स्याङ्जाको वनमा प्रकृति चिन्दै, अनुसन्धान सिक्दै


     नेचर न्युज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित


पुतलीलाई यति नजिकबाट नियालेर चिन्न पाउँदा बैतडीकी चन्द्रा नाथ निकै उत्साहित छिन्। पोखरास्थित वन विज्ञान अध्ययन संस्थानमा अध्ययनरत उनी भन्छिन्, “वन विषय पढ्ने अवसर त पाएँ, तर प्रकृतिका यी जीवलाई यति नजिकबाट बुझ्ने मौका पहिलोपटक पाएकी हुँ। यो अनुभव जीवनभर भुल्ने छैन।”

विराटनगरका आशिष श्रेष्ठका लागि पनि स्याङ्जाको वनमा बितिरहेको समय नयाँ अनुभवले भरिएको छ। उनले पहिलोपटक वन्यजन्तुको गतिविधि निगरानी गर्न प्रयोग गरिने स्वचालित क्यामेरा वनमा जडान गरेका छन्। वन्यजन्तु क्यामेराको निगरानी क्षेत्रमा आइपुग्दा चाल पत्ता लगाएर आफैँ तस्बिर खिच्ने यस्तो प्रविधिलाई ‘क्यामेरा ट्र्याप’ भनिन्छ। रामपुरमा जलीय स्रोतसम्बन्धी विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका श्रेष्ठ यो तालिममा छनोट हुन पाउँदा आफूलाई भाग्यमानी ठान्छन्।

चन्द्रा र आशिषजस्तै देशका विभिन्न विश्वविद्यालयमा वन, वातावरण, पशु चिकित्सा, भूगर्भशास्त्र र प्राणीशास्त्र अध्ययन गरिरहेका १५ जना विद्यार्थी यतिबेला स्याङ्जाको राङभाङ–भैंसेगौंडामा भेला भएका छन्। उनीहरू प्रकृतिका साथीहरू संस्थाले आयोजना गरेको १९ दिने ‘वन्यजन्तु अनुसन्धान विधि तालिम’मा सहभागी छन्। कक्षाकोठामा सैद्धान्तिक ज्ञान लिइरहेका विद्यार्थीलाई प्रकृतिसँग प्रत्यक्ष जोड्दै वन्यजन्तु चिन्ने, तिनको व्यवहार बुझ्ने र अनुसन्धान गर्ने व्यावहारिक सीप सिकाउनु तालिमको मुख्य उद्देश्य हो।

सन् २०१२ मा सुरु भएको यो तालिम अहिलेसम्म २४१ जनाले पूरा गरिसकेका छन्। तीमध्ये धेरैजसो वन्यजन्तु अनुसन्धान र संरक्षणका क्षेत्रमा सक्रिय रहेको आयोजकको भनाइ छ।पाल्पाका सुमन सापकोटाले सात वर्षअघि यही तालिम लिएका थिए। अहिले उनी तालिमका प्रशिक्षक बनेका छन्। उनका अनुसार तालिममा प्रकृति र जैविक विविधता चिन्ने तथा अनुसन्धान गर्ने सीपसँगै तनाव व्यवस्थापन, प्रभावकारी प्रस्तुति, अनुसन्धान प्रस्ताव र प्रतिवेदन लेखन, पोस्टर निर्माण, संरक्षणसम्बन्धी नाटक तयार गर्ने र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्नेसम्मका विषय समेटिएका छन्।

“तालिमपछि वन्यजन्तु अनुसन्धान र संरक्षणको क्षेत्रमा काम गर्न सक्छु भन्ने आत्मविश्वास बढ्छ,” सापकोटा भन्छन्।अर्का प्रशिक्षक पाल्पाका विनय घिमिरेका अनुसार अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्नु मात्र पर्याप्त हुँदैन। सङ्कलित तथ्याङ्कको वैज्ञानिक विश्लेषण गर्ने र त्यसबाट प्राप्त नतिजा अरूले सहजै बुझ्ने गरी प्रस्तुत गर्न सक्ने क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले तालिममा अनुसन्धानका हरेक चरणलाई व्यावहारिक अभ्यासमार्फत सिकाउने गरिएको छ।

सहभागीले चरा, पुतली, भ्यागुता, सर्प, स्तनधारी वन्यजन्तु र वनस्पतिको पहिचान गर्न सिक्छन्। वनमा प्रत्यक्ष अवलोकन, नमुना तथा तथ्याङ्क सङ्कलन र विभिन्न अनुसन्धान विधिको अभ्यास गर्छन्। बिहान ६ बजेदेखि सुरु हुने अभ्यास कहिलेकाहीँ राति १२ बजेसम्म पनि चल्छ। अनुभवी अनुसन्धानकर्ता र संरक्षणकर्मीसँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका काम र अनुभव बुझ्ने तथा आफ्ना जिज्ञासा राख्ने अवसर पनि सहभागीले पाउँछन्।

तालिमका परिकल्पनाकारमध्ये एक डा. यादवप्रसाद घिमिरेका अनुसार वन्यजन्तु अध्ययन र अनुसन्धानका आधारभूत सीप नयाँ पुस्तामा विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। सुरुका वर्षमा वार्षिक १० जनालाई मात्र तालिम दिइन्थ्यो। विद्यार्थीको बढ्दो रुचि र मागलाई ध्यानमा राख्दै अहिले दुई समूहमा गरी वर्षमा करिब २८ जनालाई तालिम दिने गरिएको छ।

तर तालिमप्रतिको आकर्षण बढ्दै गए पनि आर्थिक स्रोतको अभाव चुनौती बनेको छ। आयोजकका अनुसार पर्याप्त आर्थिक सहयोग जुट्न नसके आगामी वर्षदेखि तालिममा सहभागी गराउन सकिने संख्या घटाएर १४ जनामा सीमित गर्नुपर्ने अवस्था छ। वन्यजन्तु अनुसन्धान र संरक्षणका लागि दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको कार्यक्रमको निरन्तरतामै आर्थिक अभाव बाधक बन्ने देखिएको छ।

चितवन, नवलपरासी र पर्वत हुँदै स्याङ्जा आइपुगेको यो तालिमको स्थलगत अभ्यास अहिले पुतलीबजार नगरपालिका र बिरुवा गाउँपालिकाको सीमाक्षेत्रमा सञ्चालन भइरहेको छ। स्थानीय व्यवस्थापनको जिम्मेवारी भैंसेगौंडा सामुदायिक होमस्टेले सम्हाल्दै आएको छ। तालिम सञ्चालनका लागि स्विट्जरल्यान्डको बर्न्ड थिस फाउन्डेसनले मुख्य र अकोर्डियोस फाउन्डेसनले आंशिक आर्थिक सहयोग गर्दै आएका छन्।

तालिमका अर्का परिकल्पनाकार तथा संरक्षणकर्मी राजु आचार्यका अनुसार आफूहरूले अनुसन्धान सिक्ने क्रममा भोगेका कठिनाइ नयाँ पुस्ताले दोहोर्‍याउन नपरोस् भन्ने सोचले कार्यक्रम सुरु गरिएको हो। अनुसन्धानका लागि आवश्यक आधारभूत सीप, ज्ञान र अवसरको अभावमा नयाँ पुस्ताले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले तालिमको अवधारणा अघि सारिएको उनी बताउँछन्। तालिम पूरा गरेर देशका विभिन्न ठाउँमा अनुसन्धान र संरक्षणका काममा सक्रिय पूर्वसहभागीले बेलाबेला आफूलाई इमेलमार्फत अनुभव सुनाउने गरेको आचार्य बताउँछन्। उनीहरूका काम र उपलब्धिबारे पढ्दा तालिमलाई निरन्तरता दिने थप प्रेरणा मिल्ने उनको भनाइ छ।

सात वर्षअघि यही तालिममा सहभागी भएर अनुसन्धानका आधारभूत सीप सिकेका सुमन सापकोटा र विनय घिमिरे अहिले नयाँ पुस्तालाई सिकाइरहेका छन्। उनीहरू आफैँले सिकेको ज्ञान र अनुभव अर्को पुस्तामा हस्तान्तरण गरिरहेका छन्। स्याङ्जाको वनमा चन्द्रा र आशिषजस्ता विद्यार्थीले पनि प्रकृतिलाई नजिकबाट चिन्ने, अनुसन्धानका सीप सिक्ने र संरक्षणको क्षेत्रमा भविष्य खोज्ने अवसर पाएका छन्।

यसरी एउटा पुस्ताले सिकेको ज्ञान र सीप अर्को पुस्तामा हस्तान्तरण हुँदै जाँदा वन्यजन्तु अनुसन्धान र संरक्षणका लागि आवश्यक दक्ष जनशक्ति तयार हुने अपेक्षा गरिएको छ। प्रकृतिलाई किताबमा पढ्ने विषयमा मात्र सीमित नराखी प्रत्यक्ष अनुभव, अवलोकन र अनुसन्धानबाट बुझ्ने अवसर प्रदान गर्नु नै यो तालिमको सबैभन्दा ठूलो उपलब्धि बनेको छ।