
अंग्रेजी महिना सेप्टेम्बरको पहिलो शनिवार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँन्छ । सन् २००९ देखि प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार गिद्ध सचेतना दिवस मनाइँदै आएको हो। सेप्टेम्बर महिनाको पहिलो साता भर नै गिद्ध सचेतना दिवस मनाइन्छ । स्वस्थ आहाराको कमी र बासस्थान विनाशका कारण सिनो खाएर वातावरण सफा गर्ने प्रकृतिको कुचिकार गिद्ध संकटमा पर्दै गएका छन्।
यसैकारण गिद्ध संरक्षणका लागि यो अभियान विश्वभर मनाइँदै छ। गिद्धले सिनो खाएर मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झडापखाला र पशु चौपायाहरुमा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोगजस्ता रोगहरुको संक्रमणले निम्त्याउन सक्ने महामारीबाट बचाउँछ। वातावरण सफा गरेर विभिन्न घातक रोगहरुबाट मानिस र अन्य जनावरलाई बचाउने गुनकारी पंछी यति बेला मानिसका व्यवहारका कारण संकटमा पर्दै गएका हुन्।
गिद्धलाई बाँच्नै सकस

तस्बिर : कृष्णमणि बराल
मानिसका व्यवहारका कारण गिद्धलाई बाँच्न सकस पर्दै गएको छ। सन् १९९० को दशकमा नेपाल, भारत र पाकिस्तानमा ठूलो संख्यामा गिद्ध घट्दै गयो। यसको कारण खोज्दौ जाँदा वैज्ञानिकले सन् २००४ मा पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक रहेको पुष्टि गरे। पशु उपचारमा डाइक्लोफेनेक खुवाइएका जनावर मरेपछि आहाराको रुपमा गिद्धले खाँदा गिद्धको मिर्गौला बिग्रेर ठूलो संख्यामा गिद्धको मृत्यु भएको पुष्टि भएको थियो।
नेपाल सरकारले २०६३ जेठ २३ गतेदेखि पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधि प्रयोग र आयातमा रोक लगाएको छ। यसको विकल्पमा गिद्धलाई असर नगर्ने मेलोक्सियाम पशु उपचारमा प्रयोगमा ल्याएको छ। पशु उपचारमा डाइक्लोफेनेक प्रयोगले गिद्धलगायत चरालाई असर गर्ने पुस्टि भएपछि सन् २००६ देखि नै मेलोक्सिक्यामको आविस्कार गरी प्रयोगमा ल्याइएको हो।
आहारामा विष
पछिल्लो समयमा कुकुरलगायत बिभिन्न जनावरलाई बिष खुवाएर मारेर जथाभावी फाल्ने प्रवृत्ति बढेको छ। गिद्ध संरक्षणमा यो प्रवृति अर्को चुनौती बनेको छ। यस्ता विषाक्त सिनो खाँदा ठूलो संख्यामा गिद्ध मर्ने गरेका छन्।
२०७८ बैशाख महिनाको पहिलो हप्ता बिष खुवाएर मारिएका कुकुरको सिनो खाँदा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ७० बढी गिद्धको मृत्युभएको थियो। गिद्ध समूहमा बसेर सिनो खान्छन् यसैले एउटै गल्तीले ठूलो संख्यामा गिद्धको मृत्यु हुन्छ। मानिसले गर्ने यस्ता असावधानी र हेलचक्रयाँइ गुनकारी पंछी संरक्षणमा चुनौती बनेको छ।
बिजुलीका नाङ्गा तार गिद्धलाई धराप
हाइटेनसन लाइनका नाङ्गातारमा प्रवाह हुने करेन्टका कारण पनि गिद्ध मर्ने गरेका छन्। तनहुँको ब्यास नगरपालिकाको १० सिसुवा भतेरीमा करेन्ट लागेर ठूलो संख्यामा गिद्ध मर्ने गरेका छन्। मिदिम हाइड्रोपावरको भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइनको पोलमा बस्ने क्रममा करेन्ट लागेर गिद्ध मर्ने गरेका छन्। हरेक वर्ष दुई दर्जनभन्दा बढी गिद्धको यस क्षेत्रमा करेन्ट लागेर मर्ने गरेको स्थानीयले बताएका छन्।
यहाँ मात्र होइन पोखराका विभिन्न क्षेत्र हुँदै लगिएका हाइटेन्सन लाइनमा ठोक्कीदा, पोलमा बस्दा करेन्ट लागेर विभिन्न प्रजातिका दुर्लभ गिद्ध मर्ने गरेका छन्। यस्ता लाइनमा बस्दा गिद्ध मात्र होइन अन्य प्रजातिका चरा चमेरा, चील लगायत पनि मर्ने गरेका छन्।
खोसियो बासस्थान र चरन क्षेत्र
पोखरा १४ छिनेडाँडा, मझेरीपाटन क्षेत्र विमानस्थल निर्माण अघि सम्म गिद्धका लागि चरन क्षेत्र थियो। हिउँदमा जाडो छल्न मुस्ताङबाट घोडा, खच्चड झारिन्थ्यो। घोडा, खच्चड मात्र होइन स्थानीयका गाई, गोरु, भैसीजस्ता चौपायाहरु छिनेडाँडामा अहिले निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भित्र चर्दथे।

तस्बिर : कृष्णमणि बराल
चरनकै क्रममा अहिले निमाण सम्पन्न भएको विमानस्थल क्षेत्रको धावनमार्ग, ट्रमिनल भवन, ट्याक्सी पार्किङ लगायतका क्षेत्रमा लामो यात्रा गरेर आएका बुढा घोडा, खच्चड मर्दथे। मरेका ती घोडा, खच्चड गिद्धले खाएर केही घण्टैमा सफा चट पार्थे। घोडा, खच्चडमात्र होइन स्थानीयका गाई, गोरु ल्गायतका जनावर मरेपछि गिद्धले खान्थे।
सन् २०२३ जनवरीदेखि यहाँ गिद्धले अवतरण र उडान भर्न पाउने छैनन्। चिलगाडी बसेर मानिसले उडान भर्ने र अवतरण गर्ने छन्। यसरी गिद्ध नियमित रमाउने आँगन, चरन क्षेत्र र वर्षै देखि आहारा खाने स्थल खोसिएको छ।
स्थानीयको खेत, घरबारी रहेको यस क्षेत्र विमानस्थलका लागि २०३२ सालमा ३१ सय रोपनी जग्गा अधिग्रहण गरेर सुरु भएको थियो। पटक–पटक गरी अहिले ३ हजार ८ सय ९९ रोपनी जग्गा अधिग्रहण गरेर २५ सय मिटरको धावन मार्ग सहित विमानस्थल निर्माण भएको हो।
छिनेडाँडामा विमानस्ल बनेर गिद्धको चरन क्षेत्र खोसिए जस्तै पोखराका सिंचाई सुबिधा भएका कृषि भूमिमा कंक्रिट जंगल बन्दा पनि गिद्धको चरन क्षेत्र खोसिएको छ। सिंचाई सुविधा भएका उर्वर कृषि भूमी पोखराको फेवातालको पानीले सिंचित हुने बिरौंटा फाँट, सेती नदीको पानीले सिंचित हुने चाउँथे, कुडहर फाँट, लेखनाथका फाँटहरु, फेवाताल किनारका सेदी फाँटमा अहिले बस्ती बसेका छन्। बिरौटा फाँट, चाउँथे, कुडहरमा एक बाली वर्षे धान लगाइन्थ्यो।
त्यसपछिका महिनामा चौपायाका लागि चरन क्षेत्रका रुपमा प्रयोग हुन्थे। यसरी चनरकै क्रममा मरेका गाई, गोरु, भैसीलाई गिद्धले आहाराको रुपमा खान्थे र प्रदूर्षण नियन्त्रणमा योगदान दिन्थे। सरकारको अदुरदर्शिताका कारण पोखराका सिंचाई सुविधा भएका उर्वर भूमि कंक्रिट जंगलमा परिणत भएका छन भने गाउँ गाउँका बस्ती रित्तिँदै गएका छन्। यसकारण खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ भने पर्यावरणीय जोखिम पनि उस्तै रुपमा बढ्दै गएको छ।
गिद्धको घर अग्ला सिमलका रुखहरु पनि पोखरा र वरपर विस्तारै मासिँदै गएका छन्। पोखराको मुख्य बजारको नाम नै सिमलचौर रहेको छ। यहाँ अग्ला सिमलका रुख प्रसस्त भएकाले यस ठाउँको नाम नै सिमलचौर राखिएको नागरिक समाज पोखराका पूर्व संयोजक विष्णुहरि अधिकारी बताउँछन्।

तस्बिर : कृष्णमणि बराल
अहिले भने यहाँ सिमलका रुखको ठाउँमा अग्ला कंक्रिट जंगल अग्लिएका छन्। पोखराका मुख्य बजारमा मात्र होइन गाउँगाउँमा पनि सिमलका रुख कटान भएका छन्। गिद्धले गुँड बनाउने र बस्ने बासस्थान मासिदो क्रममा छ।
नेपालमा पुरानो विश्वका हाडफोर, सेतो, डंडर, लामो ठुँडे, सानो खैरो, हिमाली, खैरो, राज गिद्ध र सुन गिद्ध गरी ९ प्रजातिका गिद्ध पाइन्छन्। पोखरामा ९ प्रजातिकै गिद्ध पाइन्छन्। पोखराको हावापानि गिद्धका लागि निकै उपयुक्त रहेको मानिन्छ। अन्नपूर्ण हिमालको काखमा रहेको पोखराको हावापानी गिद्धका लागि स्वर्ग जस्तै रहेको चरामा विद्यावारिधि गरेका डा. हेमसागर बराल बताउँछन्। पोखरामा गिद्ध, चील, महाचील प्रशस्त पाइन्छन्। यसैले
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुभन्दा ६ महिनाअघि विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइट अन्यत्र सार्नु पर्ने बराल बताउँछन्। यसो हुन नसके गिद्ध लगायत ठूला सिकारी चराबाट जहाज उडान र अवतरणका क्रममा जोखिम हुनसक्ने उनि बताउँछन्।
नेपालामा पाइने ९ प्रजातिका गिद्धहरुमा डंगर, सानो खैरो, सेतो, हिमाली, हाडफोर र सुन गिद्धले नेपालमै गुँड बनाई बच्चा कोरल्छन्। यिनीहरु कुनैले अग्ला ठूला रुखमा त कुनैले चट्टानी पहाडमा गुँड बनाएर बस्छन्।

तस्बिर : कृष्णमणि बराल
अहिले सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि दक्षिणपूर्व निर्मलोखरी, भरतपोखरी क्षेत्रका सिमलका रुखमा लोपोन्मुख प्रजातिका सानो खैरो, डंगर गिद्धले गुँड बनाउँदै आएका छन्। विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकैका यिनीहरुको बासस्थानमा पनि जोखिम पर्ने छ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …