किट विज्ञान पढेका ‘गाई सर’


     राजु आचार्य     
     जेठ १६ गते २०७८ मा प्रकाशित


गाउँमा स्कुल नभएपछि डडेलधुराबाट उनी मुम्बई पुगे । प्रमाणपत्र तहसम्म उतै पढेपछि काठमाडौं हानिए। स्नातकोत्तरमा गोल्ड मेडलिस्ट उनले किरा (किट विज्ञान) पढेका थिए। पछि त्रिचन्द्रमा कलेजमा पढाउन थाले। उनलाई विद्यार्थीहरू ‘गाई सर’ भन्थे । प्राध्यापक भएर ४  दशक सेवा गरे। अवकाश जीवनमा पनि उनको व्यस्तता कायम नै छ। उनको यो लामो कथामा म पनि विगत २ दशकदेखि सँगै छु । मैले देखेको करनबहादुर शाह (गुरु) लाई यहाँ प्रस्तुत गरेको छु।

गज्जबको लेखन कला

करिब २५ वर्ष अघिको कुरो हो। कामना प्रकाशनको साधना मासिकको नियमित पाठक थिएँ म। त्यो साहित्यिक पत्रिकामा उनका ३ दर्जन बढी लेखहरु छापिएका थिए। त्यहिताका निस्किएको एउटा लेखले मलाई कौतुहलता जगाएको थियो। त्यो लेख नेपालमा भेटिएको अजिवको जीव यतीको बारेमा थियो। प्राध्यापक करनबहादुर साहद्वारा लिखित उक्त लेखमा यतीसँग जम्काभेट भएको बारेमा उल्लेख थियो। ५ वर्षपछि  जम्काभेट भएर पनि फोटो खिच्न नसकिएको उक्त यतीका बारेमा बल्ल सोध्ने मौका मिल्यो। उनले लेख काल्पनिक भएको बताए।

उनका लेखहरू यति मिठा हुन्थे कि, पढ्न थालेपछि नसकी उठ्नै मन नलाग्ने । काल्पनिक भनिएको उनको लेख उनलाई भेट्नु अघिसम्म मेरो लागि सत्य नै थियो।  उक्त  काल्पनिक लेखका लागि जम्मा गरिएको जानकारी, स्थान सबै भने सत्य थिए । उनले सर्वसाधारणले बुझ्ने भाषामा सर्प, हिउँ चितुवा, चराहरू, सालक आदिको बारेमा दर्जनौं किताब, लेखहरू लेखेका छन्।   

हालसम्म उनका  १८  वटा पुस्तकहरू निस्किएका छन्। १०० भन्दा बढी फिचर लेखहरू छन्। ५० भन्दा बढी वैज्ञानिक लेखहरू छन्।

उनी आशु कवि हुन् भन्दा फरक पर्दैन। सामाजिक सञ्जालमा प्राय उनी कवितामानै जवाफ दिन्छन्। नेपालमा बर्सेनि हुने ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ मा स्वागत गीत लेख्ने उनी नै हुन्। लाटोकोसेरो सम्बन्धी चर्चित ‘लाटोकोसेरो हुचिललाई नमारौं’ भन्ने गीत पनि उनैले रचेका हुन्।

 निरन्तरताको लगनशीलता

राष्ट्रिय प्रकृति संरक्षण कोषले उपल्लो मुस्ताङमा वन्यजन्तुहरूको अध्ययन गर्दै थियो । सोही बेला शाहको नेतृत्व रहेको अनुसन्धान समूहमा सन् २००० मा पहिलो पटक काम सिक्ने/गर्ने  मौका  मिल्यो। उनी उमेरमा हामीभन्दा पाका थिए तर हिँड्ने र काम गर्ने कुरामा हामीभन्दा तन्नेरी। बिहानै ६ बजे उठेर खाजा खाएपछि करिब ७ बजे तिरबाट फिल्डको काम सुरु हुन्थ्यो। दिउँसोको खानाको कुनै ठेगाना नै थिएन।उनले केही नभने पनि  हामी करन सरसँग डराउँथ्यौं। तर अहिले भने साथीजस्तै छौं।

जीवनभर खोलामा माछा मारेको अनुभव थिएन । अध्ययनका क्रममा १ दिन उनले खोला थुनेर माछा मार्न लगाए। उपल्लो मुस्ताङको तामा गाउँ नजिकैको खोलामा दिउँसो ३ बजेसम्म माछा मार्दा ससाना १२ वटा भेटिएका थिए । चिसो पानीमा भोकभोकै माछा मार्नु त्यति सहज थिएन।

डा. सोम आले, अमर गुरुङ, काजीराम अधिकारी, हीराबहादुर क्षेत्री, कमल थापा, नवराज चाँपागाई लगायतका अग्रज र साथीहरू थियौं। पहिलो माछा समातेपछि खुसीको सीमा रहेन। हामीले अब क्याम्पमा गएर केही माछा खाना पाइने भो भनेर खुसी भएका थियौं । तर त्यो सबैलाई फर्मालिनमा राखेर काठमाडौँ ल्याउने पोकोमा राखेपछि हामी कम्ता रिसाएका थिएनौं।

करन सरले धेरै मार्दा नयाँ प्रजाति हुन सक्छ वा सोही प्रजातिका बारेमा धेरै जानकारी पाउन सकिन्छ भनेर त्यसो गरेका रहेछन्। त्यस्तै मेहनतको कारणले नेपालमा पहिलो पटक वन गधा र घोवा सोही बेला सोही क्षेत्रबाट अभिलेख गरिएको थियो। काठमाडौंमा गरिएको पत्रकार सम्मेलनपछि हामीहरुको नाम पहिलोपटक गोरखापत्रमा छापिएको थियो। हामी काम सिक्न गएका थियौं तर सम्मान पनि पाइयो। यो उनले गर्दा नै सम्भव भएको थियो।

विज्ञानकै लागि वा भनौं संसारमा पहिलो पटक वन्यजन्तु भेट्नु भनेको दुर्लभ अवसर हो। उक्त अवसर करन सरले पटक पटक पाएका छन्। उनले संसारकै निम्ति ८ नयाँ वन्यजन्तुका प्रजाति अभिलेख गरेर अतुलनीय योगदान पुर्‍याएका छन्।

उनले नेपालमा १ चरासहित २४ प्रजातिहरू पहिलो पटक अभिलेख गरेका छन्। २५ भन्दा बढी वैज्ञानिक अन्वेषणमा सम्मिलित भएर नेपालको वन्यजन्तु अध्ययन तथा संरक्षण क्षेत्रमा उनले आफ्नो भूमिका सशक्त बनाएका छन्। उनले  ७७ जिल्ला पूरै घुमेका छन्।

असिमित ज्ञानको भण्डार

उनले किट विज्ञानमा स्नातकोत्तर गरेका छन्। किरामा लामो समय काम नगरे पनि किराको बायोलोजी राम्ररी बुझाउन सक्छन्। सर्पमा उनले लामो समय काम गरे । छेपारोमा पनि राम्रो दक्खल छ। स्तनधारी उनको आफ्नै विषय बनेको छ। नेपालको लागि नयाँ प्रजातिका चरा पनि अभिलेख गरेका छन्।

साहित्यमा उनको राम्रो ज्ञान छl ठाउँको ठाउँ कविता र गीत कोर्न सक्छन्। पुराना गीतका  राम्रा सौखिन हुन्। कुन सिनेमा कहिले बन्यो र कस्तो थियो भनेर सबै बताउँछन्। क्रिकेट प्राय छोड्दैनन्। मद्रासी, हिन्दी, जर्मन भाषाको समेत प्रयोग गर्न जानेका छन्।

ज्ञान भएका मात्र होइनन् उनी ज्ञान बाँड्न पनि उत्तिकै जाँगरिला छन्। यसका अलावा स्नातकोत्तरका विद्यार्थीहरूलाई वन्यजन्तु अध्ययन तथा अनुसन्धानसँग सम्बन्धित शोधपत्रहरूमा सुपरीवेक्षकको रूपमा आफ्नो अनुभव बाँडिसकेका छन्।

उनलाई मुसादेखि हात्ती, तराईदेखि हिमाल, किरादेखि चरा सबै क्षेत्रमा उत्तिकै ज्ञान छ।

जोकको खानी

सन् २०१६ मा हामी हुम्ला जिल्लाको लिमी उपत्यका जादैं थियौं। साँझमा हिल्सा पुग्यौं। १ जना बहिनीले बेलुकीको खाना  तयार गर्दै थिइन् । हामी सबै गफ गर्दै थियौं।

पसलको बहिनीले करन सरलाई देखाउँदै भनिन्, ‘ऊ उहाँ त इन्डियन जस्तो छ, हो ?’ हामी चाउमिन खादै थियौं। करन सरलाई यो कुरा मन परेन भन्ने लागिसकेको थियो। कसैले अंकल वा बा भने पनि करन सरलाई मन पर्दैन्थ्यो।

तर सोही कुरालाई उनले नहाँसी भने, ‘हो हो म इन्डियन हो। हिल्सा आउँदा त्यो माथिको यारी भन्ज्याङसम्म त धोती नै लगाएर आएको हो। डाँडाको हावाले तलतिर निकै चिसो बनायो अनि बल्ल यो पाइन्ट लगाएको हो।’ हामीहरू बेजोडले हास्यौं। त्यो बहिनीले अलि अप्ठ्यारो मानिन् । करन सर भने चाउमिन खानामा व्यस्त। बेलुकी १ जना सदस्यले पादी दिए। उनको प्रतिक्रिया थियो, ‘हेर्नु त धोती नफेरेको भए त बर्बाद नै हुन्थ्यो । मेरो पनि त्यहि हालत त हो नि।’ हामीहरू सुत्ने बेलासम्म हाँसी रह्यौं।

फिल्डमा हिँड्दा वा बस्दा उनले भन्ने जोकहरू तथा उनले बाढ्ने अनुभवहरुले समय बितेको पत्ता हुन्थेन। विगत २० वर्षसम्म उनले भनेका जोक मध्ये एउटामात्र मात्र दोहोरियो। 

समयमा प्रतिबद्ध

काठमाडौं वा अन्य कुनै ठाउँमा उनलाई कार्यक्रममा बोलाइएको छ भने समयमा पुग्छन् । एउटा गाउँमा गरिने सामान्य बैठक होस् वा राष्ट्रिय/अन्तर्राष्ट्रिय सभा सम्मेलनमा उनी समय अगावै पुगिसक्छन् । आयोजकले ‘नेपाली टाइम त हो नि’ भन्न नपाउने बनाइदिने ।

हुम्लाको लिमी उपत्यकामा सहकर्मीहरुसँग सातु खादैं

सौखिन सर

पढ्ने भनेपछि हुरुक्कै। बाहिरबाट कुनै समान पोको पारेको ल्याएको पेपर पनि छोड्दैनन्। पत्रिकाका विज्ञापन पनि पढेर भ्याउँछन्। लेख्न पनि मन पर्छ। हिँडेर वा कुनै माध्यमबाट यात्रा गर्ने भनेपछि झन् हुरुक्कै। त्यसै नेपाल घुमेर भ्याइएको त होइन होला।

बजारमा किनमेल गर्न प्राय जाने गर्छन् । खानपिनका  सौखिन उनी पकाउन पनि उत्तिकै सिपालु छन्। पहाडतिरको मकै, गहुँ, चामलको बाक्लो रोटी भनेपछि निकै रस मानेर खान्छन्। तरकारीमा मन नपर्ने भन्ने केही पनि छैन।

उनले नेपालका ७७ वटै जिल्लामा जाँदा केही न केही बिरुवा वा बिउहरू बोक्ने गर्छन्। उनले ती सबैलाई आफ्नै बारीमा उमारेका छन् l मुगुको र गोर्खाको  सिस्नु, जाजरकोटको पुदिना, इलामको अकबरे खुर्सानी, रामेछापको किवी, दोलखाको बारमासे लसुन, डडेल्धुराको लट्टे साग अझै पनि उनको बारीमा छ। फिल्डमा जाँदा सियोदेखि रक्सी, औषधिदेखि फलफूल सबै साथमा नै राख्ने बानी। उनीसँग रहेका खाने कुराहरु देखेर हामी फिल्डमा हराइयो भने करन सरसँगै हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।

खोटाङ जिल्लाको जालपामा सम्मानित हुँदै

उनले पाएका सम्मानहरू

पढ्दा कहिल्यै दोस्रो भएनन्। जागिरको पदोन्नतिमा पनि त्यत्तिकै अब्बल। उनलाई युवाहरूले दिएको उपनाम ‘वन्यजन्तु विज्ञ’ ‘इन्साक्लोपेडिया अफ वाइल्ड लाइफ’ ‘गाई सर’ आदि हो। केही वर्षअघि पेन्सन भए पनि उनको दैनिकी झन् व्यस्त छ। कुनै पनि काम जिम्मामा छ भने  फत्ते गरिछाड्ने दृढ विश्वासी छन्।

गत सालको कोरोनाको बेलामा पनि उनी फिल्ड घुमिरहे। उनी अहिले पनि नेपाल पंछी संरक्षण संघका उपाध्यक्ष  र हिमालयन  नेचरमा वरिष्ठ प्राविधिक सल्लाहकारको रूपमा आबद्ध छन्।

राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार (प्रकृतिका साथीहरू), प्रकृति संरक्षण पुरस्कार (नास्ट), महेन्द्र विद्या भूषण (ख), वन विभागले गरेको सम्मान, जिल्ला वन कार्यालय काठमाडौंको अभिनन्दन लगायत थुप्रै सम्मान पाएका छन्।

नेपालको हुलाक टिकटमा ९ वटा सर्प, भ्यागुता, छेपारोको फोटोहरु प्रकाशित छन्।  नेपालको संरक्षण क्षेत्रमा बहु आयामिक योगदानका कारण उनलाई धेरै जना संरक्षणकर्मीले आदरले नेपाली संरक्षण क्षेत्रका भीष्म पितामह भनेर पनि भन्ने गरेका छन्।

पारिवारिक अवस्था

५ दाजुभाइमध्ये उनी जेठा हुन् । उनले २०४१ सालमा मागी विवाह गरे। श्रीमती उषा शाह नेपाल प्रहरीमा (चिकित्सक) एसएसपीबाट अवकाशप्राप्त हुन् । हाल ग्रान्डी इन्टरनेसनल  अस्पतालमा डाइटिसिएनको रुपमा कार्यरत छन्। छोरा उत्कृष्ट शाह नेपाल प्रहरी अस्पतालमा जनरल सर्जन हुन्। छोरा भर्खरै वैवाहिक सम्बन्धमा बाँधिए। उनकी बुहारी जुहीश्री शाह पनि अमेरिकामा एमडी गर्दैछन्। सानो तर सुखी यो परिवार  हाल बुढानिलकण्ठ नगरपालिकाको हात्तीगौंडामा बस्छ।

मुम्बई हुँदै काठमाडौँ

उनको जन्म डडेलधुरा जिल्लाको मस्तामाडौँ  गाविसस्थित चोरेला गाउँमा भएको हो। डडेलधुराको चोरेला गाउँमा रहेको कल्याण प्राथमिक विद्यालयमा १–५ सम्म पढे। पढ्दा स्थानीय शिक्षक पनि थिएनन्। भारतको कुमाऊबाट शिक्षकहरू आउँथे । सरले नेपाली नबुझ्ने, उनीहरूले हिन्दी, निकै रमाइलो पो हुन्थ्यो। 

५ कक्षाको बोर्डको जाँचको लागि १ दिन पर गएर जाँच दिँदा स्कुलबाट उनी मात्र पास भए। ५ कक्षा पछि पढ्ने ठाउँ थिएन।  कि जानु पर्थ्यो भारत कि त काठमाडौँ । त्यतिखेर गाउँमा पढ्ने चलननै थिएन। तर उनका बुबा गंगाबहादुर शाही  र आमा देवा शाही  छोरालाई पढाउने अठोटमा थिए। त्यो भेगका मानिसलाई काठमाडौँ भनेको त कता हो कता ? अहिलेसम्म पनि काठमाडौँ टाढा नै छ। उतिखेर जानका लागि १०–१२ दिन लाग्थ्यो। खर्च उत्तिकै हुने।

गाउँतिरका थुप्रै मानिस गएर काम गर्ने मुम्बई थियो। छिटो पुगिन्थ्यो र पैसा पनि कम लाग्ने भएपछि मुम्बई पठाइयो। गाउँका  शिक्षक नन्दबल्लभ जोशीले  पनि बाहिर पठाउनका लागि निकै पहल गरेका थिए।

मुम्बई पुगेपछि भर्ना हुन स्कुल पुगे। गाउँतिर आउने सिभिल लाहुरेहरूले कहिलेकाँही हिन्दी बोलेको सुनेका थिए। उनका शिक्षकले पनि  गाउँमा मिश्रित भाषामा नै पढाउँथे। उनले सानैबाट अमिलोलाई खट्टा भनेर बुझेका थिए।

 भारत पुगेपछि २–४ दिन रमाइलो नै भयो । गाउँ नछोडेको केटो मुम्बईजस्तो ठाउँमा पुग्दा उनी आफनै  आँखालाई विश्वास गर्न सकिरहेका थिएनन्l  त्यहाँका काला काला मानिसहरु देखेर आफूलाई निक्कै गोरो महसुस पनि गरे।

स्कुल भर्ना हुने बेलामा मौखिक रूपमा जाँच लिएका थिए। सोधिएका थुप्रै प्रश्नमध्ये उनले एउटा अझै पनि  सम्झेका छन्, ‘मुम्बई के लोगौंको पानी कहाँ से मिल्ता है’ भन्ने प्रश्नमा उनले समुद्र भन्दा सबै हाँसेका  थिए।  उनलाई त्यतिखेरसम्म  समुद्रको पानी खान हुन् भन्ने थाहा थिएन।

जाँच ठिकै भए पनि उत्तर प्रदेशका सरहरू भएका कारणले उनको भर्ना राम्रै स्कुलमा भयो। उत्तर प्रदेशका सरहरुले नेपाललाई राम्ररी चिन्ने भएकोले त्यसो भएको हुन् सक्थ्यो l उनी आफ्नो कक्षाका सबैभन्दा गोरा थिए। यद्यपि उनको वर्ण गहुँगोरो नै हो ।

मुम्बईको स्कुलमा फाराम भर्दा थर शाही लेखेको देखेपछि सबै गलल हाँसे। ‘तुम्हारा नाम शाही है’ भन्दै। के रहेछ भनेर बुझ्दा त्यहाँ त मराठीमा दुम्सीलाई पो शाही भनिँदो रहेछ। साथीहरूको जिस्काइबाट बच्न उनले आफै आफ्नो थर फेरिदिए। त्यसपछि उनी शाह बने।

मुम्बईको स्कुलमा फाराम भर्दा थर शाही लेखेको देखेपछि सबै गलल हाँसे। ‘तुम्हारा नाम शाही है’ भन्दै। के रहेछ भनेर बुझ्दा त्यहाँ त मराठीमा दुम्सीलाई पो शाही भनिँदो रहेछ। साथीहरूको जिस्काइबाट बच्न उनले आफै आफ्नो थर फेरिदिए। त्यसपछि उनी शाह बने।

अलि अलि हिन्दी सुनेका र अंग्रेजीमा एबिसी मात्रै थाहा भएका उनले अब अंग्रेजीमा र मराठी  भाषामा पढ्नुपर्ने भयो। ६ कक्षा उनका लागि फलामको चिउरा चबाउनुजस्तै थियो।

उनले हिन्दीभन्दा अगाडि मराठी भाषा सिके। साना साना केटाकेटीको संगतले त्यस्तो भएको थियो। अंग्रेजी भाषा र हप्तामा एक चोटि गर्नुपर्ने शारीरिक अभ्यास नजानेर निकै पिटाइ पनि खाए।

बीचबीचमा दिइने अन्तरिक जाँचहरूमा फेलनै  भए। अंग्रेजी विषयमा भने उनले प्रश्न र उत्तर दुवै कण्ठ बनाएका थिए। तर सरले पिट्छ भन्ने डरले निकै मेहनत गरे। उनी राम्रोसँग पास भए। उनको मेहनतले काम गर्‍यो। उनी सानैदेखि नयाँ कुराहरू भेट्ने बित्तिकै त्यो के होला, त्यसको बारेमा कसरी जानकारी लिने भन्ने खालका थिए। पिटाइ र भाषा दुवैलाई उनले त्यहि अवसरको रुपमा लिएका थिए।

उनी स्कुलको मनिटर पनि भए। ११ कक्षा प्रथम श्रेणीमा पास हुँदा गाउँभरि हल्ला भयो, लौ करनले सबलाई जित्यो भनेर। खाना आफै बनाउने, कपडा धुने, पढ्ने सबै आफै गर्नु पर्थ्यो l त्यो बेलाको समय सहज थिएन तर करन सरको लागि भने जीवनमा नबिर्सने क्षण बन्यो। 

११ कक्षापछि मुम्बई विश्वविद्यालयमा विज्ञान संकायमा बल्ल बल्ल भर्ना भए। प्राणीशास्त्र र गणित दुवै पढ्नु पर्थ्यो । दोस्रो वर्षमा  प्राणीशास्त्र पढे। उनले इन्टर पास गरे। कलेज बंक गरेर बीचमा गएर फिल्मको सुटिङ पनि निकै हेरे। उनले सुटिङ हेरेका कतिपय फिल्म पछि नेपालमा हेरेका थिए।

बियर खान त्यतिखेर नै सिके। त्यतिखेर साढे ३ रुपैयाँमा उनले स्टार बियर खाने गर्थे।  उनी फिल्म पनि उत्तिकै हेर्थे। त्यसबेला हेरिएको फिल्महरूको कथा अझै पनि सम्झना छ उनलाई। वास्तवमा उनलाई मुम्बईको हावाले छोइसकेको थियो। तर यसले उनको पढाइमा भने असर गरेन।

प्रमाणपत्र तहको जाँच सकेर उनी १३ वर्षपछि घर फर्के। उनका लागि सबै नौलो थियो। पढ्ने भूतले भने छोडेको थिएन। मुम्बई फर्किनुअघि १ पटक काठमाडौँ पनि घुम्ने योजना बन्यो। १ जना गाउँका दाइसँग काठमाडौँ आए। २०१० सालमा जन्मेका उनी २० वर्षको लक्का उमेरमा काठमाडौं देखेर निकै प्रभावित भए। यो कुरा २०३० सालको हो।

वास्तवमा भारतमा उनी कहिले खुसी थिएनन्। आफ्नो भन्ने उनले केही पनि भेटेनन्।  सधैं एक्लै जस्ता । सधैं हेपिएको जस्तै अनुभव गरिरहन्थे।  काठमाडौँ छोड्ने कुरै भएन।  उनको मुम्बई यात्रामा पूर्णबिराम लाग्यो । काठमाडौँमा शुरु भयो। उनले काठमाडौँमा पढ्ने निधो गरे। त्रिचन्द्र कलेजमा भर्ना भए ।

भर्ना हुने बेलासम्म उनलाई वनस्पति विज्ञानमा रुचि थियो। फर्म भर्ने बेलामा विराटनगरका  यज्ञनाथ शर्माले यो त केटीहरूले मात्रै पढ्ने विषय हो भने पछि उनी प्राणीशास्त्र पढ्ने भए। उनका साथी यज्ञनाथ शर्मासँग उनी अझै पनि सम्पर्कमा छन्। 

भर्ना हुने बेलासम्म उनलाई वनस्पति विज्ञानमा रुचि थियो। फर्म भर्ने बेलामा विराटनगरका  यज्ञनाथ शर्माले यो त केटीहरूले मात्रै पढ्ने विषय हो भने पछि उनी प्राणीशास्त्र पढ्ने भए। उनका साथी यज्ञनाथ शर्मासँग उनी अझै पनि सम्पर्कमा छन्। 

स्नातक तहमा कलेजमै सबैभन्दा उच्च अंक ल्याएर उत्तीर्ण भए उनी । स्नातकोत्तर  तहमा त झन् नेपाल टपर नै भए ।

स्नाताकोत्तरको जाँचपछि त्यतिखेर १ वर्ष गाउँमा गएर पढाउनु पथ्र्यो । सरकारको नीति राम्रो थियो । पढाएर नआएसम्म प्रमाणपत्र पाइदैनथ्यो । गाउँका विद्यालयले योग्य शिक्षक पाउँथे । विद्यार्थीले नेपाल बुझ्ने मौका पनि । उनले आफ्नै जिल्ला डडेलधुरा रोजे । त्यो १ वर्षमा उनले गाउँलाई राम्ररी बुझ्ने मौका पाए ।

स्नातकोत्तरको २०३५ मंसिर ४ गते रिजल्ट भएको थियो । अर्को दिनदेखि  त्रिचन्द्र कलेजमा अध्यापन गराउन थाले। करिब डेढ वर्ष पढाएपछि उनले एउटा उपनाम पाए त्यो हो ‘गाई सर’। उनी राम्रो पढ़ाउँथे । कसैसँग नरिसाउने। पढ़ाउँदा निक्कै मेहनत गर्ने।

लोकसेवामा १ नम्बरमा नाम निकालेपछि प्राकृतिक विज्ञान संग्रहालयमा अनुसन्धान हेर्ने गरी काम गर्न थाले। त्यो ठाउँमा चरा, स्तनधारी, पुतलीमा काम भइरहेको थियो। तर हर्पेटोलोजीमा (भ्यागुता, सर्प, छेपारो, गोही आदि) कसैले केही नगरेको देखेपछि उनको जाँगर बढ्यो। २०४० सालमा नेपालका सर्पहरू भन्ने पुस्तक लेखे। 

उनको जीवनको सबै भन्दा सुखद र उनलाई परिवर्तन गर्ने काम भने मुगु जिल्लामा (लान्गु उपत्यका) भएको थियो। संसारमै ५ वटा हिउँ चितुवामा पहिलो पटक रेडियो कलर लगाएर यसको अध्ययन गरिएको थियोl हिउँ चितुवाको विख्यात अनुसन्धानकर्मी रोड्नी ज्याक्सनसँग ४ वर्ष जति सो क्षेत्रमा काम गरे l सो क्षेत्र डोल्पा र मुगु जिल्लाको सिमानामा पर्दथ्यो ।

स्तनधारी जीवमा उनको ज्ञान फराकिलो बन्यो। उनले चराको बारेमा पनि अध्ययन गरे। स्थानीय मानिससँगको भेटघाटले संस्कृति बुझ्ने मौका पाए। मुगु क्षेत्रमा निक्कै सिकार हुने गर्थ्यो l  उनले वन्यजन्तु मात्रै होइन, यिनको विविध आयामका बारेमा निक्कै गहिरोसँग बुझ्न पाए।

उनलाई  काठमाडौँ फर्केर धेरै संघ संस्थाको सहयोगमा नेपाल घुम्ने मौका मिल्यो। उनले सर्प, भ्यागुताको अध्ययन गर्ने मौका पनि पाए। उनले जे जेमा मौका र समय पाए, त्यो प्रजातिको बारेमा अध्ययन गर्दै गए। उनी विज्ञ बन्दै गए। कालान्तरमा उनी प्रजाति पहिचानमा अब्बल बने।

उनी सानै देखि सिकार गर्ने समूहसँग सो बारेमा ज्ञान बटुलेका थिए। सिकारीहरूले माछा कसरी मार्ने भनेर सिकाए, बँदेलको पाइला चिनाए, मृर्गको  पासो देखाए। यही कारणले गर्दा उनको वन्यजन्तुमा रुचि पनि बढ्दै गयो।

यिनकै यस्तै कामहरूले गर्दा घरमा भन्दा बाहिर फिल्डमा रमाउन थाले। अहिले पनि रमाउँछन्। उनी २०६० देखि ६४ सम्म प्राकृतिक विज्ञान संग्रहालयको  प्रमुख  पनि भए।

नेपालमा रहेको खुट्टा तान्ने प्रवृत्तिबाट उनी पनि अजित छन्। उनी भन्छन्, ‘काम गर्ने मानिसलाई थोरैले मात्र प्रशंसा गर्छन्, दोष मात्रै दिन्छन्।’ राम्रो काम गर्ने भन्दा पनि फाइँफुट्टाहरूको हालीमुहाली धेरै छ। उनी राजनीतिमा लागेनन्। उनले जे गरे त्यसमा बिरलै पछि परे। मेहनत गर्ने भएर पनि होला, उनले सफलताको पहाड चढ्दै गरे।  उनी जागिर होस् या पढाइ कहिले पनि दोस्रो भएनन्। त्यसैले पनि होला वन्यजन्तु क्षेत्रमा समेत सफल भए। यही भएर पनि पनि हो कि उनलाई सबैले ‘वन्यजन्तु क्षेत्रका इन्साइक्लोपेडिया’ भन्छन्।

गुरु तपाईंको ज्ञान र अनुभव सिमित युवाहरुलाई दिने मात्र होइन यसलाई लिपिबद्ध गरेर आउने पुस्तालाई उपहारको रुपमा छोड्नुहुन्छ भन्ने आशा पनि गरेको छु। आगामी दिन अझै बढी सफल बनून्। 

स्थानीयहरुसंगको रमाइलो

(फोटोहरु : करनबहादुर शाह र ‘प्रकृतिका साथीहरु’ )