वन तथा संरक्षित क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालनका कानुनी जटिलता हटाउन पहल


     नेचर न्युज    
     मंसिर १० गते २०८३ मा प्रकाशित


संरक्षित तथा अन्य वन क्षेत्रमा पर्यटन पूर्वाधार विकास र व्यवसाय सञ्चालनमा देखिएका कानुनी तथा नीतिगत जटिलता हटाउन सरकार र सम्बन्धित निकायबीच छलफल भएको छ ।

वन क्षेत्र तथा पदमार्गमा होटल र रेस्टुरेन्ट सञ्चालन, साहसिक पर्यटनका गतिविधि सञ्चालन तथा प्रवर्द्धन गर्न देखिएका कानुनी अवरोध हटाउने विषयमा सम्बन्धित मन्त्रालयका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरूसँग छलफल गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेश)ले बताए । कतिपय स्थानमा विषयगत मन्त्रालयका विकास आयोजना कार्यान्वयनमा समेत कानुनी तथा नीतिगत जटिलता देखिएकाले त्यसको समाधानका लागि आवश्यक सहजीकरण गर्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

छलफलमा मन्त्रीहरू गनेश पौडेल, सुदन गुरुङ, महावीर पुन, प्रतिभा रावल, शोभिता गौतम र गीता चौधरी, प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकाल तथा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए । उनीहरूले पर्यटन क्षेत्रको विकास र लगानी प्रवर्द्धनका लागि देखिएका समस्या समाधान गर्न विभिन्न सुझाव दिएका थिए ।

प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार विकास, निजी क्षेत्रको लगानी प्रोत्साहन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रको विस्तार गर्ने उद्देश्यले छलफल गरिएको जनाइएको छ । संरक्षण र विकासलाई एकअर्काको विरोधी नभई परिपूरकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै कानुनी तथा नीतिगत जटिलता हटाउनुपर्ने निष्कर्ष निकालिएको छ ।

आगामी लगानी सम्मेलनको पूर्वसन्ध्यामा पर्यटन क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्दै मुलुकका पर्यटकीय सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न बुधबारको छलफल महत्त्वपूर्ण हुने अपेक्षा गरिएको पर्यटनमन्त्री खडकराज पौडेलले बताएका छन् ।