एसियाली गिद्ध संरक्षणसम्बन्धी १५औँ अन्तर्राष्ट्रिय बैठक बंगलादेशमा सुरु


     नेचर न्युज    
     मंसिर १० गते २०८३ मा प्रकाशित


एसियामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको संरक्षण र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने उद्देश्यले ‘सेभ’ को १५औँ बैठक बुधबार देखि बंगलादेशको सुन्दरवनमा सुरु भएको छ ।

‘सेभिङ एसियाज भल्चर्स फ्रम एक्स्टिङ्सन’ (Saving Asia’s Vultures from Extinction–SAVE) नामक यो साझेदारी एसियाली गिद्धको संरक्षण र पुनर्स्थापनामा केन्द्रित छ । यसले गिद्धको संरक्षणका लागि सरकारी निकाय, संरक्षणकर्मी, अनुसन्धानकर्ता र स्थानीय समुदायबीच समन्वय गर्दै संरक्षणका रणनीति कार्यान्वयनमा सहकार्य गर्दै आएको छ ।

२५ भन्दा बढी सरकारी निकाय, गैरसरकारी संस्था तथा गिद्धको अनुसन्धान र संरक्षणमा संलग्न वैज्ञानिकहरू आबद्ध रहेको SAVE एसियाली गिद्ध संरक्षणका लागि साझा अन्तर्राष्ट्रिय मञ्च हो ।

यस मञ्चमा नेपालबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण संघले प्रतिनिधित्व गर्दै आएका छन् ।

गिद्धको संख्या घट्नुका कारण पहिचान, तिनको बासस्थान संरक्षण, सुरक्षित आहारको उपलब्धता तथा संरक्षणका प्रभावकारी उपाय कार्यान्वयन गर्न SAVE ले विभिन्न देशका संस्थाबीच सहकार्य र अनुभव आदानप्रदान गर्दै आएको छ ।

बंगलादेशको सुन्दरवनमा सुरु भएको १५औँ बैठकमा एसियाली गिद्धको संरक्षणमा भएका प्रगतिको समीक्षा तथा आगामी संरक्षण रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको सेतो गिद्धमा विध्यावारिधि गर्दै गरेका गिद्ध विज्ञ कृष्ण भुसालले बताए ।