वातावरणका काम सुरु नहुँदै बन्ने भयो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल


     राजु आचार्य     
     वैशाख २७ गते २०७८ मा प्रकाशित


पाेखरा । गएको महिना एक जना साथी विदेशबाट पोखरा आइपुगे l उनै साथी र म पोखरा नजिकै काहुँडाँडाबाट सूर्योदय हेर्न बिहानै पुग्यौं ।  उनी बन्दै गरेको विमानस्थल हेरेर टोलाए l मैले कारण जान्न खोजें l उनले भने, ‘अर्को पटकको छुट्टीमा त डाईरेक्ट पोखरा झरिन्छ । आखिर गरे त हुने रहेछ नि l’

हामीले सरकारले गरेका नयाँ र पुराना ठूला आयोजनाबारे निकैबेर कुरा गर्‍यौँ l जब मैले यस्ता ठूला आयोजनाहरूले वातावरण बिगारेको विषयमा कुरा गरे, उनी फेरि टोलाए । ‘यी वातावरणविदले पनि केही गर्न दिने भएनन्,’ उनले थप आक्रोश पोखे, ‘डलरेहरुलाई विकास कसरी रोक्ने भन्ने नै छ ।’

उनको आक्रोश बुझेर मैले भनेँ, ’कुनै पनि साना ठूला आयोजनाको काम गर्नु पहिले वातावरणलाई कम नोक्सान हुने गरी र भएका नोक्सानलाई सुधार गरेर काम अघि बढाउने हो भने विवाद नै आउँदैन l’

उनले जवाफ दिएनन् l सायद मनमनै मलाई गाली गर्दै थिए होलान् l म भने त्यो पारीको विमानस्थल र सोही माथि उडिरहेका ठूला पन्छीहरुलाई हेरिरहेको थिएँ l विमानस्थल सञ्चालनअघि नै भोलि हुन सक्ने जोखिम ध्यानमा राखेर आयोजनाले गर्नुपर्ने कामका विषयमा विभिन्न पत्रिका र अनलाइनमा प्रकाशित समाचार, लेखहरूले आयोजना, नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वलाई झकझक्याउने काम भए पनि अहिलेसम्म कुनै कदम चालेका छैनन् l वातावरणको विषयमा उनीहरूअझै सुतिरहेका छन् भन्दा पनि हुन्छ l

के विमानस्थलले वातावरण  सुधारका केही पनि काम गरेको छैन त ?

विमानस्थलले गत वर्ष वातावरण विज्ञ राखेर ढिलै भए पनि राम्रो सुरुवात गरेको छ । ब्लास्टिंग गर्दा धुलो नउडोस् भनेर पानी पनि हाल्ने गरिन्थ्यो । अहिले पनि धुलो भएको ठाउँमा २-२ घण्टाको अवधिमा स्प्रिन्कलले पानी छर्कने काम चलिरहेको छ l पटक पटकको जग्गा अधिग्रहणको कारण रुष्ट स्थानीयवासीलाई केही रोजगारको सृजना गरेको छ l तर औँलामा गन्न मिल्ने गरी l ‘ज्यामीहरूको लागि व्यक्तिगत सुरक्षा र स्वास्थ्यबारे विशेषरूपमा हेर्ने गरेका छौँ’ आयोजनाका वातावरण विज्ञ दीपककुमार गुरुङले बताए l  

विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीलाई केही महिना अगाडि सोध्दा उनले भनेका थिए  ‘हाम्रा कामदारलाई चराचुरुङ्गी मार्न हुँदैन भनेर छलफल गरेका छौँ । विमानस्थल सञ्चालनपछि पनि हामी विभिन्न उपकरण जडान गरेर चरालाई विमानस्थल क्षेत्रबाट धपाउने छौँ । विमानस्थल नजिकै रहेको डम्पिङ्ग साइट हटाउन पोखरा महानगरपालिकासँग समन्वय गरी रहेका छौँ l‘

आगलागी हुँदा निभाउन चाहिने सबै सामग्रीको व्यवस्थापन गरिएको छ l स्थानीय रूपमा एउटा सामाजिक घर, विद्यालय, क्याम्पस, बास्केटबल कोर्ट आदिको लागि आर्थिक सहयोग समेत गरेको गुरुङले जानकारी दिए l फोहरमैलाको रूपमा निस्किएको बोराहरूको पुन: प्रयोग गर्न धादिङ पठाउने गरिएको छl

खासमा गर्नु पर्ने के के थियो ?

विमानस्थलबाट निस्कने २-२.७ टन ठोस फोहरमैला र २८०-३७० टनको तरल फोहरको व्यवस्थापन अझै हुन सकेकाे छैन l विमानस्थलबाट निस्कने ठोस फोहर नगरपालिकाको गाडीमा हालेर पठाइने गरिएको छ l त्यो कसरी व्यवस्थापन हुन्छ, यसबारे उनीहरू नै अन्योलमा छन् l चरा र हवाईजहाजबीच दुर्घटनाबाट संसारभर वार्षिक करिब १.२ अर्ब डलर बराबरको क्षति हुने अनुमान गरिएको छ । चरा र हवाईजहाजबीच हुने दुर्घटनाले आर्थिक क्षतिमात्र होइन मानिसले ज्यानै गुमाउनु पर्ने अवस्था छ। अहिलेसम्म उल्लेखित दुर्घटना  कम गर्न के गर्न सक्छौँ भनेर न छलफल भएको छ, न त कुनै कार्ययोजना नै तयार भएकाे छ। झन् अहिले त विमानस्थलको पूर्वाधारमा ठूला चराले गुँड नै बनाइसकेको अवस्था छl

धावनमार्गमा स्याल, दुम्सी, सर्प, ढाडे आदिले पार्ने असरको न त ‘वातावरण प्रभाव मूल्याङ्कन’ प्रतिवेदनमा उल्लेख छ, न त कुनै विकल्पबारे छलफल नै गरिएको छ l 

‘वातावरण प्रभाव मूल्याङ्कन’ तयार गर्दा नै वनस्पतिबारे कम उल्लेख गरिएको भनी नेपाल सरकार, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, वातावरण मूल्याङ्कन शाखाले  २०७१ सालमा नै च.नं. १३०२ को पत्रमार्फत जानकारी गराएको थियो l चासो अझै पनि कम छ l थोरै भए पनि निर्माणक्रममा नोक्सान भएका बिरुवाकाे सट्टा वृक्षरोपण गर्नुपर्नेमा अहिलेसम्म सुरसार केही पनि गरिएको छैन l एक बिरुवा नोक्सान भए २५ वटा रोप्ने भनेर प्रतिवेदनमा उल्लेख छ l यसका लागि न्यूनतम रकम भने छुट्ट्याइएको छl

पोखरा महानगरपालिकाद्वारा सञ्चालित बाच्छेबुढुवा ल्यान्ड फिल्डले चरालाई आकर्षित गरी असर पर्ने भएमा सो साइट नै बन्द गर्न वा हटाउन सक्ने भनेर प्रतिवेदनमा उल्लेख गरिएको छ l पटक-पटक मिडिया र संरक्षणकर्मीहरूले आवाज उठाउँदा पनि केही प्रगति भएको छैन l ‘विमानस्थलले प्रयास गरेको र नगरपालिकाले ठाउँ हेरिरहेको’ भनेको पनि बर्षौ बितिसक्यो l तर प्रगति भने शून्य नै छl

विमानस्थल नजिकै रहेका खोलाहरू जैविक विविधतामा धनी रहको र निर्माणको क्रममा असर पर्न सक्ने भनिए पनि अहिलेसम्म कुनै संरक्षणका कामहरू गरिएका छैनन् l अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासँग समन्वय गरेर स्थानीय तहमा वन्यजन्तु संरक्षण चेतना शिविर चलाउने भनिए पनि त्यो केवल प्रतिवेदनमा मात्र सीमित छ l विमानस्थल निर्माणक्रममा सम्भावित वन्यजन्तुको अवैध चोरी सिकारी न्यूनीकरणका कार्यक्रम कागजमा मात्र सीमित छन् l 

स्थानीयहरू विमानस्थललाई के भन्छन् ?

नेपाल जूलोजिकल सोसाइटी, गण्डकी प्रदेश कमिटीका अध्यक्ष हेमन्त ढकाल पुरानो पुस्ताले भनेको सम्झँदै भन्छन् ‘सुरुमा अधिग्रहण गर्दा स्थानीयसँग समन्वय भएको थियो l सायद त्यो राजाको पालामा थियो l मैले थाहा पाएदेखि विमानस्थल स्थानीयसँग कुनै पनि मामिलामा कुरा गर्न चाहन्न l’

उनले थपे, ‘हावा चल्दा घरमा धुलोले हैरान गर्छ l  विमानस्थलमा ब्लास्टिंग गर्दा घरहरू थर्किन्थ्यो l  हामी भेट्न चाहन्थ्यौँ तर उनीहरू कहिले मानेनन् l केही आफ्नालाई कनिका छरेजस्तो सहयोग गरेर समग्र प्रभावित समुदायलाई उपेक्षा गरिएको छ ’ l ढकाल विमानस्थल नजिकैका प्रभावित बासिन्दा समेत हुन् l

प्रतिवेदनमा यो क्षेत्रमा धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका केही पनि नभएको भनेर पहिला नै केही गर्न नपर्ने गरी उम्किएको छ l सोबारे विमानस्थल जनसरोकार समिति संयोजक गनेस पौडेल आक्रोश व्यक्त गर्छन्, ‘तिनलाई संस्कृति, धार्मिक र पुरातात्त्विक के हो भन्ने नै थाहा छैन l के ठूलो मन्दिर हुनुपर्ने, आँखाले नै देख्नु पर्ने l त्यसो होइन, धर्म संस्कृति भनेको सफ्टवेयर पनि  हो l तिनले हार्डवेयरको मात्रा व्याख्या गरे।’

उनले थपे, ’काहुँकोटदेखि बस्ती, खोर र चरणको हाम्रो सभ्यतामाथि धावा बोलेर संस्कृतिलाई असर गरेन भन्न मिल्छ र ? अहिले बनेको विमानस्थल क्षेत्रमा ठूलाे पीलको चौतारा सहित देउरालीको थान थियो l त्यो कसले मास्यो l विमानस्थलभित्रको ४ वटा बस्तीलाई ध्वस्त बनाएर हाम्रो सम्बन्ध, संस्कृति, हाम्रो धर्ममा असर गरेको होइन त l’

विमानस्थलका अधिकारीले कहिले यसबारे प्रभावित समुदायसँग छलफल गरेका छैनन्त त भन्ने जिज्ञासामा पौडेलले भने, ‘गर्दैनन् l’ 

विमानस्थल निर्माण क्षेत्रका वडा अध्यक्ष (वडा १४) प्रेमबहादुर कार्की पनि विमानस्थल र सरोकारवाला निकायको कामबाट सन्तुष्ट छैनन् l उनी भन्छन्, ‘हाम्रो सहयोग चाहियो । कतै विवाद पर्‍यो भने सहजीकरण गर्न पर्‍यो भन्दै आउँछन् l हाम्रो समस्या के हो भन्नेबारे खासै चासो दिन्नन् l स्थानीय २-४  जनालाई रोजगारी दिए पनि पद्धतिअनुसार व्यवस्थापन हुन सकेकाे छैन l’ उनले थपे, ‘धुलो, ब्लास्टिंग, फोहर व्यवस्थापन आदि बारेमा के गरेका छन्, केही थाहा छैन l’

विमानस्थल जनसरोकार समिति संयोजक पौडेलले दोहोर्‍याए  ‘बस्ती हटाइएको छ l सभ्यता ध्वस्त पारिएको छ l हामीसँग किन छलफल गर्थे l वातावरणका विषय त गौण हुने नै भए l’  

अन्तमा,

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा तयार ‘वातावरण प्रभाव मूल्याङ्कन’ प्रतिवेदन २ सय १९ पृष्ठ लामो छ। यसले वातावरणका सबै मुद्धा नसमेटे पनि के के गर्ने भनेर लेखिएका थुप्रै विषय विमानस्थल व्यवस्थापनले नजरअन्दाज गरेको देखिन्छ। पत्रपत्रिकामा लेखियो भने तातेजस्तो गर्ने अनि अरू बेला सेलाएर बस्ने व्यवस्थापनका कारण आजित भएको स्थानीय बताउँछन् l

वातावरण लगायत मुद्धा र स्थानीयका गुनासा आइरहने गरी गर्नैपर्ने काम थाँती राख्दै जानु हुँदैन । बेलैमा सबै मुद्धा बिस्तारै समाधान गर्दै विमानस्थल सञ्चालन हुँदाका दिन स्थानीयको मुहारमा सबैभन्दा बढी खुसी ल्याउने गरी काम हुनु पर्छ ।  वातावरण, वन्यजन्तुका कारण भाेलि हुने सम्भावित जाेखिमलाइ लिएर चिन्तित विज्ञहरू ढुक्क हुने गरी आजैदेखि यस्ता समस्यालाई समाधान गर्दै जानुपर्छ । 

विमानस्थलसम्बन्धी  लेखकका अन्य लेखहरु

किन कमजोर भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको जोखिम, आर्थिक र मानवीय क्षति घटाउन छैन कुनै तयारी