कोलुब्रिडि परिवारमा पर्ने यो सर्प भारतको उत्तर खेरी डिभिजनमा पहिलो पटक फेला परेको थियो । त्यसछि यो सर्प भारतको विभिन्न ठाँउहरुमा रेकर्ड भएको थियो । नेपालमा यो सर्प तराईको पूर्व देखि पश्चिम सम्म पाइन्छ । यो झट्ट हेर्दा पुरै शरीर रातो पहेलो चम्किलो, टाउको र घाँटी प्रस्ट छुटाउन नसकिने किसिमको आकृति भएको देखिन्छ ।
यसको अंग्रजी नाम कोरल कुकुरी स्नेक (ओलिगोडन खेरेनेन्सीस) हो । नेपालीमा यसलाई कुकुरी सर्प भनिन्छ । विश्वमा यस प्रजातिको अध्ययन अनुसन्धान कमै मात्रामा भएको पाईन्छ ।
सर्पदंश
नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सर्पको टोकाईबाट धेरै मानिसकाे मृत्यु हुने गर्दछ । प्राय मानिसहरु डर त्रास र विभिन्न घरेलु उपचार तथा झारफुकको लापरबाहीले ज्यान जाने गरेको पाईन्छ । त्यसैले आफ्नो घर वरिपरि तथा आफू बस्ने क्षेत्रमा रहेका सर्पहरू पहिचान गर्न अति आवश्यक हुन्छ ।
सर्पसँगको यात्रा
कलेज पढ्दादेखि नै मेरो सर्प संरक्षण तथा उद्दारका कामहरूमा सक्रियतापूर्वक काम गरिरहेको थिए । हालसम्म आठ सय भन्दा बढी सर्पहरू (विषालु र अविषालु) उद्दार गरिसकेको भएतापनि कहीँ कतै सबै सर्पको आनीबानीको बारेमा प¥याप्त जानकारी लिन नसकिने अवस्था भएको हुँदा अप्ठेरोमा परेका कयौँ घटनाहरू रहेका छन् ।
यस्तै एउटा घटना
आज भन्दा करिब २ वर्ष अघि म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा कार्यरत रहेको अवस्थामा उक्त कार्यालयमा कार्यरत हुँदा धेरै सर्प उद्दारको क्रममा मैले यो सर्प उद्दार गर्ने मौका पाँए । यो सर्प सो समयमा नयाँ तथा यो प्रजातिको सर्पको पहिलो उद्दार थियो । गाउँघरबाट उद्दार गरेका सर्प उद्दार गरेर प्राय कार्यालयमा ल्याई आवश्यक अनुसन्धानको लागि केही फोटो तथा नाप लिई सुरक्षित स्थानमा छाडने गरिन्थ्यो । सोही क्रममा एक स्थानीय व्यक्तिको घर छेउबाट मैले पनि यो सर्पलाई उद्दार गरी आवास क्षेत्रमा ल्याई फोटो खिच्दै थिए । टाउकोको फोटो खिच्ने क्रममा अकस्मात् मेरो देब्रे हातको औलामा आई टोकिदिएको थियो ।
अनुभव
कुनै पनि सर्प प्रजातिको फोटो खिच्दा तथा उद्दार गर्दा सर्प भएको दुरी भन्दा टाढाबाट फोटो लिने र सर्पलाई नछोईकन उद्दार गर्ने । उक्त सर्पले टोकिसकेपछि मैले तुरुन्त गुगल गरी यसको बारेमा बुझ्ने प्रयास गरे । सो भन्दा अघि मलाई यसको बारेमा त्यति जानकारी थिएन । किनभने यो प्रजाति मेरो पहिलो उद्दार थियो । फोटोहरूमा चाहिँ देखेको थिए । यसैले नाम पनि प्रस्ट थाहा थियो । कतै कसैलाई यो सर्पको बारेमा सिकाउनु पर्दा फोटोको आधारमा अबिषालु सर्प भनी सुनाउँथे । मैले गुगल गर्ने क्रममा यसको विषको बारेमा केही पनि कुराहरू भेटिन । अझ पनि मलाई कुनै डर थिएन । किनभने मेरा अग्रजहरूबाट तथा मैले गरेको अध्ययनबाट नेपालका विषालु सर्पको बारेमा जान्ने मौका पाएको थिए ।
म एउटा कुरामा अडिग थिए कि यो विषालु सर्प होइन। मलाई केही पनि हुँदैन भन्ने विश्वासका साथ उक्त सर्पलाई नजिकैको सुरक्षित स्थानमा छाडी फर्केको थिए । सोही समयमा सँगै सेवामा रहेका रहेका एक जना समकक्षी साथीले यो कुरा थाहा पाएपछि उहाँ आत्तिनु भएछ । उहाँले मलाई बोलाएर पटक पटक अस्पताल जाम भनी अनुरोध गर्दा पनि मैले इन्कार गरे । मलाई केही भएको छैन । यो अविषालु सर्पले टोकेको हो मलाई केही पनि हुँदैन भनेर बसे । आवास क्षेत्रमा हामी सँगै बस्ने भएकाेले उहाँ धेरै आत्तिनु भयाे । उहाँकाे अनुरोध टार्न सकिन र उपचार गर्न गए । त्यस अघि मैले सर्पले टोकेको ठाउँमा प्राथमिक उपचार पनि गरेको थिइन् ।
कार्यालयको साधन लिई हामी नजिकैको महाकाली अस्पताल जानुपर्नेमा सिधै पूर्वी सेक्टर अर्जुनमा रहेको सर्पदंश उपचार केन्द्रमा गयाै । आफ्नै कार्यालयसँग प्रत्यक्ष रूपमा नेपाली सेना खटिएको उपचार केन्द्र भएको र सबै कर्मचारीहरुसंग राम्रो चिनजान भएको हुँदा हामी सरकारी अस्पतालमा गएनौ । मुख्य कार्यालयबाट जब ७ कि.मि टाढा महेन्द्रनगर पुग्नसाथ मेरो मनले केही सोचेजस्तो लाग्यो । टाउको भारी भएको थियो र तिर्खा लागेको थियो तर मलाई थाहा थियो सर्पले टोकेपछि पानी खानु हुँदैन । मैले सोच्न थाले मलाई साँच्चै अविषालु सर्पले नै टोकेको हो भने म किन उपचारको लागि जादैछु ? मैले किन एक जना साथीलाई पनि यसको बारेमा सम्झाउन सकिन कि मलाई केही हुँदैन ? आफै सर्प उद्दार गर्ने व्यक्तिलाई अविषालु सर्पले टोकी उपचार गर्न जाँदा मेरो कति लाज होला लगायतका कुराहरू मनमा खेल्याे । मैले बिस्तारै आफूलाई गर्मी भएको जस्तो महसुस गरे अनि गाडीको सबै झ्याल खोल्न लगाए ।
जब मैले झ्याल खोल्न भनेको थिए मसँगै गएका साथीहरूले मलाई अलि अर्कै किसिमले हेरे जस्तो लाग्यो ताकी मलाई विषको लक्षण देखा परेको थियो । यो देखेपछि म आत्तिन थाले मेरो चाल चलन, हेराई बोलाई पहिले भन्दा फरक त भएन, किन साथीहरूले यसरी हेर्नू भएको होला । अब मलाई अलि गाह्रो महसुस हुन लाग्यो । मलाई केही नभएको जस्तो देखाउन मैले लामो लामो सास फेरी रहेको थिए सोही समयमा मलाई अर्कै किसिमको लक्षण महसुस गरे । मैले फेरेको सास नपुगे जस्तो अलि गर्मी भए जस्तो, घाटी दुखेजस्तो, वान्ता आउला जस्तो । म अब अलि गम्भीर हुन थाले । मैले गल्ती गरेकाे महसुस भयाे । जस्तो सुकै सर्पले टोके पनि प्राथमिक उपचार गर्नु पर्ने थियो भन्ने लाग्याे । अझै उपचार केन्द्रमा पुग्न ८ कि.मि छ म त्यहाँसम्म पुग्दा बाँच्छु कि बाँच्दिन होला भन्ने कुरा मनमा खेल्याे । महेन्द्रनगरको सरकारी अस्पतालमा उपचार गर्न गएको भए हुन्थ्यो कि भन्ने पनि लाग्याे । चालकलाई अलि छिटो गाडी चलाउन अनुरोध गरे । करिब २० मिनेटपछि म सर्पदंश उपचार केन्द्रमा पुगे ।
त्यहाँ मैले चिनेकै साथीहरू हुनुहुन्थ्यो । उहाँहरूले मलाई सर्पको टोकाईको बारेमा धेरै कुराहरू सोधी सकेपछि एक जना नेपाली सेनाका कर्मचारीले मलाई मेरो शारीरिक जाँच लिनु भयो । उहाँले आवश्यक जाँच गरेपछि तपाईँलाई केही भएको छैन, चिन्ता लिनु पर्दैन सबै ठीक छ भन्नु भयाे । त्यती बेला प्रेसर १८०÷८० रहेकाे बताउनु भयाे । पल्सरेट पनि नर्मल छ भन्नु भयो । केही औषधी खान दिनुभयो । औषधी खाइसकेपछि मलाई आफ्नो शरीर हल्का भए जस्तो लाग्यो । आँखा खुलेजस्तो, वान्ता रोकिए जस्तो भयो र म स्वस्थ्य अवस्थामा फर्केकाे महसुस भयो । करिब १ घण्टा पछि मलाई पूर्णरुपमा ठिक भएजस्तो लाग्यो ।
मेरो अनुहारमा चमक आएकाे र ठिक भएको महसुस गरे । उपचार केन्द्रमा खटिएका कर्मचारीले अझै डर लागेको छ भने तपाई २ ÷४ घण्टा बस्दा हुन्छ भन्नु भयाे । सहज भएकाे छ भने जाँदा पनि हुन्छ भन्नु भयो । कुनै पनि विष प्रतिरोधात्मक ओषधी लगाउनु परेन । म खुसी हुँदै बेडबाट उठेर कार्यालयमा फर्किन लागेको थिए तब उहाँले फेरी भन्नु भयो सर तपाईँको रिपोर्ट लिएर जानुस् । मैलाई जाँच गरेको रिपोर्ट कतै आवश्यक पर्न सक्छ भन्ने ठानी म फेरी रिपोर्ट लिन गए । जब मैले रिपोर्ट हेरे, त्यस रिपोर्टमा मलाई चेकजाँचको क्रममा भनेको रिपोर्ट भन्दा फरक विवरण पाए । मेरो प्रेसर सामान्य भन्दा बढी भइसकेको रहेछ । मैले सो समयमा धेरै तनाव लिएको रहेछु, आत्तिएको रहेछु र धेरै डराईसकेको रहेछु । मैले मुखले जतिसुकै नडराएको भनी अरूलाई भनेको भएतापनि भित्रभित्रै मेरो शरीरमा धेरै तनाव भइसकेको रहेछ ।
अनुभव
यसबाट के अनुभव भयाे भने चाहे जुनसुकै सर्पले टोके पनि टोकेको थाहा पाउन बित्तिकै अस्पताल जानु पर्छ । कुनै पनि व्यक्तिलाई सर्पले टोकिसकेपछि आफू आत्तिएपनि टोकेको व्यक्तिलाई अत्याउनु हुँदैन । जुनसुकै पेसा, धर्म आस्थामा संलग्न हुनुस् तपाईँलाई सर्पले टोकेको छ भने उपचार गर्न छिटो भन्दा छिटो अस्पताल पुग्नुहाेस । सर्पले टोकेको व्यक्तिले विष नलागे पनि अनेक किसिमको लक्षण महसुस गर्न सक्छ ।उसलाई सान्त्वना प्रदान गर्नु पर्दछ र तनावमुक्त बनाउनु गर्दछ ।