वन्यजन्तु चोरीसिकार नियन्त्रण गर्न सुराकी एप्लिकेसन


     नेचर न्युज    
     भाद्र २६ गते २०८२ मा प्रकाशित


वन्यजन्तु चोरी सिकार, अवैध व्यापार नियन्त्रणकालागि सुराकी एप्लिकेसन सुरु हुने भएको छ । आविष्कार केन्द्रको प्राविधिक सहयोगमा प्रकृतिका साथीहरू संस्थाले ५ लाख लगानीमा सुराकी एप्लिकेसन बनाएको हो । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको स्वीकृतिमा एप्लिकेसन बनाइएको हो ।

एप्लिकेसन एक सातामा सञ्चालनमा आउने प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए । आम नागरिकले वन्यजन्तुको अवैध चोरीसिकार, अवैध व्यापार भएका तस्बिर, भिडियो, अडियो रेकर्ड गरेर अपलोड गर्न सकिने गरी एप्लिकेसन बनाइएको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक इन्द्र ओलीले बताए । यसरी सुराकी दिने नागरिकको कुनै पनि सूचना भने नरहने गरी एप्लिकेसन बनाइएको पनि उनले बताए ।  कसैले वन्यजन्तु अवैध चोरीसिकार, अवैध व्यापार गरेको अवस्थाको भिडियो, अडियो र तस्बिर तीनवटै राख्न मिल्ने गरी एप्लिकेसन बनाइएको पनि प्राविधिकले बताएका छन् ।

यसरी नागरिकले पठाएको भिडियो, अडियो र फोटो पहिला गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको कम्प्युटरमा पुग्छ । मन्त्रालयले हो होइन निश्चित गरेर घट्नाको प्रकृति हेरी डिभिजन वन कार्यलाल, प्रहरीलाई पठाउने गरी सुराकी एप्लिकेसन सञ्चालन गरिने गरी तयार गरिएको छ । यसरी प्रदेश भरी वन्यजन्तु चोरी सिकार, अवैध व्यापार भएका घटना नागरिकले वर्षभरि कति पठाए भन्ने तथ्याङ्क प्रदेश वन तथा वातावरण मन्त्रालयमा सुरक्षित रहन्छ । 

वन्यजन्तु चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणमा यस एप्लिकेसन महत्वपूर्ण योगदान पुग्ने गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए । वन्यजन्तु चोरीसिकार तथा अवैध व्यापार नियन्त्रणकै लागि बनाइएको यो एप्लिकेसन पहिलो भएको बताइएको छ । नेपालमा तीन दर्शदेखि लाटोकोसेरो संरक्षणमा क्रियाशील नेपालको लाटोकोसेरो संरक्षण परियोजनालाई सन् २०२४ मा ह्विट्ली फन्ड फर नेचरले ५० हजार पाउन्डको अवार्डबाट पुरस्कृत गरेको थियो ।

प्रकृतिका साथीहरू संस्थाका निर्देशक संरक्षणकर्मी राजु आचार्यलाई बेलायतकी राजकुमारीले लन्डनमा उक्त अवार्डबाट पुरस्कृत गरेकी थिइन् । तीन दर्शक देखि वन्यजन्तु, लाटोकोसेरो संरक्षण गर्दै आएको प्रकृतिका साथीहरू नामक संस्थाले सोही पुरस्कार रकमबाट एक वर्ष देखि सुराकी एप्लिकेसनको साथै लाटोकोसेरो संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएको छ ।  

लाटोकोसेरो संरक्षणमा वर्षभर कार्यक्रम 

ह्ट्लिीको लाटोकोसेरो संरक्षण परियोजना अन्तर्गत प्रकृतिका साथीहरू संस्थाले लाटोकोसेरो संरक्षणकाागि विभिन्न जिल्लाका समुदाय, विभिन्न जिल्लाका विद्यार्थी र सर्वसाधारणलाई  संरक्षण तालिम, उद्धार तालिम दिएको प्रकृतिका साथीहरूका निर्देशक आचार्य बताउँछन् । परियोजना अन्तर्गत  लाटोकोसेरो संरक्षणकालागि १ सय कृत्रिम गुँड राखिएको छ ।

यसरी राखिएको ४९ वटा गुँडमा विभिन्न प्रजातिका चरा बसेको र ९ वटामा लाटोकोसेरोका विभिन्न प्रजातिले गुँड बनाएको आचार्यले बताए । परियोजना अन्तर्गत १०५ वटा चराका आश्रय स्थान रहेका ५ सय वटा बुढा रुख संरक्षण, ती मध्ये १६ वटामा लाटोकोसेरो बसेको पनि बताइएको छ ।

समुदाय, स्थानीय डिभिजन वन कार्यालय, महानगरपालिका र वडा कार्यालय समेतको समन्वयमा ३ वटा लाटोकोसेरो संरक्षण क्षेत्र, ५ वटा गुलेली प्रतिबन्धित क्षेत्र, दुई वटा लाटोकोसेरो क्लब गठन लगायतका लाटोकोसेरो संरक्षण कार्यक्रम भएको पनि आचार्यले बताए ।