पंक्षी – किसानका मित्र कि शत्रु ?


     राज अधिकारी     
     श्रावण १३ गते २०८१ मा प्रकाशित



पंक्षी जन्तु जगतमा पर्ने, प्वाँख, चुच्चो र पखेटा भएका प्राणीको समुह हो । मानव जातिसँग निकटतम सम्बन्ध भएका यी प्राणी किसानका चाहिँ मित्र रैछन् कि शत्रु ? यो लेख पढेपछि निर्णय गर्ने जिम्मा तपाईंहरूको है ।

पंक्षीहरू जहाँ वर्षैभरि प्रशस्त खानेकुराको जोहो हुन्छ र बचेरा कोरल्न उपयुक्त स्थान हुन्छ, त्यस्ता क्षेत्रहरूमा बढी बसोबास गर्ने गर्छन् । खेतबारीमा वर्षैभरि बिउ, फल, फूल, अन्न तथा हरिया बोटविरुवा उपलब्ध हुने हुँदा धेरैजसो पंक्षीहरू खेतबारीका ओरपर बस्न रुचाउँछन् । त्यसकारण पंक्षी र किसानको गहिरो अन्तर सम्बन्ध छ ।

सबैभन्दा पहिला पंक्षीले किसानलाई कस्ता कस्ता गुन लगाएका छन् भन्नेमा चर्चा गरौं । विश्वका ७५ प्रतिशत खाद्यान्न बालीहरू परागसेचकमा निर्भर छन् । कृषि विज्ञहरूका अनुसार प्रत्येक तिन गास खानामा एक गास खाना परागसेचकमा निर्भर रहन्छ । पंक्षी एक अति महत्त्वपूर्ण पराग सेचक हो । पंक्षीका माध्यमबाट हुने परागसेचनलाई ओर्निथोफाइली भनिन्छ । विज्ञहरूका अनुसार पंक्षीले किरा फट्याङ्ग्राको तुलनामा दोब्बर परागसेचन गर्छन् ।

अनुसन्धानकर्ता स्टवार्ट र क्रेगको एक अनुसन्धानले भुइँकटहर र अम्बा जस्ता फलफूलको परागसेचनमा पंक्षी सबैभन्दा उत्तम माध्यम रहेको बताएको छ । माकुरीचरी, बुङ्गेचरा, मधुहा, चाकासूचक, पुष्पकोकिल, कांकीर आदि पंक्षीहरू महत्त्वपूर्ण परागसेचक हुन् । परागसेचन सँगसँगै माटोको मलिलोपन तथा उत्पादकत्व वृद्धि गर्न पनि पंक्षीको महत्त्वपूर्ण भूमिका छ । पंक्षीको विष्टामा युरिक एसिडको मात्रा ज्यादा हुन्छ जुन एमोनियामा परिणत भइ माटोलाई चाहिने नाइट्रोजन प्रदान गर्छ र माटोलाई मलिलो बनाइदिन्छ । जसले गर्दा नाइट्रोजन तत्वको आवश्यकता पूर्ति गर्न प्रयोग गरिने युरिया तथा गोठेमलमा लाग्ने किसानको खर्च पनि न्यूनिकरण हुन सक्छ । 

किसानका मित्र पंक्षी भनिनुमा पंक्षीको अर्को पनि ठूलो भूमिका छ – किरा व्यवस्थापन । खाद्य तथा कृषि संगठनका अनुसार किराले मात्र विश्वको अर्थतन्त्रमा वार्षिक सत्तरी बिलियन अमेरिकी डलरको नोक्सान पु¥याउँछन् । किरा व्यवस्थापन गर्नु किसानका लागि ठूलो चुनौती हो । विषादीको प्रयोग बिना नै जैविक रूपमा किरा व्यवस्थापन गर्न पंक्षीले महत्त्वपूर्ण भूमिका खेल्छन् । विशेषगरी शिकारी चराहरू‌ किसानलाई किरा व्यवस्थापनमा सघाउँछन् । चिल, बाज, लाटोकोसेरो, काग जस्ता पंक्षीले मुसा खान्छन् ।

कागले सलह, धमिरा, गंगटा आदिको पनि नियन्त्रण गर्छ । धोबिनी चरा, कालो चिबे, बगाले भ्याकुर जस्ता चराले पुतली खाइदिन्छन् । टिकटिके चराले लाई किराको व्यवस्थापनमा सघाउँछ । जुरेली, काग, ढोडे गोकुल, वस्तु बकुल्ला, नीलपुच्छ्रे मुरलीचरा, आदि पंक्षीले फट्याङ्ग्रा रोकथाम गर्छन् । यो अर्थमा पंक्षीलाई किसानका घनिष्ठ साथी मान्नैपर्छ । यो त भयो किसानलाई पंक्षीले पु¥याएका फाइदाहरूको समीक्षा । यसलाई तराजुको एकापट्टी राखेर अब अर्कोपट्टि पंक्षीले किसानलाई दिएको असहजतालाई तोलौं है त । 

भारतमा गरिएको एक अध्ययनमा १९ परिवारका ६३ प्रजाति पंक्षीले बालीनालीमा नोक्सानी गरेको पाइएको छ । सो अध्ययनमा पंक्षीका ५२ प्रजातिले अन्नबाली, १४ प्रजातिले दलहन बाली, १५ प्रजातिले तेलहन बाली र २३ प्रजातिले फलफूलमा हानी नोक्सानी गरेको पाइएको छ । अर्का अनुसन्धानकर्ता ट्रेसीका अनुसार बागवानी बालीमा मात्रै पंक्षीले तीन सय मिलियन डलरको क्षति पु¥याएका छन् । बालीनालीमा पंक्षीले बिउ रोपे देखि फल लागुन्जेल सम्मका जुनसुकै चरणमा हानी पु¥याउँछन् ।

रोपेको बिउ तथा फूलेका फूल, फल, अन्न आदि खाएर पंक्षीले किसानलाई निकै सताउने गर्छन् । सँगसँगै पंक्षीले बिरुवा उखाल्ने, मूना भाँचिदिने, डाँठ चपाउने तथा भाइरस, ढुसी, ब्याक्टेरिया आदि जीवाणु प्रसारण गरी रोगव्याधी फैलाउने पनि गर्छन् । पंक्षीले हानी पु¥याएका फलफूल बजारका लागि अयोग्य भइ किसानलाई १०० प्रतिशत सम्म घाटा हुन जान्छ । खाद्यान्न बालीको डो–स्टेजमा पंक्षीले आक्रमण गर्दा उत्पादन ह्वात्तै घट्छ । खेतीबालीमा हानी नोक्सानी पु¥याउने पंक्षीमा विशेषगरी रबिन, कण्ठे सुगा, भँगेरा, मलेवा, काग, पिउरा, सारौं, चाँचर, तोपचरा, मुनियाँ आदि पर्छन् । यस अर्थमा नियाल्ने हो भने पंक्षी किसानका शत्रु नै साबित हुन्छन् । 
अब भन्नुहोस्, पंक्षी किसानका लागि मित्र रैछन् कि शत्रु ?