बर्दिया राष्ट्रिय निकुञ्जमा प्रिन्स ह्यारीलाई बाघ अनुगमन बारे जानकारी गराउँदाको स्मरणीय क्षण


     शैलेन्द्र यादव     
     श्रावण १६ गते २०८१ मा प्रकाशित


तराई क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज हो । यही बर्दिया राष्ट्रिय निकुञ्जले विगतमा विश्वकै चर्चित व्यक्तिहरूलाई स्वागत गरेको छ । विशेष गरेर बाघ, गैँडा, गोही लगायत दुर्लभ वन्यजन्तुको प्रत्यक्ष अवलोकनकालागि आकर्षक गन्तव्य मानिने बर्दियामा सामान्य पर्यटक देखि बेलायती राजकुमार प्रिन्स ह्यारी, टाइटानिकका हिरो लगायत सम्म पुगेका छन् ।

यहाँ मैले बेलायतका राजकुमार प्रिन्स ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज आउँदा उहाँ संग बिताएका केही क्षणका बारेमा आफ्नो अनुभव सेयर गर्दै छु । मानव जीवनमा अध्ययन, सिकाई, नयाँ नयाँ प्रविधिको ज्ञान महत्त्वपूर्ण रहन्छ । यही सिलशीलमा २०७२ चैतमा वन्यजन्तु अध्ययन सिलसिलामा म अमेरिकामा थिए ।  अमेरिका स्थित Smithsonian Conservation Biology Institute मा तालिम चलिरहेको थियो । तालिममा निकै रमाइलो सिकाइ चलिरहेको थियो ।

रमाइलो सिकाइका साथ अमेरिकामा तालिम चलिरहेको समयमा राति ११ः३० बजे भाइवरमा घण्टी बज्यो । मोबाइल नियाले । तत्कालीन बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले फोन गर्नु भएको रहेछ । कुराकानीका क्रममा उहाँले प्रिन्स ह्यारी बर्दिया राष्ट्रिय निकुञ्जमा आउने बारे जानकारी दिनु भयो । बेलायतका युवराजको भ्रमणमा म पनि संगै रहेर क्यामेरा ट्रयापिङ प्रविधिद्वारा कसरी वन्यजन्तुको अनुगमन र वन्यजन्तुको गणना गरिन्छ भन्ने बारे उहाँलाई जानकारी गराउनु पर्ने कार्यभार मलाई दिनु भयो । यति महत्त्वपूर्ण जिम्मेवारी मैले पाउँदा निकै खुसी लाग्यो । खुसी संगै मैले तालिम समापन पश्चात् न्यूयोक घुम्ने कार्यक्रम भने पोस्टपोन्ड गर्नु पर्ने भयो । न्यूयोक घुम्नु भन्दा पनि मैले पाएको जिम्मेवारी ठूलो थियो । त्यसै अनुसार म आफ्नो जिम्मेवारी पुरा गर्न अमेरिकाको बसाई छाेट्याएर नेपाल फर्के । मलाई कार्यालय प्रमुखले दिनु भएको जिम्मेवारी पुरा गर्न समयमै बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयमा हाजिर भए । बेलायती राजकुमार आउने भएपछि कार्यालय वरपर चहलपहल भइरहेको थियो ।

२३ मार्च २०१६ को दिन ११ बजे बिहान बर्दिया राष्ट्रिय निकुञ्ज प्रकृति संरक्षण कोष तथा अन्य स्टकहोल्डरको अफिसमा प्रिन्स ह्यारी आउने कार्यक्रमकालागि निकै चहलपहल थियो । प्रिन्स ह्यारी आउनु भन्दा तीन दिन पहिले नै बेलायती राजदूतावास, ZSL Nepal, WWF Nepal का प्रतिनिधिको मिटिङ भएको थियो । त्यो मिटिङमा म पनि सहभागी भए । बैठक पछि मलाई बेलायती दूतावासबाट इमेल आउने र त्यसै अनुसार तयारी गर्न भनियो । राजकुमारको भ्रमण तालिकाको विषय कसैलाई सेयर नगर्न पनि भनियो । भिआइपी सवारीको विषय अरू देशमा पनि सार्वजनिक नगर्ने चलन छ । मैले सहमती जनाए र म निकुञ्ज छेउमै रहेको कोठा तिर फर्के । 

निकुञ्ज नजिकै बस्ती नभएकोले इन्टरनेटको पहुँच म संग थिएन । त्यसैले इन्टरनेट चलाउन मैले अरूका सहारा लिनु प¥यो । इमेलमा प्रिन्स ह्यारीको आगमन बारे मैले ब्रिफिङ गर्नु पर्ने विषय र सेडुअल कटिङ गरेर पठाइएको रहेछ । सोही अनुसार म तयारी गर्न थाले । इमेलमा राजकुमार संग हुने मेरो भेटमा मैले क्यामेरा र मोबाइल पनि नलग्न भनिएको थियो । सोही अनुसार मेरो भागमा परेको जिम्मेवारी पुरा गर्न म लागिपरे । सन् २०१६ को मार्च २१ का दिन बिहानै देखि म राजकुमार ह्यारी संग भेट हुने र मैले गर्नु पर्ने भूमिका राम्रो संग निभाउने गरी निकै उत्साहित भएर तयारीमा बसे । प्रकृति संरक्षण कोषमा संरक्षण अधिकृत भएर त्यही कामकालागि म निकुञ्जमा खटिएको थिए । यसैले मेरो जिम्मेवारी अनुसारका काम गर्न मलाई अप्ठ्याराे विषय थिएन ।

प्रकृति संरक्षण कोष १०८० लेखिएको क्याप र सर्ट स्पेसल अडर गरेर बनाउन लगाएको थिए । बिहानै देखि विभिन्न संघ संस्थाहरूको चहलपहल सुरु भएको थियो । म बिहानै देखि बेलायती राजकुमारको पर्खाइमा थिए । राजकुमार संगको भेट कस्तो हुने हो मनमा निकै कौतुहल हुने नै भयो । यसै बीच बिहान करिब ११ बजेको समयमा हेलिकप्टरको आवाज सुनियो । हामी बर्दिया राष्ट्रिय निकुञ्जको जंगलमा थियौ । क्यामेरा ट्याप स्टेसनमा उभिइरहँदा पत्रकार आउनु भयो । बेलायत स्थित टेलिग्राफ लगायत अन्य स्वदेशी तथा विदेशी पत्रकारहरूले प्रश्न गर्न थाल्नु भयो । पत्रकार संगको कुराकानी समाप्त भए पश्चात् प्रिन्स ह्यारी  नजिकैको खोलामा राफ्टिङ गर्दै म बसिरहेको स्टेसनमा टिम सहित आउनु भयो । 

अनि मैले क्यामेरा ट्यापिङद्धारा बाघ अनुगमन कसरी गरिन्छ भन्ने बारे उहाँलाई जानकारी दिन थाले । यसै क्रममा मैले उहाँलाई राम्रो संग बुझाउन  जडान भएकै क्यामेरा अगाडी बाघ बनेर बाघ जस्तै स्क्रोलिङ गर्नकालागि अनुरोध गरे र ह्यारीले सजिलै स्वीकार गरेर क्यामेरा अगाडी हात, घुँडा टेकेर हिँड्नु भयो । म उत्साहित भए । बाघ हिँडेको जस्तै गरेर उहाँ हिँड्नु भएको अभिनयको फोटोहरू उहाँलाई देखाए । उहाँ हाँस्दै यस्तै गरी बाघको चाल भएको फोटो छैन भनेर सोध्नु भयो । मैले त्यही लोकेसनमा खिचेका बाघहरूको फोटो ल्यापटपमा देखाए । उहाँले आश्चर्य मानी मानी खै खै भन्दै तस्बिर हेर्नु भयो ।तस्बिर देखेर उहाँले हाउ बिग एन्ड फ्याँटी भन्नु भयो ।

बाघकालागि जंगलमा आहारा पर्याप्त छ भनेर सोध्नु भयो । मैले आहारा पर्याप्त छ भनेर जानकारी दिए । आहाराका रुपमा निकुञ्जमा चित्तल, बँदेलहरू रहेको बताए । उहाँले थप जानकारी माग्नु भयो । मैले प्रति स्क्वायर किलोमिटर करिब १ सय वटा चित्तल, बँदेल लगायत रहेको जानकारी गराए ।  त्यस पछि उहाँको अर्को जिज्ञासा थियो, बाघले मान्छेलाई आक्रमण गर्दैन ? मैले जवाफ दिँदै भने, मान्छे बाघको आहारा तथा खाना होइन । यसैले बाघले आहाराकालागि नै भनेर मान्छेलाई आक्रमण गर्दैन तर विशेष परिस्थिति जस्तै घाइते भएमा बुढो भएमा आफैले आहारा मारेर खान नसक्ने अवस्थामा मान्छे संग जम्काभेट भयो भने आक्रमण गर्न सक्ने बताए ।उहाँ मुस्कुराउनु भयो ।

अन्तमा यु आर डोइङ गुड जब भन्दै बर्दिया राष्ट्रिय निकुञ्जको हेड क्वाटर ठाकुद्धारा तर्फ प्रस्थान गर्नु भयो । त्यहाँ विभिन्न समयमा अवैध सिकार गर्नेबाट पक्राउ परेर राखिएका तथा सिकारीहरूले बुझाएका हातहतियार राखिएको स्थानको उहाँले अवलोकन गर्नु भयो । अन्तिममा उहाँले स्थानीय कला, संस्कृति र स्थानीय सांस्कृतिक नृत्य अवलोकन गरेर फर्कनु भयो । बेलायतका राजकुमारको त्यो सरलता देख्दा मलाई निकै खुशी लाग्यो । बेलायतका राजकुमारलाई आफूले संरक्षण क्षेत्रमा गर्दै आएको कामकै विषयमा जानकारी गराउने त्यो अवसर जुराइदिनु हुने तत्कालीन बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापा सर धन्यवादको पात्र हुनुहुन्छ ।

उहाँलाई पुन धन्यवाद दिन चाहन्छु । अहिले म फरक क्षेत्रमा छु । बर्दिया राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्रमा काम गरेको अनुभव पछि अहिले भने म प्राध्यापन क्षेत्र वन विज्ञान अध्ययन संस्थान हेटौडामा सहायक प्रोफेसरको रुपमा कार्यरत छु ।  मेरो विषय र कामको क्षेत्र वन, वन्यजन्तु र वातावरण क्षेत्रमै रहे पनि पहिलेको भन्दा फरक भूमिकामा छु । पहिले वन्यजन्तु संरक्षणमा प्रत्यक्ष जोडिएर काम गर्दै आएको थिए । अहिले भने मैले वन, वन्यजन्तु, वातावरण संरक्षणकालागि भोलि उत्पादन हुने युवा वैज्ञानिक, अनुसन्धानकर्मी उत्पादन गर्ने थलोमा कार्यरत छु । बर्दिया राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा रहँदाको त्यो क्षण मैले कहिल्यै बिर्सन सक्दिन ।

संरक्षण क्षेत्रमा मैले के कति योगदान दिए त्यो मूल्याङ्कन हुने नै छ । त्यस समयमा म संगै कार्यरत साथी भाइ, अग्रज सरहरूलाई सम्झी रहेको छु । संरक्षण अधिकृतको रुपमा काम गर्दा धेरै स्मरणीय क्षणहरू छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा बेलायती राजकुमार संगको त्यो भेटको समय अझै धेरै स्पेसल छ र  सम्झना रहिरहने छ । 

शैलेन्द्र यादव वन विज्ञान अध्ययन संस्थान हेटौडाका उपप्राध्यापक हुन् ।