पोखरामा सर्प संरक्षणकर्मी सम्मानीत


     नेचर न्युज    
     श्रावण १३ गते २०८२ मा प्रकाशित


पोखरामा सर्प संरक्षणमा योगदान दिँदै आएका संरक्षणकर्मीलाई सम्मान गरिएको छ । सर्प संरक्षण समाज नेपालले ८औँ वार्षिक साधारण सभामा सर्प संरक्षण पुरस्कार वितरण गरेको हो ।  देशभरि सर्प संरक्षण, उद्धार तथा जनचेतनामूलक कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान गर्न आयोजित उक्त कार्यक्रममा सर्पको उद्धार गरेर सर्प संरक्षणमा जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका संरक्षणकर्मीलाई सम्मान गरिएको हो । 

सर्प संरक्षण समाज नेपालसँग आबद्ध १० जना सर्प उद्धारकर्ताहरूलाई सर्प उद्धार, जनचेतना तथा संरक्षण अभियानमा विशेष योगदान पुर्‍याएकोले सम्मान गरिएको हो  । संरक्षणकर्मीहरूले आफ्नो ज्यान जोखिममा परेर विश्वकै विषालु सर्प राजगोमन लगायतका सर्पको उद्धार र संरक्षणकालागि जनचेतना कार्यक्रम गर्दै आएका थिए । सर्प संरक्षणमा योगदान दिएर सम्मान हुनेहरूमा सुदर्शन पौडेल क्षेत्री, पृथ्वीनारायण शर्मा, अभिषेक सापकोटा, सागर पाण्डे, शम्भु सिंह ठकुरी, निरोज कार्की, ईश्वरी पाण्डे, प्रेमबहादुर विष्ट, आकाश भण्डारी र खान बिट्टु मोहम्मद रहेका छन् ।

सर्प संरक्षणकर्मीको योगदानले समुदायमा सर्प संरक्षण गर्नु पर्छ भन्ने सकारात्मक धारण बन्दै गरेको सर्प संरक्षण समाजका अध्यक्ष रामजी गौतमले बताए । सर्प संरक्षण क्षेत्रका प्रेरणादायी व्यक्तित्वको सम्झनामा सम्मान कार्यक्रममा सर्प संरक्षण क्षेत्रमा महत्त्वपूर्ण योगदान  दिएका सर्प संरक्षण समाज संस्थापक अध्यक्ष स्वर्गीय महेन्द्र प्रसाद कतिलाको नाममा स्थापना गरिएको “अक्षय कोष” मार्फत  भरत कतिलालाई विशेष प्रशंसा पत्र प्रदान गरिएको छ ।  महेन्द्र प्रसाद कतिलाले संरक्षण क्षेत्रमा गर्नु भएको योगदानको सम्मान स्वरूप उनको नाममा अक्षय कोष स्थापना गरिएको हो । 

कतिला सर्प संरक्षण समाज नेपालका पूर्व अध्यक्ष रहेका थिए। कतिला सर्प तथा सरीसृप संरक्षणका लागि परिचित छन् । कतिलाको स्मृतिमा स्थापना गरिएको अक्षय कोष हाल विभिन्न जनचेतना तथा शैक्षिक कार्यक्रममा सहयोग पुर्‍याउँदै आएको छ। स्थानीय तहमा ऐतिहासिक कदम पोखरा महानगरपालिका वडा नम्बर २५ ले राजगोमन सर्पलाई “वडाको आधिकारिक सर्प” घोषणा गर्ने क्रममा विशेष  योगदान पुर्‍याएका  केशव राज सापकोटा र  प्रकाश चन्द्र सापकोटालाई योगदानको कदर गर्दै कार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको थियो । नेपालमा पहिलो पटक स्थानीय सरकारले सर्पलाई आधिकारिक रूपमा मान्यता दिएको यो कार्यले स्थानीय स्तरमा संरक्षणको नयाँ आयाम थपेको आयोजकको भनाइ रहेको छ । 

कार्यक्रममा सर्प संरक्षण अभियानमा लामो समयदेखि सहकार्य गर्दै आएको प्रकृतिका साथीहरू संस्थालाई समेत विशेष धन्यवाद प्रकट गरिएको थियो। संस्थाले विभिन्न जनचेतना अभियान, शैक्षिक कार्यक्रम तथा फिल्ड प्रोग्राममार्फत सर्प संरक्षणको सन्देशलाई थप प्रभावकारी बनाएको छ।