
एकपटक झन्नै सकिन लागेका थिए घडियाल
सन १९७५ को सर्वेक्षणले नारायणीमा साठी भन्दा कमको सङ्ख्यामा घडियाल रहेको पाइयो। सबै चिन्तित बने । चिन्ताले उपाय निस्कियो। सोहीअनुसार सन १९७८ मा घडियाल संरक्षण प्रजनन केन्द्रको स्थापना, चितवन राष्ट्रिय निकुञ्जको कसरामा भयो।
नारायणीको बगरमा घडियालले पारेका अण्डा निकालेर ल्याई प्रजनन केन्द्रमा बनाइएको बालुवाको ढिस्कोमा जस्ताको तस्तै (नारायणीमा भएको गुँडको साइज,गहिराई आदि) राखी बच्चा कोरल्ने कामको सुरूवात भएको थियो। कोरलिएको बच्चालाई यसको प्राकृतिक वासस्थानमा छाड्ने काम भयो। कोरलिएका बच्चालाई ५/६ वर्ष पालनपोषण गरी निकुञ्जले हालसम्म १५ सय ८५ वटा घडियाल देशका प्रमुख नदीहरूमा लगेर छोडिसकेको अवस्था छ।
कोभिड -१९ ले विश्वलाई रोकेको बेलामा घडियाल गोहीले भने ११ सय किमि जलयात्रा गरेको छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ। घटना त्यस्तै २०७७ साल जेठ ४ गतेको हो।
‘हुलमुलमा ज्यान जोगाउनु अनिकालमा बिउ जोगाउनु’ भन्ने उखानै छ। हाम्रा अग्रजहरूले घडियाल प्रजनन केन्द्रको स्थापना गरी बिउ जोगाएका छन्। यसलाई थेग्नु हाम्रो कर्तव्य र दायित्व हुन आउँछ।
प्रकृतिमा बच्चा अवस्थामा घडियालको मृत्युदर लगभग ९९ प्रतिशत रहेको विभिन्न अध्ययनले देखाएको छ। मृत्युदर उच्च हुनुमा प्राकृतिक र अधिकांश मानवीय कारणहरु रहेका छन् । यही कारणले गर्दा कृत्रिम रूपमा यिनलाई हुर्काएर छोड्नु परेको हो। पछिल्लो समयमा घडियाललाई ‘स्कुट मार्किङ’ गरी नदीमा छोडिने परम्पराको सुरूवात भएको छ।

स्कुट मार्किङ भनेको के हो ?
गाहीको पुच्छर झट्ट हेर्दा आराको दाँतीहरू जस्तो बनावट भएको हुन्छ, जसलाई प्राविधिक भाषामा स्कुट ( scute) भनिन्छ। स्कुट नरम छालाले बनेको भए पनि यसले पानीभित्र शत्रुलाई फलामे आराजस्तै गरी नोक्सान पुर्याउने काम गर्दछ। शरीरलाई कुन दिशातर्फ मोडेर लैजाने भन्ने कुरा गाडीको स्टेरिङले गरेजस्तै यसले काम गर्दछ। यसको मद्दतले गोहीलाई घण्टौंसम्म हलचल नगरी पानीमा तैरिन र पौडन समेत मद्दत गर्दछ।
पछिल्लो समयमा घडियाल अनुगमनको लागि सजिलो होस् भनेर प्रजनन केन्द्रबाट नदीमा घडियाल छोड्नु अगाडि स्कुट काटी मार्किङ गरिन्छ। तर सामान्य मान्छेले देख्दा पुच्छरका दाँती काटेकोजस्तो देखिन्छ। जुन वैज्ञानिक तवरले मार्किङ गरिएको हुन्छ। यस्तो मार्किङ भरपर्दो र गोहीको जीवनभर कहिल्यै हराएर जाँदैन। तर पछि मार्किङ गरेको/काटेको ठाउँबाट स्कुट पलाएर आए पनि मार्किङ नगरिएको स्कुटको तुलनामा छोटो नै देखिँदा अनुसन्धानकर्तालाई पहिचान गर्न सजिलो हुन्छ।
घडियाल कुन मितिमा प्राकृतिक वासस्थानमा छोडेको, छोड्दाको अवस्थामा कति तौल र लम्बाइ थियो र घडियाल कुन सालमा कोरलिएको हो भन्ने यथार्थ विवरणसहित कम्प्युटरमा रेकर्ड राखेर मात्र घडियाललाई प्राकृतिक वासस्थानमा लगेर छोडिन्छ। नदीमा माछा मार्नेहरूको जालमा फसेको घडियाललाई पनि छुटाउने क्रममा घडियालको नापजाँच र सम्भव भएसम्म तौल लिने गरिन्छ। नदीमा छोड्ने अवस्थामा लिएको तौल र लम्बाइ तथा नदीमा फेला पारी सकेपछि लिएको तौल र लम्बाइ डाटालाई केलाउँदा के कति दरमा नदीमा घडियालकै तौल र लम्बाइ बढ्यो भन्ने कुराको पनि निर्क्यौल गर्दछ। यसले अनुसन्धानमा ठूलै सहयोग पुर्याएको र प्राकतिक अवस्थामा घडियालको वृद्धिदर पनि पत्ता लगाउन सकिएको छ।

गोहीको संख्या बढ्यो, भारत त छिरेनन् ?
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको भारततर्फको सिमाक्षेत्रमा बाल्मिकी टाइगर रिजर्भ रहेको छ। जसलाई सहयोग गर्न डब्लु टि आइ (Wildlife Trust of India ) संस्था रहेको छ। जसले गण्डक (नेपालमा नारायणी र भारतमा गण्डक नदी भनिन्छ) नदीमा रहेका घडियालको संरक्षण कार्यमा अग्रणी भूमिका खेल्दै आएको छ। यस संस्थाले सन २०१४ र २०१५ मा गरेर २६ वटा अर्धवयस्क घडियाल पटना चिडियाखानाबाट ल्याएर गण्डक नदीमा छोडेको बाहेक अन्य घडियाल नदीमा थपेको छैन। यता चितवन राष्ट्रिय निकुञ्जले गण्डक नदीको माथिल्लो भाग नारायणी, राप्ती र कालीगण्डकीमा हालसम्म १३ सय ३९ वटा घडियाल छोडिसकेको छ। गत फरवरी २०२० मा राप्ती र नारायणीमा गरेको सर्वेक्षणले २ सय ३० वटा घडियाल देखाएको छ। जबकि प्रजनन केन्द्र स्थापना गर्नुभन्दा अगाडि केवल ५७ वटा मात्र घडियाल नारायणी नदीमा रहेको तथ्याङ्क भेटिन्छ।
उसो त गंगाका माछा प्रजननकालागि वर्षायाममा नेपालका नदीनाला र पहाडका खोला-खोल्सीमासमेत पुगी प्रजनन गरी गंगामा फर्किन्छन्¸यसलाई के भन्ने ? जलचरहरू तलमाथि गरिरहनु उसको प्राकृतिक गुण हो र उसले राजनैतिक सिमाना चिन्दैन।
भारततर्फ गण्डक नदीमा मार्च २०२० मा डब्लु टि आइले गरेको सर्वेक्षणअनुसार २ सय ५९ वटा घडियाल फेला परेको जनाएको छ।
निकुञ्जभन्दा बाहिरका नदी क्षेत्रहरूमा घडियालको लागि वासस्थान सुरक्षित नभएकाले घडियाल निकुञ्जभित्र मात्र खुम्चिन पुगे । प्रजनन केन्द्रबाट छाडेका जति सबै घडियाल निकुञ्जमा प्राकृतिक रूपले अटाउन सम्भव हुँदैन। त्यसैले सुरक्षित वासस्थानको खोजी गर्दै घडियाल भारत गएको ठम्याई रहेको छ। भारतमा रहेका घडियाल नेपालबाट गएका हुन् भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि गर्न सक्नु पर्दछ, होइन भने तथ्य आधारहिन हुन्छ। तर डब्लु टि आइबाट प्राप्त तथ्यअनुसार नेपालको प्रजनन केन्द्रबाट छोडेका घडियाल भारतका विभिन्न नदीहरूमा फेला परेका थिए।

नेपालका घडियाल भारतमा फेला परे
कोभिड -१९ ले विश्वलाई रोकेको बेलामा घडियाल गोहीले भने ११ सय किमि जलयात्रा गरेको छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ। घटना त्यस्तै २०७७ साल जेठ ४ गतेको हो। डब्लु टि आइले इमेल गरी पश्चिम बंगालको रानी नगर घाट/ चाकादास्थित हुग्ली नदीमा माझीको जालमा घडियाल फसेर जीवितै उद्दार गरेको फोटो र जिपिएस लोकेसन समेत नेपाल पठाएको थियो।
जसमा घडियाल छोड्दाको बखतमा गरेको मार्किङ नम्बर प्रष्टसँग देखिएको थियो। एकछिन त इमेल हेर्ने वित्तिकै म छक्क परेँ। यो कसरी सम्भव भयो होला ? यति टाढा घडियाल कसरी गयो भनेर। उद्दार गरिएको घडियालको फोटो डाउनलोड गरी कम्प्युटरमा रहेको डाटासँग केलाएर हेर्दा सो घडियाल २०७६ साल चैत्र ४ गते कसरास्थित राप्ती नदीमा छोडिएको पत्ता लाग्यो। जसको मार्किङ नम्बर ६ सय ८७ थियो । त्यहाँ कहिले पुग्यो त्यो थाहा भएन तर नेपालबाट छोडेको ६१ औं दिनमा माझीको जालमा फसेको थियो।
उक्त घडियालको गुगल म्यापबाट अध्ययन गर्दा घडियाल छोडेको स्थानबाट जालमा फसेको स्थानसम्मको न्युनतम नदीको दूरी १ हजार ६२ किमि रहेको र सो क्षेत्र कलकत्ता नजिक छ भने बङ्गालको खाडी केवल त्यहाँबाट १ सय ९० किमि टाढा रहेको छ। हुग्ली नदी, रानी नगर घाँट क्षेत्रमा कहिल्यै पनि यस्तो खालको जनावर देखिएको थिएन भनेर भन्छन् माछा मारी जीविकोपार्जन गर्ने सुवास विवश।
भारतको विभिन्न पत्रपत्रिकालगायत नाम चलेको मुगावे जर्नलसमेतले यस घटनालाई महत्वका साथ स्थान दिएका थिए। त्यसै गरेर सोही लटमा छोडेको अर्को मार्किङ नं. ६ सय ६६ घडियाल सोही राज्यको महानन्द (नेपालतर्फ मेची नदी भनिन्छ) नदीमा २०७७ श्रावण २० (४ अगस्ट २०२०) गते जालमा अड्केको अवस्थामा जीवितै फेला परेको थियो जसको न्युनतम नदीको दूरी १ हजार १५ किमि हुन आउँछ। उक्त गोही नेपालबाट छाडेको १ सय ४० दिनपछि फेला परेको थियो। डब्लु टि आइ अधिकारीकाअनुसार हाल त्यस भेगमा उद्दार गरेकै साइजका एक दर्जन जति घडियाल रहेका छन्। सम्भवत: उक्त घडियालहरू राप्ती-नारायणी/ गण्डक -गंगा नदी हुँदै सो क्षेत्रमा पुगेका हुन्। स्कुट मार्किङको आधारले मात्र घडियाल नेपालबाट छोडेको भन्न सकिएको हो नत्र भने भन्ने आधार रहँदैन थियो होला।

नेपालबाट भिएचएफ ट्याग लगाइएको घडियाल भारतको गण्डक नदीमा फेला
घडियालको शरीरमा सेटलाइट र भिएचएफ ट्याग लगाइ त्यसको विचरण अवस्थाको बारेमा विद्यावारिधि गरिरहेकी अक्सफोर्ड विश्विद्यालयकी छात्रा फिवि ग्रिफितकाअनुसार नेपाल-भारत सीमाना नजिक त्रिवेणी तलतिर गण्डक नदीमा भिएचएफ ट्याग लगाइएका ४ वटा घडियाल रहेका छन्।
विहारको नहरमा माझीको जालमा फसी घडीयाल मरेको
२०७५ साल असोज ९ मा भारत विहारको गाउँ भएर बग्ने नहरमा मलाहाको माछा मार्ने जालमा फसी घडियाल गोही मरेको थियो। उक्त गोही २०११ मा घडियाल प्रजनन केन्द्रमा कोरलिएको र २०७५ फागुन ४ ( १६ फरवरी २०१८) मा राप्ती नदीमा छोडिएको थियो। जसको मार्किङ नं. ४ सय ८८ रहेको थियो। गुगलबाट नदीको लम्बाइ नाप्दा छोडेको स्थानबाट घडियाल मरेको स्थानसम्मको दूरी २ सय ७६ किमि टाढा रहेको थियो। उक्त घडियाल डब्लूडब्लुएफ अमेरिकाको प्रेसिडेन्ट टिमले छोडेको थियो।
त्यसै गरी जालको अलावा पनि माछा मार्नका लागि प्रयोग भएका विद्युतीय धरापमा परी घडियाल गण्डक नदीमा मर्ने गरेका उदाहरणहरू भेटिएका छन्।

तस्बिर : सुब्रात कुमार वेहरा ।डब्लुटिआइ
नेपालले रेडियो ट्रान्समिटर लगाएको घडियाल पटनामा उद्दार
पूर्व वार्डेन रामपुतकाअनुसार तिर्थमान मास्केको विद्यावारिधिको सिलसिलामा सन १९८४ तिर घडियाल प्रजनन केन्द्रबाट रेडियो कलर लगाई छोडेका दुईवटा घडियाल पटना नजिक गंगा नदीमा माझीको जालमा फसेका थिए। रेडियो ट्रान्समिटरमा अमेरिकामा बनेको भन्ने लेखिएको (Made in USA ) थियो। जसले गर्दा त्यतिखेर अमेरिकाले भारतउपर गोहीमार्फत जासुस छोड्यो भनेर पत्रिकामा सनसनी फैलिएको थियो।
दोषमात्र दिएर हुन्न संरक्षणमा पनि चासो हुनु पर्छ
घडियालको मुख्य वासस्थान नै गंगा र यसका सहायक नदीहरू हुन्। त्यसैले यसको वैज्ञानिक नाम पनि ग्याभिलियस गङ्गेटिकस (Gavialis gengeticus ) राखिएको होला।
मानव यस पृथ्वीमा आउनु अगाडिदेखि नै यी नदीहरूमा निर्वाध रूपले घडियाल उँधौली-उभौली गर्दथे। प्रजनन केन्द्रबाट छोडेका घडियाल भारत गए¸प्रजनन केन्द्रको काम छैन भन्ने तिता शब्दहरू पनि सुन्नमा नआएको होइन। यस्ता कुरा सुन्दा अबदेखि घडियालले पनि राजनैतिक सिमाना चिन्न पर्ने भयो।
उसो त गंगाका माछा प्रजननकालागि वर्षायाममा नेपालका नदीनाला र पहाडका खोला-खोल्सीमासमेत पुगी प्रजनन गरी गंगामा फर्किन्छन्¸यसलाई के भन्ने ? जलचरहरू तलमाथि गरिरहनु उसको प्राकृतिक गुण हो र उसले राजनैतिक सिमाना चिन्दैन। नेपालका घडियाल भारतमा गए भन्ने चिन्ता होइन कि प्राकृतिक अवस्थामा सुरक्षित भएर बाँचे कि बाँचेनन् भन्ने चिन्ता हुनु पर्दछ। सोहीअनुसार क्षेत्रीय र अन्तरदेशीय चासो हुनु आजको आवश्यकता हो।
अग्रजहरूले बेलैमा नेपालमा प्रजनन केन्द्र स्थापना नगरिदिएको भए आज घडियाल कागजमा मात्र देखिन्थ्यो होला। हाल यस केन्द्रमा ५ सय ५० जति घडियाल रहेका छन्। घडियाल बढाइ हुर्काइ प्राकृतिक वासस्थानमा पुनर्थापना गर्ने लायकको बनाउनु घडियाल प्रजनन केन्द्रको काम हो।
घडियाल प्रजनन केन्द्र छुट्टै निकाय नभई चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको एउटा शाखा हो। प्राकृतिक अवस्थामा घडियाल बचाउन नसक्ने दोषजति प्रजनन केन्द्रलाई थुपारेर उन्मुक्ति पाइन्छ र ? भनिन्छ घडियाल¸बाघ-गैंडाभन्दा २० गुणा बढी संकटापन्न परेको जीव हो तर संरक्षणमा भने त्यो स्तरको प्राथमिकतामा परेको महसुस गर्न पाइएको छैन।
हामी कहाँ घडियाल छ¸त्यसै भएर मूल्यहिन जस्तो भएको छ। नुन हालेको तरकारी खान पाउन्जेल नुनको महत्त्व थाहा लाग्दैन। नुन नपाएर अलिनो खानु पर्ने अवस्थामा भने नुनको महत्त्व थाहा लाग्दछ । प्राकृतिक वासस्थानबाट घडियाल लोप गराएर म्यानमार¸बङ्गलादेश¸ भुटान र पाकिस्तानले पछुताइ रहेका छन्। घडियाल प्रजनन केन्द्रले नेपालमा मात्र नभई भारतमा पनि प्राकृतिक अवस्थामा घडियालको संख्या बढाएको छ। तर प्राकृतिक अवस्थामा गोही उधौली-उभौली गर्नु उसको प्राकृतिक अधिकार हो। तर यस क्रममा घडियाल जुन देशमा गए पनि तिनको संरक्षण हुनु पर्ने आजको आवश्यकता हो।
अन्तमा¸ नेपाल-भारत सिमाना त्रिवेणी व्यारेज तलतिरको गण्डकदेखि गंगा दोभानसम्मको पूरै क्षेत्रलाई जलचर संरक्षण क्षेत्र घोषणा गर्नको लागि डब्लु टि आइले विहार र उत्तर प्रदेश सरकारलाई घचघचाई रहेका छन्। नेपालमा पनि पहिला घडियाल पाइएको तर हाल नभएको क्षेत्र जस्तै कालीगण्डकीलाई पनि सो क्षेत्रको वासस्थानमा सुधार ल्याई कालीगण्डकीका किनारमा बस्ने समुदायलाई जिम्मेवार बनाइ आन्तरिक पर्यापर्यटनको पूर्वाधार विकास गरी घडियाल संरक्षण गर्न प्रजनन केन्द्रबाट घडियाल पुनर्स्थापना गर्न सके जलचर संरक्षणमा टेवा पुग्ने थियो कि?
(लेखक बेदबहादुर खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोहीको अध्ययन र संरक्षणमा चासो राख्छन्।)
(आज ‘विश्व गोही दिवस’ हो)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…