पोखरा अन्तर्राष्ट्रिय विमानस्थल माथीको आकाशमा कावा खाइरहन्छन् सेतो गिद्ध


     कृष्ण भुसाल    
     चैत्र १९ गते २०८२ मा प्रकाशित


पोखरा उपत्यकामा स्याटेलाइट ट्याग लगाएका १० सेतो गिद्धको विचरण र आनिबानी विगत डेढ वर्षदेखी अनुगमन गरिराखिएको छ । यस अध्ययनबाट ती गिद्धहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरपरको आकाशीय क्षेत्र बारम्बार प्रयोग गर्ने गरेको तथ्य भेटिएको छ। टेलिमेट्रीबाट प्राप्त तथ्याङ्कले देखाउँछ कि ट्र्याक गरिएका धेरै गिद्धहरू विमानस्थलको उडान मार्ग (एरियल करिडोर) भित्र वा त्यस आसपास निरन्तर उडिरहेको पाइन्छ। केही गिद्धहरू विमानस्थलको जमिन तथा नजिकका खुला क्षेत्रमा केही समय बिताएको पनि रेकर्ड गरिएको छ।

यसबाट के देखिन्छ भने विमानस्थलको क्षेत्र र त्यस आसपासको वातावरण गिद्धहरूले उडान गर्न, बस्न वा खाना खोज्न नियमित रूपमा प्रयोग गरिरहेका छन्। गिद्ध र विमान दुवैले एउटै आकाशीय क्षेत्र प्रयोग गर्दा विमान र चराको ठोक्किने  जोखिम सिर्जना भएको देखिन्छ, जसलाई संरक्षण र उड्डयन सुरक्षाको दृष्टिले गम्भीर रूपमा मूल्याङ्कन गर्न आवश्यक छ।उडान भर्ने र अवतरण गर्ने चरण विमान सञ्चालनका सबैभन्दा संवेदनशील चरणहरू हुन्, किनभने यस समयमा विमान कम उचाइमा उडिरहेको हुन्छ र यसको मोड्ने क्षमता पनि सीमित हुन्छ।

यस्तो अवस्थामा चरासँग ठोक्किँदा विमान दुर्घटना हुन सक्छ भने विमानसँग ठोक्किँदा दुर्लभ गिद्धको पनि मृत्यु हुन सक्छ। विश्वभर नै बर्ड स्ट्राइकलाई उड्डयन सुरक्षाको प्रमुख जोखिमका रूपमा लिइन्छ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान सञ्चालनको मात्रा बढ्दै जाँदा यो जोखिम अझ बढ्ने देखिन्छ । हाल औसत रूपमा यहाँ दैनिक करिब ४०–५० वटा विमान आवागमन हुन्छ। सन् २०२५ मा मात्र यस विमानस्थलबाट करिब ९४६,७४५ यात्रुले यात्रा गरेका थिए। यसले देखाउँछ कि यस क्षेत्रमा हवाई यातायातको मात्रा उल्लेखनीय रूपमा बढिरहेको छ।

विमानको संख्या बढ्दै जाँदा विमान र गिद्ध एउटै आकाशीय क्षेत्रमा भेटिने सम्भावना पनि बढ्दै जान्छ। त्यसैले विमानस्थल वरपर गिद्धको नियमित उपस्थिति देखिनु उड्डयन सुरक्षा र दुर्लभ प्रजातिको संरक्षण दुवैका लागि चिन्ताको विषय बनेको छ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान र चराको ठोक्किने जोखिम घटाउन तथा गिद्ध संरक्षण सुनिश्चित गर्न समग्र वन्यजन्तु जोखिम व्यवस्थापन रणनीति लागू गर्नु आवश्यक छ। (पहिलो, स्याटेलाइट टेलिमेट्री र नियमित फिल्ड अवलोकनमार्फत गिद्धको गतिविधि निरन्तर निगरानी गर्नुपर्छ।

यसले गिद्धहरू बढी उड्ने समय, उचाइ र विमानस्थल वरपरका जोखिमयुक्त क्षेत्रहरू पहिचान गर्न मद्दत गर्छ। यस्तो जानकारीका आधारमा विमानस्थल प्रशासनले उच्च जोखिमको समयमा उडान सञ्चालनबारे सावधानी अपनाउन सक्छ। (दोस्रो, विमानस्थल भित्र र आसपासको वासस्थान व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ, ताकि गिद्धलाई आकर्षित गर्ने कारणहरू घटाउन सकियोस्। यसका लागि उचित फोहोर व्यवस्थापन, पशुका शव वा जैविक फोहोरको तुरुन्त व्यवस्थापन, नजिकका वधशाला वा फोहोर फाल्ने स्थलको नियमन तथा विमानस्थलको घाँसे मैदान वा खुला क्षेत्रको व्यवस्थापन गर्न सकिन्छ।

स्थानीय निकाय र समुदायसँग समन्वय गरेर गिद्धलाई आकर्षित गर्ने स्रोतहरू विमानस्थल वरपर कम गर्नुपर्छ ।(तेस्रो, विमानस्थलमा वन्यजन्तु जोखिम व्यवस्थापन प्रणाली लागू गर्नुपर्छ। यसमा प्रशिक्षित कर्मचारी, आवाज वा दृश्य प्रयोग गरेर चरालाई भगाउने उपकरण वा रडारमा आधारित चरा पहिचान प्रणाली जस्ता प्रविधि प्रयोग गर्न सकिन्छ।

यस्ता प्रविधिले चराहरू उडान मार्ग नजिक देखिएमा पाइलट र एयर ट्राफिक कन्ट्रोलरलाई समयमै जानकारी दिन सक्छ।अन्त्यमा, आधुनिक प्रविधिमैत्री तथा दीर्घकालीन अनुसन्धान र नीति निमार्ण तथा कार्यान्वयन बिचको समन्वय अत्यावश्यक र महत्त्वपूर्ण हुन्छ। पोखरा उपत्यकामा गिद्धको उडान व्यवहार र गतिविधिबारे निरन्तर अध्ययन गर्दा जोखिमको राम्रो मूल्याङ्कन गर्न सकिन्छ। वन्यजन्तु अनुसन्धान तथा संरक्षणको ज्ञानलाई उड्डयन सुरक्षा योजनासँग समेट्दा जैविक विविधता संरक्षण र हवाई सुरक्षा दुवैलाई सँगसँगै अघि बढाउन सकिन्छ।