सरकारको एउटा निर्णयले ढल्दैछन् गिद्धका घरहरु


     कृष्णमणि बराल    
     जेठ ३ गते २०७८ मा प्रकाशित


पोखरा l  ठुला शरीर, ठुलै पखेटा भएको मांसाहारी तर हिंसा नगर्ने पन्छी हो गिद्ध । यही ठुलो शरीरका कारण उडान भर्न र बस्न अग्ला रूख मन पराउँछन्।

बस्न र उड्न मात्र होइन गुँड बनाउन पनि सहज हुने भएकाले सिमल गिद्धको मन पर्ने रूख (घर) हो। अग्ला भएर पनि कम पात हुने भएकोले सिमलका रूख गिद्ध बस्न र उडान भर्न सहज हुन्छन्। गिद्धका धेरै प्रजातिले यिनै अग्ला र ठुला सिमलका रूखमा गुँड लगाउँछन्। गिद्धका कुनै प्रजातिले भिरको चट्टानमा पनि गुँड बनाउने गर्दछन्। नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छन् । विश्वमा २३ प्रजातीका गिद्ध पाइन्छन् । प्रकृतिका कुचिकार गिद्ध प्रजाति अनुसार कुनै ठुला कुनै साना हुन्छन् । गिद्ध डेढ किलोदेखि १२ किलोसम्मका हुने गिद्ध संरक्षण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका संरक्षणकर्मी डिबि चौधरी बताउँछन्।

गिद्धले वर्षमा एक पटक अण्डा पारेर चल्ला हुर्काइ सन्तान वृद्धि गर्दछन। एक पटकमा थोरै (१-२ कहिलेकाहीँ ३ ) मात्र अण्डा पार्नु पनि गिद्धको सङ्ख्या कम हुनुका कारणमध्ये एक हो। पोखरा र आसपासमा गिद्ध राम्रो सङ्ख्यामा देख्न पाइन्छ। पोखरा २१ दोबिल्ला पारी निर्मल पोखरी स्थित रइचौरमा प्रशस्त सिमलका रूखहरु  छन्। तिनै रूखमा सेतो प्रजातिका गिद्ध धेरै सङ्ख्यामा बस्दै आएका छन्।

पछिल्लो समयमा देशका विभिन्न सहर र गाउँमा झैँ यहाँका रूख पनि कटान हुँदै गएका छन्। यहाँका सिमलका रूखमा विशेष गरेर डंगर, सानो खैरो प्रजातिका गिद्धले गुँड लगाउँदै आएका थिए। यस क्षेत्रमा विशेष गरी सेतो गिद्ध, हिमाली, डंगर, सानो खैरो  र केही सङ्ख्यामा सुन र राज गिद्ध बस्दै आएका छन्। बस्ती बढ्ने क्रममा व्यक्तिका जग्गाका रूख कटान हुन थालेका छन्। पहिला गिद्धले गुँड लगाउँदै आएका यहाँका सिमलका रूख पनि पछिल्लो समयमा कटान भएका छन्।

नवलपुर क्षेत्रमा पनि सिमलका रूख कटान हुने क्रम बढेको स्थानीय संरक्षणकर्मी डिबि चौधरी बताउँछन्। यस क्षेत्रमा सेतो गिद्ध, सानो खैरो, डंगर प्रजातिका गिद्धले सिमलको रूखमा गुँड लगाउने गरेको पनि उनले सुनाए। गिद्धले मात्र होइन भुँडीफोर, चील, तोप चरा लगायतका चराले पनि सिमलमा गुँड लगाउने उनले बताए। सिमलको सानो हाँगा, मुख्य हाँगा, बूढो रूखको टोड्कामा समेत विभिन्न प्रजातिका चराले गुँड लगाउने गरेको उनले सुनाए।

चितवनका संरक्षणकर्मी चराविद् टीकाराम गिरीको भनाइ पनि चौधरीको जस्तै छ। सरकारले सिमलको रूख कटान खुला गरेपछि देशैभर कटान बढेको उनी सुनाउँछन्।

सिमलका रूख लोप हुने अवस्थाका रूखका प्रजाति मध्येमा पर्ने डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुली बताउँछन्। पछिल्लो समयमा सरकारले नै निजी जमिनका रूख कटान गर्न खुला गरेकोले आवश्यक कागजात सहित निवेदन दिएर कटान गर्न पाइने व्यवस्था छ। सिमलका वहुआयामिक गुण छन्। सिमल कटान गर्न खुला भएकोले नकाटी दिए हुन्थ्यो भन्नु बाहेक अन्य उपाय नभएको उनले सुनाए।

सिनो खाएर वातावरण सफा गर्ने भएकोले गिद्धलाई प्रकृतिको कुचिकार भनिन्छ। गिद्धले खोला, ताल, सार्वजनिक स्थानका खुला ठाउँ जहाँतहीँ मरेका जनावरलाई छिनभरमा खान्छ र दुर्गन्ध फैलनबाट रोकी रेबिज, प्लेग, हैजा, झाडापखाला र पशु चौपायाहरूमा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरूको सङ्क्रमणले निम्त्याउन सक्ने महामारीबाट मान्छे र पशु चौपायालाई बचाउँछ। काेराेना कहरमा गिद्ध र गिद्ध जस्ता चरा, जीव र वन्यजन्तुकाे काे महत्व झन बढेर गएकाे छ ।

यिनै गुनकारी पन्छी, प्रकृतिका कुचीकार गिद्धका घरहरु  यसरी ढल्दै छन्, भत्कँदै छन्।

(भिडियो : कृष्णमणि बराल)