
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त राष्ट्रसंघले सन् २००० मा चयन गरेको हो I सन् १९९२ मे २२ मा भएको जैविक विविधता महासन्धि (Convention on Biological Diversity) को सम्झनामा यो दिवस मनाउने निर्णय गरिएको हो I यस दिवसको मुख्य उद्देश्य – जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकता बारे आम जनचेतना फैलाउनु नै हो । यो दिवस मनाउने क्रममा प्रत्येक बर्ष एक नारा (Theme) तय गरिन्छ I सन् २०२६ मा यस दिवसको मूल नारा “स्थानीय कार्य, विश्वव्यापी प्रभाव” (“Acting locally for global impact”) रहेको छ I यस नाराले स्थानीय तहमा गरिने संरक्षण कार्यहरूले विश्वव्यापी जैविक विविधता संरक्षणमा ठूलो प्रभाव पार्ने सन्देश दिन्छ ।
सन् २०२२ मा संयुक्त राष्ट्र संघका पक्षधर राष्ट्रहरूको सम्मेलनले ‘कुनमिन-मोन्ट्रीयल बिश्वब्यापी जैविक बिबिधता फ्रेमवर्क’ (Kunming-Montreal Global Biodiversity Framework) तयार पार्यो, जसमा जैविक विविधताको संरक्षण र दिगो उपयोगका लागि सन् २०५० सम्मका लागि चार वटा प्रमुख उद्देश्यहरू र सो अगावै सन् २०३० सम्म २३ वटा लक्ष्यहरू हासिल गर्ने कार्ययोजना उल्लेख गरिएका छन् ।
कुनमिङ-मोन्ट्रियल फ्रेमवर्क
जैविक बिबिधता महासन्धि (Convention on Biological Diversity) अन्तर्गत तयार गरिएको कुनमिङ–मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क सन् २०२२ डिसेम्बर १९ मा क्यानडाको मोन्ट्रियलमा सरोकार राष्ट्रहरू बीच सम्पन्न १५औँ जैविक विविधता सम्मेलन (COP15) मा औपचारिक रूपमा स्वीकृत गरिएको थियो । यस फ्रेमवर्कको नाम दुई वटा शहरबाट राखिएको हो : सन् २०२१ मा चीनको कुनमिङमा COP15 को पहिलो चरण आयोजना गरिएको थियो भने सन् २०२२ मा क्यानेदाको मोन्ट्रियलमा दोस्रो चरण तथा अन्तिम सम्झौता सम्पन्न भएको थियो । यस फ्रेमवर्कको मुख्य लक्ष्य सन् २०५० सम्म “प्रकृतिसँग मैत्रीपूर्ण विश्व” निर्माण गर्नु हो ।
नेपालमा जैविक बिबिधताको स्थिति
विश्वको भू-भागको दृष्टिले नेपालले केवल ०.०३% मात्र क्षेत्रफल ओगटे छ । तर जैविक बिबिधताको दृष्टिले नेपाल एक सम्पन्न राष्ट्र मानिन्छ । जैविक विविधताको संख्याको हिसाबले नेपाल विश्वव्यापी स्तरमा ४९ औं र एसियामा ११ औं स्थानमा छ । तर जैविक बिबिधता घनत्व (Biodiversity Richness) को हिसावले नेपाल विश्वमा २५ औं स्थानमा पर्दछ ।
नेपालले विश्वको जैविक विविधताको १.३% ओगटेको छ । नेपालमा विश्वका ज्ञात वनस्पति मध्ये ३.२% र ज्ञात जीवजन्तु मध्ये १.१% रहेका छन् । यहाँ ११८ प्रकारका पारिस्थितिक प्रणालीहरू (बन, चरनक्षेत्र, सिमसार, र कृषि पारिस्थितिक प्रणालीहरू) तथा २४२ वटा सिमसार क्षेत्रहरू पहिचान भएका छन्, जसमध्ये १० वटा सिमसार त रामसार संरक्षित क्षेत्रमा सूचिकृत भई सकेका छन् । फूल फूल्ने वनस्पति (Angiosperm) मध्ये नेपालमा ६,६५३ प्रजाति/उप-प्रजाति, फूल नफूल्ने वनस्पति (Gymnosperm) मा २८ प्रजातिहरू, १,००१ प्रजातिका लेउ (Algae), २,०२५ प्रजातिका ढुंसी (Fungi), ७७१ प्रजातिका झाऊ (Lichens), १,१५० प्रजातिका ब्रायोफाइट (bryophytes) र ५३४ टेरिडोफाइटहरू (Pteridophytes) रहेका छन् ।
त्यस्तै २१० स्तनधारी, ८७१ चरा, २२८ माछा, १२,९५७ भन्दा बढी कीरा, १३७ घिस्रिने प्राणी र ५३ उभयचर छन् । वनस्पतिमा गुराँस प्रजातिको सङ्ख्या नै ३० वटा भन्दा बढी छन्, सुनगाभा/सुनाखरी परिवारका ३ सय ६३ भन्दा बढी प्रजाति छन् । त्यस्तै कृषि जैविक बिबिधता अन्तर्गत अनेकौं प्रकारमा बाली र तिनका जात/प्रजातिहरू पाइन्छन् । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य छन् । त्यसमध्ये २०० भन्दा बढी प्रजातिको त खेती नै गरिन्छ । कतिपय अन्नबाली, तरकारीवाली र जडिबुटीका प्रजातिहरू नेपालकै रैथाने प्रजातिमा पर्दछन् ।
यी मध्ये थुप्रै प्रजातिहरू अन्तर्राष्ट्रिय साईटिस (CITES) मा सूचिकृत भएका छन् । CITES को पुरा नाम Convention on International Trade in Endangered Species of Wild Fauna and Flora हो । CITES भनेको लोपोन्मुख वा अति न्यून संख्यामा भएका वन्यजन्तु र वनस्पति प्रजातिको बहुपक्षीय अन्तर्राष्ट्रिय व्यापार महासन्धि हो, जसले अन्तर्राष्ट्रिय व्यापारको खतराबाट लोपोन्मुख वनस्पति र पशुपन्छीहरूलाई जोगाउने लक्ष्य राख्छ । CITES ले अनुमतिपत्र र प्रमाणपत्र प्रणालीको आधारमा वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन गर्दछ र व्यापार दिगो र कानुनी छ भनी सुनिश्चित गर्दछ । यस्तो व्यापारलाई नियमन गरी CITES ले वनस्पति र पशुपन्छी प्रजातिहरू र तिनीहरू निर्भर हुने पारिस्थितिक प्रणालीहरूको संरक्षण गर्न योगदान गर्दछ । CITES ले त्यस्ता प्रजातिहरूलाई तीन अनुसूचिमा सूचीबद्ध गरेको छ, जसमा अनुसूची एकले अति जोखिमयुक्त बन्यजन्तु र वनस्पतिलाई उच्चतम स्तरको सुरक्षा प्रदान गर्दछ र तिनको व्यावसायिक व्यापारलाई प्रतिबन्धित गर्दछ । नेपालका ७३ प्रजातिका स्तनधारी, ११३ प्रजातिका चरा, २९ प्रजातिका घस्रने प्राणी, २ प्रजातिका उभयचर, ३ प्रजातिका पुतली, र ४१७ प्रजातिका वनस्पति साइटिस् (CITES) मा सूचिकृत भएका छन् । यिनको शिकार गर्न र ब्यापार गर्न गैर कानुनी मानिन्छ ।
जैविक बिबिधताको महत्व
जैविक बिबिधताको निम्नानुसार बिशेष महत्व रहेका छन् :
१. पारिस्थितिक प्रणाली सेवाहरू:
• खाद्य सुरक्षा : जैविक विविधता कृषिको जग हो, जसले बढी उत्पादनमूलक बालीहरूको बिकास गर्न आवश्यक आनुवंशिक विविधतामा महत्वपूर्ण योगदान गर्दछ ।
• सफा पानी र हावा: विविध प्रजातिहरू भएको स्वस्थ पारिस्थितिक प्रणालीले पानी शुद्धीकरण गर्न र हावाबाट प्रदूषक तत्वहरूलाई फिल्टर गर्न मद्दत गर्छ; वातावरण स्वास्थ्य र सन्तुलित राख्न मदत गर्छ ।
• जलवायु नियमन: जैविक विविधताले कार्बन डाइअक्साइड अवशोषण गरी मौसम र समग्र जलवायुलाई नियमन गर्न मद्दत गर्छ ।
• परसेंचन: जैविक विविधताका कारण खाद्य उत्पादनको लागि आवश्यक पर्ने वनस्पति/कृषि वालीहरूमा परसेंचनमा महत्वपूर्ण भूमिका खेल्ने मौरी, कीरा, चरा र अन्य जनावरहरू पनि संरक्षण हुन जान्छ र उत्पादन प्रणालीलाई टेवा पुर्याउँछ ।
• कीट नियन्त्रण: जैविक बिबिधताले शिकारी र परजीवी कीराहरूको संख्या नियन्त्रण गर्न वा सन्तुलित राख्न मद्दत गर्छ ।
२. मानव कल्याण:
• औषधिय स्रोतहरू : जैविक बिबिधताकै कारण प्रकृतिमा अनेकौं औषधी र औषधिय तत्वहरू बोटबिरुवा, जनावर र सूक्ष्मजीवहरूबाट प्राप्त हुन्छन् ।
• सांस्कृतिक र सौन्दर्यतामा योगदान : जैविक विविधताले संस्कृति, परम्परा र सौन्दर्यतामा महत्त्वपूर्ण भूमिका खेल्छ, जसले मानव जीवनलाई प्रेरणा प्रदान गर्दछ र समृद्ध बनाउँछ ।
• आर्थिक लाभहरू : जैविक विविधताले पर्यटन, कृषि लगायत अनेकौं ब्यापार, उद्योग ब्यबसायलाई टेवा दिन्छ, जसले आर्थिक उन्नतिमा योगदान पुर्याउँछ ।
३. दिगोपना:
• पारिस्थितिक प्रणालीमा स्थिरता : विविध पारिस्थितिक प्रणालीहरू, जलवायु परिवर्तन जस्ता वातावरणीय परिवर्तनहरूप्रति बढी लचिला हुन्छन् र अवरोधहरू राम्रोसँग सहन सक्ने हुन्छन् । यसले पारिस्थितिक प्रणालीमा स्थिरता ल्याउँछ ।
• प्राकृतिक दिगोपना : जैविक विविधताले पारिस्थितिक प्रणालीको दीर्घकालीन स्वास्थ्य र उत्पादकत्वको सुनिश्चित गर्दछ, जसले सबै जीवनलाई कायम राख्ने प्राकृतिक प्रक्रियाहरूलाई दिगोपन कायम राख्न सहयोग पुर्याउँछ ।
जैविक विविधतालाई खतरा
जैविक बिबिधता मानव र पृथ्वीका अन्य जिवहरुका लागि अति महत्वपूर्ण स्रोत हुँदा हुँदै पनि नेपाल लगायत विश्वभर यी सम्पदा खतरामा छन् । यसका निम्न प्रमुख कारणहरू छन् :
- वासस्थानको क्षति, क्षय र खण्डीकरण: वासस्थान (Habitat) भनेको त्यो ठाउँ हो जहाँ कुनै वनस्पति वा पशुपन्छी प्राकृतिक रूपमा बसोबास गर्छन् । बढ्दो सहरीकरण, अनियन्त्रित भौतिक संरचना निर्माण, बन फँडानी, खेतीयोग्य जमिनको खण्डिकरण, बिषाधिको अत्यधिक प्रयोग, एकल कृषि बालीको खेती गरिनु र व्यावसायीकरणका लागि अत्यधिक शोषण आदिका कारण जैविक विविधता अति खतरामा छन् ।
- मिचाहा, आक्रमणकारी र अनुबंश परिवर्तन गरिएका (Genetically Modified Organism-GMO) प्रजातिहरूका बीऊ, बिरूवाको प्रयोगका कारण पनि स्थानीय/रैथाने वनस्पति/कृषि वालीहरू बिस्तारै लोप हुँदै जानु ।
- वातावारनिय प्रदूषण: रासायनिक विषादीको प्रयोग, औद्योगिक धूवाँ र रासायनिक पदार्थको अनुचित प्रयोग, यातायात साधनहरूमा जीवाश्म इन्धन (Fossil Fuel) को प्रयोग आदिका कारण सृजित प्रदूषणले बोटबिरुवा, जनावर र सूक्ष्मजीवहरूलाई हानि पुर्याई जैविक विविधतामा ह्रास हुने गर्छ ।
- विश्वव्यापी जलवायु परिवर्तन: तापक्रम, वर्षा र अन्य जलवायुमा हुने परिवर्तनले पारिस्थितिक प्रणालीलाई असर पुर्याउँछ र प्रजातिहरूलाई खतरामा पार्छ ।
- जनसंख्या वृद्धि र अत्यधिक उपभोग: बढ्दो जनसंख्याका कारण प्राकृतिक स्रोतसाधन र जैविक विबिधतामा बढी भार हुनु, सिमित स्रोतबाट दैनिक उपभोग्य बस्तुहरूको आवश्यकता बढ्दै जानु र पारिस्थितिक प्रणालीलाई बाधा पुर्याउनु ।
- अवैध वन्यजन्तु व्यापार: बन्यजन्तुका बिभिन्न भागहरूको बिभिन्न देशहरूमा माग भएका कारण अबैध शिकार गरी चोरी निकासी मार्फत अबैध ब्यापारले महत्वपूर्ण बन्यजन्तुको संख्यामा कमी र क्रमिक ह्रास हुने क्रम बढ्दै जानु ।
विश्व जैविक विविधता दिवस २०२६
मे २२ लाई संयुक्त राष्ट्रसंघले हाम्रो पृथ्वीमा रहेका पारिस्थितिक प्रणाली, प्रजाति तथा जीनहरूको समृद्धि अर्थात् जैविक विविधताको उत्सव मनाउन स्थापना गरेको विश्व जैविक विविधता दिवसका रूपमा मनाउने गरेको छ ।
यस वर्षको उद्देश्य समुदाय, शहर, व्यवसाय तथा युवा संगठनहरूले सञ्चालन गरेका व्यक्तिगत पहलहरूलाई कुनमिङ–मोन्ट्रियल विश्व जैविक विविधता फ्रेमवर्कमा उल्लेख गरिएका २३ वटा विश्वव्यापी लक्ष्यहरूसँग जोड्नु हो ।
यो सम्झौता जैविक विविधताको ह्रास रोक्न र त्यसलाई उल्ट्याउन तयार गरिएको विश्वव्यापी आपतकालीन कार्ययोजना हो । यो फ्रेमवर्क सन् २०५० सम्म हासिल गरिने चारवटा विश्वव्यापी लक्ष्यहरू (पारिस्थितिक संरक्षण, स्रोतहरूको दिगो उपयोग, आनुवंशिक लाभको न्यायपूर्ण बाँडफाँड तथा आर्थिक स्रोत व्यवस्थापन) र सन् २०३० सम्म पूरा गरिने २३ वटा कार्यगत लक्ष्यहरू तय गरिएका छन् । सन् २०३० सम्म हस्ताक्षरकर्ता राष्ट्रहरूले निम्न प्रतिबद्धता जाहेर गरेका छन्:
- कम्तीमा ३०% स्थल तथा आन्तरिक जल क्षेत्रहरूको प्रभावकारी संरक्षण र संवर्द्धन गर्ने ।
- कम्तीमा ३०% क्षतिग्रस्त पारिस्थितिक प्रणालीहरूको पुनर्स्थापना गर्ने ।
- कम्तीमा ३०% समुद्री तथा तटीय क्षेत्रहरूको संरक्षण गर्ने ।
स्थानीय तहमा सञ्चालन गर्नुपर्ने प्रमुख गतिविधिहरू :
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२६ का नारा “Acting locally for global impact” लाई सार्थकता दिन अवसरमा स्थानीय तहमा सञ्चालन गरिने मुख्य गतिविधिहरू जैविक बिबिधता र वातावरणीय संरक्षण, पारिस्थितिक पुनर्स्थापना तथा समुदायमा जनचेतना अभिवृद्धिमा केन्द्रित हुन्छन् । यी सङ्ग सम्बन्धित गतिविधिहरू “स्थानीय कार्यद्वारा विश्वव्यापी प्रभाव” भन्ने मूल विषय तथा कुनमिङ–मोन्ट्रियल विश्व जैविक विविधता फ्रेमवर्कसँग मेल खान्छन् ।
- प्रत्यक्ष पारिस्थितिक पुनर्स्थापना गतिविधिहरू:
- वृक्षारोपण तथा बासस्थान निर्माण: स्थानीय जातका रुख, बिरुवा तथा अन्य वनस्पतिहरू रोपेर समुदायस्तरमा वन तथा प्राकृतिक प्रणाली पुनर्स्थापना गर्ने कार्यक्रम सञ्चालन गर्ने।
- सफा अभियान: नदी, ताल, पोखरी, पार्क तथा सार्वजनिक स्थानहरूमा प्लास्टिक तथा फोहोर हटाउने सरसफाइ अभियान सञ्चालन गर्ने
- वन्यजन्तुको बासस्थान संरक्षण गर्ने ।
- जैविक मैत्री बगैंचा निर्माण: घरघरमा परागसेचनमैत्री बगैंचा, सिमसार क्षेत्र वा हरित क्षेत्र विकास गर्न प्रोत्साहन गर्ने, विषादी र रासायनिक मालको प्रयोग घटाउने तथा साना घाँसे क्षेत्र प्राकृतिक रूपमा बढ्न दिने ।
- कार्बन उत्सर्जन घटाउने तथा ऊर्जा बचत गर्ने ।
- वन्यजन्तु तथा चराचुरुङ्गीमैत्री वातावरण निर्माण गर्ने ।
२. शिक्षा तथा समुदायको सहभागिता
(क) नागरिक विज्ञान कार्यक्रम: स्थानीय वनस्पति तथा जीवजन्तुबारे तथ्यांक संकलन गर्ने नागरिक विज्ञान (Citizen Science) कार्यक्रमहरूमा समुदायको सहभागिता गराउने ।
(ख) प्रकृति अवलोकन तथा कार्यशाला: जैविक विविधता सम्बन्धी पदयात्रा, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी स्थानीय वनस्पति र जीवजन्तुबारे जानकारी दिने ।
(ग) युवा तथा विद्यालय कार्यक्रम: विद्यालयस्तरीय निबन्ध, चित्रकला, वक्तृत्वकला, प्रदर्शनी तथा सेमिनार आयोजना गरी विद्यार्थीहरूमा वातावरणीय चेतना विकास गर्ने ।
३. प्रचार–प्रसार तथा पैरवी :
(क) प्रदर्शनी तथा प्रदर्शन कार्यक्रम: दिगो कृषि, वातावरणमैत्री खेती प्रणाली तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी स्थानीय प्रदर्शनी तथा मेला आयोजना गर्ने ।
(ख) डिजिटल अभियान: सामाजिक सञ्जालमार्फत स्थानीय संरक्षण गतिविधिका फोटो, भिडियो तथा सन्देशहरू साझा गरी विश्वस्तरमा स्थानीय प्रयासको उदाहरण प्रस्तुत गर्ने ।
उपसंहार
भौगोलिक क्षेत्रफलको आधारमा नेपाल विश्वको एक सानो देश भएर पनि तुलनात्मक रूपमा जैविक विविधतामा एक महत्वपूर्ण देशमा पर्दछ । सानो भईकन पनि नेपाल जैविक विविधतामा धनी हुनुमा यहाँको भौगोलिक, जलवायु, जातजाति, सांस्कृतिक र पारम्परिक विविधताका साथै संरक्षित क्षेत्र र निकुन्जहरू हुनु, पारिस्थितिक सन्तुलन हुनु र कृषक र स्थानिय वासिन्दाहरूको मौलिक/पारम्परिक स्थानीय ज्ञान हुनु, छोटो दुरीमा धेरै भौगोलिक र मौसमी भिन्नता पाइनु, फरक फरक प्राकृतिक भीर, पाखा, पहरा, गल्छी, उपत्यका र समथर स्थलहरू हुनु आदि मुख्य कारणहरू हुन् ।
तर बिगत केहि दशक देखि बिभिन्न कारणले नेपालको जैविक बिबिधतामा कमी वा ह्रास आइरहेको छ I यदि नेपाल सरकार र सम्पूर्ण जनताले यसको महत्व बुझी संरक्षण र समुचित उपयोग गरेन भने अबको केहि दशकमा नै नेपालका रैथाने प्रजातिका बालीहरू, वनस्पतिहरु, पशुपन्छीहरू लगायत अन्य जीवहरू लोप हुने छन् I हाम्रो जैविक बिबिधताको संरक्षणका निम्ति सन् २०२६ मा उल्लेख गरिएका कार्यहरू संचालन गरौँ, हामी सबै जैविक बिबिधताको महत्व बारे जानकारी राखौं, संरक्षणमा योगदान गरौँ र ती सम्पदा ह्रास हुनबाट सचेत होऔँ I




गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…