पशु-पंछीमैत्री तिहार पर्व काग पूजा गर्दै सुरु


     नेचर न्युज    
     कार्तिक २२ गते २०८३ मा प्रकाशित


जैविक विविधता तथा पशु-पंछीमैत्री तिहार पर्व आज काग पूजा गरेर सुरु भएको छ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिएको छ। यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाइएको हो।

बिहान सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत रूपमा आज कागको पूजा गरिएको छ। पृथ्वीमा रहेका सबै जीवको अस्तित्व रहे मात्रै मानिसको अस्तित्व रहन्छ भन्ने मान्यताका साथ पन्छी जगतमा कागको पूजा गरिएको संरक्षण अभियान्ताहरू बताउँछन्। यसैगरी आइतबार कुकुर तिहारको रूपमा कुकुरलाई पूजा गरी मनपर्ने खानेकुरा दिइन्छ। तिथि घटबढका कारण आइतबार नै लक्ष्मीपूजा पनि गरिँदै छ।

यसैगरी सोमबार गाईपूजा र मंगलबार गोरूपूजा, हलि तिहार, गोवर्धन पूजा, बलीपूजा तथा आत्म (म्ह) पूजा गरिँदै छ। नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारले काग, कुकुर, गाई र गोरुको पूजा गरेर पशु, पंछी तथा अन्य जीवको अस्तित्वको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिएको संरक्षण क्षेत्रका विज्ञ डा. रामजी गौतम बताउँछन्। उनका अनुसार नेपाली संस्कृति, धर्म र परम्पराले पृथ्वीमा रहेका सबै जीवको अस्तित्व रक्षा भए मात्र मानव जीवन पनि सुरक्षित रहन्छ भन्ने सन्देश दिए पनि पर्वको मर्मलाई त्यसरी बुझाउन भने सकिएको छैन।

तिहारमा मात्र काग, कुकुर, गाई र गोरुलाई पूजा गर्ने र त्यसपछिका दिनमा वास्ता नगर्ने प्रवृत्ति रहेको छ। तिहारमा पूजा गर्नुको अर्थ वर्षभरि काग, कुकुर, गाई र गोरुलगायत सबै जीवलाई माया गर्नू र संरक्षण गर्नू भन्ने हो। तर, हामीले परम्परा, संस्कृति र धर्म मान्ने क्रममा एक दिन पूजा गर्ने र त्यसपछिका दिनमा दुर्व्यवहार गर्ने गरेको पाइन्छ; जस्तै— जिउँदै पुलबाट नदीमा कुकुरलाई फ्याँक्ने घटना पनि देखिन्छन्। गाईले बाच्छा पाएपछि बेवारिसे अवस्थामा सडकमा छाड्ने तथा कागलाई ढुंगाले हान्ने गरेको समेत भेटिन्छ। तिहारको सन्देश सबै जीवको अस्तित्व रक्षा गर्नु हो भन्ने कुरा आत्मसात् गर्नु र सोही अनुसार व्यवहारमा लागू गर्नु नै तिहार पर्वलाई सार्थक बनाउनु हो भनी संस्कृति अभियान्ताहरू बताउँछन्।

तिहारको मुख्य दिन भाइटीका बुधबार परेको छ। पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजेलाई तोकेको छ। काग तिहारको दिन देशभर कागलाई पूजा गरिन्छ भने काठमाडौंको कागेश्वरी मनोहरास्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा आज कागको विशेष पूजाआराधना गरिन्छ।