक्दै गएपछि स्थानीय चिन्तित छन् ।
पछिल्लो समयमा खड्गाम पोखरी, ठुली पोखरीमा पानी नअडिने समस्या आएको स्थानीय माधवलाल शर्माले बताए । खड्गाम पोखरी भित्र रहेको ठूलो रुख कुहिएर लडेपछि त्यस पोखरीका पानी सुकेको र पोखरी सुक्ने क्रम रोक्न उपाय खोजी गरी समस्या समाधानकालागि काम भइरहेको छ । कास्कीकोटको सबैभन्दा ठूलो सिँचाइको स्रोत ठूलीपोखरीको पानी पनि नअडिने भएर सुक्न थालेपछि पोखरी मर्मत गरिएको स्थानीयले बताएका छन् । पोखरी सुक्ने अवस्थामा पुग्नुमा ठुली पोखरी भन्दा माथील्लो क्षेत्रमा जाने सडक पोखरी हुँदै बन्नु, पोखरीको सौन्दर्यीकरण भन्दै वरपर सिमेन्टेड वाल लगाउनु र पोखरीमा डोजर प्रयोग गरेर चलाउनु लगायत रहेको स्थानीय ठाकुर प्रसाद त्रिपाठी बताउँछन् । पोखरी सुक्दा चिन्तासिंचाईकालागि प्रयोग हुँदै आएका पोखरी सुक्न थालेपछि स्थानीय किसान चिन्तित भएका छन् ।
पहिले कहिल्यै नसुक्ने पोखरी गत ४ वर्ष देखि सुक्ने क्रम सुरु भएको र यस वर्ष बढी नै सुकेको स्थानीय चन्द्रेश्वर बस्ताकोटीले बताए । पोखरी सुकेपछि पोखरा महानगरपालिकाले संरक्षणका काम सुरु गरेकाे छ । महानगरपालिका स्तरीय बजेटबाट ठुलीपोखरी (काश्यप ताल ) २०७९÷०८० मा संरक्षण र मर्मतकालागि २५ लाख खर्च भएको थियो । २०८०÷०८१ म १५ लाख खर्च गरेर पोखरीको पानी सक्ने क्रम रोक्ने काम भएको पोखरा महानगरपालिका २४ का वडा सचिव इन्द्रबहादुर जिसीले जानकारी दिए ।
खड्गाउँ पोखरी पनि सुक्न थालेपछि महानगरपालिकाले मर्मत सुरु गरेको हो । गड्गाम पोखरी संरक्षण र मर्मतकालागि २०७९÷०८० मा ५ लाख र २०८०÷०८१ मा ३ लाख रुपैयाँ खर्चेर पोखरी सक्ने क्रम रोक्ने काम गरिएको वडा कार्यालयले जनाएको छ । गड्गाम पोखरी ३ रोपनीमा फैलिएको छ भने ठूलिपोखरी ३० रोपनी क्षेत्रफलमा फैलिएको छ ।