
पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय सबै सरकारी कार्यालय जलाए ।
राष्ट्रपति कार्यालय, सिंहदरवार , संसद भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालत लगायत अधिकांश सरकारी कार्यालय प्रदर्शनकारीले जलाए । निजी व्यवसायीका व्यापारिक केन्द्र, पर्यटक बसिरहेका होटेल समेत प्रदर्शनकारीले जलाए । काठमाडौंमा सल्किएको आगोको झिल्को पोखरा, भरतपुर लगायत देशभर फैलियो । पोखराका पर्यटकीय होटलमा प्रदर्शनकारीले आगजनी गर्दा पर्यटकहरुले भागेर ज्यान जोगाउनु पर्ने अवस्था आइलाग्यो ।
भदौ २३ गतेको जेन जी प्रदर्शनमा सरकारले गोली चलाउँदा १९ जना कलिला बालबालिकाको मृत्यु हुनपुग्यो । देशभर प्रदर्शनकारीलाई सरकारले दमन गरेर युवाको आवाज बन्द गर्न खोज्दा राज्य आँतकमा परिणत गर्न खोज्नेले अवसरको रुपमा लिएर देश भरका सरकारी तथा निजी सम्पत्तिमा माथि आक्रमण गरे । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको बिरोधमा सुरुभएको युवा आन्दोलनलाई बेलैमा सरकारले सम्बोधन गर्नबाट चुक्दा अराजक तत्वले देशको सम्पत्ति नस्ट गर्ने गरी अराजकतामा परिणत गरे । यसले देशको खरवौ सम्पत्ति नष्ट हुन पुग्यो ।
जेन जी आन्दोलनमा भएका सरकारी तथा निजी सम्पत्ति नष्ट हुँदा पुनः निर्माणमा राज्यले खरबौं रुपैयाँ खर्च गर्नु पर्ने अवस्था आइलागेको छ । युवा आन्दोलनमा अराजकतत्वको घुुसपैठ भएर सरकारी सम्पत्ति आगजनी, तोडफोड र लुटपाट गर्दा देश विकास र समृद्धिमा दशर्कौं पछि पर्नु पर्ने अवस्थामा मात्र आइलागेन वायु प्रदूषणको असर समेत प¥यो ।

नेपालको आगजनी भू—उपग्रहले समेत ग¥यो क्याप्चर
नेपालमा भएका भ्रष्टाचार र सामाजिक सञ्जालको विरोधमा भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रममा भएका आगजनी भू उपग्रहले समेत क्याप्चर गरेको पाइएको छ । आन्दोलनको क्रममा काठमाडोंका धेरै सरकारी कार्यालय र निजी सम्पत्ति जलेको दृश्य स्याटलाइटले समेत देखाएको हो । आन्दोलनको क्रममा राजधानी काठमाडौँका सरकारी भवन लगभग १२ घण्टा सम्म लगातार जलेका थिए ।
त्यही दृश्य स्याटलाइटले क्याप्चर गरेको देखिएको हो । यस्ता आगजनी जस्ता घट्नाले देशको आर्थिक अवस्थामा मात्र होइन वायुमण्डल प्रदूषण र मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर पर्ने संरक्षण विद् डा हुम गुरुङ बताउँछन् । पोखराका सरकारी र निजी सम्पत्तिमा लगातार आगजनी हुँदा पोखराका हावाको गुणस्तर पनि नाजुक बनेको थियो
। पोखराको सरकारी कार्यालय मासबार, रत्नचोक, राष्ट्रबैकचोक, सहिद चोक, बैदाम क्षेत्रमा बढी मात्रामा आगजनी भएको थियो । आगजनी भइरहँदा सास पर्ने समेत अप्ठ्यारो भएको स्थानीयले बताएका छन् । जेन जी आन्दोलनको समय काठमाडौँ विश्वकोछैटौं प्रदूषित सहरको रुपमा देखिएको थियो । उक्त दिन काठमाडौंको हावाको गुणस्तर (एक्यूआई) ११० भन्दा बढी रहेको थियो ।

तस्बिर : कृष्णमणि बराल
शून्यदेखि ५० हावाको गुणस्तरलाई राम्रो मानिन्छ । ५० देखि १०० लाई नराम्रो हुँदै गएको बुझाउँछ भने सय देखि १५० अस्वास्थ्य मानिन्छ । १५० देखि २०० ले अन्य मानिस र संवेदनशील समूहलाई अझै धेरै असर गर्छ । यस्तो अवस्था आउँदा विशेष गरी वृद्ध वृद्धा, बालबालिका, दीर्घ रोग भएकाहरूलाई बढी असर गर्ने चिकित्सक बताउँछन् ।
जेन जी आन्दोलनमा देशभर फैलिएको कालो बादल त अहिलेलाई हट्यो तर यसले वायुमण्डलमा र राजनीतिमा छाडेका असर भने युगौँ सम्म रहिरहने छ । यसलाई सफा गर्न र स्वच्छ वातावरण र स्वच्छ राजनीति बनाउन भने पहिलेकै भ्रष्ट र पुरातन सोच भएको नेतृत्वबाट पुरा हुने छैन । नयाँ सोच भएका दक्ष जनशक्ति र विज्ञान बुझेका दक्ष जनशक्तिको आवश्यक पर्ने छ ।
