कोदो महोत्सवमा किसानलाई सम्मान


     नेचर न्युज    
     श्रावण १६ गते २०८३ मा प्रकाशित


 पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले कोदो दिवसको आयोजना गरेर किसानलाई शनिबार सम्मान गरेको हो । 

नेपाली मौलिक तथा रैथाने बाली कोदोको संरक्षण प्रवर्द्धन र खेती विस्तार गर्न पोखरा २२ कोदीमा कोदो महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा१७ रोपनी क्षेत्रफलमा कोदो खेती गर्दै आएका पोखरा २२ का कृषक खगी घर्ती, ११ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २० का कृषक दुर्गा बहादुर सुनार, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २८ का कृषक शोभा भण्डारी र ९ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २३ का कृषक होम बहादुर गुरुङलाई नगद र सम्मान पत्रले सम्मान गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । 

महोत्सवमा कोदो रोप्ने प्रतियोगिता पनि भएको थियो  महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार नगर क्षेत्रको करिब ३ हजार ८ सय हेक्टर क्षेत्रफलमा कोदो खेती लगाउने गरिएको छ । पोखरा महानगरमा ४८ सय मेक्ट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको छ । 

बजारमा कोदोको माग बढिरहेका बेला उत्पादन भने दिनानुदिन घट्दै गइरहेको अवस्थामा कोदो खेती प्रति कृषकहरूको आकर्षण वृद्धि गर्न कोदोको न्यूनतम समर्थन मूल्य समेत प्रदान गर्न थालिएको कडरियाले बताए । 

महोत्सवमा कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनी राखिएको थियो । कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । महोत्सवलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवर्द्धन र खेती विस्तार आजको आवश्यकता भएको बताए । रैथाने बालीका रूपमा कोदो खेतीको प्रवर्द्धन, खेती विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको पनि उनले सुनाए । 

कोदो उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत कृषकको आय बढाउन महानगरपालिकाले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको कृषि महाशाखाले जनाएको छ ।  स्थानीय उत्पादनको उपयोग र उपभोग बढाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ्नुपर्नेमा मेयर आचार्यले जोड दिए ।