पोखरा उपत्यकामा ५४१ प्रजातिका चरा रेकर्ड


     नेचर न्युज    
     श्रावण २६ गते २०८३ मा प्रकाशित


पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४ सय ६७ प्रजातिका चरा रेकर्ड भएकोमा पछिल्लो गणनामा नयाँ प्रजातिका चराको रेकर्ड भएको पोखरा पंछि समाजका पूर्व अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । नेपालमा ९ सय ३ प्रजातिका चरा पाइन्छन् । 

पोखरामा पाइने चराहरूमा विश्वमा सङ्कटमा परेका ५ प्रजाति, अति सङ्कटापन्न  ६ प्रजाति, सङ्कटापन्न ४ प्रजाति रहेका छन्  । संवेदनशील प्रजातिका ५ प्रजाति रहेका छन् ।  यसै गरी राष्ट्रिय स्तरमा अति सङ्कटापन्न १६, सङ्कटापन्न १५, संवेदनशील ३३ प्रजातिका चरा पोखरामा रेकर्ड भएका छन् । 

पोखराका ९ ताल, नदी, खोला किनार र वनमा पाइने चरा समेत गरेर पोखरा उपत्यकामा अहिले सम्म ५ सय ४१ प्रजातिका चरा अभिलेक भएका हुन् । पोखरा उपत्यका सिकारी चराकालागि स्वर्ग मानिन्छ । पोखरामा दक्षिण एसियामा पाइने ९ प्रजातिकै गिद्ध र नेपालमा पाइने ६ प्रजातिकै गोमायु महाचिल पाइन्छन् । 

नेपालमा चरा हेर्नकैलागि पनि चरा आउने गर्दछन् । बेलायत, डेनमार्क, अमेरिका लगायतका देशबाट चरा हेर्न नेपालमा पर्यटक आउँछन् । पछिल्लो समयमा चीन, मलेशिया, सिंगापुर, थाइल्याण्डबाट चराको अवलोकन र तस्विर खिच्नैकालागि पनि नेपालमा पर्यटक आउने गर्दछन् । पर्यटकीय राजधानी पनि चरा पर्यटनकालागि पर्यटकको आकर्षक गन्तव्य हो । अन्नपूर्ण संरक्षण क्षेत्र पनि पदयात्रा पर्यटनको साथै चराको अवलोकनकालागि पनि पर्यटक आउने गर्दछन् ।