भियतनाम र अमेरिकाको युद्धको बारेमा धेरै सुनेको र पढेको थिएँ l त्यो देशमा जाने हुटहुटी पहिला देखि नै थियो l झन् ४ वर्षसम्म बस्ने मौका मिल्यो l राष्ट्रको जामा भौतिकवादी साम्यवादको, तर समाज र परिवारको आदर्शहरू र सिद्धान्तहरूमा ‘पूर्वीय’ पक्ष रहेको अनुभव रह्यो l मलाई असाध्यै सहज र प्रिय लाग्ने देश र समाज बन्यो l ‘वाक हो’ (हो चि मिन्ह ) को देश भियतनामप्रति मेरो विशेष अनुराग पनि छ ।
जर्मनीको सङ्घीय खाद्य तथा कृषि मन्त्रालय/जोहान हेनरिक भोन थ्युनेन इन्स्टिच्युटको अनुसन्धानकर्ता एवम् ह्याम्बर्ग विश्वविद्यालयको विद्यावारिधिको शोधकर्ताको रूपमा २००८ को जाडो महिनादेखि २०१२ को गर्मी महिनासम्म भियतनामको उत्तरी प्रदेशहरूमा कार्यरत रहेँ। त्यसै सन्दर्भमा वन श्रोतहरूको आँकलन (Forest Resource Assessment) मेरो जिम्मेवारीहरू मध्ये प्रमुख थियो।
चर्को घाम, ३८-४० डिग्रीको गर्मी, नाक ठोक्किने ठाडो पहाडी भू-भाग, गोरेटोमा थुप्रिएका पात-पतिँगरहरूले विना दस्तुर समय-समयमा खेलाइदिने चिप्लेटी; त्यति सजिलो काम कहाँ थियो र ? फेरि घना बाँसको जङ्गलभित्र बाँसको झाँग मुनिबाट कुहिनोले टेक्दै घस्रेर केही दूरी पार गर्दा सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौली, चितवनको सम्झना आउने।
अझ बेत घारी छिचोल्दा त हात र अनुहारमा ८-१० वटा बेतको रेटाइ त कतै नजा; अनि बग्दै गरेको नुनिलो पसिना ती घाउहरूमा सरर बग्दा घाउहरू चरर चहर्याउँदा त पूर्वजन्ममा कति खति गरिएको रहेछ भने जस्तो लाग्ने। जुकाजीहरूको त कुरै नगरुम, ५-७ मिटर परबाट नै सुँघेर मानव शरीरमा धावा बोल्न तम्तयार भएर बस्ने l डाम्नाहरूको ‘रिमोट स्मेलिङ’ प्रविधि कति कडा हो ? खै किन हो, लाम्खुट्टेहरू पनि मसँग असाध्यै झ्याम्मिन्छन् । तर बेलुकीपख वास बस्ने घर पुग्दा स्थानीय मान्यजनहरूले मिठो आतिथ्य र स्नेह पूर्वक पस्किदिएको मिठो भोजन अनि स्थानीय पेयसँगै उनीहरूसँगको वार्तालापले दिउँसोको सबै दुःखहरू एकछिनमा छु-मन्तर हुने।
थाई ङ्गुएन (Thai Nguyen) प्रोविन्सको दिएम मक कम्युनमा वन संसाधन आकलन कार्य सुचारू थियो।
‘आज लन्च लानु नपर्ने हो र ? मैले सोधेँ । वन ईन्भेन्टरी दलका साथीहरूले भने, ‘आज उतै जङ्गल मै व्यवस्था गर्ने’।
मैले सोचेँ, उतै कुनै घरमा गरे होलान; आज पनि दुईवटा प्लटभन्दा बढी नभ्याइने भो। करिब-करिब बिहानको भात खाने बेलामा निर्धारित पहिलो प्लट छेवैमा पुगियो; प्रचण्ड गर्मी, ३८ डिग्री यस्तै हुँदो हो तातो। गोरेटोको तल्लोपट्टी एउटा टहरोमा एकैक्षण सुस्तायौँ ।
म इक्युप्मेन्ट (भर्टेक्स, क्राइटेरिओन आर-डी १०००) क्यालिब्रेट गर्नतिर लागेँ। साथीहरूले भने, पहिले खाना पकाएर खाऊँ, म अलिक अलमलिएँ। कुरो खुल्दै गयो। उनीहरूले हरियो बाँसको घना र केही थान केराको पात काटेर ल्याए । कोही त्यो प्रचण्ड गर्मीमा आगो फुक्न थाले। कोहीले बाँसको घनालाई टुक्रा टुक्रा पारे, एउटा गाँठो सहितको एक टुक्रा, मोहीको ढुङ्रो जस्तो भनूँ न । अनि ढुङ्रोभित्र सर्लक्क धोए, केराको पात पनि आधा उधी पारिवरी धोए झैँ गरे।
प्लास्टिकको कालो झोलाबाट चामल खन्याए केराको पातमाथि, अलि-अलि पानी छम्कँदै भिजाए। बाँसको ढुङ्रोमा तिन-चार सय मिलिलिटर जति पानी हालियो । पानीले हल्का भिजेको चामल केराको पातमा लपेटियो अनि ढुङ्रो भित्र हालियो । माथिपट्टी बाँसको पातले नै बुजो लगाइयो। जतिजना मान्छे, त्यति नै बाँसका ढुङ्रा। उता ३८ डिग्री तातोमा सुकेको दाउरा अनि बाँस अनि अरू पात-पतिङ्गरमा आगो ‘चटचट चटचट’ मस्त। त्यो रापिलो भुङ्रोमा उनीहरूले बाँसका ढुङ्रालाई टेकाए, माथिल्लोपट्टिको भागलाई एउटा तेर्सो भाटोमा ७०- ७५ डिग्री कोणमा थोरै तिरछा पारी अड्याए। अलि-अलि बल्दै गरेको आगोमा अलिक स-साना दाउरा थपी आगो थप दन्काए।
१५- २० मिनट गफियौँ, आगो पनि थप सामग्रीको अभावमा सुस्तायो, हाम्रो दिउँसोको खाना तयार भएको सङ्केत भो। त्यही टहरोमा बनाइएको बाँसको टाँडमाथि बसियो। उनीहरूले केराको पात ओछ्याए, सबैलाई १-१ टुक्रा ‘थाल’ सरह भनौँ न। बाँसका ढुङ्रालाई भुङ्रोवाट झिकियो। उनीहरूले तात्तातो ढुङ्रालाई खुर्पाले चिर्न थाले। ढुङ्राबाट केराको पातमा सर्लक्क लपेटिएको ‘चाम्रे भात’ निकालियो र ओछ्याएका केराका पातमा पस्कियो। अनि त्यो भातलाई ‘कन्डेस मिल्क’ मा चोप्दै मज्जाले खाइयो। भोकाएको बेला बाँसका ढुङ्रा र केराको पातमा पकाएको ‘चाम्रे भात’ – गजब मिठो भो।
उनीहरूले युद्धको बेला यस्ता थुप्रै स्थानीय ज्ञानहरूलाई प्रयोग गर्दा रहेछन् l भियतनाम युद्धको समयमा मेरा प्रिय र आदरणीय भियतनामी जनहरूलाई यो उपाय जङ्गलमा बाँच्नको लागि निकै उपयोगी भयो होला। जे होस, भियतनाम बसाइका धेरैमध्ये यो अनुभव निकै स्मरणीय रह्यो।
(डा. प्रेमराज न्यौपाने जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयमा अध्यापन तथा अनुसन्धान गर्दै आउनुभएको छ। उहाँ वन व्यवस्थापन, जलवायु परिवर्तन र जैविक विविधतामा रुचि राख्नुहुन्छ ।)