किसान जाेडीको लाेभलाग्दाे मेहनत : तरकारीकाे आम्दानीबाट छोरी डाक्टर र छोरा इन्जिनियर

- माटोलाई हामीले सुमसुम्यायौँ, माया गर्‍यौँ : माटोले हामीलाई जीवन दियो


     कृष्णमणि बराल    
     वैशाख २९ गते २०७८ मा प्रकाशित


पोखरा ११ फूलबारीकी भगवती १८ वर्षको उमेरमा हेम्जाका युवा कृष्ण बजगाईँसँग नाता जोड्दै घर सम्हाल्न आइपुगिन्। यसपछि यी जोडी पढाइसँगै खेती किसानीमा पनि जुटे। घर परिवार सम्हाल्दै तरकारीका बिरुवा रोप्ने, धान, मकै लगायतका फसल उत्पादनमा निरन्तर सङ्घर्ष गरिरहेका छन्।

जोमसोम लगायत, अन्नपूर्ण पदयात्रा जाने पर्यटक सराङकोट र हेम्जा भएर जान्थे । २०४२ सालमा चीन सरकारको सहयोगमा पोखरा-बागलुङ राजमार्गकाे  ट्रयाक खुल्यो । त्यसपछि बल्ल पोखरा र बागलुङ सँग सडक सञ्जालमा जोडिएको हो हेम्जा। २०४८ सालमा सडक कालोपत्रे बनेपछि पोखरासँगको सम्पर्क थप सहज भएको किसान कृष्ण बताउँछन्। त्यसअघि मुस्ताङ जाने आउने खच्चड,घोडा चल्थे । सडक जोडिए पनि किसानले उत्पादन गरेका तरकारीको मूल्य पोखरा बजारमा थिएन। दिनरात दुःख गरेर उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाउँदैन थियो। पोखरा बजारसम्म डोकोमा पुर्‍याउँदा बन्दा, काउलीले बल्ल दुई रुपैयाँ किलो भाउ पाउँथ्यो। आफ्नो उत्पादनले धेरै मूल्य पाओस् भन्न सबै किसानलाई हुन्छ नै।

किसान जाेडी भगवती र कृष्णले लगाएकाे तरकारी खेती अवलाेकन पछि कुरा गर्दै पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरिया र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी सुपरजोन कास्कीका प्रमुख अजय अधिकारी ।

हामी त्यही खोजीमा थियौँ। पोखरा बजारमा घर-घरमा डोकोमा तरकारी बोकेर गयौँ। राम्रो मूल्य पाएनौँ। हेम्जाका हामी ५/६ जना साथीले जुक्ति निकाल्यौँ। काठमाडौँ, चितवनबाट सामान लिएर आएका मालवाहक सवारीका चालकसँग कुरा मिलायौँ  र मुग्लीनसम्म तरकारी बिक्री गर्दै गयौँ। चालकलाई ठाउँ ठाउँमा रोकिदिन भन्थ्यौँ। त्यति बेलाका चालकहरू सहयोगी थिए। रोकिदिन्थे।‘भगवतीले अतीत सम्झिन् l

उनले थपीन ‘तरकारी बिक्री गर्दै मुग्लिनसम्म पुग्थ्यौँ। बिक्री नभएर बाँकी रहेका सबै तरकारी मुग्लीनमा किनिदिने व्यापारी पाइए। उनैले बाँकी तरकारी सबै किनिदिन्थे। पोखरामा दुई रुपैयाँमा बिक्री हुने तरकारी मुग्लीनमा दश रुपैयाँ किलो पाउँथ्यौँ। यसरी हामी तरकारीको मूल्य खोज्दै २०५७ सालमा डोकोमा तरकारी राखेर मुग्लीनसम्म पुग्थ्यौँ। तरकारी बिक्री गर्न कुस्मा, बागलुङ सम्म पुगियोl’

भगवती भन्छिन् ‘आम्दानीको स्रोत भनेको खेती किसानी नै हो। खेतीपातीको कमाइले छोराछोरी हुर्कायौँ। पढायौँ । अहिले छोरीले मेडिकलको पढाइ गरिरहेकी छन्। उनी तेस्रो वर्षमा पढ्दै छन्। छोरा छात्रवृत्तिमा अस्ट्रेलियामा सफ्टवेयर इन्जिनियर पढिरहेका छन्।‘

छोराछोरीलाई यहाँसम्म पढाउने मात्र होइन सबै घर धान्ने मूल पेसा नै तरकारी खेती भयोl  तरकारीको सिजन अनुसार आलु, काउली, बन्दा, लसुन,प्याज, लहरे खेती काँक्रो, घिरौँला पनि लगाउँछौँ। सिजन अनुसार धान, मकै, गहुँ पनि लगाउँछौँ। असिना नपरे तरकारीबाट मात्र पनि वर्षमा १४/१५ लाख आम्दानी हुने गरेको किसान कृष्णले सुनाए।

हेम्जा आलुका लागि पकेट क्षेत्र हो। आलुको सिजनमा मात्र दुई वटा फोटामा लगाएको आलुबाट कम्तीमा ४/५ लाख आम्दानी हुने गरेको भगवतीले सुनाइन्। काउली, बन्दाको सिजनमा पनि करिव उस्तै ४ लाख कमाइ हुने उनले बताइन्। काँक्रो, घिरौँला, प्याज, लसुन लगायतका तरकारीबाट पनि राम्रो आम्दानी हुँदा असिनाले नबिगारेको वर्ष १५ लाखसम्म आम्दानी हुने गरेको उनले सुनाइन्। यो जोडीको १५ रोपनी आफ्नै जमिन छ। यही जमिनमा तरकारी मात्र होइन धान, मकै खेती पनि सँगसँगै गर्दै आएका छन्।

पछिल्लो समयमा छोराछोरीले ‘अब धेरै दुःख नगर्नु बुवाआमा भन्छन्। किसानी पेसा छाडेर आनन्दसँग बस्नु भनिरहेका छन्।‘ तर याे जोडीको विचार भने बेग्लै छ l उनीहरू थप्छन् ‘हाम्रो दैनिकी नै खेती किसानीमा रमाउँदै बित्छ । काम नगरी बस्न नै सक्दैनौँ। माटोमा खेल्दै आएका हामी शरीरले सक्दासम्म काम नगरी बस्न कसरी सक्छौँ र उनले भनिन्। ‘यतिकै बस्नु भन्दा केही न केही काम गर्दा शरीर स्वस्थ हुन्छ। बलियो हुन्छ उनले भनिन् l

खेतीबाट आम्दानी राम्रो छैन, दुःख मात्र हो  भन्ने धेरै किसानको भनाइ छ नि भन्ने प्रश्नमा भगवती भन्छिन् ‘आफू उपरखुट्टी लगाएर बस्ने र अरूलाई काम गराउनेको लागि यो पेसाबाट कमाइ हुँदैन। आफै काममा खटिने हो भने महिनामा ५०/६० हजारका लागि विदेश जान पर्दैन’।

खेतीबाट आम्दानी राम्रो छैन, दुःख मात्र हो  भन्ने धेरै किसानको भनाइ छ नि भन्ने प्रश्नमा भगवती भन्छिन् ‘आफू उपरखुट्टी लगाएर बस्ने र अरूलाई काम गराउनेको लागि यो पेसाबाट कमाइ हुँदैन। आफै काममा खटिने हो भने महिनामा ५०/६० हजारका लागि विदेश जान पर्दैन’।

हामीहरू आफै खटिन्छौँ। यसैले राम्रै आम्दानी पनि लिइरहेका छौँ उनले सुनाए। किसान भएपछि आफूले उत्पादन गरेको तरकारीको राम्रो मूल्य पाउन डोकोमा बोकेर पनि उपभोक्तासम्म जान लाज भने मान्न नहुने भगवतीले सुझाइन् ।

उनी फेरी विगतमा फर्किइन ‘एसएलसी पास भएपछि मलाई आफन्तले स्कुलमा पढाउन आइजा भन्नु भएको थियो। मैले स्कुलमा पढाउन गएको भए त्यति बेला महिनाको १५ सय २ हजार पाउँथेँ। मैले त्यति बेलै घरमा तरकारी लगाएर महिनामा सजिलै ८/१० हजार कमाउँथेँl त्यसैले मलाई त्यति बेलैदेखि जागिर खाने रहर नै भएन। श्रीमान् पनि खेती किसानीमा रमाउने पाएपछि दुवै जना मिलेर माटोलाई माया गर्न थाल्यौँ। माटोले पनि हामीलाई माया गरेर राम्रो फसल दिइरहेको  उनले सुनाइन् ।