साहित्यकार विद्याविमलको उपन्यास ‘पुनर्जागरण’ न्युयोर्कमा लोकार्पण


     नेचर न्युज    
     कार्तिक २२ गते २०८३ मा प्रकाशित


पोखरा: पोखराका साहित्यकार विद्याविमल बरालद्वारा लिखित उपन्यास ‘पुनर्जागरण’को न्युयोर्कमा लोकार्पण गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरको आयोजनामा क्विन्सस्थित ज्याक्सन हाइट्समा आयोजित कार्यक्रममा उक्त उपन्यासको विमोचन गरिएको हो।

बरालको कृति ‘पुनर्जागरण’ले प्रवासी जीवनका अनुभव समेट्दै नेपालमै फर्केर केही गर्नुपर्छ भन्ने सन्देश दिएको छ। पुस्तक विमोचन कार्यक्रममा न्युयोर्कमा रहेका साहित्यकार तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधीराम भण्डारीले बरालको कृति ‘पुनर्जागरण’ले प्रवासी जीवनका भोगाइलाई समेट्नुका साथै आफ्नै देशमा केही गर्नुपर्छ भन्ने हुटहुटी जगाउने बताए। त्यसैगरी अन्य वक्ताहरूले उपन्यास नेपाली माटोको सुगन्धले भरिएको र यसले नेपालीहरूको गुम्दै गएको अस्तित्व एवं पहिचानको खोजी गरेको उल्लेख गरे। कार्यक्रम अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष जानुका वस्ती ढकालको अध्यक्षता र महासचिव निरूको सञ्चालनमा सम्पन्न भएको थियो।

साहित्यकार बरालका यसअघि कविता, कथा र लघु संस्मरणहरू प्रकाशित भइसकेका छन्। उनको नेपाली भाषाको पहिलो उपन्यास ‘सपनाको देश’ हो भने अंग्रेजी भाषामा ‘मोरिसेला’ उपन्यास प्रकाशित छ। ‘पुनर्जागरण’ उनको तेस्रो उपन्यास हो। बरालका अन्य प्रकाशित कृतिहरूमा कथासंग्रह ‘अन्तहीन यात्रा’, कवितासंग्रह ‘सडक र इसाबेल’ र संस्मरण ‘आगोजस्तै पहाड’ लगायत छन्।