युवाले देखेनन् स्वदेशमै रोजगारीका अवसर, विदेसिनेको संख्या अघिल्लो वर्षभन्दा दोब्बर


     नेचर न्युज    
     भाद्र ५ गते २०८३ मा प्रकाशित



देशमै रोजगारी सिर्जना गर्ने र विदेशमा रहेका नेपालीलाई समेत स्वदेश फर्काएर रोजगारी तथा लगानीको वातावरण बनाउने दाबी गर्दै आएको सरकारले अपेक्षित परिणाम दिन नसक्दा युवा पलायन झन् तीव्र बनेको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमै ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेसिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुँदा सय दिनभित्रै विदेशमा रहेका नेपालीलाई स्वदेश फर्केर लगानी गर्ने वातावरण बनाउने र उनीहरू फर्कन सुरु गर्ने दाबी गरेका थिए। तर सरकारका दाबी र युवाको वास्तविकताबीच ठूलो अन्तर देखिएको छ। देशभित्र रोजगारी र लगानीको भरपर्दो वातावरण नदेख्दा विदेसिने युवाको लर्को घट्नुको साटो झन् बढेको तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा मात्रै ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन्। गत आर्थिक वर्षको साउनमा यस्तो संख्या ४४ हजार ४ सय ६६ थियो। अर्थात्, एक वर्षमै २५ हजार ९ सय ७५ जना बढी नेपाली रोजगारीका लागि विदेसिएका छन्। यसले गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या करिब ५८ प्रतिशतले बढेको देखाउँछ।

विदेसिनेमा पुरुषको संख्या धेरै

साउनमा श्रम स्वीकृति लिनेमा पुरुषको संख्या ६० हजार ४ सय ७२ अर्थात् ८५.८ प्रतिशत छ। महिलाको संख्या ९ हजार ९ सय ६९ अर्थात् १४.२ प्रतिशत रहेको छ। गत वर्षको साउनको तुलनामा यस वर्ष विदेशिने पुरुषको संख्या २२ हजार ७१ र महिलाको संख्या ३ हजार ९ सय ४ ले बढेको छ। अर्थात्, वैदेशिक रोजगारीको बढ्दो लहरमा महिला पनि थपिँदै गएका छन्।

यूएई पहिलो रोजाइमा

नेपाली कामदारका लागि अघिल्लो आर्थिक वर्षझैं चालु आर्थिक वर्षको साउनमा पनि संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो रोजाइमा परेको छ। साउनमा यूएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन्। गत वर्षको सोही महिनामा यो संख्या १७ हजार ७ सय ७९ थियो।
त्यस्तै, मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६०, साउदी अरेबियाका लागि ८ हजार ६ सय १३, कुवेतका लागि ४ हजार ५ सय ६७ र रोमानियाका लागि २ हजार ९ सय ८ जनाले श्रम स्वीकृति लिएका छन्।

खाडी मुलुकसँगै जापान, पोर्चुगल, साइप्रस, टर्की र ओमनलगायतका मुलुक पनि नेपाली युवाका प्रमुख रोजगारी गन्तव्य बन्दै गएका छन्।धनुषाबाट सबैभन्दा धेरै युवा विदेशिए . ७७ जिल्लामध्ये वैदेशिक रोजगारीमा जानेको संख्याका आधारमा धनुषा पहिलो स्थानमा छ। साउनमा धनुषाबाट मात्रै ३ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन्। गत वर्षको साउनमा धनुषाबाट १ हजार ९ सय ९२ जना विदेशिएका थिए।

झापा ३ हजार १ सय ४५ जनासहित दोस्रो स्थानमा छ। सिरहाबाट २ हजार ८ सय ३५ र महोत्तरीबाट २ हजार ६ सय २९ जनाले श्रम स्वीकृति लिएका छन्। यी जिल्ला क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

दक्ष जनशक्तिसमेत विदेशिँदै

विदेशिनेमा सबैभन्दा ठूलो हिस्सा दक्ष कामदारको छ। साउनमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा ४० हजार ४ सय ९६ जना दक्ष, १७ हजार ९ सय ९९ जना अदक्ष र ११ हजार ४ सय ६५ जना अर्धदक्ष कामदार छन्। उच्च दक्ष र व्यावसायिक क्षेत्रमा जानेको संख्या भने क्रमशः १ सय ३ र ३ सय ७८ मात्रै छ। संख्या सानो भए पनि उच्च दक्ष जनशक्ति विदेशिने क्रम बढ्दै जानु देशका लागि थप चुनौतीका रूपमा देखिएको छ।

म्यानपावरभन्दा पुनः श्रम स्वीकृति लिने धेरै

प्रक्रियागत रूपमा हेर्दा २१ हजार ४ सय ४७ जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन्। २७ हजार ७ सय ४८ जनाले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिएका छन्।

त्यस्तै, १२ हजार ४ सय ४२ जनाले व्यक्तिगत रूपमा र ७ सय १२ जनाले जी–टु–जी प्रणालीमार्फत श्रम स्वीकृति लिएका छन्।
सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने र विदेशिएका नेपालीलाई फर्काउने लक्ष्य अघि सारे पनि साउनको तथ्यांकले त्यसको ठीक विपरीत तस्वीर देखाएको छ। देशमा रोजगारी र अवसरको खोजीमा रहेका युवाको संख्या घट्नुको साटो विदेशिनेको संख्या झन् बढ्दै जानुले सरकारका रोजगारी सिर्जना र युवा पलायन रोक्ने नीति तथा कार्यक्रममाथि गम्भीर प्रश्न उठाएको छ।