लाटोकोसेरो संरक्षणकालागि समुदायमा सचेतना कार्यक्रम


     नेचर न्युज    
     जेठ १२ गते २०८२ मा प्रकाशित


पोखरा : किसानको साथी भनेर चिनिने लाटोकोसेरोको अवैध व्यापार नियन्त्रण र उद्धारकालागि पोखरा १३ बिपी मार्गमा वडा नम्बर १२ र १३ का स्थानीयमाझ सचेतना कार्यक्रम गरिएको छ । 

मुसा खाएर किसानले उत्पादन गरेका अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संरक्षणकालागि प्रकृतिका साथीहरू नामक संस्थाले सचेतना कार्यक्रम गरेको हो । लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकारी हुनबाट जोगाउन र उद्धार गर्ने तरिका समेत सिकाउन समुदाय माझ सचेतना कार्यक्रम गरिएको प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए ।

 अन्धविश्वासको कारण नेपालबाट कुन कुन देशमा जिउँदै समेत लाटोकोसेरोको व्यापार हुँदै आएका छन् भन्ने विषयमा पनि विभिन्न अध्ययन रिपोटको आधारमा जानकारी गराउँदै लाटोकोसेरो संरक्षणमा जोड दिइएको थियो । कार्यक्रममा प्रकृतिका साथीहरूका निर्देशक आचार्यले विभिन्न अन्धविश्वासमा लाटोकोसेरोको अवैध व्यापार हुने गरेको बताए । नेपालबाट वार्षिक रुपमा १५ सय लाटोकोसेरो चोरी निकासी हुने गरेको पछिल्लो अध्ययनमा पाइएको छ । 

लाटोकोसेरोको नेपालमा र अन्तर्राष्ट्रिय रुपमा किन चोरी निकासी हुन्छ र नियन्त्रण कसरी गर्न सकिन्छ लगायतका विषयमा सचेतना कार्यक्रम गरिएको हो । प्रकृतिका साथी नामक संस्थाले बर्सेनि लाटोकोसेरो संरक्षणको उद्देश्यले संरक्षण उत्सव गर्दै आएको छ । विभिन्न जिल्लामा पनि विद्यार्थी, समुदाय, सुरक्षाकमीलाई सचेतना कार्यक्रम तालिम दिँदै आएको छ । सचेतना कार्यक्रम सहभागी भएर लाटोकोसेरोको महत्वका बारेमा जानकारी पाईको सचेतना कार्यक्रममा सहभागी ७१ वर्षीय लोकबहादुर कार्कीले बताए । धेरै पहिले देखि लाटोकोसेरो संरक्षणमा लागेका राजुको अभियानमा सबैले हातेमालो गरेर लाटोकोसेरो जोगाउनु पर्ने पनि उनले बताए । 

अर्का सहभागी ७६ वर्षीय लक्ष्मण श्रेष्ठले पहिले पहिले अन्धविश्वासमा लाटोकोसेरोको मासु खाए आँखा राम्रो सँग देखिन्छ भनेर खाने चलन रहेको बताए । रातमा आँखा देख्ने लाटोकोसेरो खाँदा आँखा देखिन्छ भन्ने भ्रममा मासु खाने चलन रहेको र अहिले यो चलन हराउँदै गएकोमा खुसी लागेको उनले सुनाए । सचेतना कार्यक्रमबाट लाटोकोसेरोको महत्वको बारेमा बुझने अवसर मिलेको अर्की सहभागी लक्ष्मी सिग्देले बताइन् । लाटोकोसेरोले मुसा लगायत विभिन्न किरा खाँएर पर्यावरणीय सन्तुलन कायम गर्ने भएकोले सबैले आआफ्नो क्षेत्रबाट संरक्षणमा लाग्नु पर्ने सचेतना कार्यक्रमबाट जानकारी मिलेको पनि उनले सुनाइन् । 

लाटोकोसेरो संरक्षणमा गत तीन दर्शक देखि लागिपरेका प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले सन् २०२४ ह्टिवली अवार्डबाट सम्मानित भएका थिए । सोही ह्टिवली अवार्डबाट प्राप्त पुरस्कार राशिबाट लाटोकोसेरोको अवैध व्यापार, चारीसिकार नियन्त्रणकालागि  तालिम, जनचेतना कार्यक्रमको साथै लाटोकोसेरोका लागि कृत्रिम गुँड निर्माण लगायतका कार्यक्रम सुरु गरिएको आचार्यले बताए ।