गण्डकी अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार हुने, गम्भीर बिरामीका लागि मात्र इमर्जेन्सी सेवा यथावत रहने


     नेचर न्युज    
     जेठ ११ गते २०७८ मा प्रकाशित


पोखरा । कोरोना संक्रमित बढ्दै गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा कोरोना संक्रमितको मात्रै उपचार हुने भएको छ । कोरोना संक्रमितको उपचार गर्न आवश्यक प्रक्रिया पुरा गर्न अस्पतालले मंगलबार ( आज ) देखि ओपिडी सेवा बन्द गर्ने भएको हाे ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि इमर्जेन्सीमै राखेर कोरोना संक्रमितको उपचार गर्नु परेको थियाे।  अस्पतालमा संक्रमितको उपचारका लागि हाल ८० बेड आइसोलेसन छ । मेडिकल वार्डलाई यसअघि नै अक्सिजनसहितको आइसोलेसन वार्डमा विकास गरिसकेको छ ।

अस्पतालमा कुल ३ सय ५० बेड छन् । प्रतिष्ठानका तर्फबाट निर्देशक प्राडा भरतबहादुर खत्रीले सोमबार विज्ञप्ति जारी गर्दै अर्को सूचना वा आदेश नभएसम्म कोभिड १९ बाहेकका अन्य ओपिडी बन्द भएको जनाइएको छ । नेपाल सरकार सचिवस्तरको आइतबारको बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पताल बनाउने निर्णय गरेको थियो ।

गत ५ वैशाखमा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचार गराउने अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । गम्भीर बिरामीको उपचारका लागि अस्पतालको इमर्जेन्सी सेवा भने यथावत रहने छ । मृगौलाका बिरामीका लागि डायलासिस पनि निरन्तर रहने सूचना अधिकारी नारायण आचार्यले बताए ।