जापानको नागायामा नेपाल चिनाउने फेस्टिभल


     ऋषि बराल    
     जेठ १७ गते २०८३ मा प्रकाशित


नागाया : जापनको नागाया सहरमा चौथो संस्करणको नेपाल फेस्टिभल एण्ड एक्सपो २०२६ भइरहेको छ । शनिबारदेखि सुरु भएको नेपाल फेस्टिभलमा नेपाली कला संस्कृति, नेपाली परिकारको स्वाद समेत लिन पाउने गरी व्यवस्था गरिएको छ ।

जापानको नागाया स्थित एडियोन हिलाया प्लाजामा भईरहेको महोत्सवमा नेपालको प्राकृतिक सुन्दरता, हस्तकला तथा नेपाली पहिचानलाई जापानको साथै अन्य देशबाट आएका पर्यटक सामु प्रस्तुत गरी पर्यटन प्रवद्धनमा समेत योगदान दिने गरी आयोजना गरिएको आयोजकले जनाएका छन् ।

महोत्सवमा नेपाली सस्कृति झल्कने विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिएको छ । नेपालको राष्ट्रिय गानमा, सायौं फूलका थुँगा हामी एउटै माला नेपाली भने जस्तै सबै जातजातिको सस्कृति, रहनसहन, भेषभुषा, खानपान महोत्सवमा सजिएको छ । विभिन्न समयमा अध्ययन, काम, व्यवसाय आआफ्ना परिस्थितिले जापान पुगेका नेपालीहरुले यसरी एक भएर जापानमा नेपालको परिचय दिनेगरी तीन दिने नेपाल महोत्सव मनाइरहेका छन् ।


तस्बिरमा चौथो संस्करणका नेपाल फेस्टिभल ।

तस्बिरहरु : ऋषि बराल