सप्तरङ्गी टीका लगाएर पोखरामा पर्यटकले मनाए तिहार


     नेचर न्युज    
     कार्तिक ३० गते २०८३ मा प्रकाशित


पोखरा भ्रमणमा आएका पर्यटकले सप्तरङ्गी टीका लगाएर तिहार पर्व मनाएका छन् ।  होटल संघ पोखरा नेपालको आयोजनामा भएको भाइटिका महोत्सवमा विभिन्न देशका ५१ पर्यटकले टिका लगाएर तिहार पर्व मनाएका हुन् । 

टीका लगाउनु अघि पर्यटकलाई पाँच दिन सम्म चल्ने भाइटिकाको महत्वको बारेमा जानकारी गराएका थिए । तिहार पर्वमा काग, कुकुर, गाई, गोरुलाई किन पूजा गरिन्छ र यसको महत्त्व के छ भन्ने विषयमा पनि पर्यटकलाई जानकारी गराइएको थियो । टीका लगाउने क्रममा पानी र तेलले घेरा बनाउँदै पर्यटकलाई परिक्रमा गर्दा पर्यटकले यसको महत्वका बारेमा जिज्ञासा राखेका थिए । 

भाइटिकामा अमेरिका, बेलायत, चीन, जापान, अष्ट्रेलिया लगायत विभिन्न १५ देशका पर्यटकले टिका ग्रहण गरेका थिए ।  आयोजक संघका अध्यक्ष लक्ष्मण  सुवेदीले संघले भाइटिकालाई महोत्सवका रूपमा निरन्तरता दिएपछि पोखराका विभिन्न होटलमा समेत पर्यटकलाई टिका लगाउने कार्यक्रम भएको बताए । विगत १९ वर्ष देखि हुँदै आएको भाइटिका महोत्सवमा पछिल्लो समयमा भाइटिकामै सहभागी हुनकालागि पनि पर्यटक आउने क्रम बढेको पनि उनले बताए । 

महोत्सवमा पर्यटकले देउसी खेले र नाचगानमा समेत रमाए । उनीहरुले सेलरोटी चाखे । टिका ग्रहण गरेपछि महिला पर्यटकलाई पछ्यौरा र पुरुषहरुलाई ढाका टोपी उपहारस्वरुप प्रदान गरिएको थियो । टिका लगाएपछि लिथुएनियाकी पर्यटक मोनिकाले नेपाली जनता र तिहारको सांस्कृतिक पक्ष  आफूलाई मन परेको अनुभव सुनाइन् । मर्दि हिमाल पदयात्राका क्रममा आफूले राम्रोसँग हिमाल देख्न नपाए पनि पदयात्रा निकै स्मरणीय बन्न पुगेको बताइन् ।