थातथलो छाड्दै कहाँ गए पोखरेली गिद्ध ?

- १७औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस


     कृष्णमणि बराल    
     भाद्र २२ गते २०८२ मा प्रकाशित


पोखराएक दशकघि पनि पोखराका विभिन्न फाँटमा प्रशस्तै गिद्ध भेटिन्थे। चाउँथे फाँट, कुँडहर, फेवाताल किनारका सेदी, फेवा फाँट, अन्तर्राष्ट्रिय विमानस्थल भएको छिनेडाँडा, बिरौटा, लेखनाथका फाँटमा गिद्धका लागि ‘स्वर्ग’ नै मानिन्थे। तर, यी क्षेत्रमा पनि आजभोलि मुस्किलले गिद्ध देखा पर्छन्। 

खुला चौर, खेत, फाँट र गिद्धका वासस्थानमा रहेका अग्ला सिमलका रूख सबै मासिँदै गए। गिद्धका लागि स्वर्ग मानिने पोखराको मुख्य बजार क्षेत्रबाटै थातथलो छाड्न गिद्धहरू बाध्य भएको डंगर प्रजातिका गिद्धमा विद्यावारिधि गरेका रामजी गौतम बताउँछन्। करोडौं लगानी गरेर पोखरामा सिँचाइ सुविधा पुर्‍याइएकै खेत र फाँटमा बस्ती बसेसँगै गिद्धको आहारा, चरनक्षेत्र र वासस्थान मासिएको उनले सुनाए। 

सेती नदीमा २०४२ सालमा बाँध बाँधेर सिँचाइ सुविधा पुर्‍याइएका चाउँथे, कुँडहर, छिनेडाँडा, लेखनाथ क्षेत्रका फाँटमा बस्ती बसे। फेवातालमा बाँध बाँधेर सिँचाइ सुविधा पुर्‍याइएका बिरौटा फाँट र बेगनास तालमा बाँध बाँधेर सिँचाइ पुर्‍याइएका लेखनाथका फाँटहरूमा पनि मानव बस्ती बसे। खेत मात्र होइन, खुला चौर र सिमलका रूख पनि मासिएपछि पोखरा बजारबाट गिद्ध अन्यत्र जान बाध्य भएको गौतमले बताए। 

विमानस्थल बन्नुअघि छिनेडाँडा क्षेत्र हिउँदमा आउने दुई प्रजातिसहित ७ प्रजातिका गिद्धको चरनक्षेत्र थियो। चरनमा छाडिएका पशुचौपाया मरेपछि दुईदेखि तीन सयको संख्यामा गिद्ध जम्मा भएर छिनभरमै सिनोका हाड र छालामात्र बाँकी राख्थे। विमानस्थल बनेपछि भने यो क्रम रोकिएको स्थानीय बताउँछन्। 

आहारैको समस्या 
पोखरा बजार क्षेत्रका खेत, फाँटमा एक बाली खेती गरिन्थ्यो। हिउँदमा चरनका लागि चौपाया छोडिन्थे। हिमालपारिका जिल्ला मुस्ताङबाट जाडो छल्न पोखरा झर्नेहरूले खच्चड र घोडाहरू पोखराकै खेत र फाँटमा चरनका लागि छाड्ने गर्थे। पोखरेलीले चौपाया पनि त्यहीँ छोडने गर्थे।

मुस्ताङसम्म सडकको पहुँच पुगेपछि ढुवानीमा यातायात प्रयोग भएसँगै घोडा, खच्चड पाल्ने र हिउँदमा पोखरा बजारमा आउने क्रम रोकियो। 

यस्तै, पोखरा सहरीकरणलाई गाँजेपछि खेती गर्ने खेत र पशुपालन पनि घटे । गिद्धलाई आहारा पाइँनै मुस्किल हुन थाल्यो । एकाधले पालेका चौपाया पनि मरेपछि खाल्टो खनेर पुर्ने चलनले गिद्धको आहारा उपलब्धता नै पोखरा बजार क्षेत्रमा घटेर गयो । 
पोखरा बजार क्षेत्रका निर्मलपोखरी, भरतपोखरी, क्रिस्ती र पोखराका मुख्य बजार क्षेत्रका सिमलका रूखमा गुँड बनाएर डंगर र सानो खैरो प्रजातिका गिद्धले बचेरा हुर्काउँथे । 

वासस्थान, चरनक्षेत्र र आहारा उपलब्धता सबै खोसिएपछि पोखराको मुख्य बजार क्षेत्रबाट सिनो खाएर वातावरण सफा राख्ने गिद्ध पोखरा बजार छाड्न बाध्य भएको पृथ्वीनारायण क्याम्पस पोखराका प्राणीशास्त्रका उपप्रध्यापकसमेत रहेका डा.गौतमले बताए । पोखरा बजार क्षेत्रमा सन् २००८ सम्म डंगर प्रजातिका ३२ वटा गिद्धले गुँड बनाएर बचेरा हुर्काउँथे । हाल डंगरको गुँड आफूले नदेखेको पनि उनले बताए । 

यस्तै, सानो खैरो गिद्धका ८ वटा गुँड आफूले अध्ययनका क्रममा देखेको, तर अहिले एउटा मात्र गुँड देखेको पनि उनले सुनाए । सेतो गिद्धको गुँड पनि अनुकूल वातावरण नहुँदा घटेको उनले बताए । 

देशभरको सिनारियो हेर्दा अनुकूल वातावरणमा सरिरहने गिद्धको प्राकृतिक बानी रहेको सेतो गिद्धमा विद्यावारिधि गर्दै गरेका गिद्ध अनुसन्धानकर्मी कृष्ण भुसालले बताए । कुनै कारणले बचेरा हुर्काएर सफल रूपमा उडाउन नसक्ने अवस्था आएमा पनि गिद्ध अन्यत्र अनुकूल ठाउँ खोज्ने गरेको उनले बताए । 
अफ्रिकामा सन् २००५ मा पहिलोपटक गिद्ध संरक्षण अभियान सुरु गरिएको थियो । सन् २००९ देखि विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको रूपमा मनाउन थालिएको हो । 

मानवीय व्यवहारका कारण विश्वमै गिद्ध संकटमा पर्दै गएपछि सिनो खाएर वातावरण सफा गर्ने गुणकारी गिद्ध संरक्षणका लागि अन्तर्राष्ट्रिय रूपमै सचेतना दिवसका रूपमा मनाउन थालिएको हो । 
विश्वमै घट्दै गिद्ध 

सन् १९८० को दशकसम्म सजिलै देखिने गिद्ध पछिल्ला दशकमा तीव्र गतिमा घटेर विश्वमै लोपोन्मुख अवस्थामा पुगेको छ । नेपालमा पनि सन् १९८० को दशकमा सजिलै देख्न सकिने गिद्ध ९० प्रतिशतभन्दा बढीले घटेर अहिले देख्न मुस्किल हुन थालेको छ । गिद्ध विनाशको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो ।

सुन्निएको र दुखेको निको पार्न डाइक्लोफेनेक औषधी प्रयोग गरिएका पशुको मृत्युपश्चात् उक्त सिनो खाँदा गिद्धको मिर्गौला नै बिग्रेर मर्ने गरेका छन् । एउटै सिनो सयौं गिद्ध झुम्मिएर खाने भएकाले ठूलो संख्यामा गिद्धको यही कारणबाट मृत्यु भइरहेको छ । 

गिद्ध मृत्युको कारण डाइक्लोफेनेक हो भन्ने वैज्ञानिकले पत्ता लगाएपछि सन् २००६ मा सरकारले पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक प्रतिबन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्याम प्रयोगमा ल्याइएको छ । यसको साथै सुरक्षित आहारा उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले समुदायमा आधारित जटायु रेस्टुरेन्ट पनि सञ्चालन गरिएको छ ।

पछिल्लो समय कुकुरलगायत जनावरलाई विष खुवाएर मारेर फ्याँक्दा त्यस्ता विषाक्त आहारा खाएर पनि बेलाबेलामा ठूलो संख्यामा गिद्ध मर्ने गरेको पाइएको छ । यसको साथै नांगा विद्युतीय तारमा बस्दा र ठोक्किँदा पनि गिद्ध मर्ने गरेका छन् । 

मान्छेलाई गिद्धले लगाउँछ गुण
सिनो खाएर वातावरण सफा राख्ने गिद्धकै कारण मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झाडापखालाबाट जोगाउँछ । यस्तै, पशुचौपायामा एन्थे्रक्स, ब्रुसेलोसिस र क्षयरोगजस्ता रोगको महामारीबाट बचाउने डा.गौतम बताउँछन् । मरेका जनावर छिनभरमै खाएर गिद्धले सडक कुकुर, स्याल, मुसा र झिँगाको वृद्धिलाई रोकी रेबिज प्लेगजस्ता महामारी रोगबाट बचाउने गरेको उनले बताउँछन् । 

यसैले गिद्धलाई प्रकृतिको कुचिकार भनिन्छ । गिद्धको उपस्थिति स्वच्छ र स्वस्थ पर्यावरणको सूचक पनि हो । गिद्धले खुला चौर, खेतबारी, ताल, खोलामा मरेका जनावर खाएर वातावरण र पानी स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्छ । मारेर नखाने र मरेको जनावरलाई आहाराको रूपमा खाएर वातावरण सफा गर्ने गिद्ध मानवीय व्यवहारका कारण संकटमा पर्दै गएका छन् । 

सिनो खाएर वातावरण सफा राखेर मानव र जनावरको स्वस्थ जीवनकालागि महत्वपूर्ण भूमिका खेल्ने गिद्ध संरक्षणका लागि अंग्रेजी महिना सेप्टेम्बरको पहिलो साता विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको रूपमा सचेतना कार्यक्रम गरेर मनाइने गरिन्छ । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकबाट साभार गरिएको हो ।