
यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले यहाँ बनेका संरचना आइतबारदेखि भत्काउन सुरु गरेको छ । फिर्केखोला अतिक्रमणमा मात्र परेको छैन । प्रदूषणको चपेटामा पनि परेको छ ।पोखराको मुख्य बजार भएर बग्ने फिर्केखाला बजारको फोहोर र खोलावरपरको बस्तीको फोहोर थेग्न नसकेर दुर्गन्धित बनेको छ । दुई दर्शक अघि सम्म स्थानीय नुहाउने, पानी समेत पिउन प्रयोग हुने खोला अतिक्रमण गरेर बस्ती बस्ने क्रम बढ्नुको साथै पोखरा बजारको ढल र फोहो पानी समेत मिसिदा खोला प्रदूषणको चपेटामा परेको छ ।
८ किलोमिटर यात्रा गरेर फेवातालमा टुंगिने फिर्केखोलामा प्लाष्टिक जन्य फोहोर लगायत सबैखाले फोहोर फ्याँक्दा ताल समेत प्रदूषणको चपेटामा परेको छ । खोलाको अस्थित्वमात्र होइन पोखराको प्रमुख आकर्षणको केन्द्र फेवातालको अस्थित्व संग समेत जोडिएको फिर्केखोला संरक्षणको योजना सहित पोखरा महानगरपालिकाले फिर्केखोलाघरमा (खोलाको जमिनमा) बनेका संरचना आइतबार देखि हटाउन सुरु गरेको छ ।

महानगरपालिकाको यो अभियानले फिर्केखोलाले पुनः जीवन पाउँला भन्ने विश्वास संरक्षण अभियान्ताको छ । केन्दमा बालेन्द्र शाहको सरकार बनेपछि संरक्षणको काम गर्न आडभारोसा पाएकोले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फिर्केखाला मात्र होइन फेवाताल, अन्य खोला, ताल र नदी लगायत प्राकृतिक सम्पदाको संरक्षण गर्न सफल हुने विश्वास संरक्षण अभियान्ताको छ ।
यतिबेला फिर्केखालाको अवलोकन गर्ने हो भने खोलामा ढल मिसिएर खोला दुर्गन्धित भएको, प्लास्टिक जन्य लगायतको फोहोरको डंगुर देखिन्छ । यस्ता दृश्यले प्रकृति प्रति माया हुनेहरुको आँखा रसाउँछ । खोलाको घर नै मिचेर अग्ला घरहरु ठडिएका छन् । कतै ढल सिधै खोलामा खसिरहेको दृश्य देखिन्छ । कतै खोला नजिक भएर हिड्नै नसकिने दुर्गन्ध पनि छ ।

फिर्केखोला अँधेरीकुनाबाट सुरु भएर ८ किलोमिटर दुरी पार गर्दै फेवामा मिसिन्छ । पोखराको मुख्य बजार क्षेत्रको १८, २,४,५,८,७,६, भएर ६ र १७ नम्बर वडामा रहेको फेवातालमा पुगेर मिसिन्छ । ठूलो पानी परेपछि खोला वरपरका ढल, पोखरा बजारका ढल र फोहोर फिर्केमा मिसिन्छ । यिनै फोहोर बोकेर फिर्केखोला फेवामा लगेर मिसाउँछ । यसरी फिर्केखोला संगै ताल पनि प्रदूषणको चपेटामा परेको छ । फिर्केखोला कम्तीमा साढे तीन मिटर देखि ४० मिटर सम्म फराकीलो रहेको पोखरा महानगरपािलकाले जनाएको छ । खोलाको जमिन नै अतिक्रमण गरेर संरचना बनेपछि महानगरपालिकाले त्यस्ता संरचना हटाउने अभियान सुरु गरेको हो । खोलाघरमा बनेका संरचना हटाएपछि महानगरपालिकाले कायम गरेको खोलावरपरका ६ मिटर मापदण्ड भित्रका संरचना जग्गाको मुअब्जा दिएर भत्काउने योजना बनाएको छ । यसरी ६ मिटर मापदण्डका संरचना हटाएपछि आकर्षक साइकले लेन, पार्क र फुटपाथ समेत बनाएर फिर्केको सौन्दर्यकरण गरिने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् ।

महानगरपालिकाले खोलाघरमा बनेका संरचना हटाउने अभियान सुरु गरेको दोस्रो दिन सम्म ५१ वटा संरचनामा डोजर चलाएको छ । पोखरा महानगरपालिकाले २०८० मा गठन गरेको प्राविधिक समितिको प्रतिवेदनमा ८ किलोमिटर लामो खोलाघरमा १६० वटा संरचना बनेको तथ्यांक छ । जसमा ९७ वटा अस्थायी र १५ वटा स्थायी संरचना रहेकाछन् । ११ वटा संस्थागत स्थायी भवन रहेका छन् । त्यसरी बनेका संरचनामा संस्थागत, निजी, शसस्त्र प्रहरी बल तालिम केन्द्र, लिटल स्टेप कलेज, पोखरा इन्जिनियरिङ कलेज, लायन्स क्लब लगायत छन् । खोालघरमा विभिन्न जातजातिका समाजघर, किरियापुत्रि भवन लगायत पनि छन् ।

फिर्केखोलाले बगाएर ल्याएको फोहोर, माटो र गेगर समेतले गाईघाट क्षेत्रको फेवताल ११ रोपनी ४ आना क्षेत्र पुरेर चौर बनेको छ । यसरी फेवाताल मुहानबाट बग्ने हर्पनखोलाले मात्र होइन बजारबाट मिसिने फिर्केखोला मिसिने क्षेत्र पनि पुरिएको छ । फिर्केखोलाको अतिक्रमण हटाएर खोला वरपर हरियाली सार्वजनिक क्षेत्रको रुपमा विकास गरिने मेयर धनराज आयार्य बताउँछन् । खोला किनारमा साइकल लेन, फुटपाथ, खुला क्षेत्र र रैथाने बिरुवाले हरियाली करिडोरको रुपमा विकास गरिने योजना रहेको मेयर आचार्यले बताएका छन् । एसियाली विकास बैंकको सहयोगमा अघि बढाइने यो योजना अनुमानित ६२ करोड रुपैयाँ रहेको बताइएको छ ।

मेयर आचार्यले भने जस्तो खोलालाई प्राकृतिक बहावमा फर्काएर पर्यटकीय आकर्षणको बनाउने योजनाले साकार रुप लिए फिर्केखोलाले मात्र होइन फेवातालले पनि नयाँ रुप फेर्ने छ । मेयर आचार्यले भने जस्तो योजना पुरा गर्न खोलाघरमा बनेका संरचना हटाए जस्तो सहज ६ मिटर मापदण्ड भित्र बनेका संरचनाको भने छैन । खोलाको मापदण्ड लागू गर्दा निजी तथा सार्वजनिक भवन धेरै भत्काउनुपर्ने हुन्छ । लालपुर्जाको जमिनको मुआब्जा पनि दिनु पर्ने हुन्छ ।
मापदण्ड भित्र भएका संरचना भत्काउनु अघि मुअब्जा दिएर जग्गा धनिको मन जित्न सके एसियाली विकास बैंकको सहयोगमा बन्ने भनिएको फिर्के करिडोरको योजना अघि बढ्न सक्छ ।




पोखरा : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा प्रकृति प्रकोपका घटना बढ्न थालेको विषयमा पोखरामा सम्पन्न भएको अन्नपूर्ण जलवायु सम्मेलनले…
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…