नेपालमा रेल गाडी गुडेको इतिहास खोज्न थाल्यौँ भने धेरैलाई थाहा नभएको इतिहास भेट्दछौँ । नेपालमा रेल गाडीको सुरुवात पश्चिम नेपालमा भएको थियो । यो रेल सेवा भारत उत्तर प्रदेशको बहराइचबाट नेपालको बर्दिया जिल्लाको तारा तालसम्म जोडिएको थियो । ‘नेपाल फरेष्ट्री रेलवे’ नाम दिइएको रेलवे पूर्णरूपमा भारतमा रहेको अङ्ग्रेज सरकारले आफ्नो स्वार्थको लागि बनाएको थियो। बर्दियाको जङ्गलमा सखुवाको (साल) रुखहरू काटेर ती रेलले काठहरू भारततर्फ लैजाने गर्दथे । त्यतिबेलाका राणा शासक चन्द्रशमशेरले त्यसबापत निश्चित रकम पाउँथे।
इष्ट इन्डिया कम्पनीको समयमा अवध राज्यअन्तर्गत रहेको यो रेलवे विसं १९६२ मा सुरू भएको थियो । नेपालको बर्दिया तारा तालसम्म २५ किमी लामो रेलले धेरै नै सखुवाका काठहरू ओसारेको थियो । रेलको लिकको लागि आवश्यक पर्ने सखुवाको रुख सकिएपछि सो रेल पनि बन्द भयो ।
चन्द्रशमशेरकै शासनकालमा नेपालमा दोस्रो रेल सेवा सुरू भयो । यो रेल सेवा पनि चारकोशे झाडीको जङ्गलबाट रुख कटानी गरी काठहरू भारत निकासी गर्न बनाइएको थियो । तर पछि यसको उद्देश्यमा परिवर्तन गरियो । प्रथम विश्वयुद्धको समाप्तिपछि बेलायत सरकारले नेपाल सरकारलाई युद्धमा मृत्यु भएका सैनिकहरूको ब्लड मनिबापत पाएको रकमले यो रेल बनाइएको थियो।
‘नेपाल गवर्मेन्ट रेलवे’ नाम दिइएको सो रेल सेवा विसं १९८३ फागुन ५ गतेबाट सञ्चालनमा आएको थियो । ४२ किमी लामो यो रेलवे भारतको रक्सौलबाट अमलेखगन्जसम्म जोडिएको थियो । यस रेलले नेपालबाट काठहरू ओसार्थ्यो भने भारतबाट नेपाललाई आवश्यक पर्ने विभिन्न सामग्रीहरूको आपूर्ति गर्दथ्यो । कलकत्ताको मेसर्स एन्ड मार्टिन कम्पनीले सञ्चालन गरिरहेको सो रेल सेवालाई पछि जुद्धसमशेरको शासनकालमा नेपाल सरकारको मातहतमा ल्याइ रेलवेको लिक भित्री बजारबाट हटाइ केही बाहिरबाट लगिएको थियो । साथै केही कार्यालय भवन मर्मत गर्ने ठाउँ र आवासगृहहरू पनि बनाएका थिए ।
यसपछि नेपालमा तेस्रो रेल सेवा पनि श्री ३ चन्द्रशमशेरको समयमा नै सुरू भएको थियो । विसं १९८४ मा निर्माण भएको रेल सेवा पनि बर्दिबासका जङ्गलबाट रुख कटानी गरी भारततर्फ काठ निकासी गर्नको लागि बिजलपुरासम्म ५३ किमी लामो बनाइएको थियो । पछि पर्याप्त काठहरू ओसारी सकेपछि नेपाल सरकारलाई सुम्पिएको थियो । विसं १९९४ मङ्सिर १६ गते विवाह पञ्चमीकै दिन पारेर भारतीय तीर्थयात्रीहरू बोकेर जनकपुर आएको थियो । यसरी यो रेलको नामकरण ‘नेपाल जनकपुर जयनगर रेलवे’ (NJJR) गरी प्यासेन्जर ट्रेनमा परिवर्तन गरियो।
यस रेलवेमार्फत भारतीय तिर्थयात्रीहरूलाई जानकी मन्दिरतर्फ आकर्षित गर्न सफल भएको थियो । त्यस बेला गुड्ने हन्सलेट कम्पनीले बनाएका 4-6-0T मोडलका इन्जिनहरूको नाम भने गुह्येश्वरी र पशुपति राखिएको थियो । पछि एभोनसाइड इन्जिन कम्पनीको अर्को इन्जिन 0-6-2T को गोरखनाथ पनि थपियो । यसपछि सन ३० को दशकमा महावीर, कृष्ण, राम तथा सीता नामका इन्जिनहरू थपिए।
पछिल्लो चरणमा थपिएका इञ्जिनको नाम भने सीताराम, श्री विष्णु, सूर्य तथा चन्द्र थियो ।
यसपछि पनि नेपालमा केही अन्य रेल सेवा सञ्चालनमा आएको थियो । चौथो रेल सेवा भने काठमाडौ उपत्यकाभित्र मातातीर्थदेखि लैनचौरसम्मको १० किमी लामो थियो । ‘मातातीर्थ रेलवे’ नाम दिइएको यो रेल भने रोपवेबाट मातातीर्थसम्म आइपुगेका सामग्रीहरू ओसार्नको लागि बनाइएको थियो।
पाँचौ रेल सेवा कोसी ब्यारेज निर्माणको क्रममा भारत सरकारले निर्माण सामग्री ओसारपसारको लागि चतरादेखि भारतको वीरपुर तथा बथनाहासम्म जोडिएको थियो । यस रेल सेवालाई कोसी प्रोजेक्ट रेलवे (के.पी.आर.) नामकरण गरिए पनि नेपालीहरूले ढुङ्गा बोक्ने हुँदा ढुङ्गे रेल भन्दथे । पछि फुस्रेदेखि घोपा सम्म ट्रकमा ढुङ्गा ओसार्ने तथा घोपादेखि भीमनगरसम्म रेलले लगिन्थ्यो ।
छैटौँ बालरेल भने भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले राजा त्रिभुवनको समयमा दिएका थिए । सुरूमा गोपाल रेल नाम दिइए पनि पछि भृकुटीमण्डपमा बच्चाहरूको लागि मनोरञ्जनको रूपमा राखिए पछि यसलाई बाल रेल नामकरण गरिएको थियो ।
यहाँ तस्बिरमा गुह्येश्वरी जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको देख्न सकिन्छ । जनकपुर पुग्ने समयमा रहेको यो पुलमा गुडेको रेल देख्दा निकै रमाइलो लाग्ने गर्दछ । समयसँगै बन्द भएको यो रेल सेवा फेरि सञ्चालनमा आउने आशा जागेको छ।
(सुनील उलक फोटो संकलक एवं संस्कृति संरक्षणकर्मी हुन्)