सिंगापुरमा एसियाली पक्षीविज्ञान सम्मेलन सुरु, नेपालबाट चार विज्ञको प्रस्तुति


     नेचर न्युज    
     कार्तिक ३० गते २०८३ मा प्रकाशित


सिंगापुरमा तेस्रो एसियाली पंक्षीविज्ञान सम्मेलन सुरु भएको छ । सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुर (NUS) को आयोजनामा सन् २०२६ नोभेम्बर १४ देखि १७ सम्म सञ्चालन भइरहेको एसियाली पक्षीविज्ञान सम्मेलन (Third Asian Ornithological Conference–AOC 2026) मा एसियासहित विश्वका विभिन्न देशका पक्षीविज्ञ, अनुसन्धानकर्ता, संरक्षणकर्मी, प्राध्यापक, विद्यार्थी तथा चराप्रेमीहरूको सहभागिता रहेको छ। ३१ देशका ४०० भन्दा बढी चरा अनुसन्धानकर्ता सहभागी यस सम्मेलनले वैज्ञानिक ज्ञान तथा अनुसन्धानका उपलब्धि आदानप्रदान, अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन र चरा संरक्षणका साझा प्रयासलाई सुदृढ बनाउने महत्त्वपूर्ण क्षेत्रीय मञ्च प्रदान गरेको छ।

सन् २०२१ मा पहिलो र सन् २०२४ मा चीनको बेइजिङमा दोस्रो सम्मेलन सम्पन्न भएपछि आयोजित यस तेस्रो संस्करणले एसियाली पक्षीविज्ञान अनुसन्धान र क्षेत्रीय सहकार्यलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ। एसियाली पक्षीविज्ञान गठबन्धन (Asian Ornithological Alliance) को पहलमा अघि बढिरहेको यस सम्मेलनले एसियाको विशिष्ट चरा विविधता, पारिस्थितिक प्रणाली तथा विश्वव्यापी महत्त्व बोकेका चराका बसाइँसराइ मार्गहरूको अध्ययन र संरक्षणमा जोड दिएको छ।

सम्मेलनमा चराको पारिस्थितिकी तथा व्यवहार, बसाइँसराइ, चराको जनसंख्या, वर्गीकरण तथा विकासक्रम, आनुवंशिकी, जलवायु परिवर्तन, बासस्थान विनाश, सहरीकरण र संकटापन्न प्रजातिको संरक्षणलगायत समसामयिक विषयमा छलफल भइरहेको छ। त्यसैगरी, चरा अनुसन्धानमा प्रयोग भइरहेका आधुनिक प्रविधि, स्याटेलाइट ट्र्याकिङ, जैविक ध्वनि अभिलेखन (Bioacoustics), नागरिक विज्ञान (Citizen Science) तथा दीर्घकालीन अनुगमनका विषयले पनि महत्त्व पाएका छन्। विशेषगरी अवैध चरा व्यापार, एसियाली गाउने चराहरूको संकट, बसाइँसराइ गर्ने चराको संरक्षण र बासस्थान सुरक्षाजस्ता चुनौतीमा विशेष ध्यान दिइएको छ।

विशेषज्ञका मुख्य व्याख्यान, वैज्ञानिक प्रस्तुति, विषयगत गोष्ठी, अनुसन्धान पोस्टर, कार्यशाला, सामूहिक छलफल तथा स्थलगत अवलोकनमार्फत विभिन्न देशका अनुसन्धानकर्ता र संरक्षणकर्मीबीच ज्ञान, अनुभव तथा सीप आदानप्रदान भइरहेको छ। साथै, युवा पक्षीविज्ञ तथा नयाँ पुस्ताका अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायसँग जोडिने र सहकार्यका अवसर विस्तार गर्ने महत्त्वपूर्ण अवसर पनि मिलेको छ।

नेपालबाट सहभागी चरा विज्ञहरू कृष्णप्रसाद भुसाल, हेमन्त ढकाल, दिक्पाल कर्माचार्य र हेम कटुवालले नेपालमा भइरहेका चरा अनुसन्धान तथा संरक्षणका प्रयासबारे सम्मेलनमा आ–आफ्ना वैज्ञानिक प्रस्तुति राख्ने कार्यक्रम रहेको छ।

एसियामा चराको असाधारण विविधता, तीव्र वातावरणीय परिवर्तन र बसाइँसराइ गर्ने तथा संकटापन्न चराको संरक्षणमा बढ्दो चुनौतीका बीच यस सम्मेलनको विशेष महत्त्व रहेको छ। वैज्ञानिक अनुसन्धानलाई व्यावहारिक संरक्षण, नीतिगत संवाद र क्षेत्रीय सहकार्यासँग जोड्दै एसियाली पक्षीविज्ञान समुदायलाई सशक्त बनाउनु तथा चरा र तिनका बासस्थान संरक्षणका लागि वैज्ञानिक प्रमाणमा आधारित प्रयासलाई प्रवर्द्धन गर्नु सम्मेलनको प्रमुख उद्देश्य हो।