पोखरामा बालबालिकामा श्वासप्रश्वासमा असर गर्ने भाइरस देखियो, अस्पतालमा बढ्यो चाप


     नेचर न्युज    
     कार्तिक १२ गते २०७८ मा प्रकाशित


पोखरा : बालबालिकामा श्वासप्रश्वासमा असर गर्ने भाइरसको सङ्क्रमण देखिएपछि पोखराका अस्पतालमा बिरामी बालबालिकाको चाप बढेको छ । गत भदाै १५ देखि पोखराको सबैभन्दा ठुलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा श्वासप्रश्वासमा समस्या देखिएर उपचार गर्न आउने बालबालिकाको संख्या बढेको हो । 

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रुघा, खोकी, छिटोछिटो श्वास फेर्ने , ज्वरो आउने समस्या देखिएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बाल रोग विभाग प्रमुख एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाले बताए ।बालबालिकामा निमोनिया, कोखा हान्ने, श्वासप्रश्वासमा समस्या हुने, निलोपन समेत देखिएपछि भेन्टिलेटरमा राखेर अक्सिजन दिएर उपचार गर्नु पर्ने समस्या पनि देखिएको डा बास्तोलाले सुनाए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पाेखरामा बालककाे उपचार गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बाल रोग विभाग प्रमुख एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा रामचन्द्र बास्तोला ।

अस्पतालमा केही दिन अघि सम्म ६ बेडको पीआइसीयु र १६ बेडको अक्सिजन, मनिटर सहितको एचडीयू भरिभराउ भएका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शुक्रबार श्वासप्रश्वास सम्बन्धी समस्या भएका ३२ जना बालबालिकाको उपचार भइरहेकोमा १२ जना बालबालिकालाई अक्सिजन चलाएर उपचार भइरहेको डा बास्तोलाले जानकारी दिए । श्वास प्रश्वास सम्बन्धी समस्या भएका ३ सय १७ जनालाई उपचार गरिएकोमा श्वासप्रश्वासको समस्याको साथै जटिल किसिमको निमोनिया समेत देखिएका ३ जना बालबालिकाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

रुघा, खोकी, छिटोछिटो श्वास फेर्ने , ज्वरो आउने समस्या देखिएका बालबालिकाको पिसिआर टेष्ट गर्दा भने रिपोट नेगेटिभ देखिएको उनले बताए । कोरोना सङ्क्रमण नदेखिएपछि के कारणले यस्तो सङ्क्रमण देखियो भन्ने एकीन गर्न थप टेष्टकालागि रिपोट काठमाण्डौं पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।

यस्तो समस्या देखिएका बालबालिकाको उपचारमा बुडेसोनाइड औषधी प्रयोग गरेर बाफ लगाउँदा सुधार देखिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गत फागुन ३ गते देखि पीआइसीयु बढाएर १६ बेड पु¥याइएको थियो । बालबालिकामा कोरोना सङ्क्रमण महामारी हुन सक्ने  अवस्था प्रति सचेत हुँदै अस्पतालले पूर्वतयारी गरी पीआइसीयु बेड संख्या थपेको थियो । 

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बालककाे उपचार हुँदै ।

पोखराको गण्डकी मेडिकल कलेजमा पनि बालबालिकामा उस्तै प्रकृतिको समस्या देखिएर उपचार गर्न आउनेको संख्या दसैं ताका निकै बढेको र अहिले घट्दै गएको बताइएको छ । बालबालिकामा घाँटी घ्यार घ्यार हुने, छातीमा समस्या देखिने बालबालिकालाई दश बाह्दिन सम्म अक्सिजन दिनु पर्ने अवस्था समेत देखिएको गण्डकी मेडिकल कलेज पोखराकी बाल राेग विशेषज्ञ डा वन्दना श्रेष्ठले बताइन् । दसैंताका अलि बढी यस्तो समस्या देखिएकोमा पछिल्लो समयमा भने यस्ता बिरामी बालबालिकाको संख्या  लगभग आधा नै घट्दै गएको उनले सुनाइन् । पोखराको ओम अस्पताल लगायतका अस्पतालमा पनि बालबालिकामा यस्तो समस्या देखिएर उपचार गर्न आउनेको संख्या बढेको बताइएको छ । 

१४ महिनाको बच्चाको पेट छिटो छिटो चल्ने, १०३ ज्वरो आउने र बमीट समेत भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारकालागि तीन दिन देखि भर्ना गरेर उपचार भइरहेको अभिभावक कमल विकले बताए । अस्पताल ल्याएको बेलुका देखि अक्सिजन समेत दिएर उपचार भइरहेकोमा अहिले केही सुधार भएको उनले सुनाए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ८ महिनाको बच्चाको  उपचार गराइरहेकी कृति गुरुङले रगतमा समस्या देखिनु, ज्वरो, रुघाखोकी लागेपछि उपचारकालागि अस्पताल ल्याएको बताइन् । हल्का निमोनिया देखिएकोले श्वास प्रश्वासमा समस्या देखिएपछि एक रात अक्सिजन समेत लगाउन परेको उनले सुनाइन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बालबालिकाकाे उपचारमा खटिएका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बाल रोग विभाग प्रमुख एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा रामचन्द्र बास्तोला लगायत ।