
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता, प्रकृति प्रेमी बिचमा विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर सचेतना दिवस मनाइन्छ ।
गिद्धको प्राकृतिक तथा पारिस्थितिक महत्वबारे जनचेतना बढाउन गिद्ध सचेतना दिवस नेपालमा पनि मनाइँदै आएको छ । सचेतना दिवसमा गिद्धको महत्वका बारेमा समाजमा पर्दै आएको गलत धारण परिवर्तन गरेर सकारात्मक सन्देश प्रवाह पनि गरिन्छ ।
गिद्धको सङ्ख्या घट्नुको कारण र संरक्षणका उपायका बारेमा आम नागरिकलाई जानकारी गराउनु पनि सचेतना दिवेको उद्देश्य हो । गिद्ध संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउन सचेतना दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने पोखरा पन्छी समाजका अध्यक्ष शेषकान्त शर्माले बताए ।
पशु, चौपायालाई मारेर नखाने मरेको सिनो मात्र खाएर वातावरण सफा गर्ने भएकोले गिद्धलाई प्रकृतिको कुचीकार भनिन्छ । सिना खाएर स्वास्थ्य पारिस्थितिक प्रणाली र मानव, पशु स्वास्थ्य जीवनकालागि गिद्धले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
नेपालमा गिद्ध

विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एशियामा ९ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एशियामा पाइने सबै प्रजातिका गिद्ध नेपालमा पाइन्छन् । नेपालमा पाइने सबै प्रजातिका गिद्ध पोखरामा पनि अभिलेख भएका छन् ।
गिद्धले कुशलतापूर्वक छोटो समयमै सिनो खाएर वातावरण सफा गर्दछ । यसरी सिनो खाएर गिद्धले मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखाला र पशुचौपायाहरुमा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरूको सङ्क्रमणले निम्त्याउन सक्ने महामारीबाट बचाउँछ ।
धार्मिक र सांस्कृतिक आस्थासँग पनि गिद्ध जोडिएको छ । रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्धले पखेटा काटिदा पनि लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बती मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई खुवाउँछन् । गिद्धलाई खुवाउँदा मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रूपमा पुज्ने गर्दछन् ।
गिद्धकालागि जटिल समय

सन् २००६ अघि सम्म नेपालमा सहजै देख्न सकिन चराका प्रजातिमा पर्थे गिद्ध । सन् २०१२÷०१५ सम्म पनि पोखरामा गिद्ध सहजै देख्न सकिन्थ्यो ।
सन् १९८० ÷९० को दशमका आउँदा दक्षिण एसियामा गिद्धको सङ्ख्या एक्कासि कम हुँदै गयो । भारतीय उपमहादीपमा मात्र होइन संसारमै पनि गिद्ध तीव्र गतिले घटेर लोप हुने अवस्थामा पुगेको विभिन्न अध्ययनले देखाउँछ ।
नेपालमा सन् १९८० को दशकमा १० देखि १६ लाखको सङ्ख्यामा रहेको अनुमान गरिएको गिद्ध ९० प्रतिशतभन्दा बढीले घटी २० हजारभन्दा कममा सीमित भएको सेतो प्रजातिको गिद्धमा विद्यावारिधी गर्दै गरेका कृष्ण भुसाल बताउँछन् । आईयुसीएनले नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये चार प्रजातिका गिद्धलाई अति सङ्कटापन्न सूचीमा राखेको छ । एक प्रजातिलाई सङ्कटापन्न सूचीमा र तीन प्रजातिलाई सङ्कटको नजिक सूचीमा राखेको छ ।
डाइक्लोफेनेक प्रतिबन्ध

सन् १९९० को मध्यदेखि दक्षिण एशियामा गिद्धको संख्या नाटकीय रुपमा हस आएको हो । गिद्ध ठूलो संख्यामा घट्नुका कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक रहेको वैज्ञानिक अध्ययनले पुष्टि गरेको थियो । चौपायामा सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका चौपायाको उपचारकै क्रममा मृत्यु भएपछि ७ दिन भित्र यस्तो सिनो गिद्धले आहाराको रुपमा खाँदा गिद्ध मरेको वैज्ञानिक अध्ययनले पुष्टि गरेको थियो ।
बिरामी चौपायाको उपचारका क्रममा डाइक्लोफेनेक प्रयोग गरिएका पशु मृत्यु भएपछि ७ दिन भित्र गिद्धले खाँदा डाइक्लोफेनेकको विषाक्तपन उक्त पशुको सिनोखाने गिद्धको शरीरमा मासुसँगै सर्दा रगतमा युरिक एसिडको मात्रा बढाई भिसरल गाउँट गराउँने र मृगौलाले युरिक एसिढ छान्न नसक्दा गिद्ध केही दिनमी मर्ने गरेको तथ्य वैज्ञानिक अध्ययनले फेला पारेपछि पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक प्रतिबन्ध लगाइएको थियो ।
गिद्ध सङ्कटको प्रमुख कारण मानिएको डाइक्लोफेनेक औषधी नेपाल सरकारले २३ जेठ २०६३ देखि प्रतिबन्ध गरेको छ । डाइक्लोफेनेक प्रतिबन्धपछि त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग सुरु भएको हो । गिद्धलाई शुद्ध आहारा उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदायको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदाय स्तरको जटायु रेस्टुरेन्ट खोलिएको छ । गिद्धकालागि खोलिएको रेस्टुरेन्टमा किसानहरूबाट वृद्ध, अशक्त र गाईबस्तुहरू सङ्कलन गरी पालन पोषण गरिन्छ । यसरी पालिएका चौपाया प्राकृतिक मृत्युपश्चात् निश्चित स्थानमा गिद्धको आहाराका लागि राखिन्छ । यसरी राखिएको सिनो गिद्धले खाएको दृश्य अवलोकन गर्न दृश्यावलोकनलागि घर बनाइएको छ । त्यही घरबाट दृश्यावलोकन गर्ने व्यवस्था गरिएको छ ।
नेपालमा नवलपरासीको साथै रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया, कास्कीको घाचोक, बिजौरी, कैलालीको खुटिया र सुनसरीको कोशीटप्पुमा पनि जटायु रेस्टुरेन्ट सञ्चालनमा छन् । जटायु रेस्टुरेन्ट गिद्धकालागि शुद्ध आहारा उपलब्ध गराउनुको साथै पर्यापर्यटन प्रवर्द्धन, स्थानीयवासीको जीविकोपार्जन र अनुसन्धानका केन्द्र बन्दै आएका छन् ।
यसरी नेपालमा स्थापना भएका समुदायमा आधारित गिद्धलाई सुरक्षित क्षेत्र बनाउने अभियान र यसबाट प्राप्त नतिजा विश्व संरक्षण समुदायकालागि उदाहरणीय र अनुकरणीय बनेको छ । विश्व समुदायले समुदायमा आधारित जटायु रेस्टुरेन्ट उदाहरणीय बनेको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…