
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र स्याङ्जाको पुतलीबजार नगरपालिका २ स्थित भैँसेगौडामा रहेको मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेले गाउँको जैविक विविधता समेटिएको बायोडाइभरसीटी प्रोफाइल प्रकाशन गरेको हो ।
चरा, वनस्पति, वन्यजन्तु विज्ञले गाउँमा पाइने वन्यजन्तु, चरा, जैविक विविधताको विषयमा अध्ययन गरेर पुस्तक तयार पारेका हुन् । अध्ययनमा गाउँमा २२९ प्रजातिका चरा र १२६ प्रजातिका पुतली पाइएको गाउँको बायोडाइभरसीटी समेटेर तयार पारिएको पुस्तकमा उल्लेख गरिएको छ ।
भैँसेगौडा पर्यटकीय गाउँ हो । पर्यापर्यटनको माध्यमबाट गाउँको विकास गर्ने उद्देश्यले गाउँमा पाइने जैविक विविधताको अनुसन्धानको क्रममा चितुवा, चरी बिरालो, दुम्सी लगायतका २६ प्रजातिका स्तनधारी प्रजातिका वन्यजन्तु पाइने प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले जानकारी दिए ।
यसै गरी राङभाङ, भैँसेगौंडामा १६ प्रजातिका सरीसृप र २ सय ७९ प्रजातिका वनस्पति पाइने पनि आचार्यले जानकारी दिए । हिउँदको समयमा अध्ययन गरिएकोले अझ धेरै प्रजातिका चरा, पुतली, सरीसृप पाइन सक्ने अध्येयताले बताएका छन् । राङभाङ गाउँमा जैविक विविधताको संरक्षण सँगै पर्यापर्यटनको विकास गर्न गाउँमा संरक्षण कार्यक्रम पनि हुँदै आएका छन् ।

जैविक विविधताको संरक्षण गर्न गाउँको सामुदायिक वनमा वन्यजन्तुकालागि पोखरी निर्माण गरिने कार्यक्रम रहेको स्थानीयले बताएका छन् । यसको साथै मानव वन्यजन्तु नियन्त्रणकालागि संरक्षण कार्यक्रम पनि हुँदै आएको छ । संरक्षण कार्यक्रम अन्तर्गत गाउँमा २०७५ मा लाटोकोसेरो संरक्षण उत्सव भएको थियो । प्रकृतिका साथीहरू र स्थानीय गाउँको संयुक्त आयोजनामा लाटोकोसेरो र जैविक विविधता संरक्षणकालागि महोत्सव भएको भैँसेगौंडा सामुदायिक होमस्टेका सञ्चालक बालकुमार गुरुङले बताए ।
२०७५ सालमा दर्ता गरेर पाँच घरबाट होमस्टे सञ्चालन गरिएको गुरुङले बताए । होमस्टेमा स्वदेशी तथा विदेशी पर्यटक आउने र प्रकृतिमा रमाउने पनि उनले बताए । वन्यजन्तु अनुसन्धान विधि तालिम वर्षमा दुई चोटि ३८ दिन हुँदै आएको छ । यस्तै गरी विभिन्न सङ्घ संस्थाको तालीम लगायतका कार्यक्रम हुने गरेको उनले बताए । पुस्तक विमोचन कार्यक्रममा पुतली बजार नगरपालिकाका मेयर तुलसी राम रेग्मी, प्रकृतिका साथीहरू संस्थाका अध्यक्ष सोम जीसी, वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापक सुमन भट्टराईले पुस्तकले गाउँको जैविक विविधताको संरक्षण गर्दै पर्यापर्यटनको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका थिए ।

गाउँको जैविक विविधताको अध्ययनले गाउँमा कुन कुन प्रजातिका वन्यजन्तु, वनस्पति पाइन्छन् र ती वन्यजन्तु, वनस्पतिको महत्वका बारेमा जानकारी भएर संरक्षणमा योगदान पुग्ने पुतली बजार नगरपालिकाका मेयर रेग्मीले बताए । गाउँको जैविक विविधता संरक्षण र पर्यापर्यटन विकासमा महानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको पनि उनले सुनाए ।
पुस्तक चरा, वन्यजन्तु, पुतली, चमेरा, वनस्पति अनुसन्धान कर्मी, विज्ञले लेखेका हुन् । पुस्तक राजु आचार्य, यादव प्रसाद घिमिरे, विकास घिमिरे सुमन सापकोटा, सुरेन्द्र परियार, सोम जीसी, कृष्ण प्रसाद भुसाल, ऋषि बराल, विनय घिमिरे, किरण पन्थी, संगम पौडेल, वर्षा अधिकारी, बालकुमार गुरुङ, करणबहादुर शाहले लेखेका हुन् ।




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…