
के तपाईंलाई थाहा छ? संसारभरि लोप हुने खतरामा परेका जनावरमध्ये सबैभन्दा धेरै संख्यामा पर्ने समूह हो,उभयचर, जसमा भ्यागुता पनि पर्छन्। यी साना प्राणीहरू पानी र जमिन दुवैमा बाँच्न सक्छन्, तर आफ्नो जीवनचक्रको एउटा महत्त्वपूर्ण चरण पानीमै बिताउनुपर्ने भएकाले शुद्ध पानीको पहुँच यिनीहरूको अस्तित्वका लागि अनिवार्य हुन्छ। पानी प्रदूषित वा सुक्खा भयो भने भ्यागुताका अन्डा र भुरा नष्ट हुन्छन्। यसैले भ्यागुतालाई स्वस्थ वातावरणको संवेदनशील संकेत मानिन्छ।
नेपालमा हालसम्म ५८ प्रजातिका भ्यागुता पाइएका छन्, जसमध्ये १२ प्रजाति रैथाने (केवल नेपालमा पाइने) हुन्। यिनीहरू हाम्रो जैविक विविधता, कृषि प्रणाली र पारिस्थितिक सन्तुलनका मौन नायक हुन्। खेतबारीमा हानिकारक कीरा नियन्त्रण गर्न भ्यागुताको भूमिका महत्वपूर्ण छ, जसले विषादीको प्रयोग घटाउन मद्दत गर्छ।

तर यी महत्त्वपूर्ण जीवहरू अझै पनि ओझेलमा परिरहेका छन्, विशेषगरी नेपालको हिमाली क्षेत्रमा पाइने पाहा (हिमाली भ्यागुता) हरूको अवस्था चिन्ताजनक छ। पाहाहरू चिसो, सफा र बग्ने पानीमा बस्न मन पराउँछन्। तिनको जीवनशैली कठिन भएकाले अध्ययन गर्न सजिलो छैन, तर संरक्षणका हिसाबले अत्यन्तै महत्वपूर्ण छन्।

यसै सन्दर्भमा प्रकृतिका साथीहरू संस्थाले ढोरपाटन शिकार आरक्षमा एक वर्षे भ्यागुता अनुसन्धान तथा संरक्षण परियोजना सुरु गर्यो। परियोजनाको नेतृत्व गरेका सुमन सापकोटा भ्यागुतामा रुची राख्ने अनुसन्धानकर्मी हुन्। उनी भन्छन्, “नेपालको जैविक विविधतामा भ्यागुताले खेलेको भूमिका महत्वपूर्ण छ तर यी साना जीवहरू हामीबाट ओझेलमा परेका छन्। स्थानीय समुदायमा यसको पहिचान र संरक्षणको महत्व बुझाउन यो परियोजना सुरु गरिएको हो।”
परियोजनाअन्तर्गत २५०० मिटरभन्दा माथि भ्यागुता सर्वेक्षण गरियो, जसमा १० प्रजातिका भ्यागुता तथा पाहा अभिलेख गरिए। स्थानीय विद्यालयमा “भ्यागुता कक्षा” सञ्चालन गरियो, जहाँ विद्यार्थीहरूले भ्यागुताको जीवनचक्र, महत्व र संरक्षणका उपायहरूबारे सिके। त्यस्तै “भ्यागुता चिन्ने अभियान” मा स्थानीय बासिन्दालाई भ्यागुताको वासस्थानमा लैजाने र त्यहाँ पाइने प्रजाति चिन्न सिकाउने काम गरियो।
परियोजनाको अन्त्यमा जेठ महिनामा छलफल कार्यक्रम आयोजना गरियो, जसमा आरक्षका कर्मचारी, स्थानीय बासिन्दा, शिक्षक र विद्यार्थीसहित ८१ जनाको उत्साहजनक सहभागिता रह्यो। स्थानीय बासिन्दा जीवन पुनले कार्यक्रममा भने, “हाम्रो गाउँमा यति धेरै प्रजातिका भ्यागुता पाइन्छन् भन्ने थाहा नै थिएन। विश्वमै दुर्लभ तामे पाहा पनि पाइँदो रहेछ। यिनको महत्वको बारेमा पहिलोपटक थाहा पाए।”

अनुसन्धानकर्मी सापकोटा थप्छन्, “यो क्षेत्रमा यो पहिलो प्रयास हो। यिनीहरूको संरक्षण कुनै एक संस्थाको जिम्मेवारी मात्र होइन, यो सम्पूर्ण समाजको साझा जिम्मेवारी हो।” सापकोटाले थपे “भ्यागुता हराए भने केवल एक प्रजातिको नाश होइन, सम्पूर्ण पारिस्थितिक प्रणाली संकटमा पर्न सक्छ। त्यसैले, संरक्षण अब ‘ठूलो जनावर’ को मात्र होइन, साना तर संवेदनशील प्राणीहरू जस्तै भ्यागुताको पनि गर्नु पर्छ।”