बागलुङ र म्याग्दीमा पहिरोमा परी १६ जनाको मृत्यु


     नेचर न्युज    
     असाेज ११ गते २०८३ मा प्रकाशित


 पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा ५ जना ताराखोला गाउँपालिकामा १ जना र लामान खोला गाउँपालिकामा ४ जना गरी १० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिएका छन्  । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ४ जना र मालिका गाउँपालिकामा २ जना गरी ६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताएका छन् । बाढी पहिरोमा परी म्याग्दीमा ३ जना बेपत्ता भएको पनि आचार्यले बताएका छन् । 

काली गण्डकीमा आएको बाढीले पर्वत, स्याङ्जा जिल्ला र अन्य जिल्लामा आएको पहिरोले गण्डकी प्रदेशमा १७९ वटा घर पूर्ण क्षति भएको र २८ घर आंशिक क्षति भएको बताइएको छ । सबै भन्दा धेरै क्षति पर्वतमा भएको छ । काली गण्डकीमा आएको बाढीले पर्वतका १०६ वटा घरमा पूर्ण क्षति पुगेको र ९२ घर जोखिममा रहेको  गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

गण्डकी प्रदेशका सबै जिल्लामा गरी २९५ घर जोखिम र १२ वटा घर पूर्ण जोखिमयुक्त रहेको पनि गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिरोमा परेर ४४ पशु चौपायाका मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिए ।  बाढी पहिरोका कारण ५१२ घरधुरी प्रभावित र १६८४ जना विस्थापित भएको पनि गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिरोले ३ वटा सरकारी कार्यालय पूर्ण क्षति र ३ वटा कार्यालयमा आंशिक क्षति भएको छ । 

गण्डकी प्रदेशमा बाढीले ६ वटा पुलमा पूर्ण क्षति पुगेको र २ वटामा आंशिक क्षति पुगेको पनि गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।