फेवामाथि मडारिएको कालो बादल


     नेचर न्युज    
     असार ३१ गते २०८३ मा प्रकाशित


अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म पुग्नुपर्छ।

आज सेती नदी जुन गहिरो खोँचमा बगिरहेको छ, त्यही स्थान कुनै समय पोखराको सतह थियो। त्यस बेला अन्नपूर्ण क्षेत्रमा रहेका हिमताल फुटेपछि सेतीमा पटक–पटक भीषण बाढी आयो। ती बाढीले विशाल परिमाणमा ढुङ्गा, माटो र गेग्र्यान बगाएर पुरानो भूभाग पुरिदिए र अहिलेको पोखरा उपत्यकाको भू–बनोट तयार भएको विभिन्न अध्ययनले देखाएका छन्।

त्यसै क्रममा खोलाहरू थुनिए, गहिरा भागमा पानी जम्यो र तालहरू बने। आज पोखरा उपत्यकामा रहेका नौ वटा ताल यही प्राकृतिक प्रक्रियाको परिणाम हुन्। अझ यसको गहिरो इतिहास खोज्दै जाने हो भने करिब ५ देखि ६ करोड वर्षअघि टेथिस सागरबाट हिन्दुकुश–हिमालय पर्वतमाला कसरी बने भन्ने विषयसम्म पुग्नुपर्छ। त्यो अनुसन्धान अझै जारी छ। त्यसतर्फ नजाऔँ, अब फेवातालमाथि मडारिएको कालो बादलतर्फ लागौं।

पहिले ताल रहेको क्षेत्र । ११ वर्षको अवधीमा यसरी खेतमा परिणत भएको छ । यसैले फेवाताल जोखिममा छ ।
तस्बिर : कृष्णमणि बराल

फेवातालको क्षेत्रफलका विषयमा विभिन्न समयमा अध्ययन भए। तर प्रत्येक अध्ययनले फरक–फरक नतिजा दिएको छ। ब्रिटिस सर्भे अफ इन्डियाले सन् १९२५/२६ मा गरेको अध्ययनले फेवातालको क्षेत्रफल ३.४६ वर्ग किलोमिटर देखाएको थियो। सन् २०१८ मा नेपाल–भारत सहयोग मिसनको प्रतिवेदनले १०.३५ वर्ग किलोमिटर उल्लेख गरेको छ।

यस्तै, २०३८ सालमा नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को अध्ययनले ५.८० वर्ग किलोमिटर देखायो। विश्वप्रकाश लामिछाने, पुण्यप्रसाद पौडेलदेखि पछिल्लो सिँचाइ डिभिजन कार्यालय कास्कीसम्मका अध्ययन प्रतिवेदनले पनि फरक–फरक तथ्याङ्क दिएका छन्। सिँचाइ डिभिजन कार्यालय कास्कीको २०८२ सालको प्रतिवेदनअनुसार फेवातालको हाई फ्लड लेभल ७९४.९५ मिटर कायम गरिएको छ भने तालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम निर्धारण गरिएको छ।

यी सबै अध्ययनले फेवातालको क्षेत्रफल त सार्वजनिक गरे, तर ताल हरेक वर्ष कति पुरिँदै गएको छ, गहिराइ कति घट्दै गएको छ, सतह कसरी परिवर्तन भइरहेको छ र यसलाई जोगाउन के उपाय अपनाउनुपर्छ भन्ने विषयमा सरकारको गम्भीर अध्ययन, अनुसन्धान र चासो भने देखिँदैन।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र भू–संरक्षण तथा जलाधार व्यवस्थापन विभागले सन् १९९४ मा गरेको अध्ययनअनुसार हरेक वर्ष हर्पनलगायतका खोलाबाट करिब १ लाख ७५ हजार मेट्रिक टन माटो र गेग्र्यान फेवातालमा थुप्रिने गरेको छ। त्यसयता ताल पुरिने गति कति बढ्यो, क्षेत्रफल र गहिराइ कति घट्यो भन्ने संवेदनशील विषयमा वैज्ञानिक अध्ययन र नियमित अनुगमन भएको देखिँदैन।

११ वर्ष अघिको फेवातालको मुहान क्षेत्रका तस्बिर । यस क्षेत्र अहिले पुरिएर खेतमा परिणत भएको छ ।
तस्बिर : कृष्णमणि बराल

अहिले फेवातालको अर्को ठूलो समस्या प्रदूषण हो। तालमा मिसिने खोला र ढलमा जथाभाबी फोहोर फाल्ने प्रवृत्तिले तालको पानी दिनप्रतिदिन प्रदूषित हुँदै गएको छ। पोखराको मुख्य बजार हुँदै बग्ने फिर्के र बुलौंदी खोलासँगै तालमा मिसिने ढलहरू फोहोरका मुख्य स्रोत बनेका छन्। कुनै समय पिउन प्रयोग हुने फेवाको पानी आज छुनसमेत अप्ठ्यारो लाग्ने अवस्थामा पुगेको छ।

पछिल्लो समय तालको मुख्य जलस्रोत हर्पन खोलाको आसपास बस्ती विस्तार हुँदै गएको छ। सिमसार क्षेत्र र ताल किनारमा घुम्न आउनेहरूले छोड्ने फोहोरले पनि प्रदूषण झन् बढाएको छ।

यता ढिकुरपोखरी, पञ्चासे लगायतका जलाधार क्षेत्रमा जाने ठूला पहिरोले पनि फेवाताललाई निरन्तर पुरिरहेका छन्। विशेषगरी २०७२ साल साउन १३ गते अन्नपूर्ण गाउँपालिकाको कालीमाटी–थाप्ले वन क्षेत्रमा गएको ठूलो पहिरोले २२ हेक्टर वन क्षेत्रको माटो र काठ अँधेरी खोला हुँदै हर्पन खोलाबाट तालमा थुपारिदियो। तर त्यस घटनाले ताल कति पुरियो भन्ने सरकारी अध्ययन अहिलेसम्म भएको छैन।

त्यति बेला फेवाताल करिब एक महिनासम्म हिलाम्य भएको थियो। पहिरोले बगाएका रूख, गेग्र्यान र माटो वाराहीघाट, गौरीघाट हुँदै बाँधसम्म फैलिएको थियो। लामो समय पानी धमिलो हुँदा तालका माछासमेत मरेका थिए। हर्पन–फेवा मत्स्य सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीका अनुसार फेवातालको ४० प्रतिशतभन्दा बढी भाग पुरिइसकेको छ। “हामीले पहिले माछा मार्ने ठाउँ अहिले खेत बनेका छन्,” उनी भन्छन्। ताल पुरिँदै जाँदा पनि संरक्षणमा सरकारको प्रभावकारी ध्यान नपुगेको जलारी समुदायको गुनासो छ।

फेवातालका मिर्गौला मानिने सिमसार क्षेत्रहरू पनि तीव्र रूपमा मासिँदै छन्। दलदल र पानी जम्ने प्राकृतिक क्षेत्र पुरेर घडेरी बनाउने क्रम रोकिएको छैन। जलाधार क्षेत्रमा अवैज्ञानिक रूपमा डोजर चलाएर सडक निर्माण गर्दा पहिरो बढेको छ र त्यसको सिधा असर फेवातालमा परेको छ। प्राकृतिक र मानवीय दुवै कारणले फेवातालमाथि यस्तो कालो बादल मडारिएको छ, जसले भविष्यमा ताललाई नै पोखरीमा सीमित पार्ने खतरा बढाइरहेको छ।

यो खतरा फेवातालमा मात्र सीमित रहने छैन। यसले सम्पूर्ण पर्यावरणीय सन्तुलन खलबल्याउनेछ। जैविक विविधता संकटमा पर्नेछ। साइबेरियाबाट जाडो छल्न आउने पाहुना चराको वासस्थान र चरन क्षेत्र हराउनेछ। ताल किनारको पर्यटन प्रभावित हुनेछ। फेवातालकै पानीबाट बग्ने डेभिड फल्सको आकर्षण घट्नेछ।

फेवाताल मुहान क्षेत्रबाट पुरिएर साँगुरिएको मात्र छैन । यसरी प्रदूषणको चपेटामा पनि पर्दै गएको छ । मानवीय व्यवहारका कारण फेवा यो अवस्थामा पुगेको हो ।
तस्बिर : कृष्णमणि बराल

फेवाको पानीबाट बिरुवा फाँटमा भइरहेको सिँचाइ प्रभावित हुनेछ। जलविद्युत उत्पादन, माछापालन, गुप्तेश्वर गुफाबाट देखिने पाताले छाँगोको दृश्य र आवाज तथा पावर हाउस नजिकको सुन्दर झरना पनि सुक्ने जोखिममा पर्नेछन्। अन्ततः यसको असर समग्र पोखराको अर्थतन्त्रमा पर्नेछ।

फेवाताल केवल एउटा ताल मात्र होइन। यो सयौँ प्रजातिका जीवजन्तुको घर हो, चरन क्षेत्र हो, हजारौँ मानिसको जीविकोपार्जनको आधार हो। यही तालमा डुङ्गा चलाएर, माछा मारेर, चराचुरुङ्गी देखाएर, होटेल–रेस्टुरेन्ट सञ्चालन गरेर र पर्यटन व्यवसाय गरेर सयौँ परिवारले जीवन धानेका छन्। पोखराको रात्रिकालीन पर्यटनको मुटु पनि यही फेवाताल हो।

त्यसैले फेवामाथि मडारिएको यो कालो बादल हटाउन अब ढिला गर्नु हुँदैन। फेवाताल, यसको जलाधार, सिमसार क्षेत्र, पानीका स्रोत र तालमा मिसिने खोलाहरूलाई प्रदूषणमुक्त बनाउने, पहिरो नियन्त्रण गर्ने र वैज्ञानिक संरक्षणलाई प्राथमिकता दिने समय यही हो। आज गरिने सही निर्णयले मात्रै भोलिको फेवा बचाउन सक्छ।