
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले जसरी पनि मकै खाइदिने भएकाले केही किसानले त मकै नै लगाउन छाडेका थिए। तर अहिले भने काफलघारीका किसानमा कागुनाेले खुसी दिएकाे छ। कागुनाे बाँदरले नखाने भएकाेले मकैकाे विकल्पमा किसानले कागुनाे खेती गरेका थिए । कागुनाे उत्पादन राम्रो हुनुकाे साथै बाँदरले पनि नखनाएपछि किसानमा खुशी छाएकाे हाे ।
स्थानीय अम्बिका भण्डारीले आफ्नी आमाबाट सल्लाह पाएपछि २०७४ सालमा माइती गाउँबाट २ माना कागुनोको बिउ ल्याएर आफ्नो बारीमा रोपिन्। कागुनो राम्रोसँग फल्यो र बाँदरले केही पनि नगरेपछि अरू किसानले पनि यो बाली लगाउन थाले। पहिलो वर्ष अम्बिकाको २ माना बिउबाट २२ पाथी कागुनो उत्पादन भयो। यसपछि गाउँलेमा उत्साह बढ्यो। अम्बिका अध्यक्ष रहेको आमा समूहको बैठक बसेर सामूहिक रूपमा कागुनो खेती गर्ने निर्णय गरियो।
बिउको अभाव भएपछि ली–बर्ड नामक संस्थाले किसानलाई निशुल्क कागुनोको बिउ उपलब्ध गरायो। २०७५ सालदेखि अधिकांश किसानले मकैको सट्टा कागुनो लगाउन थालेका छन्। स्थानीय सूर्यराज भण्डारीका अनुसार अहिले गाउँका ९० घरमध्ये ६० घरमा कागुनो खेती हुन्छ। कृषि समूहका ३३ सदस्यमध्ये २८ जनाले कागुनो लगाउने गरेका छन्।

अम्बिकाले मात्रै ४ रोपनीमा खेती गरी गत वर्ष २२० किलो कागुनो उत्पादन गरिन्। यस वर्ष २६० किलो उत्पादन हुने अनुमान छ।
कास्कीमा गत वर्ष ४ टन कागुनो अन्नपात एग्रोले संकलन गरेर बिक्री गरेको थियो । किसानले छुट्टै पनि बिक्री गर्ने र आफन्तलाई दिएका थिए । यस वर्ष कास्कीमा ६ टन कागुनो उत्पादन हुने अनुमान गरिएको छ । बाँदर र मान्छे बिचको द्धोन्द कम गराउन, किसानको मेहनत जोगाउन बाँदरले नोक्सन नपु¥याउने कागुनो उत्पादनमा किसानलाई प्रेरित गर्न गत वर्ष ४ सय केजी बिउँ कास्कीका विभिन्न गाउँमा पठाएको ली–बर्डका वरिष्ठ कार्यक्रम अधिकृत ईन्द्रप्रसाद पौडेलले बताए ।
चैत महिनामा लगाएको कागुनो ४ महिनामा पाक्छ । उत्पादन भएपछि नगदेबालीको रुपमा सहजै बिक्री भएर नगद हात पार्ने भएपछि पछिल्लो समयमा किसान कागुनो खेती तर्फ आकर्षीत भएको पौडेलले बताए । ली–बर्डको सहयोगमा कागुनोको विस्तार र निजी क्षेत्रसँगको समन्वयमा बजार सुनिश्चित भएको स्थानीय किसानले बताए । किसानलाई कागुनो लगायत बालीको उत्पादनमा हौसला दिन र समस्या बुझन गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ काफलघारी गाउँमा पुगेर किसान संग अन्तरक्रिया पनि गरिन । ली–बर्डले यो अवसर जुराएको थियो ।
कागुनो – रैथाने, बहुपोषणयुक्त बाली
कागुनो नेपालको पुरानो बाली हो, विशेषगरी पहाडी क्षेत्रका उपयुक्त हुन्छ । सिँचाइ नभएको, ढुंगे, भिरालो जमिनमा पनि राम्रो उत्पादन हुने कागुनोमा प्रोटिन, आइरन, क्याल्सियम र फाइबर पाइन्छ। यसको भात, खीर, रोटी, ढिंडो, पुवा, खिचडीजस्ता परिकार बनाइन्छ। अहिले त कागुनोको चाउचाउ, बिस्कुट, केक पनि बजारमा आउन थालेका छन्।

पाचनमा सजिलो, मधुमेहका रोगीका लागि उपयुक्त र सजिलै बिक्री हुने भएकाले किसान यो बालीतर्फ आकर्षित भएका छन्। पोखरा महानगरपालिकाले पनि किसानलाई प्रोत्साहन गर्न कागुनोको न्यूनतम समर्थन मूल्य प्रतिकिलो १२० रुपैयाँ तोकेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउँछन् । बाँदर आंतकले बाझो रहेका बारीमा कागुनो झुल्दा किसानमा खुशी छाएको छ ।