पोखरामा पर्यटक सँग दशैं


     नेचर न्युज    
     कार्तिक १० गते २०८३ मा प्रकाशित


पोखरामा रहेका पर्यटकलाई नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैं र नेपाली संस्कृतिबारे जानकारी दिदैं पर्यटक सँगै दशैं मनाइएको छ । कोजाग्रत पूर्णिमाको दिन आइतबार फेवाताल किनार बाराहीघाट सङ्गैको पार्कमा पर्यटकलाई दशैंको पर्वको बारेमा जानकारी दिँदै टीका, जमरा लगाएर दशैं मनाइएको हो । पर्यटकलाई टीका लगाएर दक्षिण पनि दिएको थियो । टीका लगाइसकेपछि पर्यटकलाई नेपाली परिकार सेल रोटी, तरकारी, अचार पस्किएको थियो । 

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा भएको दशैं पर्यटन तथा सांस्कृतिक महोत्सवमा नेपाली पञ्चेबाजा बजाएर पर्यटकलाई स्वागत गरिएको थियो । महोत्सवमा सहभागी पर्यटकले नेपाली मौलिक पर्व दशैंको बारेमा जानकारी पाउनुको साथै दशैंको टीका लगाउन पाउँदा खुसी लागेको बताएका थिए । महोत्सवमा सहभागी आयरल्यान्डकी पर्यटक ईथाले अन्नपूर्ण क्षेत्रको पदयात्रा गरेर पोखरामा आराम गरिरहेको समयमा नेपाली पर्वमा सहभागी हुन पाउँदा खुशीलागेको बताइन् । महोत्सवमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटकलाई टीका र जमरा लगाई दिएका थिए ।  

महानगर प्रमुख आचार्यले नेपालको मौलिक पर्व दशैंको बारेमा पर्यटकलाई जानकारी दिँदै सहभागी गराउँदै भएका यस्ता महोत्सवले संस्कृति पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दशैं संस्कृति बुझाउने गरी भएको यस्ता महोत्सवले पर्यटकको बसाइँ लम्बिनमा सहयोगी हुने बताए । महोत्सव आयोजक संस्था ओटेफकी अध्यक्ष ममता न्यौपानेले सांस्कृतिक पर्यटनको खोजी गर्दै प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन् । महोत्सवलाई आगामी वर्ष पनि निरन्तरता दिइने पनि उनले बताइन् । 

ओटेफकी निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले दशैंलाई पर्यटनसँग जोडेर पर्यटकको आगमन वृद्धि गर्ने र पोखरा आएका पर्यटकको बसाई लम्ब्याउन महोत्सवले सघाउने उद्देश्यले आयोजना गरिएको बताइन ।