वृक्षरोपणको नालीबेली : परिणाम र पुनर्स्थापनामुखी वृक्षरोपण आजको आवश्यकता


     लिलानाथ शर्मा    
     असार १४ गते २०७८ मा प्रकाशित


अङ्ग्रेजी क्यालेन्डरको  जून ५ तारिकको दिन विश्व वातावरण दिवस मनाउँदै गर्दा सामाजिक सञ्जालमा वृक्षरोपण गरेको फोटोहरू प्रशस्तै पोस्ट गरिए । यस्तै पोस्टलाई व्यङ्ग्य गर्दै एक जनाले फेसबुकमा  अर्को पोस्ट गरे ’आज नयाँ बिरुवाको फोटो नहालौँ बरू अघिल्लो  वर्ष रोपेको बिरुवा कस्तो भएछ त्यो देखाऊँ’। यो प्रत्युत्तरले हाम्रो वृक्षरोपण नतिजामुखी भन्दा वातावरणीय योगदानको मानक  बनेको  एक पवित्र  कर्मकाण्डको रूपमा मात्र  देखिएको छ भन्ने कुरा दर्साउँछ।

यस्तै पोस्टलाई व्यङ्ग्य गर्दै एक जनाले फेसबुकमा  अर्को पोस्ट गरे ’आज नयाँ बिरुवाको फोटो नहालौँ बरू अघिल्लो  वर्ष रोपेको बिरुवा कस्तो भएछ त्यो देखाऊँ’।

चलन चल्तीको अधिकांश  वृक्षरोपण नतिजामुखी नभएको, श्रम र पैसाको उचित सदुपयोग नभएको  कुरा त छँदै छ त्यसबाहेक  यो पुनित कार्य सही ढङ्गबाट गरिएन भने यसले कतिपय अवस्थामा दीर्घकालीन   वातावरणीय क्षतिसमेत पुर्‍याउने,  जैविक विविधतामा नकारात्मक प्रभाव पार्ने र  वातावरणीय समस्याको उपयुक्त  समाधानबाट विमुख गराउने जोखिमसमेत हुन्छ । हाल वन पुनर्स्थापनाको एक मात्र विधि वृक्षरोपण हो जस्तो देखिन्छ यद्यपि हाम्रो सन्दर्भमा वन पुनर्स्थापनाका लागि यो भन्दा उपयुक्त अन्य विधि पनि छन् तर ती ओझेलमा परेका छन् । यसबर्ष असार  १४ गते राष्ट्रिय वृक्षरोपण दिवस मनाउँदै गर्दा  वन क्षेत्र भित्रका  वृक्षरोपण वरिपरिका यिनै सवालहरूमा  छलफल गर्ने जमर्को गरिएको छ। 

वृक्षरोपण: पुण्यदेखि कार्बनसम्म

बोट बिरुवाहरू  मानिसको जीवन  र संस्कृतिका  अभिन्न अङ्ग हुनाले मानिसले  बोट बिरुवा रोप्ने, हुर्काउने, उपयोग गर्ने र संरक्षण गरेको लामो इतिहास छ । निजी र सार्वजनिक जमिनमा बिरुवा रोप्ने र हुर्काउने सदियौँदेखि व्यवहारमा उतार्दै आएको हाम्रो मौलिक क्रियाकलाप हो ।  तर समयक्रममा वृक्षरोपणको उद्देश्य, उत्प्रेरणा, महत्त्व र प्रजातिहरूको चयन आदि कुराहरू फरक फरक थिए । पुण्य प्राप्ति भनौँ वा समाजसेवाको खातिर बटुवा र भरियालाई सुस्ताउन बाटो छेउमा  बर,  पीपल, समी  र लाँकुरीजस्ता रुख  रोपी चौतारोसमेत बनाउने गरेका धेरै उदाहरण छन् । भिरालो जमिनको संरक्षण र   चौपायाको लागि डाले घाँस र फलफूलका रुखहरू रोप्ने चलन लामो समयदेखि चल्दै आएको छ । राम शाहका पालामा  पानीका मुहान वरिपरि रुख जोगाउनु, रुख नभए पानी कम पर्छ र पहिरो जान्छ भन्ने उपदेशहरू दिएको दृष्टान्त पाइन्छ।

राणा प्रधानमन्त्रीहरू विदेश घुम्न  जान  थालेपछि भने नेपालमा बाटो छेउछाउ  र घर वरिपरिको  सुन्दरता बढाउन   विदेशबाट रुखहरू ल्याएर रोप्न सुरू  गरियो ।  मौलिक र अनौपचारिक ढङ्गले लामो समयदेखि  चल्दै आएको  वृक्षरोपण बिस्तारै औपचारिक बन्न थाल्यो । सन् १९७० पछि भिरालो जमिनमा पहिरो रोकथाम  र वन जोगाउन वन क्षेत्र र निजी जमिनमा अभियानकै रूपमा  वृक्षरोपण गरियो । बिशेष गरी  सामुदायिक वनको सुरुवाती चरणमा यो अलि तीव्र थियो । पछिल्लो दुई  दशकमा त  उद्योग कलकारखाना र  विकास निर्माणले गर्ने वन विनाशको क्षतिपूर्तिस्वरूप वृक्षरोपण गर्ने कुरा कानुनी रूपमै स्थापित गरिएको छ । पछिल्लो समयमा वृक्षरोपण अन्तर्राष्ट्रिय वातावरणीय मुद्दा बनेको छ । रुखहरूले वायुमण्डलमा भएको कार्बन डाइअक्साइड संश्लेषण गरी रुखहरूमा कार्बन संचिति गर्न सक्ने हुनाले जलवायु परिवर्तनसँग जुध्नको लागि भनी वृक्षरोपण गर्न थालिएको छ । संयुक्त राष्ट्र सङ्घले यो दशकलाई पारिस्थितिक प्रणाली  पुनर्स्थापनाको दशक भनी घोषणा गरेसँगै वृक्षरोपण वन पुनर्स्थापनासँगै कार्बन संचितिको  मुख्य माध्यम  बनेको  छ।

मलेसियन साल रोपेसँगै देखिएको साल र क्यामुनाको प्राकृतिक पुनरुत्पादन

वृक्षरोपण र  क्षतिपूर्तिको भ्रम

जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण  प्राकृतिक वन क्षेत्र मासेर ठूला आयोजना निर्माण गर्ने विकासवादीहरूको तर्क हुने गर्छ ‘आयोजना निर्माण हुँदा रुख काटे बापत एक बराबर दस वा पच्चीस  बिरुवा रोपिने छ’ । अथवा जति वन क्षेत्र प्रयोग हुन्छ कम्तिमा त्यत्ति नै क्षेत्रफलमा वृक्षरोपण हुन्छ । वन ऐन २०७६ को व्यवस्था अनुसार  वन क्षेत्र प्रयोग गरेबापत वा   रुख काट्दा क्षतिपूर्तिबापत वृक्षरोपण गर्नु पर्ने  नीतिगत  व्यवस्था नै छ । त्यसैले रुख काटिने वा जङ्गल मासिने कुराको चिन्ता लिन पर्दैन । एक बराबर दस वा पच्चीस  नयाँ बिरुवा रोप्ने तर्क र नीति सतहमा जत्ति आकर्षक छ अन्तर्यमा त्यत्तिकै भ्रमपूर्ण  पनि छ । हुन त केही नहुनु भन्दा यो व्यवस्था केही प्रगतिशील मान्न सकिन्छ तर   नेपालमा त्यस्तो सट्टाभर्ना वृक्षरोपणको जबाफदेहिता कतै भेटिँदैन । विगतमा वातावरणीय प्रभाव मूल्याङ्कन पास गरेर बनेका आयोजनाले गरेका वृक्षरोपणको अवस्था के कस्तो छ, तथ्याङ्क न त एकीकृत छ न त सार्वजनिक नै।

एक बराबर दस वा पच्चीस  नयाँ बिरुवा रोप्ने तर्क र नीति सतहमा जत्ति आकर्षक छ अन्तर्यमा त्यत्तिकै भ्रमपूर्ण  पनि छ । हुन त केही नहुनु भन्दा यो व्यवस्था केही प्रगतिशील मान्न सकिन्छ तर   नेपालमा त्यस्तो सट्टाभर्ना वृक्षरोपणको जबाफदेहिता कतै भेटिँदैन । विगतमा वातावरणीय प्रभाव मूल्याङ्कन पास गरेर बनेका आयोजनाले गरेका वृक्षरोपणको अवस्था के कस्तो छ, तथ्याङ्क न त एकीकृत छ न त सार्वजनिक नै।

क्षतिपूर्ति वृक्षरोपणको सतही र खुकुलो व्यवस्थाले  वन भनेको फगत केही रुखहरूको सङ्ग्रह हो, रोपे हुर्किहाल्छ भन्ने मान्यता स्थापित गरेको छ । सँगसँगै यसले प्राकृतिक वन  हजारौँ वर्ष लागेर  बनेको एउटा  जीवित र स्वचालित  प्रणाली हो भन्ने कुरालाई समेत  नजरअन्दाज गरेको छ। वृक्षरोपण गर्दैमा स्वस्थ वन  बन्दैन जसको लागि निकै लामो समय लाग्छ । प्राकृतिक वन मास्ने कुराले दीर्घकालीन वातावरणीय क्षति समेत पुर्याउँछ जसरी  निजगढमा हात्तीको परम्परागत कोरिडोर  नै मासिने जोखिम छ ।

क्षतिपूर्ति वृक्षरोपणले प्राकृतिक वन र वृक्षरोपण गरेको वनको बिचका ठूला भिन्नतालाई साँघुरो बनाइदिएको छ । जैविक विविधता, कार्बन संचिति, वन्यजन्तु वासस्थान, जडीबुटी, खाद्य कन्दमूलको उपलब्धताजस्ता बस्तु र सेवाहरू सबैमा  वृक्षरोपण भन्दा प्राकृतिक वन नै बढी उपयोगी हुने कुरा पछिल्लो धेरै अध्ययनहरूले देखाएका छन्।

बेलायतमा गरिएको एउटा ताजा अध्ययनअनुसार खेती गर्न छोडेको जग्गामा विकसित वनमा हुर्केकामध्ये आधा जति रुखहरू चरा  र न्याउरीमुसाले रोपेका थिए ।

अझ महत्त्वपूर्ण, फोटा नहाल्नेको वृक्षरोपण

बेलायतमा गरिएको एउटा ताजा अध्ययनअनुसार खेती गर्न छोडेको जग्गामा विकसित वनमा हुर्केकामध्ये आधा जति रुखहरू चरा  र न्याउरीमुसाले रोपेका थिए । यसको अर्थ हो   प्रकृतिमा वृक्षरोपण गर्ने हामी बाहेक अन्य धेरै  माली र  कर्मीहरू छन् ।  मान्छेको तुलनामा तिनले गर्ने वृक्षरोपण अथाह छ तर तिनले आफ्नो कामको न रिपोर्ट नै बनाउँछन् न त फोटा सामाजिक सञ्जालमा नै राख्छन्  । बिउ ओसार-पसार गर्ने  हावा र पानी  एवं चरा, मुसा र मलसाँप्रो, खाल्टो खन्ने दुम्सी खरायो, एक्लाउने पतल्याउने जीवजन्तुहरू, रुखका बेर्नालाई प्राकृतिक बारबेर गर्ने काँडायुक्त र काँडारहित  बुट्यान, जमिनमा प्राकृतिक छापो बनेर चिस्यान जोगाई राख्ने  घाँस र झार आदि सबैले प्रकृतिमा निरन्तर वृक्षरोपण गरेर नै आजको वन  बनेको हो। अझ कतिपय अवस्थामा उमार शक्ति कम हुने बिउलाई पाचन नलीको यात्रा मार्फत ’ट्रीटमेन्ट’ गरी  उम्रिने बनाउने जीवजन्तुको भूमिका त झनै अहम् छ । वन पुनर्स्थापना योजना र वृक्षरोपण गर्नुभन्दा अगाडि वन र जीवजन्तु सँगसँगै विकास भएका हुन् भन्ने बुझ्न जरुरी छ । खाली ठाउँ  वरिपरि भएका वनस्पति र जीवजन्तुलाई प्रयोग गरी  वृक्षरोपण गरेर वन विकास गर्न सके प्रक्रिया ढिलो भए पनि प्राकृतिक हुन्छ ।

बर्दिया जिल्लाको बनियाभार स्थित सामुदायिक वनमा टिक रोपिँदै

अनपेक्षित जोखिम

गोर्खा जिल्लाको बारपाकबाट उत्तरमा पर्ने  केप्टा तथा पोप्ले सामुदायिक वनका ३ हजार ८ सय मिटर उचाइका खर्कहरूमा लौठ सल्लाका बिरुवाहरू रोपेको भेटियो  । लौठ सल्लाजस्तो महत्त्वपूर्ण र उच्च मूल्य भएको  प्रजाति खुला ठाउँमा रोप्नु आफैमा नराम्रो भन्न मिल्दैन । दक्षिण फर्केको खुला पाखोमा रोपेका ती बिरुवा हुर्के हुर्केनन् एउटा सामान्य अवलोकनबाट पुष्टि गर्न सकिन्छ । तर हिमाली  खर्कमा वृक्षरोपण त प्रत्युत्पादक हुने देखिन्छ । प्रकृति र मान्छेको सदियौँको अन्तरक्रियाबाट निर्मित खर्कहरूमा भू उपयोगको परिवर्तनसँगै आएको परिवर्तनले चिन्ता थपेको छ । खुला चरण क्षेत्र र घाँसे मैदान जटामसी, पाँच औले र यार्सागुम्बाजस्ता जडीबुटी र कस्तुरी, नाउरजस्ता प्रजातिहरूको लागि नभई नहुने वासस्थान पनि हो । रुख हुर्केसङै त्यहाँका महत्त्वपूर्ण प्रजाति र जैविक विविधतामा  प्रतिकूल असर पर्छ । ठूला वृक्षरोपण आयोजनाले यस्ता खर्क र घाँसे मैदानमा एकल प्रजाति स्थापित गरी  जैविक विविधतामा प्रतिकूल असर पार्ने हो कि भन्ने चिन्ता व्यक्त भएका छन्।

निश्चित  उद्देश्यले रोपिएका रुखका  कतिपय प्रजातिहरू मिचाहा बनिदिँदा वन व्यवस्थापकहरूलाई ठूलो बोझ बनेका छन् । अफ्रिकामा त मसला प्रजातिका रुखहरूले पानीको श्रोतमा प्रतिकूल असर पारेको  भन्दै वृक्षरोपण गरेका रुखहरू हटाउन ठूलो धनराशीसमेत  खर्च भएको छ।  बाह्य एकल   प्रजातीय वृक्षरोपणले चरा चुरुंगी र स्थानीय वन्यजन्तुलाई प्रतिकूल असर पार्दछ । मसला र टिकजस्ता बाह्य प्रजाति रोपेर सुरू गरेको नेपालको  सागरनाथ वन परियोजनामा वनस्पतिको प्रजाति उल्लेख्य घटेको, मिचाहा प्रजातिको प्रचूरता बढेको र स्थानीयलाई आवश्यक पार्ने वस्तुको उपलब्धतामा नकारात्मक असर परेको कुरा सन् २००३ मा प्रकाशित एक अध्ययनले उल्लेख गरेको छ । प्राकृतिक वन मासेर रोपिएका   बाह्य प्रजातिले चराचुरुङ्गी, लोखर्के, गोहोरोजस्ता वन्यजन्तुको वासस्थानमा प्रतिकूल प्रभाव पार्छ । नेपालको तराईमा  सञ्चालित ठूला वृक्षरोपणको उपलब्धि र असरको स्वतन्त्र र  विस्तृत अध्ययन  गरेमा अझ धेरै तथ्यहरू उजागर हुनेछन्। 

वन क्षेत्रमा रोप्न ठिक्क पारिएको मलेसियन साल 

प्राकृतिक पुनरुत्पादनको  अवमूल्यन

सन् २०१८ मा प्रकाशित केशवराज जोशीले तराईका जिल्लामा गरेको  एक अध्ययन प्रतिवेदनअनुसार वृक्षरोपण गरेका टिक र मसलाजस्ता प्रजाति राम्रोसँग हुर्किन नपाउँदै  निकै छोटो समयमा   खयर र सिसौको प्राकृतिक पुनर्स्थापनाले  प्रतिस्थापन गरेको उल्लेख गरेका छन् । यस्ता उदाहरण अन्यत्र पनि प्रशस्तै देखिन्छन् । वृक्षरोपण गरेको ठाउँमा नरोपिएका बिरुवा देखिनुको  सोझो अर्थ हो वृक्षरोपण गरेको ठाउँमा स्थानीय प्रजाति उम्रिने क्षमता थियो र छ। आंशिक वा पूर्णरुपमा  फँडानी गरिएको  वन वा खेती गर्न छोडिएको जमिन बिस्तारै प्राकृतिक  सक्सेसनका चरणहरू पार गर्दै वन क्षेत्रमा विकसित हुने प्रकृतिको प्रक्रिया हामीले देखेका छौँ । वृक्षरोपण र प्राकृतिक पुनरुत्पादनको नतिजाहरू तुलना गर्ने धेरै  अध्ययनहरूको सार छ, वन पैदावारदेखि जैविक विविधता संरक्षण गर्न प्राकृतिक पुनरुत्पादन नै उपयुक्त हो । जलवायु परिवर्तनका अनिश्चिततासँग अनुकूलनको लागि प्राकृतिक पुनरुत्पादन नै बढी उपयोगी हुन्छ। वृक्षरोपणलाई   बढी प्राथमिकता र  महत्त्व दिने नीतिले गर्दा वन क्षेत्रको  प्राकृतिक पुनरुत्पादन क्षमताको अवमूल्यन त गरेको छैन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ नै।

सहज र छोटो हैन बोझिलो र  लामो बाटोको यात्रा

वृक्षरोपण  सँगसँगै पछिल्लो दशकमा प्राकृतिक पुनरुत्पादनमार्फत वन बन्ने प्रक्रिया पनि तीव्र रह्यो बिशेष गरी  विकसित देशहरूमा  । नेपालको  पनि पहाडी वन र हिमाली खर्कहरूमा सेकेण्डरी सक्सेसनमार्फत वनको क्षेत्र विस्तार  भएको छ तर यस्तो वन कति छ त भन्ने यकीन तथ्याङ्क भने छैन । हाम्रो सन्दर्भमा सन् सत्तरीको  दशकदेखि सुरू भएको वृक्षरोपणले कतिपय स्थानमा राम्रै नतिजा दिएको पनि छ। त्यसै गरी  निजी जमिनमा निश्चित उद्देश्य लिएर गरिएको वृक्षरोपणले पनि केही नतिजा दिएको छ ।   तर आज आइपुग्दा पछिल्लो दशकका  वृक्षरोपण नतिजामुखी भन्दा औपचारिकतामा सीमित बनेका छन् । प्रत्येक वर्ष वन क्षेत्रमा कति बिरुवा रोपिन्छन् तथ्याङ्क र वृक्षरोपणको अवस्था बारेमा दीर्घकालीन र स्वतन्त्र अध्ययन छैनन् । विभिन्न वन कार्यालय र सामुदायिक वनको नर्सरी मात्र हेर्दा बर्षेनी ५० लाख भन्दा बढी सङ्ख्यामा  बेर्नाहरू उत्पादन हुन्छन भन्ने अनुमान गर्न सकिन्छ । आर्थिक वर्ष २०७६/७७ मा त वृक्षरोपण वर्ष मनाउन  ५ करोड बिरुवा रोप्ने योजना नै बनेको थियो । यो लेखको सुरुमा उल्लेख गरेझैँ गरी  अधिकांश स्थानमा एकै ठाउँमा बर्षेनी वृक्षरोपण गर्ने र रोपेकामध्ये कति हुर्के भन्ने तथ्याङ्क कतै देखिँदैन।

वन क्षेत्रको वृक्षरोपण कार्यक्रम प्राय औपचारिकता र अपेक्षित उपलब्धिबाट टाढा हुनु एउटा पक्ष हो भने प्राकृतिक पुनरुत्पादन क्षमता राम्रो भएको वनमा वृक्षरोपण गर्दा सहजै हुने काम जटिल र लामो बन्न पुगेको छ । प्राकृतिक पुनरुत्पादनलाई सही ढङ्गबाट उपयोग गर्न सकियो भने वृक्षरोपणको लामो र खर्चिलो बाटो छोटिन्छ ।  बिउ खोज्ने, खरिद गर्ने, ब्याड तयार पार्ने, बिउ रोप्ने, मलजल गर्ने, नर्सरीदेखि बिउ ढुवानी गर्ने, खाडल खन्ने र अन्त्यमा रोप्ने यी सारा प्रक्रिया नगरीकन सोझै बिरुवा हुर्काउन सकिन्छ यदि प्राकृतिक पुनर्स्थापना मार्फत वन विकास गर्ने नीति अवलम्बन गरेमा । त्यति मात्र हैन वृक्षरोपणमा प्रयोग हुने बाह्य वनस्पतिसँगै आउने रोग व्याधि, मिचाहा प्रजाति र झारको जोखिम र झन्झट पनि कम हुन्छ ।  कतिपय वन क्षेत्रमा माटोको अवस्था, माउ रुखको श्रोत र सुसारे बुट्यानको अवस्थाअनुसार  प्राकृतिक पुनरुत्पादन मार्फत वन पुनर्स्थापना  ढिलो हुने हुन सक्छ त्यस्तो अवस्थामा रैथाने वृक्षरोपण स्वाभाविक हुन्छ तर वृक्षरोपणसँगै त्यसको सुरक्षा योजना बनाउन सकिएन भने यो फेरि सामाजिक सञ्जालमा फोटो राख्ने र रिपोर्टमा सङ्ख्या देखाउने  औपचारिकता मात्र हुन्छ।

नवलपरासीको कावासोतीस्थित जनकल्याण सामुदायिक वनको खुला क्षेत्रमा प्राकृतिक पुनरुत्पादन मार्फत  हुर्किँदै गरेको क्यामुनाको  बोट

आवश्यक ठाउँमा मात्र गरौँ वृक्षरोपण

नवलपरासीस्थित एउटा घाँसले ढाकेको र  दशकौँदेखिको स्थिर हल्का भिरालो जमिनमा दुई बर्ष अघि  रुख रोपेको देखेपछि त्यो  ठाउँको सुरक्षा घाँसले वा रुखले कसले  बढी गर्ला भन्ने प्रश्न मेरो मनमा उठेको थियो।  वृक्षरोपण अभियान हेर्दा यस्तो लाग्छ सबै ठाँउ रुखले ढाकेको हुन पर्छ र रुखले ढाकेको  ठाँउमात्र  राम्रो भन्ने मान्यता स्थापित भएको छ तर यो सधैँ ठीक नहुन पनि सक्छ ।   नेपालकै चितवन र शुक्लाफाँट निकुञ्जले चरन  क्षेत्र व्यवस्थापन गर्न  रुख हटाउने  र  खुला चरन क्षेत्र स्थापना गर्ने  उद्देश्यले  वासस्थान व्यवस्थापन गर्ने गरेका छन् । यसको अर्थ हो सबै ठाउँमा बाक्लो रुख सहितको  वन हुन पर्छ भन्ने छैन । खुला ठाउँ र घाँसे मैदान पनि स्वस्थ  ल्यान्डस्केपका अवयव हुन् भन्ने कुरा योजना बनाउनेले बुझ्न जरुरी छ । जलवायु परिवर्तनसँग जुध्न र रुखहरूमा  वायुमण्डलको कार्बन संचिति बढाउन भनी ठूलो सङ्ख्यामा रुख रोप्ने अन्तर्राष्ट्रिय अभियान र आयोजनाहरू विवादास्पद बन्नुको एउटा कारण गलत ठाउँको वृक्षरोपण पनि हो । घाँसे मैदान र सदियौँदेखिको चरन क्षेत्रमा  गरिने वृक्षरोपण धेरै हिसाबले  प्रत्युत्पादक हुने कुरा बारम्बार उठ्ने गरेको छ ।  कुन ठाउँ  वन र कुन ठाउँ खुला राख्ने भन्ने योजना बनाउन सके अनुत्पादक वृक्षरोपण घटाउने मात्र हैन स्वस्थ ल्यान्डस्केप निर्माण गर्न सकिन्छ।

नेपालकै चितवन र शुक्लाफाँट निकुञ्जले चरन  क्षेत्र व्यवस्थापन गर्न  रुख हटाउने  र  खुला चरन क्षेत्र स्थापना गर्ने  उद्देश्यले  वासस्थान व्यवस्थापन गर्ने गरेका छन् । यसको अर्थ हो सबै ठाउँमा बाक्लो रुख सहितको  वन हुन पर्छ भन्ने छैन । खुला ठाउँ र घाँसे मैदान पनि स्वस्थ  ल्यान्डस्केपका अवयव हुन् भन्ने कुरा योजना बनाउनेले बुझ्न जरुरी छ ।

संरक्षण र पुनर्स्थापनामा  योगदान गरौँ

सरकारी र सामुदायिक वनका नर्सरी हेर्दा हाम्रो वृक्षरोपण मुख्य गरी काठ हुने रुखका प्रजातिमा केन्द्रित छ र जसमा तराई क्षेत्रमा  उल्लेख्य सङ्ख्या  टिक, मसला र मलेसियन सालजस्ता बाह्य  प्रजातिको छ । काठ बाहेक केही उच्च मूल्य भएका गैर–काष्ठ वन पैदावारका प्रजातिहरू पनि सार्वजनिक नर्सरीहरूमा देखिन्छन् । अहिले वनमार्फत समृद्धि प्राप्त गर्ने भन्ने रणनीति  भएकोले वनलाई आर्थिक श्रोतको रूपमा विकास गर्ने र उपयोग गर्ने कार्यक्रम बढ्ने नै छ । यसले वनमा अहिलेको वृक्षरोपण नै बढवा दिने अनुमान गर्न सकिन्छ । निजी जमिनमा व्यवसायिक  उद्देश्यले  रुख रोप्ने र लाभ लिने कुरालाई प्रवर्द्धन गर्ने र प्राकृतिक वनमा  रैथाने मात्र रोप्नु नै बुद्धिमत्ता हुन्छ । रैथाने प्रजाति रोप्दा र वृद्धि हुँदा  वनलाई सकारात्मक योगदान गर्ने नै छ तर यो प्रक्रियालाई संरक्षण र वन पुनर्स्थापना जोड्न सके सुनमा सुगन्ध हुन्छ । पहाडी क्षेत्रका उजाड पाखामा सल्ला रोप्दै वनलाई चौडा पाते वनमा विकास गर्ने उद्देश्य लिनुलाई वन पुनर्स्थापनाको दिशामा लैजान खोजेको भन्ने बुझिन्छ तर यसलाई पनि अझ योजनाबद्ध बनाउन जरुरी देखिन्छ । वन विकासमा रुखको निश्चित प्रजाति रोप्ने र घनत्व बढाउने कुरालाई दीर्घकालीन पुनर्स्थापना जोड्न सकिन्छ र प्रजातिहरूको प्राकृतिक सम्मिश्रणको अवस्था सिर्जना गर्न सकिन्छ।

वन मन्त्रालयअन्तर्गतका नर्सरीहरूमा विभिन्न अध्ययनले  नेपालका इन्डेमिक (नेपालमा मात्र पाइने ) भनेका र सरकार र दाताको ठूलो लगानीमा गरिएका सर्वेक्षणले दुर्लभ भनी पहिचान गरिएका प्रजातिहरू बिरलै देखिन्छन्  । थोरै  सङ्ख्या र निश्चित  भौगोलिक क्षेत्रमा मात्र सीमित त्यस्ता प्रजातिहरूको संरक्षणमा योगदान गर्न सक्ने गरी  वृक्षरोपण गर्न सक्दा त्यस्ता  प्रजाति लोप हुने जोखिम कम गर्न सकिन्थ्यो । यसका लागि  डिभिजन वन कार्यालयहरूले   वृक्षरोपणको संरक्षण, नेतृत्व गर्दै  वन उपभोक्ताको क्षमता अभिवृद्धि गर्न जरुरी देखिन्छ।

वृक्षरोपणमा नियमन

रामेछाप जिल्लाको दक्षिणी भूभाग पूर्वी र मध्य पहाडी भेगकै सुख्खा क्षेत्र हो । एक वर्ष अगाडि त्यहाँ पुग्दा किसानहरूले कुनै एउटा कम्पनीको सहयोगमा मलेसियन साल रोप्दै थिए । बिरुवा सानो भएकोले कुन प्रजाति हो भन्ने यकीन गर्न नसके पनि स्थानीयले दिएको जानकारी र बेर्नाको प्रकृति हेर्दा उक्त बिरुवा  महोगानी भनिने कुनै प्रजाति हुनु पर्छ । महोगानी नामले चिनिने प्रजातिको लागि उक्त स्थान उचाइ, तापक्रम र वर्षा कुनै पनि दृष्टिकोणले उपयुक्त देखिँदैन । केही खर्च र ठूलो अपेक्षासहितको  उक्त वृक्षरोपणले दिने नतिजा अनिश्चित छ । अनुपयुक्त वृक्षरोपणले गर्दा किसानको लगानी खेर जाने र ठगिने जोखिम हुन्छ ।  त्यसै गरी अन्यत्र मिचाहा भनी पहिचान गरिएका प्रजातिहरूको वृक्षरोपणमा पनि ध्यान दिनु पर्ने देखिन्छ । व्यवसायिक प्रयोजनले निजी जमिनमा लगाएका त्यस्ता  वनस्पति वन क्षेत्रमा फैलिन नदिन राज्य संयन्त्र, किसान  र वन समूहहरू  चनाखो बन्न पर्छ।   

जल थल स्थित सामुदायिक वनमा  सालको प्राकृतिक पुनरुत्पादन

यसरी गरौँ वन पुनर्स्थापना

कृषि, औद्योगिकीकरण र सहरीकरणको क्रममा वन विनाश र खण्डीकरण भएको, जैविक विविधतामा ह्रास आएको, वातावरणीय सेवाहरूमा कमी आएको,  बाढी भूक्षयलगायत  प्राकृतिक विपत्ति बढेको, जलवायु परिवर्तनसँगै  प्राकृतिक चक्रमा नै गम्भीर असर पार्दै  मानव जीवनलाई नै प्रतिकूल असर पारेको तथ्य हाम्रासामु  छर्लङ्ग छ । जलवायु परिवर्तन र जैविक विविधताको क्षयीकरण दुई जल्दो बल्दो वातावरणीय समस्या हुन्। जसको लागि सबैले आफ्नो आफ्नो ठाउँबाट योगदान दिनुपर्ने अवस्था छ । जलवायु परिवर्तनको असर कम  गर्न, वायुमण्डलमा भएको कार्बन डाइअक्साइड ग्याँस प्रकाश संश्लेषण मार्फत रुखहरूमा संचिति गर्न,  प्रकृति विनाशको नकारात्मक असरहरूबाट बच्न  वन संरक्षण र नयाँ वनको विकासलाई  महत्त्वका साथ अगाडि बढाइएको छ संसारभरि नै । मानव क्रियाकलापले बिग्रेका वन, चरन,  सिमसार आदि परिस्थिकीय प्रणाली पुनर्स्थापना गर्न जरुरी भएको भन्दै संयुक्त राष्ट्रसङ्घले सन् २०२१ देखि २०३० सम्मलाई प्राकृतिक प्रणाली  पुनर्स्थापनाको दशक भनेर मनाउने निर्णय गरेको छ। 

पुनर्स्थापनाको दशक मनाउँदै गर्दा हामीले पनि वन पुनर्स्थापनालाई महत्त्व दिने नै छौँ । वन पुनर्स्थापनाको लागि हामीले सरल, कम खर्चिलो, जैविक विविधता मैत्री,  स्थानीय संस्कृति र आवश्यकता  र वनको प्रकृति अनुसारको पुनर्स्थापना गर्नु उपयुक्त हुन्छ । वृक्षरोपण भन्दा सम्भव भएसम्म प्राकृतिक पुनरुत्पादन प्रवर्द्धन गर्ने र वनमा  वन्यजन्तु र चराचुरुङ्गी संरक्षणसमेत गर्न सके वनको विकास अझ राम्रो हुन्छ । यसै वर्षको सुरुवातमा बेलायतको रोयल बोटानिक गार्डेन क्युका वैज्ञानिकको नेतृत्वमा विभिन्न १३ वटा अनुसन्धान संस्थाका वैज्ञानिकहरूले वन पुनर्स्थापनाकालागि १० वटा महत्त्वपूर्ण सुझाव दिएका छन् । तिनको निचोड छ पहिले भएको वन जोगाऊँ, प्राकृतिक पुनरुत्पादन लाई बढावा देऊ, सरोकारवाला बिच सहकार्य बढाऊ, उपयुक्त ठाउँ  छानी सही प्रजाति मात्र वृक्षरोपण गर । यी बुँदाहरू अन्य  धेरै  वैज्ञानिक र संरक्षणकर्मीहरूका साझा बुँदा हुन् भन्दा अत्युक्ति नहोला।

वृक्षरोपणको औपचारिकता प्रवर्द्धन र प्रोत्साहन  गर्ने नीतिगत व्यवस्था सुधार गर्दै वृक्षरोपण नतिजामुखी बनाउने,  प्राकृतिक पुनरुत्पादन संरक्षण र  संवर्द्धनलाई  प्राथमिकता दिने,  वनभित्र बाह्य प्रजाति रोप्ने चलन पूर्ण रोक लगाउने र वनलाई फगत रुखहरूको समूह मात्र नभनी जीवित प्रणालीको रूपमा बुझ्न र व्यवहार  गर्न सके वृक्षरोपण संरक्षण र  वन पुनर्स्थापनासंग जोड्दै नतिजामुखी बनाउन  सकिन्छ । संरक्षण र वन पुनर्स्थापनासंगै मानिसकोलागि  वनबाट प्राप्त हुने वातावरणीय सेवा र वस्तुहरूको दिगो सुनिश्चितता हुने मात्र हैन जैविक विविधताको नास र जलवायु परिवर्तनजस्ता  अहिलेका जल्दा बल्दा  वातावरणीय सङ्कटसँग जुध्न केही हदसम्म योगदान गर्न सकिन्छ।

(शर्मा फरेस्ट एक्सन नेपालमा कार्यरत छन्l उनि जैविक बिबिधता र वन पुनर्स्थापना सम्बन्धी कार्यमूलक अनुसन्धानमा संलग्न छन्)