
सर्पमा पनि अति विषालु सर्पको प्रजाति राजगोमन र नेपाली समाजमा होच्याउन प्रयोग हुने पन्छीको प्रजाति लाटोकोसेरो संरक्षणकालागि पोखरा वडा नम्बर २५ ले वडा सर्प र पन्छी घोषण गरेर संरक्षणको थालनी गरेको छ । मानिस, पर्यावरण र जैविक विविधतामा महत्वपूर्ण योगदान दिने सर्प र चराको संरक्षणको साथै पर्यापर्यटनको विकास गर्न वडाले वडा सर्प र वडा पन्छी घोषणा गरेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २५ ले शनिबार वडा पन्छी गोठे लाटोकोसेरो र वडा सर्प राजगोमनलाई घोषणा गरेको हाे । पोखरा २५ का वडा अध्यक्ष मोतिप्रसाद तिम्सिनाले वडाका नागरिककाे उपस्थितिमा गोठेलाटोकोसेरोलाई वडा पन्छी र राजगोमन सर्पलाई वडा सर्प घोषण गरेका हुन् । हेमजामा लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतना मूलक कार्यक्रम गरेर गोठे लाटोकोसेरोलाई वडा पन्छी र राजगोमन (किङ्कोब्रा) लाई वडा सर्प घोषण गरिएको हो । जैविक विविधताको रक्षा र लाटोकोसेरो र राजगोमन लगायतका सर्पको संरक्षणकालागि वडा पन्छी र वडा सर्प घोषण गरिएको पोखरा २५ का वडा अध्यक्ष तिम्सिनाले बताए । नेपालमा सर्पलाई वडा सर्प घोषण गर्ने पोखराको २५ वडा पहिलो स्थानीय तह भएको बताइएको छ ।

संसार भरी लगभग ४ हजार प्रजातिका सर्प पाइन्छन् । त्यसमध्ये नेपालमा करिब ८२ प्रजातिका सर्प पाइने आयोजक संस्था स्नेक कन्जरभेसन सोसाईटी नेपालका अध्यक्ष डा रामजी गौतमले बताए । कास्कीमा करिब ४० प्रजातिका सर्प पाइने र हेमजामा २२ प्रजातिका सर्पहरू अभिलेख गरिएको पनि उनले बताए । राजगोमन सर्पले सर्प खाने भएकोले अन्य सर्पहरूको संख्या नियन्त्रण गर्ने भएकोले पनि महत्व रहेको उनले बताए । राजगोमन सर्प लजालु प्रजातिको हुने र यो सर्प हेमजाका खोला, नदी, वन जंगलहरुमा गुँड बनाएर बच्चा पनि हुँकाउने सर्प विज्ञ अभिषेक सापकोटाले बताए ।
हेमजामा राजगोमन धेरै पाइने र गुँडहरू पनि भएकोले संरक्षण गर्न पहल भएको हो । राजगोमन विश्वकै विषालु सर्प भए पनि अहिले सम्म मानिसलाई यस प्रजातिका सर्पले टोकेर मान्छेका मृत्यु भएको नपाईएको बताइएको छ । अन्तर्राष्ट्रिय रुपमा लोपोन्मुख राजगोमनको संरक्षण गरेर पोखरा २५ क्षेत्रलाई अध्ययन अनुसन्धानको थलो बनाउन सकिने वडा अध्यक्ष तिम्सिनाले बताए । पर्यापर्यटनको रुपमा वडालाई विकास गर्न पनि सहयोगी हुने बताइएको छ । यसै गरी वडाले वडा पन्छी घोषणा गरेको लाटोकोसेरो प्रजाति विश्वमा २५० भन्दा बढी प्रजाति अभिलेख गरिएको कार्यक्रमका सहआयोजक संस्था प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।

नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छ भने ती मध्ये पोखरामा १३ प्रजातिका र हेमजामा ७ प्रजातिका लाटोकोसेरो अभिलेख भएको बताइएको छ । लाटोकोसेरोले मुसा खाएर अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले लाटोकोसेरोलाई किसानको साथी भनिन्छ । लाटोकोसेरोको एउटा प्रजातिले एक सिजनमा २ हजार देखि ३ हजार सम्म मुसाहरू खान सक्छ । जसले कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्नुको साथै जैविक विविधता र पर्यापर्यटनकालागि पनि महत्त्वपूर्ण रहने कार्यक्रमका सहआयोजक प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।
वडा पन्छी घोषण गरिएको गोठे लाटोकोसेरो मानव बस्ती नजिकै बस्न रुचाउँछ । पुराना परम्परागत घरहरूका खोपीमा गुँड बनाएर बस्ने लाटोकोसेरो सहरमा नयाँ आधुनिक घरहरू बनेपछि वासस्थान अभाव खेपिरहेका छन् । सहरमा लाटोकोसेरोको वासस्थान हराउँदै गएपछि प्रकृतिका साथीहरू नामक संस्थाले कास्की, म्याग्दी, स्याङजा र बागलुङमा गरी १ सय कृत्रिम गुँड बनाएर सार्वजनिक चौतारा, व्यक्तिका घरवरपर, सामुदायिक घर, समाज घर लगायत क्षेत्रमा स्थानीयको सहमति र सहकार्यमा गत भदौमा कृत्रिम गुँड राखेको पनि प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक आचार्यले बताए ।

यसरी राखिएका कृत्रिम गुँडहरूमा मध्ये ४८ वटामा लाटोकोसेरो लगायत चराहरूले गुँड लगाएका छन् । जसमा पहिलो वर्ष ७ वटा कृत्रिम गुँडमा लाटोकोसेरोले गुँड लगाएका छन् । लाटोकोसेरो संरक्षण क्षेत्रमा गत तीन दर्शक देखि क्रियाशील प्रकृतिका साथीहरू नामक संस्थाले हेमजाका दुई विद्यालयमा लाटोकोसेरो क्लब स्थापना, तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र तथा गुलेली प्रतिबन्धित क्षेत्र घोषणा, लाटोकोसेरो संरक्षण दूतको छनोट लगायतका काम गरेको छ ।
यो घोषण लाटोकोसेरो र सर्प संरक्षणकालागि देशकै नमुना हुने विश्वास गरिएको छ । वडा पन्छी र वडा सर्प घोषण अघि वडाका विभिन्न विद्यालय, सामुदायिक वन, स्थानीय लगायत संघ अन्तरक्रिया, सचेतना, कार्यक्रम लगायतका कार्यक्रम आयोजना गरिएको पनि आयोजकले बताएका छन् । लाटोकोसेरो तथा सर्प संरक्षण घोषण कार्यक्रम र सचेतना कार्यक्रमकालागि वडा कार्यालय २५ ले आर्थिक सहयोग गरेको हो । कार्यक्रममा स्नेक कन्जरभेसन सोसाईटी नेपालका सचिव प्रकाशचन्द्र सापकोटाले वडा सर्प र लाटोकोसेरो घोषण संगै संरक्षणमा थप दायित्व बढेको बताए । वडा सर्प र पन्छी घोषणाले पर्यावरणीय महत्वकालागि महत्वपूर्ण पन्छी लाटोकोसेरो र राजगोमन सर्पको संरक्षणमा थप प्रेर्णा मिलेको बताए ।
