अतिक्रमण र प्रदूषणको चपेटामा परेको फिर्केखोलाले पुनः जीवन पाउँला


     कृष्णमणि बराल    
     जेठ ११ गते २०८३ मा प्रकाशित


यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले यहाँ बनेका संरचना आइतबारदेखि भत्काउन सुरु गरेको छ । फिर्केखोला अतिक्रमणमा मात्र परेको छैन । प्रदूषणको चपेटामा पनि परेको छ ।पोखराको मुख्य बजार भएर बग्ने फिर्केखाला बजारको फोहोर र खोलावरपरको बस्तीको फोहोर थेग्न नसकेर दुर्गन्धित बनेको छ । दुई दर्शक अघि सम्म स्थानीय नुहाउने, पानी समेत पिउन प्रयोग हुने खोला अतिक्रमण गरेर बस्ती बस्ने क्रम बढ्नुको साथै पोखरा बजारको ढल र फोहो पानी समेत मिसिदा खोला प्रदूषणको चपेटामा परेको छ ।

८ किलोमिटर यात्रा गरेर फेवातालमा टुंगिने फिर्केखोलामा प्लाष्टिक जन्य फोहोर लगायत सबैखाले फोहोर फ्याँक्दा ताल समेत प्रदूषणको चपेटामा परेको छ । खोलाको अस्थित्वमात्र होइन पोखराको प्रमुख आकर्षणको केन्द्र फेवातालको अस्थित्व संग समेत जोडिएको फिर्केखोला संरक्षणको योजना सहित पोखरा महानगरपालिकाले फिर्केखोलाघरमा (खोलाको जमिनमा) बनेका संरचना आइतबार देखि हटाउन सुरु गरेको छ ।

फिर्केखोला हुँदै फेवातालमा मिसिएको फोहोर । तस्बिर : कृष्णमणि बराल

महानगरपालिकाको यो अभियानले फिर्केखोलाले पुनः जीवन पाउँला भन्ने विश्वास संरक्षण अभियान्ताको छ । केन्दमा बालेन्द्र शाहको सरकार बनेपछि संरक्षणको काम गर्न आडभारोसा पाएकोले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फिर्केखाला मात्र होइन फेवाताल, अन्य खोला, ताल र नदी लगायत प्राकृतिक सम्पदाको संरक्षण गर्न सफल हुने विश्वास संरक्षण अभियान्ताको छ ।
यतिबेला फिर्केखालाको अवलोकन गर्ने हो भने खोलामा ढल मिसिएर खोला दुर्गन्धित भएको, प्लास्टिक जन्य लगायतको फोहोरको डंगुर देखिन्छ । यस्ता दृश्यले प्रकृति प्रति माया हुनेहरुको आँखा रसाउँछ । खोलाको घर नै मिचेर अग्ला घरहरु ठडिएका छन् । कतै ढल सिधै खोलामा खसिरहेको दृश्य देखिन्छ । कतै खोला नजिक भएर हिड्नै नसकिने दुर्गन्ध पनि छ ।

पोखरा महानगरपालिकाले भत्काएको फिर्केखोला अतिक्रमण गरेर खोलाघरमा बनेका संरचना । तस्बिर : कृष्णमणि बराल

फिर्केखोला अँधेरीकुनाबाट सुरु भएर ८ किलोमिटर दुरी पार गर्दै फेवामा मिसिन्छ । पोखराको मुख्य बजार क्षेत्रको १८, २,४,५,८,७,६, भएर ६ र १७ नम्बर वडामा रहेको फेवातालमा पुगेर मिसिन्छ । ठूलो पानी परेपछि खोला वरपरका ढल, पोखरा बजारका ढल र फोहोर फिर्केमा मिसिन्छ । यिनै फोहोर बोकेर फिर्केखोला फेवामा लगेर मिसाउँछ । यसरी फिर्केखोला संगै ताल पनि प्रदूषणको चपेटामा परेको छ । फिर्केखोला कम्तीमा साढे तीन मिटर देखि ४० मिटर सम्म फराकीलो रहेको पोखरा महानगरपािलकाले जनाएको छ । खोलाको जमिन नै अतिक्रमण गरेर संरचना बनेपछि महानगरपालिकाले त्यस्ता संरचना हटाउने अभियान सुरु गरेको हो । खोलाघरमा बनेका संरचना हटाएपछि महानगरपालिकाले कायम गरेको खोलावरपरका ६ मिटर मापदण्ड भित्रका संरचना जग्गाको मुअब्जा दिएर भत्काउने योजना बनाएको छ । यसरी ६ मिटर मापदण्डका संरचना हटाएपछि आकर्षक साइकले लेन, पार्क र फुटपाथ समेत बनाएर फिर्केको सौन्दर्यकरण गरिने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् ।

फिर्केखोला किनारमा फ्याँकिएको फोहोर सफाइ अभियानमा जुटदै युवा । यसरी युवाहरु सफाइ अभियानमा जुटेपनि फोहोर फ्याँक्ने क्रम नरोकीदा फिर्केखोला प्रदूषणको चपेटामा परेको हो । तस्बिर : कृष्णमणि बराल

महानगरपालिकाले खोलाघरमा बनेका संरचना हटाउने अभियान सुरु गरेको दोस्रो दिन सम्म ५१ वटा संरचनामा डोजर चलाएको छ । पोखरा महानगरपालिकाले २०८० मा गठन गरेको प्राविधिक समितिको प्रतिवेदनमा ८ किलोमिटर लामो खोलाघरमा १६० वटा संरचना बनेको तथ्यांक छ । जसमा ९७ वटा अस्थायी र १५ वटा स्थायी संरचना रहेकाछन् । ११ वटा संस्थागत स्थायी भवन रहेका छन् । त्यसरी बनेका संरचनामा संस्थागत, निजी, शसस्त्र प्रहरी बल तालिम केन्द्र, लिटल स्टेप कलेज, पोखरा इन्जिनियरिङ कलेज, लायन्स क्लब लगायत छन् । खोालघरमा विभिन्न जातजातिका समाजघर, किरियापुत्रि भवन लगायत पनि छन् ।

मानव व्यवहारको कारण दुर्गन्धित बनेको फिर्केखोला सफा गर्दै युवाहरु । यसरी युवाहरु सफाइ अभियानमा जुटेपनि फोहोर फ्याँक्ने क्रम नरोकीदा फिर्केखोला प्रदूषणको चपेटामा परेको हो । तस्बिर : कृष्णमणि बराल

फिर्केखोलाले बगाएर ल्याएको फोहोर, माटो र गेगर समेतले गाईघाट क्षेत्रको फेवताल ११ रोपनी ४ आना क्षेत्र पुरेर चौर बनेको छ । यसरी फेवाताल मुहानबाट बग्ने हर्पनखोलाले मात्र होइन बजारबाट मिसिने फिर्केखोला मिसिने क्षेत्र पनि पुरिएको छ । फिर्केखोलाको अतिक्रमण हटाएर खोला वरपर हरियाली सार्वजनिक क्षेत्रको रुपमा विकास गरिने मेयर धनराज आयार्य बताउँछन् । खोला किनारमा साइकल लेन, फुटपाथ, खुला क्षेत्र र रैथाने बिरुवाले हरियाली करिडोरको रुपमा विकास गरिने योजना रहेको मेयर आचार्यले बताएका छन् । एसियाली विकास बैंकको सहयोगमा अघि बढाइने यो योजना अनुमानित ६२ करोड रुपैयाँ रहेको बताइएको छ ।

फिर्केखोला मिसिने फेवातालको गाईघाट क्षेत्र । तस्बिर : कृष्णमणि बराल

मेयर आचार्यले भने जस्तो खोलालाई प्राकृतिक बहावमा फर्काएर पर्यटकीय आकर्षणको बनाउने योजनाले साकार रुप लिए फिर्केखोलाले मात्र होइन फेवातालले पनि नयाँ रुप फेर्ने छ । मेयर आचार्यले भने जस्तो योजना पुरा गर्न खोलाघरमा बनेका संरचना हटाए जस्तो सहज ६ मिटर मापदण्ड भित्र बनेका संरचनाको भने छैन । खोलाको मापदण्ड लागू गर्दा निजी तथा सार्वजनिक भवन धेरै भत्काउनुपर्ने हुन्छ । लालपुर्जाको जमिनको मुआब्जा पनि दिनु पर्ने हुन्छ ।

मापदण्ड भित्र भएका संरचना भत्काउनु अघि मुअब्जा दिएर जग्गा धनिको मन जित्न सके एसियाली विकास बैंकको सहयोगमा बन्ने भनिएको फिर्के करिडोरको योजना अघि बढ्न सक्छ ।