
सहरी वनले मानिसलाई थुप्रै सेवा दिएको हुन्छ । जलवायु परिवर्तन, वातावरणको विनास र कोरोनाजस्ता विश्वव्यापी महामारीले झन् सहरी वन र हरियालीको थप आवश्यकता महसुस भएको छ। विभिन्न सरोकारवालाहरुले प्रश्न गर्छन, त्यो ‘सहरी वन’, ‘सहरी हरियाली’ कसरी कायम गर्ने ? के कुनै गाइडलाइन छ ?
कोभिड–१९ महामारीको बेला मानिसहरू अक्सर आफ्नो घर वा छरछिमेकमा घर सम्ममात्र सिमित भएका छन् । जसले गर्दा नजिकै देखिने रुख, छिमेकीकोमा देखिने रुख र नजिकैका बाटाहरुमा देखिने रुखहरुको ठूलो भूमिका हुने गर्दछ।
परिस्थिति सधैं जटिल र फरक हुने भएता पनि त्यस्ता नियमहरु स्थायी हुँदैनन् । तर सहरी वन र सहरी हरियाली कायम गर्न लागि क्यानाडाका वन विज्ञ तथा ‘हरियालीमा आधारित समाधान संस्थान’ का निर्देशक केसिल कोनिजनेनडिज्कको अवधारणा अलि फरक छ । त्यो हो ३–३०–३०० नियम।
यस नियमले हाम्रो स्वास्थ्य र सहरी वनलाई सँगसँगै लैजाने प्रयास गर्छ। तर यसको सफलताको लागि तलका नियमहरु अविलम्ब लागु गर्नुपर्ने हुन्छ।

नियम १ – घरबाट ३ रुख
प्रत्येक नागरिकले आफ्नो घरबाट कम्तीमा पनि तीनवटा रूख देख्न सक्नुपर्छ। हालैको अनुसन्धानले मानसिक स्वास्थ्य र मानव हितका लागि हरियो देखिने रुखहरुको महत्वको बारेमा भनेको छ। कोभिड–१९ महामारीको बेला मानिसहरू अक्सर आफ्नो घर वा छरछिमेकमा घर सम्ममात्र सिमित भएका छन् । जसले गर्दा नजिकै देखिने रुख, छिमेकीकोमा देखिने रुख र नजिकैका बाटाहरुमा देखिने रुखहरुको ठूलो भूमिका हुने गर्दछ। बगैंचा तथा सडकहरूमा नजिकैको रूख तथा अन्य हरियोपनलाई अझ बढी महत्व दिइरहेका छन्।
डेनमार्कमा रहेको फ्रेड्रिकबर्गको नगरपालिकामा यस्तो रूख नीति छ जसले प्रत्येक नागरिकलाई आफ्नो घर वा अपार्टमेन्टबाट कम्तीमा पनि एउटा रूख हेर्न मिल्ने हुनुपर्छ । तर यो नीतिले एक तह माथि उक्लदै तीन रुखको पैरवी गर्दछ।
नियम २– सबैतिर रुखको छायाँ ३० प्रतिशत कायम गर्ने
अध्ययनहरूले सहरी वनको क्यानपी (छायाँ) कभरले चिसो पार्ने, राम्रो माइक्रोक्लाइमेट, मानसिक तथा शारीरिक स्वास्थ्य र सम्भवत: वायु प्रदूषण र आवाजलाई पनि कम गर्ने कुरा देखाएको छ।
घर बाहिर धैरै रुखहरु हुँदा मानिसहरु बाहिर समय बिताउने र छिमेकीसँगको सामाजिक सम्बन्ध पनि सुधार गर्छ।
बार्सिलोना, ब्रिस्टोल, क्यानबेरा, सियाटल र भ्यानकुभर लगायतका हरियालीका दृष्टिले विश्वका जिम्मेवार सहरहरुले ३०% क्यानपी कभर प्राप्त गर्ने लक्ष्य राखेका छन्। सम्भव भएसम्म सहरहरूले अझ बढी क्यानपी आवरणको लागि प्रयास गर्नुपर्छ। स्थानको कमी भयो वा रुख उमार्न गाह्रो भए यसको सट्टा कुनै पनि खालको वनस्पती प्रयोग गर्न सकिन्छ।
नियम ३ – सबैभन्दा नजिकको पार्क वा हरियो ठाउँबाट ३०० मिटर
थुप्रै अध्ययनहरूले मनोरञ्जनको लागि प्रयोग गर्न सकिने उच्च गुणस्तरीय हरियो ठाउँको निकटता र सजिलो पहुँचको महत्तलाई प्रकाश पारेको छ। अक्सर ५ मिनेट कुद्ने वा १० मिनेट घुमफिर गर्नेबारे उल्लेख गरिएको छ।
विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले सबैभन्दा नजिकको हरियो ठाउँ (कम्तीमा १ हेक्टर) सम्मको अधिकतम दुरी ३०० मिटरको लागि सिफारिस गर्छ। यसले मनोरञ्जनको लागि हरियो ठाउँ प्रयोग गर्न प्रोत्साहन दिन्छ जसले शारीरिक तथा मानसिक दुवै स्वास्थ्यमा असर गर्छ । उच्च गुणस्तरीय सहरी हरित स्थानको पहुँच प्रदान गर्न प्रयास गर्नु आवश्यक छ।
सहरी बन विकासलाई प्राथमिकता दिन एकदमै जरुरी छ। सहरी वनले वातावरणको बिनास नियन्त्रण गर्नुका साथै आर्थिक, सामाजिक, मनोवैज्ञानिक, मानव स्वास्थ्यसँग सम्बन्धित धेरै फाइदा दिन्छ।
अन्त्यमा,
३–३०–३०० नियम नेपालमा केही हदसम्म लागु गर्न सके हाम्रो सहरी वन विकासका लागि टेवा पुग्ने थियो। यदि हामिले सहरमै उचित ढंगले रुख रोप्यौं भने प्रकृतिको आभास पाउनका लागि गाउँ धाउनु पर्दैन।
म त धेरै भाग्यमानी रहेछु, मेरो बाल्यकाल त जिजुबुवाले बनाएको चौतारीमा लुकीडुम खेलेर बित्यो, तर अब फेरि मौका मिल्ला कि नमिल्ला, त्यसैले बेलैमा सचेत भई रुख रोपौं, आफ्नो नगर आफै हरियाली बनाऊँ।

(यो लेख केसिल कोनिजनेनडिज्कको लिन्केटमा राखिएको उनको स्टाटसमा आधारित छ । यसको भावानुवाद बिन्दु पौडेलले गर्नु भएको हो।)