पर्यटकलाई अनअराइभल भिसा : व्यवसायी उत्साहित


     नेचर न्युज    
     असाेज ८ गते २०७८ मा प्रकाशित


सन् २०१९ को अन्तिम महिना डिसेम्बरमा चीनमा पहिलो पटक देखापरेर विश्वभर फैलिएको कोभिड—१९ का कारण अझै पनि विश्व पर्यटन बजार प्रभावित भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण गर्न नेपालमा पनि २०७६ साल चैत ११ गते देखि पहिलो लकडाउन शुरु भएको थियो । पहिलो लकडाउन खुकुलो भएर पर्यटन उद्योग चलायमान ०७७ असोज देखि भएको थियो । 

कोरोना सङ्क्रमण बढेपछि पुन १५ वैशाख २०७८ मा  दोस्रो लकडाउन लगाइएको थियो । संयोगले दोस्रो लकडाउन पनि असोज १ गते देखि नै कास्की जिल्ला लगायतका जिल्लामा हटेको छ । दोस्रो लकडाउन मात्र हटेको छैन करिब दुई वर्ष देखि थलो परेको पर्यटन उद्योग उकास्ने गरी सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराइभल भिसा प्राप्त गर्न सक्ने निर्णय गरेको छ ।

अव नेपाल आउन चाहेर पनि क्वारेन्टिनको झन्झटका कारण आउन नमानिरहेका पर्यटकको आगमन बढ्ने विश्वासका साथ पर्यटन व्यवसायी उत्साहित भएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई यो निर्णय कार्यान्वयन भए सँगै पर्यटकको आगमन बढ्ने विश्वासका साथ पर्यटन व्यवसायी उत्साहित भएको सुनाए । आन्तरिक पर्यटकको साथै लामो समय देखि घुमघाममा निस्कन नपाएको विदेशी पर्यटकको पनि आगमन बढ्ने उनले बताए ।

पोखरामा २५ सय भन्दा बढी पर्यटन व्यवसायी र मजदुरलेले पछिल्लो समयमा पूर्ण खोप लगाएका छन् । यो म्यासेज समेत पर्यटकमाझ पु¥याउन सके पर्यटक आगमन बढ्ने छ । बाँकी पर्यटन मजदुरलाई पनि कोरोना विरुद्धको खोप लगाउन पहल गरिरहेकोले पनि पर्यटन व्यवसाय सुरक्षित रहने उनले बताए । खोपको मात्रा पूरा गरेका र ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ आएका पर्यटकलाई पहिले देखि नै निर्वाद नेपाल आउन दिनु पर्ने पर्यटन व्यवसायीको मागलाई सम्बोधन गरे सँगै पर्यटन आगमनमा वृद्धि हुने विश्वास व्यवसायीमा रहेका नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले सुनाए । रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पनि लामो समय बन्द रहेको पर्यटन उद्योगले अव गति लिने विश्वास गरे ।