रुख संरक्षण गर्न सचेत गराउने जीपीएस लोकेशन सहित “बैदामका वृक्ष” पुस्तक


     नेचर न्युज    
     जेठ ९ गते २०८३ मा प्रकाशित


जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका  वृक्ष” पुस्तक सार्वजनिक भएको छ ।

पोखरा ६ बैदाम स्थित ताल किनारमा रहेका १ सय ८ वटा बुढा रुखको जीपीएस लोकेशन समेत रेकर्ड गरेर रुखका पर्यावरणीय, धार्मिक, सांस्कृतिक, औषधीय महत्व, आर्थिक महत्व समेत समेटेर पुस्तक सार्वजनिक गरिएको पुस्तकका प्रकाशक संस्था राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष ठाकुर प्रसाद बरालले बताए । 

कृषि वैज्ञानिक डा अनिल सुवेदी, सामाजिक अभियन्ता अनिल थापा र प्राकृतिक स्रोत व्यवस्थापन र ग्रामीण विकासमा स्नातकोत्तर अध्ययनरत रितिसा बसेलले पुस्तक लेखेका हुन् । फेवाताल किनारका चौतारा, पार्क, रत्नमन्दिर  लगायत क्षेत्रका बुढा रुखमा जीपीएस लोकेशन समेत रेकर्ड गरेर राखिएको छ । पुस्तकमा राखिएको जीपीएस लोकेशन हेरेर ५० वर्ष देखि ३२४ वर्ष पुराना रुख कहाँ कहाँ छन् पत्ता लगाएर त्यस रुखका बारेमा थप अध्ययन गर्न सकिने पुस्तकका लेखक डा अनिल सुवेदीले बताए । 

वैज्ञानिक विधि अपनाएर पोखरा ६ बैदामका १ सय ८ वटा पुराना रुखको अध्ययन गरी जीपीएस लोकेसन रेकर्ड गरिएको हो । ताल किनारका २४ प्रजातिका रुखहरूको उमेर, त्यसको धार्मिक महत्व, पर्यावरणीय महत्व, सामाजिक, सांस्कृतिक, औषधीय र आर्थिक महत्व के छ भन्ने समेत खुलाएर पुस्तकको रूपमा प्रकाशित गरिएको हो । रुखको जीपीएस लोकेशन ट्याग गरेर राख्दा फेवाताल किनारमा कहाँ कहाँ  कति वर्ष पुराना सम्मका ऐतिहासिक रुख छन् भन्ने यकिन हुन्छ ।

यस्ता रुख कति छन् । कति पुराना छन् भन्ने जानकारी पाउनुको साथै संरक्षणमा पनि थप योगदान पुग्ने भएकोले यो विधि अपनाएर पुस्तकको आकार दिइएको पुस्तकका अर्का लेखक अनिल थापाले बताए । वैज्ञानिक विधिबाट रुखको उमेर छुट्टाइएको लेखक सुवेदीले बताए । अध्ययनमा फेवाताल किनार वाराही चोकको पिपलको रुख सबैभन्दा पुरानो ३२४ वर्षको रहेको पाइएको छ ।

 पुस्तकको पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, पोखरा ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, पुस्तकका प्रकाशक संस्था राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष ठाकुर प्रसाद बराल लगायतले गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा दिपेन्द्र बहादुर क्षेत्रीले स्वच्छ पर्यावरणकालागि महत्त्वपूर्ण योगदान दिने वृक्षको महत्व, उमेर र जीपीएस लोकेशन समेत रेकर्ड राखेर पुस्तकको रूपमा आउनुले संरक्षण क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । 

ताल किनारका बर, पिपल, आँप, समी, धुपी, चाप, काइयो सल्ला, कदम, जाकाराण्डा, सिमल, रुख कमल, टुनी, गोगन, गुल्मोहर, बन्तरी, ओदाल, चिउरी, राजवृक्ष, नरेश्वर, इमली, जामुन, सिसौ, जेक्विटिवा, लिची लगायत विभिन्न प्रजातिका रुखको अध्ययन गरी पुस्तकको आकार दिइएको हो । पछिल्लो समयमा पुराना रुख काट्ने मास्ने क्रम बढ्दै गएकोले ताल किनारका ऐतिहासिक रुखको अभिलेख राखेर संरक्षणमा लाग्न समेत दबाब दिने उद्देश्यले पुस्तक प्रकाशन भएको बताइएको छ ।

सहरीकरण सँगै रुख रोपेर बटुवाकालागि चौतारा बनाउने,  चौतारा सँगै बटुवाकोलागि पानी खान धारा र चौपायाकालागि पोखरी बनाउने चलन बजार क्षेत्रमा हराउँदै गएको छ । भएका चौतारा, पोखरी र पानीका स्रोतहरू पनि मासिँदै गएका छन् ।  यसैले ऐतिहासिक रुख, चौतारा र पानीका स्रोतहरू संरक्षणकालागि बैदाम क्षेत्रका रुखहरूको वैज्ञानिक अध्ययन गरी पुस्तकको आकार दिइएको बताइएको छ । पुस्तक प्रकाशक राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल मानवअधिकार, वातावरण र सम्पदा संरक्षणको क्षेत्रमा २०४८ साल देखि कार्यरत छ ।