
२०७६ को चैत ११ देखि कोरोना सङ्क्रमण नियन्त्रण गर्न सुरु भएको लकडाउन र कडाइका कारण शून्यको अवस्था सम्म पुगेको पर्यटन उद्योग तेस्रो लहरको कोरोनापछि पर्यटक आगमन बिस्तारै बढ्दो क्रममा रहेको तथ्याङ्क छ ।
पुन नयाँ भेरियन्टको सङ्क्रमण नदेखिए पर्यटन उद्योगले लय समाउने गरी पर्यटकको आगमनमा बढोत्तरी हुँदै गएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । पोखरामा नयाँ वर्ष २०७९ मनाउने आउने आन्तरिक पर्यटक र विदेशी पर्यटक समेतको आगमनले नयाँ वर्षको दुई दिन ८० प्रतिशत भन्दा बढी अकुपेन्सी रहेको थियो । कोभिड पछि पछिल्लो समयमा पर्यटकको आगमन बढ्दो क्रममा रहेको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
तेस्रो मुलुकका पर्यटकका आगमन पनि बढ्दाे क्रममा रहेकोले लामो अन्योल तर तनावमा रहेको पर्यटन उद्योगमा नयाँ आशा र विश्वास पलाएको अध्यक्ष सुवेदीले बताए । पर्यटकीय सहर पोखरामा होटलमा मात्र ४ अर्ब भन्दा बढी लगानी रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष सुवेदीले बताए ।१२ सय होटलमा १५ हजार भन्दा बढीले रोजगारी पाएको पनि उनले सुनाए । यति ठूलो लगानी रहेको पर्यटन उद्योगमा कोभिडका कारण पर्यटक आगमन शून्यमा रहँदा धेरै व्यवसायीको लगानी जोखिममा रहेकोले सरकारले राहत र पर्यटन प्रवर्द्धन सहयोग गर्नु पर्ने व्यवसायीले बताएका छन् ।
पोखराको पर्यटन उद्योगमा कुल लगानी ५ खर्व बढी रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराईले बताए ।कास्की र पोखरामा वर्षेनी कति पर्यटक आउँछन् भन्ने यकिन तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना बाहेक अरू कुनै पनि सरकारी निकायले राख्ने गरेका छैनन् । पोखराका पर्यटन व्यवसायीले नेपालमा आउने कुल पर्यटकमा ४० प्रतिशत पर्यटक पोखरामा आउने गरेको अनुमान गर्ने गर्दछन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा सन् २०२२ को तीन महिनाको तथ्याङ्क हेर्दा पर्यटकका आगमन कोरोना पछिकै सबैभन्दा बढ्दो क्रममा रहेको पाइएको छ । सन् २०२२ को जनवरीमा अन्नपूर्ण संरक्षण क्षेत्रमा ९७६ जना पर्यटक पदयात्रामा पुगेको तथ्याङ्क छ ।
त्यसमा सार्क मुलुकको पर्यटकको सङ्ख्या ५०३ र सार्क बाहेकका अन्य मुलुकका पर्यटकको सङ्ख्या ४७३ रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी अशोक सुवेदीले जानकारी दिए । यस्तै गरी फ्रेब्रुवरीमा कुल पर्यटकको आगमन १५८७ रहेको छ । सार्क मुलुकका पर्यटक ५३० आउँदा सार्क बाहेकका अन्य देशमा पर्यटकको सङ्ख्या बढेर १०५७ रहेको एक्यापकाे तथ्याङ्क छ । मार्च महिनामा एकै महिनामा कोभिड पछिकै सबैभन्दा धेरै १२ हजार २ सय १९ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रा गरेको तथ्याङ्क छ ।
सार्क मुलुकका ७ हजार २ सय ६० जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्दा तेस्रो मुलुकका ४ हजार ९ सय ५९ जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रा गरेको एक्यापका संरक्षण अधिकृत समेत रहेका सूचना अधिकारी सुवेदीले जानकारी दिए । सन् २०१९ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा इतिहासमै सबैभन्दा धेरै १ लाख ८१ हजार ५ सय ७६ जना विदेशी पर्यटकले पदयात्रा गरेका थिए । कोरोना पछि विश्व पर्यटन बजारले नै नराम्रो संग प्रभावित भएको हो ।