
पोखरा : छालबाटो पुस्तक यात्रावृतान्तमा सीमित नभई नदी प्रणालीको समाजशास्त्रीय, प्राकृतिक र विज्ञानको लिखत बनेको बताइएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेको पुस्तकको विषयमा पोखरामा भएको परिचर्चा कार्यक्रममा कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार रोशन शेरचनले बताएका हुन् ।
¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको छालबाटो पुस्तक माथिको परिचर्चा कार्यक्रममा साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र मानसिक दुवै यात्राको स्वाद पुस्तकबाट पाउने धारणा पनि राखे । लेखक भुसालले कर्णालीको मुहान, तिब्बतको विकासका प्राथमिकता, सीमा नाका सुरक्षा र तटीय बस्तीको समाजशास्त्रीय अवलोकन गरेर कृति लेखेको उनले सुनाए ।शेरचनले भने, ‘भुसाल कर्णालीको विस्तृति देखेर जति प्रभावित हुन्छन्, जलआश्रित आदिवासी महिलाको जर्जर अवस्था देखेर उत्तिकै संवेदन बन्छन् ।’साहसिक पर्यटनले संस्कृतिको रूप नलिएको हाम्रो समाजमा आर्थिक अवस्था पनि अवरोध बनेको शेरचनले बताए ।
कार्यक्रममा लेखक रमेश भुसालले नेपालीहरू नदी प्रणालीप्रति आश्रित भएर पनि तिनलाई व्यावहारिक रूपमा माया गर्न नसेकेको कुराले आफूलाई किताब लेखन प्रेरित गरेको बताए । हिमाल र नदीको सम्बन्धलाई विकासका नाममा भएका कामले बाधा उत्पन्न गरेको बताउँदै उनले नदी प्रणालीप्रतिको धारणा किताबमा राखेको सुनाए । नदी मानिसका लागि मात्र नभई बाघ वा अन्य प्राणीका लागि पनि भएको उनको भनाइ छ । बाटो बनाउनका लागि पहाडहरू भत्काउने परम्परा सही नभएको बताउँदै उनले पहाडलाई पैसा हुँदा काट्न सकिने तर पैसा हुँदा जोड्न नसकिने बताए ।
साहित्यकार सरुभक्तले छालबाटो यात्रा संस्मरण मात्र नभई अनुसन्धानात्मक कृतिका रूपमा आफूले अध्ययन गरेको बताए । स्थलगत अध्ययन गरेर लेखिएको किताब हुनाले पाठकलाई लेखकले आफूसँगै यात्रा गराउन सफल भएको बताउँदै सरुभक्तले कुनै विषयमा कृति लेख्दा आवश्यक अध्ययन अनुसन्धान गर्नुपर्ने विचार राखे । कर्णाली क्षेत्रको वातावरण, समाज, संस्कृति आदिको जानकारी दिने भएकाले कृति निकै महत्वपूर्ण बनेको उनको भनाइ थियो । गैरआख्यान र आख्यान भन्नु नै आवश्यक नभएको बताउँदै उनले एकअर्कामा एकापसको गुण हुने विचार राखे । गैरआख्यानका रूपमा आएको छालबाटोमा आख्यानको गुण भेटिने पनि उनले बताए । पर्यावरण र नदी प्रणालीको संरक्षणका लागि आवाज उठाउने कृतिका रूपमा आफूले छालबाटो पाएको पनि सरुभक्तले सुनाए ।
कार्यक्रममा सहसचिव दीपक पराजुली र पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले टिप्पणी गरेका थिए । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।